म काठमाडौF आएको पनि पाँच बर्ष पुगेछ। कोरोना भाइरस फैलनु दुई महिना अघि मेरो जर्मनी जाने सपना भिजा नलागेको कारण सपनामै सिमित भयो। कक्षा १२ को परीक्षा सकिने बित्तिकै एकाएक बिदेश जाने सुरु चढ्याे। एक बर्ष लगाएर जर्मन भाषा सिकेको थिएँ।भिजा नलागेको दिन खुब रोएँ। देश छोडेर जान नपाउँदा रुने मूर्ख रहेछु म जस्तो लाग्छ आजभोलि।
खिन्न मन बनाउँदै म गाउँ फर्किएको थिए। घरमा आमा बुवाले धेरै सम्झाएपछि मात्रै मन अलि हल्का भयो। फेरि अप्लाइ गर्न घरमा मान्नुभएन। जसोतसो मनलाई सम्झाउँदै काठमाडौँ फर्किए। यता आएर म कलेज भर्ना भए। कलेज सुरु हुन मात्रै लागेको थियाे, यो माहामारीले बिकराल रुप लियो। फेरि गाउँ जान मन लागेन। त्यसपछि त देशमा लकडाउन भयो, कतै जान पनि मिलेन।
म काठमाडौँ बस्न सुरु गरे देखि नै सानिमासँग बस्छु। सानिमाको एक छोरा अनि एक छोरी छन्। म काठमाडौँ आउँदा बहिनी ८ महिनाकी मात्रै थिइन्। भाइ चाहिँ भर्खर १ बर्षको भयो। बिशेष त बहिनी र म बीच धेरै माया छ। ऊसँग भएपछि मलाई मेराे बहिनीको न्यास्रो लाग्न पाउँदैन।
आजभोलि दिन यिनै भाइ बहिनिसँगै बित्छ। बेला मौकामा मात्रै खेल्न पाउने उनीहरुसँग आजकाल फुर्सदमा खेल्न र समय बिताउन पाएकी छु। कुनै दिन चित्र बनाउन व्यस्त हुन्छु भने कुनै दिन चाहिँ युट्युबको भिडियो हेरेर खाने कुरा बनाउन सिक्छौं। बहिनीले पनि खुसी भएर सघाउँछे। म बहिनीलाई मायाले छोरी नै भनेर बोलाउने गर्छु। भाइ सानु त छ तर हाम्रो खुसीमा सामेल हुन थालिसकेको छ। मायाले दुबै जनाले मलाई पक्कु भनेर बोलाउँछन्। आजकल म यही शब्दमा खुसी भेट्टाउछु।
स्ति भर्खरै मात्र बहिनीको कलिलो जोश र मेरो इच्छा अनुरुप जेरी बनायौं। लामो समयको छुट्टीले गर्दा पढ्न खासै मन गर्दिन आजकल बहिनी। त्यही पनि फकाएर पढ्नचाहिँ लगाउँछु। सानिमासँग दिनहुँ भलाकुसारी हुन थालेको छ। बेलाबेलामा ‘दिज्जु कथा’ भन्दै आउँछे बहिनी अनि म आमाले सानु हुँदा सुनाएको कथामा आफ्ना शब्दहरु थपेर सुनाउने गर्छु। त्यति नै बेला आमाको खुब याद आउँछ अनि म भावुक हुन्छु।घरमा दिनहुँ भिडियो कलबाट कुरा हुन्छ।काठमाडौँ निकै सुनसान छ अचेल। बिहानीपख तरकारी किन्न पनि निस्किन्छु। लकडाउन कहिले खुल्छ होला भन्ने बिषयमा चोकतिर छलफल भैराखेको हुन्छ।
अर्कोतिर जर्मनीको भिजा नलागेको पनि राम्रो नै भएछ जस्तो लाग्न थालेको छ आजकल। परिवारको छत्रछायाँमा त बस्न पाएको छु। अफ्ट्यारो परेको बेला सोध्ने छिमेकी छन् साथमा। जर्मनी भएको भए कहाँ यस्तो हुन्थ्यो र ! ठिक त्यति नै बेला आमाले भनेको कुरा खुब याद आउँछ “जे हुन्छ राम्रोको लागि हुन्छ।” त्यहीबेला बुवाले भनेका कुरा पनि सम्झन्छु, “स्वदेशमा जस्तो सुख अरु कुनै पनि देशमा पाइदैन।”आजकल बुवाको कुरा एकदम ठिक जस्तो लाग्छ। स्वदेश र बिदेशको फरकबारे बुवा र मेरो बेलाबेलामा वादविवाद परिरहन्छ। हिजोआज फोन गर्दा भन्ने गर्नुहुन्छ ” जर्मनीको भिजा नलागेर कति राम्रो भएछ देखिस् त छोरी ?” म ‘हो’ भन्ने जवाफ दिन्छु।
यही समयमा मैले फोटोशप सिक्ने मौका पनि पाए। आफ्नो गीत गाउने इच्छालाई पनि मर्न दिएको छैन। बेलाबेलामा गुनगुनाउँछु पनि। धुलो लागेर बसेका किताबहरुलाई दुई चार शब्द सिक्ने लोभमा अङ्गाल्ने गर्छु। अर्को संयोगको कुरा त के भयो भने यही समयमा मैले “हेर्ने कथा ” हेर्न सुरु गरे। आजभोलि यिनै कथाका पात्रहरुको कथामा भुल्न थालेको छु। आफ्नै देशको पात्रहरुको कथा व्यथामा र स्वदेशको बसाईंमा बिदेश माेहलाई बिर्सिने क्रममा छु। यिनै कुराहरुले कहिलेकाहीँ निराश पनि बनाउँछ। तर फेरि पछाडिबाट ‘पक्कु’ भन्ने शब्दले मुहारमा खुसी ल्याइदिन्छ। अनि बहिनीको भाँडाकुटिको एउटा पात्र बनेर खेलमा समावेश हुन्छु। जर्मनी जाने सपना पूरा नभए पनि सपनामा कहिलेकाहीँ जर्मनी चै पुगेकै हुन्छु अनि आफ्नो सपना सम्झिदै मुस्कुराउँछु
No responses yet