चार्लि च्याप्लिनका कमेडी र सपनाहरु

आज भन्दा ठ्याक्कै २५ दिन  अघिसम्म युट्युबमा हेर्ने कथा हेरिरहन्थे। अहिले गाउँमा छु युट्युबकाे ढोका उघार्न पाछैन। डाटाबाट युट्युब खोल्न अलि नसकिने रहेछ। तर हेर्ने कथा पेजमा आएका लेखहरु भने समय मिलाएरै पढ्छु। बानी भनौं कि आदत यस्तै जो बसेको छ। खास्सै लेख्ने मान्छे त  हैन म, तर नलेखि बस्न पनि सक्दिन। फेरि जानेर लेख्ने पनि हैन, जान्नलाई लेख्ने चैँ पक्कै हो।

काठमाडौँ बसाइ भएको झन्डै एक बर्ष हुन लाग्यो। खुब बिदेशको भुत चढेको थियो मलाई। सँगैका दौँतरीहरुको फोटो पछाडि फ्रेममा सिड्नी ,टेक्सास अनि पेरिस टावर देख्दा अरे उनीहरुको लाइफ त बन्यो। अब उनीहरुले चाहे भने जे पनि गर्न सक्छन। अमेरिका बस्ने मान्छे पो हो त ऊ यस्तै सोच्थे! फेरि अमेरिका त बिश्वकै शक्तिशाली देश हो।कसकाे  मन हुँदैन अमेरिकन हावासँग सङ्ग साउती मार्ने अमेरिकाको जङ्गलको तस्वीरहरु देख्दा पनि हर कोहीको मन लोभिन्छ। मेरो नलोभिने कुरै भएन।

यस्तै सपना देख्थे र सोच्थे देख्नेकै सपना त पूरा हुने हो। मेरा पनि केही सपनाहरु यत्रतत्र फैलिरहेका छन। ती फैलिएका सपनाहरु साकार गर्न चाहान्थे। हो, विदेश गएपछि सबै सपनाहरु साकार हुन्छन झैँ लाग्थ्याे। मैले भने नि मलाई पनि विदेशको भुत चढेको थियाे। काठमाडौका थुप्रै कन्सलटेन्सी र मेनपावरहरुको ढोका ढक्ढक्याए। केही आवश्यकता भन्दा बढी खुले। केही लुट्नकै लागि खुल्ला राखिदिन्थे स्वागतमको पोस्टकार्ड टाँसिदिएर। दिनहरु यत्तिकै बित्दै थिए।

मलाई मेरा दिनहरु घाटामा गएको देख्दा खुब रुन आउँथ्यो। बानियाँटारको साँघुरो गल्लीबाट छिरेर पुगिने मेरो सानो कोठामा मेरा थुप्रै सपनाहरु खाँदिएका थिए। ती खाँदिएका सपनाहरु ओल्टैकाेल्टै आँसुहरु पुस्दै थिए। डिसेम्बरको महिना थियो। कोरोना नामक भाइरसले आतंक मच्चाइरहेको यताकता सुनिन्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो, ६ महिना अघि मात्र बनाएको पासपोर्ट च्यातेर फालिदिउँ। तर सक्दिनथेँ। नेपालमा पनि भविस्य छैन। मलाई मेरै भविस्यले खुसी हुन दिएन। अक्सर दिनहरु सुतेरै जान्थ्यो।कहिले हाँस्ने बहानामा चार्लि च्याप्लिनका कमेडी भिडियोहरु हेर्थे। तर बिडम्बना म आफैले आफैलाई हसाँउन सक्दिनथे।

चैत महिनाको १० गतेबाट लकडाउन हुने कुरा सुनियो।  चैत पाँच गतेदेखि घरबाट फोन आउन थाल्यो। मलाई घर जाने मन पनि थिएन। म हाँस्न भुलि सकेको मान्छे। घर गएर बाबा ममीको अगाडि रुन्चे  अनुहार कसरी देखाइरहन सक्छु।  भयो, जाँदिन । सोचे , नौ गतेसम्म काठमाडौ असुरक्षित छ भन्दै फोन गरिरहनु भो बाबाले। अन्तिम पटक फोन गर्दा बाबाले भन्नु भाको थियो- ‘मोर्ने नै भएपछि सपरिवार सँगै मोर्ने। त उता हामी यता कसरी मन मान्छ बाबु।’ त्यै शब्दले हलचल मच्चाइदियो।

१० गते बिहानै लम्जुङको गाडी चढेर आए। लाग्यो, यो बर्ष यातायात व्यवसायीहरुलाई दुईपटक दशैं आएछ। काठमाडौँबाट लम्जुङ ४६० भाडा थियो। ६०० सय तिरियो। ठिकै छ आफ्नो घर जाँदैछु। १४० बढी तिर्नुमा मनखत भएन। फेरि सोचेँ, यो हामीले गलत गरिरहेका त छैनौं। माग्नेले जति माग्यो उति दिने बाध्यता छ। भयो छोडौ!

गाउँतिर अहिले दशैं नै लागेको छ। बुढा बा आमा मात्रै बस्ने मेरो गाउँमा अहिले रमाइलो छ। सबैको घरमा खुसियाली छ। बुढा आमा बाहरु भन्नु हुन्छ – ‘यो हैजा आको हो रे अहिले नाम फेरेर आको यस्तो पहिला पहिला पनि आको थियो।’

मैले भने ‘यो रोगसँग बिश्व डराइराछ। हजुरबुबा यसलाई सामान्य लिनु हुन्न। तातो पानी खानु पर्छ। छिन छिनमै हात धोईराख्नु पर्छ।’ ‘ हामीले जानेको अहिलेकाले के जानेका छ्न’ हजुरबाको आवज चर्कियो – ‘हाम्रो शरीरमा काट्यो भने धुलो माटो हालेर सन्चो बनाइन्थ्याे। हामीलाई तिमीहरु अहिले उम्रेका च्याउहरुले सम्झाउने!’ हजुरबुबाको त्यो कुराले तै चुप मै चुप भइयाे। गाउँमा अझै पनि पुरानो सोच  बोकेका मानिसहरु अक्सर भेटिन्छन्।

सदरमुकाम जस्तो घरभित्रै बसिराख्ने अवस्था गाउँतिर छैन पनि। अहिले मकै गोड्ने सिजन भएकाले सबै खेततिर नै दिनहरु हुन्छन्। सबैको खरले छाएको घरहरुमा सहरीया भाषा छाएको छ। गाउँ आएदेखि खेतबारीको काम र ताजा साग तरकारीको कमाल हुनसक्छ, म र मेरो परिवारलाई कोरोना आए जस्तै लाछैन।

Profile Image

रबि रिमाल

लम्जुङ

Leave a Comment

Your email address will not be published. Required fields are marked *