हेर्दा हेर्दै महिना बितिसकेछ। मलाई एउटा मात्रै पिर थियो, त्यो हो एक हप्तासम्म घरबाट बाहिर नै ननिस्कि कसरी बस्ने ! तर बिस्तारै दिनहरु बित्दै गए, कोरोना संक्रमित मानिसहरु पनि बढ्दै गए। सँगै लकडाउन पनि थपिदै गयो। अहिले त कति दिन बिते, आज कुन बार हो भन्ने समेतको पत्तो हुन छाडी सक्यो।
यस लकडाउनले मेरो दैनिकी फेरिसकेको छ। अहिले सामान्य दिन जस्तो बिहानै सबेर उठेर कलेज जानको लागि हतार गर्नु पर्दैन। राति अबेला सम्म बस्ने बानी भइसकेको छ र अबेला सम्म बसेर होला उठ्न पनि ढिलो नै हुन्छ। न त होमवर्कको चिन्ता, न त कुनै असाइनमेन्टको चिन्ता। केवल एउटा जिम्मेवारी छ, त्यो हो घरमा बसेर आफूलाई नै सुरक्षित राख्ने र अरुलाई पनि सुरक्षित राख्ने। यस्तो दिन आउला भनेर त मैले कहिले पनि सोचेको थिइन। त्यसैले अहिले त वाक्क पनि लाग्छ कति दिन घरमै बस्नु भनेर, तर चाहेर निस्किन पाउने अवस्था छैन। मेरो बानी अरु सामान्य दिनहरुमा बिहान ६:३० बजे घरबाट हिँडे पछि सधै राति ९:०० नबजि घर नआउने भैसकेको थियो। ती दिन हरुलाई अहिले झल्झली सम्झिरहेको छु।
मम्मीले मलाई बेलाबेलामा”बाबु , तिमीलाई त एकदमै उकुसमुकुस भइ रहेको होला है, सँधै हिंडि रहने बानी” भनेर ठट्टा गर्नुहुन्छ। मलाई एकछिन आफूलाई देखेर पनि अचम्म लाग्छ। म एकछिन पनि घरमा नबस्ने मान्छे, अहिले यत्तिका दिन भइसके। तर पनि घरबाट बाहिर कतै निस्केको छैन।कसरी बस्न सकेको छु कतै नगइ भनेर आफैलाई हेर्दा एकछिन हाँसो पनि उठ्छ। तर समय परिस्थिति आइ सकेपछि मानिस त्यसैमा भुल्न र बाँच्न सिक्दो रहेछ भन्ने पाठ यस लकडाउनले सिकायो।
धन्न विज्ञान र वैज्ञानिकले बेलैमा कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता माध्यमहरुको आविष्कार गरेका थिए , जसले गर्दा भुल्न सकेको छु। घरबाट बाहिर ननिस्किए पनि घरमै बसेर आफ्ना साथी भाइ-स्टमित्रहरुसंग भिडियो कलबाट कुरा गर्न पाइएको छ। साथी भाइहरुसँग त अहिले भिडियो कल गर्दा नि के कुरा गरम् भनेर सोच्नु पर्छ। सधैँ एउटै जस्तो दिन चर्या छ ।अझ पहिले जस्तो लोडसेडिंग भएको भए सायद लकडाउन अर्कै हुन सक्ने थियो।
अहिले घरमा बस्दा कति नसकिएका कामहरुलाई सकाउने समय पाएँ ।अफिस र कलेजको कामहरु यस लकडाउनमा गरे। अहिले त त्यो पनि सकिएर के गरम् के गरम् हुन्छ। “समय पनि काट्नु पर्छ र समय त आफैँ गइ हाल्छ नि” भन्ने गरेको थिएँ। तर यस लकडाउनले मलाई एउटा महत्वपूर्ण कुरा सिकायो। समय बित्दा यत्तिकै केही नगरी बिताउने कि केही गरेर बिताउने ? त्यसैले यो लकडाउनको समयलाई किन खेर फालुँ भनेर म सिर्जनात्मक कुराहरुमा भुल्न थालेँ। चित्र बनाउन मलाई सानै देखि रहर लाग्ने। त्यसैले हेरक दिन सुत्नु भन्दा अगाडि सानो वा ठूलो कुनै न कुनै चित्र बनाएर सुत्ने गरेको छु। कहिले काहीं त्यो चित्र मैले सपनामा देख्ने गर्दछु त कहिले सपनामा देखेका कुराहरुलाई चित्रमा उतार्ने प्रयास गर्ने गरेको छु। यो लकडाउन सकिए पछि ती चित्रहरु हेर्दाको मज्जा नि अर्कै होला।
आज भोलि म खेल्ने मैदान र खेलकुद विशेष गरि फुटबल निकै नै मिस गरिरहेको छु। फुटबल भनेपछि म हर बखत मैदानमा उत्रिन तयार हुने मान्छे, अहिले सब्बै ठप्पै भए देखि खेल्न नपाउँदा कहिले काहीँ रुन पनि मन लाग्छ। त्यति मात्र नभइ चैत्र महिना मै ठुलो राष्ट्रिय स्तरको अन्तर ल कलेज फुटबल प्रतियोगिता पनि संचालन हुन तयारी हुँदै थियो। मेरो कलेजमा अन्तिम वर्ष भएकाले यो वर्ष प्रतियोगिता जसरी पनि जितेर मात्रै कलेजबाट बिदाइ हुन मन थियो। तर यही लकडाउनले गर्दा त्यो सपना अधुरै हुने भयो। त्यो भन्दा पनि दुखको कुरा त घरमा बसेर प्रत्यक्ष प्रसारण हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरु , मेरो मनपर्ने फुटबल क्लबको खेलहरु पनि रोकिएको छ। त्यसले गर्दा पनि यो लकडाउन कहिले सकिएला जस्ताे भइरहेकाे छ।
लकडाउनमा कतै घुम्न, नयाँ कुरा देख्न सिक्न र अनुभव गर्न त सकिदैन। म प्राय ट्रेक गइराख्ने र सानो तिनो हाइकहरुमा जान एकदम मन पराउने मान्छे। त्यो पनि यो समयमा सम्भव भएन । त्यसको पनि दुखेसो मलाई आफैँसँग छ। त्यसरी घुमेका पलहरुलाई सम्झेर मैले एउटा नयाँ काम थालेकाे छु। मैले आफ्नै ब्लग बनाए। हिड्दा डुल्दाकाे अनुभवहरु पोष्ट गर्दा अरु नयाँ ट्रेकर्सहरुलाई केही सहज पुग्ला कि भन्ने आशा गरेको छु।
अनि विभिन्न खाले अनलाइन कोर्सहरु पनि गर्दैछाैं । अरु सामान्य अवस्थामा यति सबै थरी गर्न मलाई फुर्सद नहुन पनि सक्थ्याे। यस समयमा मैले आफ्नो बानीलाई बाँधेर नयाँ शैलीमा जीवन जिउन सिक्ने अवसर पाएँ। आशा गर्छु यी सब कुराहरु लकडाउन सकिए पछि पनि मैले निरन्तरता दिनेछु।