..र ट्युसन पढाउन थाले

बिराटनगरकै छेउमा रहेको बुढीगंगा गाउँपालिका(बाँसबारी)को एउटा कुनामा अवस्थित मध्यम वर्गीय परिवारकी जेठी छोरी म।

घरमा बिरामी आमा, दिनभरि मजदुरी गर्ने बाबा, १३ बर्षकी बहिनी र ६ बर्षको सानो भाइ। घरको पारिवारिक उतारचढाव सानै देखि देखेकी मैले जसोतसो पढाइलाई निरन्तरता दिदै सानो जागीर गर्दै घरमा भरेथेग गर्दै थिएँ। सबैकुरा राम्रैसँग चलिरहेको थियो। यसैक्रममा ठूलो महामारी (COVID-19) फैलिन थाल्यो। मेरो परिवार लगायत सम्पूर्ण मानिसका लागि कालो दिन नै भित्रिए सरह भयो। लकडाउनमा बस्न बाहेक अरु कुनै विकल्प थिएन र छैन पनि। सबैको जागिर ठप्प, आयआर्जनको बाटो पनि बन्द। हुने खानेको लागि त पर्व नै आएजस्तो भयो हाेला! तर हाम्राे परिवारकाे लागि याे समय निकै गाह्राे हुँदै गएकाे छ। सामाजिक संजालहरुमा दिनहुँ विभिन्न परिकारका खानेकुरा देखाउने, नाचगान गर्ने ‘trend’ नै आएजस्तो देखिन्छ। मलाई पनि यसले नछोएको भने हैन, देखाउन नसके पनि हेरेरै दिन काटिरहेको छु।

मेरो जस्तो मध्यम वर्गीय र अरु निम्न वर्गीय परिवारमा आइ परेको आर्थिक चपेटा सम्झदा मनै कटक्क खान्छ। अरुको लागि केही गर्ने छु भन्ने मान्छे म आफ्नै पारिवारिक वातावरण देखेर आकुलव्याकुल भैरहेको छु। छिमेकी गाउँमा एक सुत्केरी  खान नपाएर लडिरहेको कुरा सुन्दा त आङ नै सिरिङ्ग भयो। गाउँपालिकाले बाडेको ५ के.जी चामलले कति नै दिन पो गुजारा चल्थ्यो र। हुन त जसोतसो खान पुगिराखेको छ अहिलेसम्म, तर यस्तै अवस्था भैराख्ने हो भने के होला भन्ने साेचेर कोरोनालाई चुनौती दिँदै १५ मिनेट साइकल कुदाएर ‘tuition’ पढाउन जान थालेकी छु। म जस्तो शिक्षित मानिसले झन अरुलाई यस्तो बेलामा घरै बस्न पर्छ भनेर सम्झाउन पर्ने हो, तर म असफल भैरहेको अनुभव  हुन्छ। कति कुराहरु थाहा हुँदा हुँदै पनि चुप लाग्नु पर्ने रहेछ।

मेरो लागि राम्रो पक्ष भनेको चाहिँ बाबाआमाले छोराछोरीहरुका लागि गरेको सङ्घर्ष र त्याग मज्जाले बुझ्ने मौका दियो यो लकडाउनले। मलाई हुर्काउदाका दुःख-सुख सुन्ने मौका पाए। यसले पक्कै पनि मलाई भविस्यमा अझ मजबुत बनाउने छ। यसले अझ उर्जा थपेको महसुस हुन्छ। प्रेमको अर्को नाम परिवार रैछ भन्ने कुरा बुझ्न पाएँ। घरायसी काम कहिल्यै गर्न नपरोस् भन्ने केटी  म, आजकल घरायसी काम सिक्न थालेकी छु।

छिट्टै यो महामारीको अन्त्य भएर सबैको घर उज्यालो भएको हेर्न आतुर छु। सबैको मुहारमा हाँसो छिट्टै देख्न पाइयोस्, यही छ प्राथना।

Profile Image

निशा पोखरेल

मोरङ्ग

                                 

                         

Leave a Comment

Your email address will not be published. Required fields are marked *