हामीले सुन्दै आएको र भोग्दै आएको कुरा हो कि “समय परिवर्तनशील छ।” आज आफै कोठाको एउटा कुनामा बसेर सोच्दै छु, महसुस गर्दै छु, अपनाउँदै छु । हिजो के थियो, आज के भयो …. हे दैव ! भोलि के हुने हो। सबैको रक्षा गर।
‘यो के भयो।आनौठो कुरा आयो के जाति रोग आयो’ भन्दै हुनुहुन्थ्यो आमाले बिहानै म कलेज जानेबेलामा। फेसबुक चलाउने मान्छे म। मोबाईल हातमा भएको मान्छे म, संसार मेरै हातमा थियो। चीन लागायत देशहरुमा कोरोना भाईरसका कारण मानिसहरुको मृत्यु भएको थाहा पाएको थिएँ। आमाले त्यही कुरा गर्नु भएको हो भन्ने लागेकाे थियो। त्यसैले कुनै वास्ता नगरि कलेजतिर लागेँ। अरु रोग जस्तै यो पनि नेपालमा आउनुभन्दा पहिला यसको औषधी आइहाल्छ भन्ने सोचेको थिएँ। तर त्यसाे भएन बेलुकी घरमा पुग्दा थाहा पाएँ कि चैत्र ११ गतेबाट नेपालमा पनि लकडाउन हुने भयो भनेर ।
कोभिड -१९ विश्वभरि फैलिरहेको र लकडाउन मात्र यस विरुद्द लड्ने उपयुक्त काम भएकाले मलाई नि ठिकै हो भन्ने लाग्यो । त्यसैले लकडाउनलाई कडा रुपमा पालना गर्नुपर्छ र आफू सुरक्षित भइ अरुलाई सुरक्षित राख्न सकिन्छ भन्ने साेचेर मैले पनि आफनो फेसबुक, इन्स्टाग्राम र साथीहरुलाई फोनबाट पनि यसबारे सूचित गराएँ ।
बिदा आहा! कसलाई प्यारो नहुने कुरा होला र यो? व्यस्त जिन्दगीबाट एकछिन आराम पाइने समय पो हो यो बिदा। ७ दिनको लागि लकडाउन भन्ने खबर सुनेर मन भित्र भित्र खुसी थिएँ म। न कुनै झन्झट न कुनै काम। आनन्दले सुत्ने हो भन्ने थियो। सुरुवाती समयहरुमा मलाई खासै सर परेन कति समय पछि बिदा थियो। आफूलाई मनपर्ने कामहरु गर्न थाले।
बिदाको सदुपयोग गरम् भन्ने भावनाले युट्युव हेरेर कसरी नयाँ नयाँ परिकार बनाउन सकिन्छ भन्दै पकाउने प्रयत्न पनि गरियो । र जे जसो भएपनि पकाएर आमा, बाबा, भाइ र मेरी प्यारी हजुरआमालाई पनि खुवाएँ । केक चाहिँ आफूले आफ्नै जन्मदिनको उपलक्ष्यमा बनाएको।तर त्यो केक कस्तो भयो, त्याे मलाई मात्र थाहा छ! नमीठो भए पनि त्याे मेराे प्रयत्न थियो त्यो। अरुले बनाएको देख्दा कति सजिलै बनाएको भन्ने हुँदोरहेछ, आफैँ बनाउँदा थाहा पाएँ कति मेहेनत चाहिने रहेछ भनेर।
लकडाउन हुनु अगाडि खाना कसरी पकाउने भन्ने कुरा सोच्न फुर्सद हुदैन थियो। बिहान ५:४५ बजे अल्छि गरि उठ्यो। त्यसपछि तातो पानी वा चिया, बिस्कुट खाएर कलेजको लागि निस्किनुपर्थ्यो। आज लकडाउन भएको १ महिना बढी भइसक्यो। आजकल फेसबुकमा अनलाइन कक्षा हुने भनेर कलेजको पेजबाट यो दिन, यो समय कक्षा हुन्छ है, भन्ने सन्देश आउँछ। त्यो देख्दा अलि मन खुसी हुन्छ। बिद्यार्थी जीवन सबैको एउटै त हो पढ्न मन नलाग्ने, तर आहिले ठ्याकै उल्टो भएको छ। यी मनहरुले सोच्दैछन् बरु कलेज खुलेको भए अनि पढ्न जान पाएको भए समय त बित्थ्यो। साथी भाइहरुसंगको भेटघाट र हँसीमजाकले समय त कट्थ्याे। आजभोलि लकडाउनमा आफ्नो कलेज, साथीहरु, पढ्ने कक्षा कोठाको धेरै सम्झाना आइरहेको छ। भनिन्थ्यो कुनै कुरा गुमाउँदा त्यसको असली मूल्य थाहा हुन्छ भनेर। हो आज यो लकडाउनको कारणले पढ्न कलेज जान नपाउँदा कलेजकै झल्झली याद आइरहेको छ। कहिले फेरि फर्केर आउने होलान् ती मेरा पहिले जस्तै दिनहरु। अनि म स्तब्ध हुन्छु ……………… मसँग कुनै जवाफ नै हुदैन ।
मेरो जीवन अनि मेरो छिमेकीको घरको पिंजडामा बन्द भएको त्यो सेतो परेवा। लाग्दैछ हामी दुबैको जिन्दगी उस्तै छ अहिले। ४ महिना भयो छिमेकीले त्यो परेवा पाल्न थालेको। खाना छ, बस्नलाई बास छ तर एउटै पिंजडा भित्र छ। पिंजडाबाट मुक्त भएको दिन उ कति खुसी हुन्छ होला है? त्यो भन्दा बढी खुसी म यो लकडाउन सकिएपछि हुन्छु होला! मेरो नभए नि त्यो परेवाको लकडाउन आज खुलिदिए हुन्थ्यो। कति रमाउँला। परेवासँगै म पनि मुक्त हुन चाहन्छु यो लकडाउनरुपी पिंजडा बाट!
No responses yet