पिँजडाकाे घर

बिगत चार हप्ता देखीको लकडाउनले गर्दा खाने, बस्ने,सुत्ने मात्र भएको छ दिनचर्या। बिहान अलि अबेर उठ्ने बानी परेको छ तर बिहान सबेरै निन्द्रा खुल्यो, मनमा अनौठो उकुसमुकुस भयो। अनेक थरीका बिचारहरु मनमा खेलिरह्यो ।  

आलस्य हुँदै बेडबाट उठे… किचनमा गएर तातो ब्ल्याक कफी बनाए। अनि सरासर कोठासँगैको खुला बाल्कोनीमा बसे । बाल्कोनीमा रहेका ५-७ जोडी परेवाहरु भुरर उडे। बाल्कोनीको एक कुनामा रहेको एसीबाट निस्केको मसिनो पाइप छ। जहाँबाट एक एक थोपा गरि निस्किने पानी पिउन सकिनसकि झुन्डिरहने तिर्खाएका यी परेवाहरुको कारुणिक दृष्‍यले केही दिन अघि मात्र साथी दिपेस राईले एउटा गमला खाली गरी पानी राख्ने गरेका छन्। पानी सकिएको रहेछ। भरिदिए। अनि त्यही ब्ल्याक कफी पिउँदै बसे ।  

पाँचौ तलामाथि रहेको म, चारैतिर सुनसान देख्छु। बिहानी पखको मन्द स्वच्छ हावा चलिरहेको छ। सधैं परको सडकमा कोलाहल गर्दै सयौं गाडीहरु गुडिरहेका हुन्थे। तर कस्तो सुनसान छ, यी ठूला बिल्डिङहरुलाई नहेर्ने हो र एकछिन आँखा चिम्म गर्ने हो भने शान्न्त, सुन्दर आफ्नै गाउँ घरमा रहेको आभास हुन्छ । 

२-४ वटा ग्यास बोक्ने, पानी बोक्ने गाडी र एक-दुइ पुलिस भ्यान, एम्बुलेन्स बाहेक अरु गाडीहरु सबै खोइ कता थन्किए! कता हराए… !आखिर सबै यही समयकै खेल रहेछ। यस्तै होला लकडाउन भनेको ।  

केही बर्ष अघि ललितपुरमा रहेको जाउलाखेल चिडियाखाना भ्रमण गरेको थिए। आज त्यही चिडियाखाना स्मरणमा आयो। पिजँडाकाे घर भित्र कैद ती पशुपंक्षी, जनावर झलझली सम्झिए र लकडाउनमा कोठा भित्र, घर भित्र बसेका हामी आफ्नै चिडियाखानामा परेका छौ। खुला आकाश मुनि स्वतन्त्र हिड्न, घुम्न नपाउँदा अनौठो पीडा हुदोरहेछ, मानसिक तनाव हुँदोरहेछ, छटपटाहट हुँदोरहेछ। शायद पिजँडाका पंक्षीहरुलाई पनि यस्तै लाग्दो हो… ! उड्न पखेटा छन् , तर उड्न पाएका छैनन। चारा पाएका छन , तर आँफै चर्न पाएका छैनन् खुल्ला आकाशमा।  त्यसै गरि अहिले हामी बाध्य भएका छौ, लाचार भएका छौ, लुकेर बस्नु परेको छ, डराएका छौ एक अदृश्य भाइरस सँग… के समयको माग यही होला ?  

समय बलवान छ भन्ने त सुनेको थिए। तर यो बलवान समयमा म कमजोर पक्कै हुँदैन, मैले मेरो परिवार, साथी भाइलाई पनि कमजोर हुन दिन्न। यो समयलाई जितेर अगाडि बढ्नु छ। 

आजभोलि लकडाउन समयमा फुर्सदिलो भएर सबैलाई फोन गर्ने गर्छु, सामाजिक सन्जाल मार्फत खुब कुरा हुने गर्छ। जता पनि यही लकडाउन कै चर्चा मात्र हुन्छ। धेरै भिडियो कल मै कुरा गर्छु। दु:ख-सुखका कुरा हुने गर्छ, केही बेर भए नि पुराना स्मरणहरु ताजा हुन्छन, रमाइलो लाग्ने गर्छ। 

तर “खाली दिमाग सैतानको घर” भने जस्तै धेरै जसो साथीहरु लकडाउनमा तास खेल्दै गरेको, अत्यधिक मदिरा सेवन गरि झुम्मिएको, एक आपसमा अनेक विवाद गर्दै गरेको दृष्‍यले सार्है दु:ख लगेको छ। 

अहिलेको लकडाउनमा हामीसँग धेरै समय छ। हामी काम गर्ने सबै ब्यापारिक ठाउँहरु बन्द छन, कम्पनीहरु बन्द छन। तर यो खाली समय कुलतमा पर्न पक्कै होइन। राम्रो काममा सदुपयोग गर्न सक्नुपर्दछ जस्तो लाग्छ।  चौबिस घण्टा मध्य केवल बढीमा २-३ घण्टा अनलाइन मै केही सिक्नु पर्छ, इन्टरनेट मार्फत निशुल्क ज्ञानका अनेक बिषयमा अध्ययन गर्न तर्फ किन सोच जाँदैन साथीहरुको ? 

पक्कै पनि हाम्रो जीवनशैलीमा धक्का लागेको छ, लाखौं बेरोजगार हुनुपरेको छ। नियमित आयस्रोत रोकिएको छ। तर यो परीक्षाको समयलाई जित्नैपर्छ ।  

उफ्फ !!  यो मनमा पनि के के कुरा खेल्न थाल्छ…अहिलेको समयमा स्वास्थ्य रहन सक्नु ठूलो चुनौती रहेको छ। बाहिर जान नपाए पनि यही भर्र्याङ्ग मै हिँड्ने गरेको छु, केही बेर युट्युब हेर्दै योगा गर्ने गर्छु । यो अदृश्य भाइरस चाडै निर्मुल हुने आशा गर्दै लकडाउनबाट फेरी स्वतन्त्र हुनेछु ।  

धिरेन्द्र चन्द ठकुरि

युएई

उल्टो समय

लकडाउन भएको आज १ महिना ३ दिन भयो।

सुरुवातमा आत्तिएका हामीलाई धैर्यवान बन्न सिकायो। जब मानिसलाई विपद पर्छ सामना गर्नुको विकल्प पनि नहुँदो रहेछ। यद्यपि कोरोना चाडै विश्वबाट निर्मुल हुन्छ र हाम्रो दैनिकी सामान्य हुन्छ भन्नेमा विश्वस्त छौ। कामना गरिरहेका छौ।यस्तो विपतको दिन आउँला भनेर कसैले कल्पना समेत गरेको थिएन। मानिस कठिन परिस्थितिको सामना गर्न तयार भएर बस्न चाहि पर्दोरहेछ।

हाम्रा दिनचर्यन विदेशी होस्टेलमा यसैगरी बितिरहेको छ। पढ्न ल्याएका पुस्तक सकियो। फिल्महरु लगभग सबै सकिए।अरु बेला फुर्सदमा यस्तो गर्छु र त्यस्तो गर्छु भन्ने हुन्छ तर याे लकडाउनमा कुनै क्रियटिभ काम हुन सकेन।

सुरुसुरुको दिनमा होस्टेलको वरिपरि बाटो र पर्खाल बिचमा रहेको गार्डेनको लागि छाडिएको दुई मिटर चौडा लगभग ३५०-४५० मिटर लम्बाई रहेको भागमा सरसफाई गरि बाझो फुटाएर साग सब्जी रोप्ने फूल रोप्ने काम भयाे। त्यसपछि काम पनि केही रहेन  भलिवल होस्टेल भित्र खेल्लिन्थ्यो प्रहरीले त्यो पनि खेल्न नदिए पछि कोठाको कोठै बसियो।

लकडाउन भएपछि हाम्रो दैनिकीहरु फेरिए।

समयमा सुत्ने, समयमा उठ्ने समयमा खाने र आराम गर्ने सबै रुटिन फेरबदल भयो।

विहान डिउटी जान पाँच बजे उठ्ने गर्थ्यौ। अर्लामले ब्यूँझाउथ्यो। लकडाउन भएपछि अर्लाम पनि बन्द भयो। उठ्ने र सुत्ने समय आकाश पातल फरक भयो। बेलुका दश एघार बजे सुतेर पाँच बजे अनिवार्य उठ्ने समय लकडाउन पछि बिहानीपख चार बजे सुतेर १० बजे सम्म सुत्ने कस्तो उल्टो समय भयो।

दुईहप्ताको लागि मलेसिया सरकारले बन्दको घोषणा गरे पनि कोरोना भाईरस( कोभिड १९)सङक्रमणको सङ्ख्या बढ्दै गए पछि मार्च १८ देखि ३१ तारिखसम्म पहिलो लकडाउन मिति थियो। त्यसलाई बढाएर दोश्रोपटक अप्रिल १४ तारिखसम्म पुर्यायो।

अब लकडाउन खुल्ने भयो भनेर खुसी पनि लागेको थियो। तर कोरोनाभाईरस वल्ड मिटरको डाटाले खुल्छ जस्तो संकेत दिएन। 

अप्रिल १३ तारिखको दिन कम्पनीबाट आधिकारिक सूचना आयो लकडाउनको मिति सरकारले बढाएको हुँदा हामीले नियमको पालना गर्नुपर्ने हुन्छ। त्यसकारण सबै कामदारहरु धैर्य पूर्वक कोठामा बस्नु। बाहिर सरकारले निस्कन दिएको छैन।यही सूचना थाहा पाएर पनि यदि बाहिर हिड्दै गरेको देखेमा प्रहरीले समातेमा कम्पनी जवाफदेहि हुने छैन। कृपया सचेत भइ नियमको पालना गरि होस्टेलमा बस्नुहोला।

कम्पनीबाट सूचना आएपछि फेरि दुई हप्ता अर्थात अप्रिल २८ तारिखसम्म चुपचाप बस्नु पर्ने भयो। त्यस बिचमा कम्पनीले सरकारसँग स्विकृति लिएर कम्पनी चलाउने हल्ला पनि चल्यो। हल्ला मात्र हैन सेक्युरीटी गार्ड हाउसमा नाम लिष्ट समेत आयो। यो दोश्रो हप्ताको अन्तिम तिरको प्रयास थियो। 

सरकारको तर्फबाट अप्रुभ नभए पछि फेरि निरन्तर लकडाउनमा बसिरहेका थियौ। त्यस बिचमा कम्पनीले सरकारको निकायसम्म परामर्श गरेर आधा कामदारको लागि स्वीकृति दिएछ।

यो १९ तारिखको कुरा हो। सरकारले अति दैनिक उपभोग्य सामान ग्लोभ्स र मास्क उत्पादन गर्ने कम्पनी बाहेक अरु सबै ठप्प गरेको थियो। अझै कति समय थप्न पर्ने टुङ्गो नभएपछि आवश्यकता अनुसार सिमित कामदार बोलाएर चलाउन अनुमति दिएको कुरा आइरहेको थियो र हामी पनि त्यस भित्र पर्यौ।

हाम्रो नाम लिष्ट दोश्रो लकडाउनको अन्तिम अर्थात अप्रिल १३ तारिखमा आएको थियो। अझै केही समय पर्खिनु पर्छ कम्पनीले छलफल गरिरहेको छ भन्ने सूचना आइरहेको थियो।१९ तारिखको दिन फेरि डिउटी सुरु हुन्छ भन्दै। नाम लिष्ट सहित बाहिर हिड्दा चाहिने कागजात सहित कोठामा पुर्याउन कम्पनीको आधिकारिक व्यक्ति आएका थिए। सँगै जिल्ला प्रशासनसँग लिएको अनुमति पास पनि थियो।

कोठामा बसेर दिक्क हुनु भन्दा डिउटी ठिकै हो। तर अझै पनि सङक्रमितको सङख्या बढिरहेको छ।मनमा केही डर पैदा भयो। फेरि आधा कामदारहरुको मात्र नाम आएको छ कम्पनीले सबैलाई दिन खोजेको थियो। तर सम्बन्धित निकायबाट अप्रुभ नभए पछि आधालाई भए पनि काम दिउँ भन्ने कम्पनीको सकरात्मक सोचाइ हो। धेरैलाई पिर चिन्ता परेको छ, अब कम्पनीले होस्टेलबाटै उठाएर घर पठाउँछ भन्ने भ्रम पनि केही साथीले फैलाइरहेका छन।

अन्तत डिउटी सुरु भयो। विहान उठेर फ्रेस भइ ब्याग बोकेर गेटमा निस्किए। गेटबाट बाहिर जान नपाएको महिनाको हिसाबले १ महिना दुई दिन भएछ। दिनको हिसाब गिन्ति गर्दा ठ्याक्कै तेत्तिस दिन भएछ। लकडाउन पछिको पहिलो दिन कस्तो नौलो अनुभूति भयो। सुरुमा नेपालबाट विदेश आउँदा यस्तै नौलो लागेकाे थियाे। बिहान भर्खर नेपालबाट आए जस्तै भयो।

बिहानीपखको चिसो बतास कति आनन्द आउँथ्यो। भित्रबाट नै मास्क भिरेर आएपछि हावा पनि नचेलेजस्तो लाग्याे। बाहिर हावा चलिराछ। मन उकुसमुकुस भइरहेको छ।

धत् कस्तो दिनको सामना गर्नु पर्यो। हिड्दै गर्दा पशुपतिनाथलाई सम्झिए। डर, त्रास र भयले मानिसलाई कमजोर बनाउने रहेछ।

छेउमा आएर कसैले ख्वाक्क खोके पनि मन चिसो हुन्छ । ह्यछ्यू गरे त झनै ‘ल खतम भयो’ जस्तो लाग्छ।

सकभर जतिसक्दो टाढा रहनु।  एक मिटर त अनिवार्य भनिएको छ। पहिले बिहानीपख कति हल्ला हुन्थ्यो। सडक थर्किने गरि बात मार्दै कल्याङमल्याङ गर्दै हिड्थे मानिसहरु। ठिक एक महिना ३ दिन पछिको दृष्य – मानिसहरु हिडिरहेका छन्। मोैनता छाएको छ। 

बात मार्ने साथीहरु नभए पछि मनमनै प्रश्न उठ्छ, फेरि मनले उत्तर दिन्छ।खुल्ला आकाश मुनि पनि संकोचले कति गुम्सिनु परेको छ फेरि कहिले आउँला त्यो लकडाउन अगाडिको जस्तै दिनहरु। मनमनै बात मार्दा मार्दै कम्पनी पुगे। झण्डै दश मिनेटको दुरिमा छ होस्टेल र कम्पनी। प्रहरी चौकी पनि नजिकै छ। 

प्रहरी घुमिरहेका छन् कि लागिराथ्यो। पास बोकेको छु भनेर ढुक्क भयो। सुरुवातको दिन खै कस्तो कस्तो अचम्म लागिराछ! मन भारी भैराछ! टेबलमा रहेको क्यालेन्डर मेरो प्रतिक्षामा रहे जस्तो लाग्यो। सधै डिउटी सकेपछि ठिक लगाएर ‘डिउटी गरे’ भन्ने चिन्ह लगाइन्थ्यो। गएको महिना र यो महिना खाली थियो। यसलाई बेठिक मात्र हैन  हाम्रो लागि कालो दिन सम्झेर मार्करले कालो लगाए।

अब दिन पर्खिनु भन्दा पनि कोरोना विश्वभरबाट हटिदिए कति आनन्द हुन्थ्यो। त्यसपछि चाहिँ मनले शान्ति पाउँथ्यो। अहिले त कोठामा बस्दा पनि फतक्क गलिन्छ। काम केही नगरेपनि मन भारी हुन्छ। घर परिवार सम्झियो डिउटीमा आए पछि चाहिँ खासै पिर नहुँदो रहेछ। जति कोठामा बस्दा मनमा कुरा खेल्छ डिउटी भनेको डिउटी हो। मनमा कुरा खेलाएर बस्ने फुर्सद हुन्न।

बिहान एक घण्टा अगाडि डिउटीमा आएको थिए। डिउटीको पनि समय हुन्छ। घण्टी नलाग्दा सम्म ढुक्कले बस्न पाइन्छ। त्यही फुर्सदमा यो अनुभूति बाँडे। अलिअलि डर त भइहाल्छ। तैपनि आत्मामा विश्वास हुनुपर्छ। रोग लाग्न दिनु हुदैन लागि हालेमा सामना गर्न तयार रहनुपर्छ।

हरि थापा

मलेसिया

अब के गरूँ !

खै! कहाँबाट सुरु गरूँ, आफ्नो मनको व्यथा। मन भरी सपनाको पोको बोकेर परदेश हिडेँको थिएँ। त्यति ठूलो सपना पनि होइन, थोरै खुसी, थोरै सुख, बुवा आमालाई दिन सकुँ।  

परदेश हिडेँको पनि आज १८ महिना भएछ। मेरो बिदेश साउदी। खडीमुलुक भनेर चिन्ने गर्छन् हाम्रो नेपाल तिर.. है. ? खाडि नै सही, मलाई के फरक पर्छ र !

मेरो काम होटेल मा Burger बनाउने। काम राम्रो थियो,सजिलो पनि। खाडि मुलुक भए पनि घाम कस्तो हुन्छ?  गर्मी के हो? थाहा भएन। AC को चिसो, भित्री काम, खुसी छु या दुःखी थाहा छैन। तर सपनाकाे पोको फुकाएर अब पूरा गर्नु थियो। 

सबै राम्रै चलि राको थियो। दैवको आँखा लाग्यो कि कसको थाहा नपाइ कोभिड–१९ करोनाको महामारीले मेरो सपना मात्र हैन, दुनियाँ नै सखाप पारि सक्याे।परदेशी ठाउँ न काम छ न दाम, अब के गर्ने… 

प्रत्येक बिहान जब म आँखा खोल्छु, म आफैलाई प्रश्न सोध्ने गर्छु – अब म के गरूँ ? न काम छ न त पैसा (सेलरी) म रूँम कि हाँसु! आफ्नो पीडा दुःख म कसलाई सुनाउँ! यहाँ सबैको हालत त्यस्तै छ। घरमा सुनाउँ छोराको पीरैपीरले आफ्नो ज्यान खालान् भन्ने डर! मेरो मनमा अब डर मात्र छ। भोक निद्रा मरि सक्यो। सपना टुटी सक्यो। 

धेरै चिन्ता गर्न थालेछु, निद्रा पनि औषधीको भरमा आउन थाल्यो। घरमा बुवाआमासित कुरा नभाको पनि धेरै भाको थियो। फोन लगाए उठेन। काममा व्यस्त हुनुहुन्छ होला। गाउँ घर खेती भीत्र्याउने सिजन छ। साँझ फोन लगाए उठ्यो ।

आमाको बोली सुने ….  ‘सानुकान्छा तिम्रो आयु लामो रहिछ तिम्रै कुरा गरी राथीम..’

केही बोल्न सकिन। 

‘बाबु, सानु कान्छा (आमाले मायाले बोलाउने नाम ) तिमीलाई ठिक त छ नि। चाइनाले रोग पठाको छ रे, आफ्नो ख्याल राख्नु , साबुन पानिले हात धुनु भिडमा नजानु। मुखमा मास्क लाउनु है।’ 

कति माया छोराको। आँसु रोक्न साकिन। 

‘अनि बाबु खाना खायौ?’

(आँसु पुछदै) ‘उम् खाए आमा। हजुरले खानुभो? कस्तो छ हजुरलाई बुवाले औषधी खानुभो त?’

 बुवाको बोली पछाडिबाट सानो स्वरमा आउँदै थियो- ‘सब ठिक छ यता भन।’

‘के भन्नु भाको बुवाले आमा?’  ‘यता सब ठीक छ रे .. केही चिन्ता नलिनु  तिमीले’ बुवाले भनेको । 

‘कति माया हुन्छ है आफ्नो सन्तान प्रति’ 

केही दुःख सुखको कुरा पछि फोन राखे लामो श्वास फेरे। मन हल्का भो। साँच्चिकै बुवा आमा नै भगवान हुन्। बाआमाको बोलीमा जादु शक्ति छ। तिनकै जादुले आज म खुसी छु । दुःखमा पनि हाँस्नबाँच्न सक्नेछु! 

“साँच्चिनै मानिसको जीवन परिवर्तन गर्न धन होइन मायालु मन र प्रेरणा चाहिने रहिछ “

Love U बाबा Love U आमा

शानू  गुरुङ 

साउदी अरब

 

आशाहरुकाे डायरी

     

बर्षौँ भयो मैले आशाहरु जगाउँदै गरेको ,

जब दु:ख पर्छ आशाहरु जगाउँछु,जब सुखको अनुभूति गर्छु आशाहरु जगाउँछु।प्रत्येक दिन एउटा न एउटा नयाँ आशा जाग्ने क्रम रुकेको छैन।

बर्षौं अघिदेखि जगाएका आशाहरु कल्पनाको बाकस भित्र कहिल्यै नसड्ने गरि र कहिल्यै नहराउने गरि थन्क्याएर राखेको छु। कुनै दिन त पूरा हुन्छन् कि भनेर …….सायद मेरा मात्रै हैनन्! एक छाकको जोहो गर्न खाडि गएको छोरा सम्झिदै आँखाबाट पिल पिल आसुँ बगाउँदै गरेकि एक्ली आमाका पनि केही आशाहरु होलान् ….

आफ्ना सोझा ईमान्दार र कर्मठ योग्य जनताहरु को भविश्य सम्झिदै रात दिन रुँदै गरेकि कर्णालीका पनि केही आशाहरु होलान्…एक अञ्जुलिमै सारा थकाइ मेट्ने अमृतमय पधेँरो, सुख दु:खमा सधैं उर्जा दिने डाँडामाथिको देउता बस्ने मन्दिर,मकै,फाँपर,कोदो र सिस्नु फल्ने आफ्नो बारी, दु:ख, सुखमा हात सार्ने आफन्त र आफ्नो जहानलाई छोडि आफ्नो मातृभूमिलाई ढोग्दै आँसु झार्दै खाडि पसेका हजारौँ कर्मठ युवाहरुका पनि केही आशाहरु होलान्…अस्पतालका बेडहरुमा बर्षौं देखि छटपटाइ रहेका असाहयहरुका पनि आशाहरु होलान् ……

लकडाउनको फुर्सदमा ती सबैका असंख्य आशाहरुको डायरी लकडाउन डायरी लेख्दै छु …

यति बेला संसारमा कोरोनाको महामारी फैलिएको छ। सारा संसार सुनसान छ। म गाउँमा छैन त्यसैले लाग्छ, गाउँ घरका स्वाद  दिलाउने ऐँसेलुहरु पनि सुनसान छन्। बिहान देखि बेलुकासम्म रमाइला भाकाहरु सुनाइ रहने रानीवनका कोइलीहरु पनि मौन छन् र पर्खिरहेछन् परदेशीहरूलाई । गोठाले दाजुका अनेक थरी सुनिने बाँसुरीका भाका पनि सुनिदैनन्। आकाशमा उड्ने जहाजहरु बन्द छन्, अहिले त सारा संसार सुनसान छ……….

मानिसहरु कोही घरभित्र बसेका छन् ,कोही महल भित्र बसेका छनु त कोही जन्म दिने आमा सम्झिदै आफ्न‍ो जन्मभूमि हेर्दै महाकाली नदिको पारी किनारामा आँसु झार्दै छन्।सबैमा डर छ, त्रास छ।यत्ति हुदाँ हुँदै पनि हरेकका अनेक आशाहरुले कल्पनाका खालि ठाउँहरु भर्न छोडेका छैनन्…..तिनै मध्येको एउटा पात्र हुँ म पनि…..

घरी इटाली सम्झिन्छु, घरी स्पेन सम्झिन्छु त घरी माहाकाली पारीको किनाराबाट आफ्नो जन्मभूमि हेर्दै बरबर आँसु झार्दै गरेका आँखाहरु सम्झिन्छु र सोच्ने गर्छु लकडाउन पछिका मेरा र यिनीहरुका आशाहरु यसै अलपत्र पर्ने त हैनन्………म सोच्दै छु मेरा र कर्णालीका मिल्दाजुल्दा आशाहरु — यो माहामारीको बेला नुन र सिटामोल पुर्याएर कस्ले पूरा गरि देला….

म सोच्दै छु मेरा र महाकाली पारी आफ्नो जन्मभूमि हेर्दै आ‍सु झारिरहेका आँखाहरुका मिल्दा जुल्दा आशाहरु — 

म सोच्दै छु मेरा र परदेसिएका छोरा सम्झिएर रुँदै गरेकि एक्ली आमाका मिल्दा जुल्दा आशाहरु — छोरासँगै घरमा सिस्नुको हरियो साग र मकैको रोटि खाने आशाहरु कस्ले पूरा गरि देला………

म सोच्दै छु मेरा र पासपोर्ट बोकि विदेश हानिएका लाखौँ लाख युवाहरुका मिल्दा जुल्दा आशाहरु– सकुशल घर फर्किएर जन्मदिने आमालाई अंगालो मार्दै हर्षका आँसु साटासाट गर्ने आशाहरु कसले पूरा गरिदेला …….

लकडाउनमा अलपत्र परे जस्तै यी तमाम असंख्य आशाहरु अलपत्र नपरून्!

यस्तै यस्तै सोच्दै बितिराछ लकडाउन !!

“Stay home, Stay safe”

राजेन्द्र भट्ट 

बैतडी

देखेका र दुखेका कुरा

लेखनशैली र शब्दहरुको मिलन राम्रो नभएपनि दैनिकी र मनोभाव भरिएका डायरी र आत्मालोचना भरिएका पानाहरु धेरै छन् जीवनमा। हो, आज पनि त्यस्तै देखेका र दुखेका कुराहरुलाई लेखमा समावेश गर्ने जमर्को गरेकी छु।

लकडाउनले हुनेखानेलाई त सहज नै भएको होला वा भनौं यसकाे प्रभाव कम नै भोग्नु परेको होला । लामो समयपछिको पारिवारिक भेटघाट,परिवारसँग समय ब्यतित गर्न, मीठामीठा परिकार बनाउन र फेसबुकका वालहरु रङ्गाउन रमाईलो भइरहेको होला । तर ती गरिखाने र हुँदा खाने मजदुरलाई भने ब्रजपात नै परेको छ।

सम्पन्न सहरिया मानिसहरुको मन मानवता हराएको हुँदोरहेछ ।सहर त शून्यताले भरिएको हुँदोरहेछ । मलाई त्यस्तै लाग्छ । जब म देख्छु बैसाख मासको यो प्रचण्ड गर्मीमा काखमा दुधे बालक चेपेर हिँडेका महिला ,बुढापनले घेरिएको थकित शरीर अनि निराशाले भरिएको मन लिएर घर पुग्ने आशा सहित लम्किरहेका पाइलाहरु। कतिका खुट्टामा फोका परेछन ,गलेका छन ,घिस्राउँदै हिँडेका छन् । यो चैत बैसाखको घाममा खुट्टाको पैतला पोल्ने सडकमा ,न ओत लाग्ने ठाउँ छ न त खाना खाने र बस्ने ठेगान छ। देख्दा यस्तो लाग्छ कि गरिब हुनुको उपहार यहि नै हो । कति ठुला घरहरु बनाए होलान । कति घरहरु रङ्गाए होलान तर यो महामारीको घडीमा उनीहरुलाई ओत लाग्ने ठाउँ र खानाको अभावले नै सयौं किलोमिटरको दुरी घाम,पानी,निन्द्रा, भोक केही नभनि यात्रा तय गर्न बाध्य छन्।

बाटोभरि मानिसका हुल देख्छु। तर देख्दिन, ती मध्ये एउटा पनि सुकिला र सम्पन्न मानिसहरु । हो,तिनीहरु मजदुर नै हुन् । चप्पल पडकाउदै, जेब्रा र भिर्ने झोला भिरेर पसिना पु्छ्दै हिँड्नेहरु। सरकारले जारी गरेको लकडाउन भनेको जो जहाँ छन् त्यहीँ सुरक्षित रहनु हो । तर यी मजदुरहरु बस्ने कहाँ ? खाने के ? यसरी हिँडेर भएपनि आफ्नो जन्मथलो पुग्नु नै उनीहरुको लागि सुरक्षित उपाय ठहर हुनेछ। जुन बाध्यता हो ,न कि रहर। नत्र रोगले भन्दा भोकले ज्यान खाला भन्ने डर लिएर को यात्रा गर्न रहर गर्छ र ।

घरिघरि आमाको आवाज सुन्छु ‘कठै बर कति दुख पाए। कस्तो पाप ! कहाँ पुग्ने हुन कुन्नि ? कुनै मालबाहक गाडीले दया देखाएर लगिदिए नि हुन्थ्यो नि! बच्चाहरुको बिजोक हुने भो ।’ आमा छाेरी कुरागर्दै गर्दा ठूलो मुसलधारे पानी पर्यो। अनि सम्झिए अघि तातो घाममा हिँडेका ती महिला। अहो! यो पानीमा उनीहरु कहाँ पुगे होलान् ।ओत पाए कि पाएनन् होला ? अनि ति काखे नानीहरु कहाँ राखे होलान्? अब रोगले भन्दा नि भोक र हिँडाइले मानिस बिरामी पर्ने भए ।


हिँडाइ पनि कम छैन काठमाडौंबाट सुनसरी ,कैलाली जान नजिकको बाटो कहाँ हो र । सरकारले पो आखाँ नदेखे जस्तो गर्छ । सरकार अब एउटा कदम उठाउनु पप्यो । यस्तै सयौं मजदुर अप्ठेरोमा परेका छन् । काठमाडौं र आसपासका क्षेत्रमा जस्का रोजिरोटिको ग्यारेन्टी छैन तिनीहरुकालागि उचित ब्यबस्थापन गरिदेउ। सुरक्षित गाँसबासको ब्यवस्था गरिदेउ। उनीहरु पनि मानव हुन् । देशका नागरिक हुन्। यति लेख्दै गर्दा मेरा आँखामा आँशुको बाढी आइसकेको छ। सरकार तिमी सानो भल मात्र भए पनि झार र केही गर । मेरो हात काम्यो । कलम चल्न छोडिसक्यो सायद हृदय छचल्किएर होला!

पार्वती बिश्वकर्मा

चितवन

भित्ताको पनि कान हुन्छ

२५ गते सम्म, ३ गते सम्म, १५ गतेसम्म भन्दा भन्दै लगभग एक महिना बितेको पत्तै भएन।बिहानै उठेर कलेज जाने तयारीमा लाग्ने म आज ६ बजेको alarm राखेर ८ बजे उठ्ने भएकी छु। लकडाउन सुरु हुनु भन्दा अगाडि उब्जेको term paper को चिन्ताले आजभोलि मेरो पछि लाग्न छोडिदिएको छ। लाग्थ्यो त्यो पेपर सकाउन दुई तीन दिन बिदा भइदिए हुन्थ्यो नि ! तर महिनौको बिदाले मेरो इच्छा पूरा भएको छ।

सबैलाई थाहा नै होला बिद्यार्थी जीवन, एक दुई दिन कलेज जान नपरे नि हुन्थ्यो नि भन्ने न हो…. त्यही बिदा चाहिने रहर आज पूरा भएको छ।लाग्छ म एउटा गहिरो निन्द्रामा छु र अहिलेको अवस्था मैले देखेको एकमात्र सपना हो। तर यस्तो समय देखेर वाक्क दिक्क लागिसकेको छ। कहिले लकडाउन सकिएला र कहिले गाडी नपाइएला भनि कलेज जान हतारिनुपर्ने दिन आइपुग्ला भनेर कुरिरहेकी छु। भन्छन् नि जुन चिज हामीसँग धेरै हुन्छ, त्यसको महत्व थोरै हुन्छ, हँ….. त्यस्तै आभास भइरहेको छ अहिले।

बिहानै उठेर आफ्नो सबै काम सकाएर लगभग ९ बजे कलेज हिड्न तयार हुने मेरो जीवनमा आज कताबाट हो परिवर्तन आएको छ।यसो विचार गरे, सायद यो लकडाउनले ल्याएको परिवर्तन हो। हतार हतार मुख धोएर कलेज दगुर्ने मलाई आज आफ्नो अनुहारको सुन्दरता बढाउन कागतीको रस दल्ने फुर्सद भएको छ। त्यो देखेर हजुरबुबा ठट्टा गर्दै भन्नुहुन्छ, “यो अब लकडाउन सकाएर हिरोइन भएर निस्किन्छे”। त्यस्तो ठट्टा सुन्दा कोरोनामय भएको यो त्रसित जीवनमा क्षणभरको लागि हाँसोको बिउ उम्रन्छ। त्यही हाँसोसँगै रमाएर खाइएका मिठामिठा खानाहरुले मोटाइएलाकी भन्ने डरले exercise गर्न थालेकी छु।आफ्नो समय बिताउन हेरिएका फिल्मको हिरोइनहरुका हाइटबाट ईष्या लागेर आफूपनि YouTube को सहयोगबाट विभिन्न तरिकाहरु सिक्दै छु।कहिल्यै किताब पढ्न नरुचाउने म आज एकाबिहानै “साफु संञ्चारमा तपाईहरुलाई स्वागत छ, आज हामी अर्को पाठ लिएर तपाईहरु सामु प्रस्तुत भएका छौँ” भन्दै आफ्नो आवाजले स्वागत गरेर किताब पढेर सुनाउनुहुने मेरी फुपुलाई सहयोग गर्दै बुद्दिसागरको फिरफिरे किताबको अडियो साफुका सम्पूर्ण सदस्यहरुमा बाँधिरहेकी छु। भान्छा भन्ने बित्तिकै झनक्क रिस उठ्ने मलाई आज २ नबज्दै के पकाउने होला भन्ने चिन्ता लाग्न थाल्छ। साँच्चै के यो परिवर्तन ममा लकडाउनले नै ल्याएको हो त?

ती दिनहरु थिए जब तातो तातो चियाको स्वाद कस्तो हुन्छ भनेर बिर्सिसकेको थिए, तर आज त्यही तातो चियामा झिङ्गाले आत्महत्या नगरेसम्म मोबाइलमा झुन्डिरहने बानी बसेको छ। Facebook, YouTube, Instagram गर्दै गोलघर घुमेझै मेरो जीवन त्यस्तै सामाजिक सञ्जालहरुमा मात्र सिमित भइ घुमिरहेका छन्। हुन पनि हो, शब्द आफैमा जाल भएपछि को चाहिँ नफस्नु र? एकै छिन मोबाइलको चार्ज सकियो भने कहिले चार्ज होला र फेरि त्यही सामाजिक सञ्जालको जालमा अल्झिन पाइएला भनेर सोचि बस्छु।

आजपनि सधैँझै फेसबुक चलाउँदै थिए, दिमागमा एउटा कुराले हान्यो। त्यो थियो जाल र माछा। लाग्यो अहिले माछामा र हामीमा केही फरक छैन। मात्र यति फरक छ कि माछा आफूले नजानेर र नचाहेर माझीको जालमा फस्छन् भने हामी मानिस जानेरै सामाजिक सञ्जाल र लकडाउनको जालमा फसिरहेका छौँ। जहाँबाट निस्कनलाई प्वाल त अनेकौ छ तर अवस्था कतिपनि छैन। लकडाउन खुल्ला र साथीहरुसँग भक्तपुर दरवार स्क्वायर घुम्न जाउँला, साफुको अफिसमा पहिलेझै ठट्टा गरेर काम गरौँला र कलेजका उही दिक्कलाग्दो र रमाइलो दिन बिताउँला भन्ने मेरा इच्छा अझै पनि मेरो मनका कुनामा लुकेर बसेका छन्। तर आज कोरोनाले ती सारा चाहाना अधुरा भएका छन् र मेरा कोठाका चार भित्ताहरु मेरो साथीको रुपमा प्रस्तुत भएका छन।भन्छन् नि भित्ताको पनि कान हुन्छ, हो….त्यही भनाइ आज साँचो लागिरहेको छ।

लकडाउन अघिका दिनहरु त्यस्ता थिए जब बिहानै निस्केर राति घर फर्किन्थ्यो।त्यतिबेला लाग्थ्यो, म घरमा होइन कुनै होटेलमा बसिरहेकी छु।तर आज साच्चिकै नै घर, घर जस्तै लागिरहेको छ।घर बस्दा बस्दा पहिले सफा लागेको पर्दा पनि फोहोर लाग्न थालेको छ।त्यही फोहोर भएको पर्दा माथि गुनासो पोख्दै म घर बसेर गर्न सकिने कामहरु जस्तै चित्र कोर्ने, इन्टरनेटको सहि ढङ्गमा उपयोग गर्ने र online classes लिने जस्ता कार्यहरुमा पनि संलग्न भइरहेकी छु।अनि कहिलेकाहिँ विचार गर्छु कि यदि लकडाउन नभइदिएको भए सायद मानिसहरु आफ्नो जिवनमा त्यसरी नै व्यस्त रहन्थे होला र महिनौको बिदा र आरामको माग गर्दै आफ्नो कर्मलाई दोष दिदैँ हुन्थे होलान्।

आकृति बखाद्याे

लकडाउनले सरेको मेरो एस.इ.इ

दिक्क लाग्थ्यो मलाई पहिला आफ्नो जिन्दगी देखेर। न त मैले आमाबुवाको लागि समय छुट्याउन पाएकी थिए न आमा बुवाले नै मेरो लागि।म आफ्नो पढाइको धुनमा बिहान ६ देखि बेलुका छ बजेसम्म विद्यालयमा व्यस्त रहन्थे। अनि आमाबुवा पनि हामीलाई शिक्षा दिन र हाम्रा आवश्यकतालाई पूरा गर्नका लागि अफिस र काममा व्यस्त हुनु हुन्थ्यो। 

साँच्चै धेरै धेरै धन्यवाद यो लकडाउनलाई जसले मलाई र मेरा आमाबुवालाई एकअर्कासँग समय बिताउने मौका दिएकोमा। मैले धेरै उमेर त बाँचेकी छैन, तर पनि जिन्दगीमा पहिलो पटक मैले आफ्ना आमाबुवासँग यति धेरै समय बिताउन पाइरहेकी छु। आमाबाबाका पुराना रमाइला अनुभवहरु सुन्दै आफ्ना जीवनमा लागू गर्दैछु । 

हुन त म एउटा विद्यार्थी हुँ। १० कक्षामा आध्ययनरत। विभिन्न खालका पुस्तक र ज्ञानका कुराहरु मैले विद्यालयमा नै पढ्थे। तर मैले कहाँ आफ्ना पुस्तकलाई यति नजिकबाट नियालेकि रहेछु र ? आफ्ना पुस्तकलाई यति नजिकबाट नियाल्ने र जान्ने मौका अहिलेका यी दिनहरूमा पाइरहेकी छु।यी लकडाउनका दिनहरुमा मैले आफ्ना पाठ्यपुस्तक अझ अध्ययन गर्दैछु।विद्यालयबाट पनि नसिकेका कुरा मैले आफ्नो स्व-अध्ययनबाट थाहा पाउँदै गइरहेकि छु।”त्यो बालापन, नयाँ वर्ष २०७७, मेरा साना बहिनीहरु , मेरो रमाइलो संसार” जस्ता कविताहरु लेख्दै ,आफूलाई अझ सिर्जनशील बनाउँदै, सृजनात्मक कार्यमा रमाइ रहेकी छु। 

आफ्नो सुन्दर भविस्यको परिकल्पना गर्दै त्यसलाई साकार पार्न मेहनत गर्न मलाई यस लकडाउनले समय प्रदान गरेको छ। एस.इ.इ. परीक्षा स्थगित भएको सुन्दा मलाई पहिला अलि अलि रिस उठेको थियो र अलि अलि नमज्जा पनि लागेको थियो। तर अहिले सहि निर्णय लिएको रहेछ सरकारले जस्तो लागेको छ।एकातिर कोरोनाको महामारीबाट देशलाई बचाउने, अर्कातिर म जस्ता एस.इ.इ. दिने विद्यार्थीहरुलाई थप तयारी गर्ने मौका प्रदान गरेर सरकारले हामी देशबासी र विद्यार्थीलाई ठूलो गुन लगाएको छ। 

हामीलाई आशा छ समयसँगै यो बिपत्ती हटेर जानेछ, सुखको दिन आउने छ। जमघट गर्ने अवसर प्राप्त हुनेछ। तर यसको लागि हामीले हाम्रो जीवनमा पूजापाठ भन्दा पनि अस्पताल र साबुन पानी महत्वपूर्ण छ भन्ने कुरालाई बुझी पटक पटक मिची मिची साबुन पानीले हात धुने बानीलाई सधै निरन्तरता दिनुपर्नेछ र कोरोनालाई हराउनु पर्नेछ। अरुलाई पनि यो लकडाउन मलाई जस्तै सुनौलो अवसर बनोस् । सबैलाई नयाँ बर्ष २०७७को हार्दिक मङ्गलमय शुभकामना।

श्रेया दाहाल

उदयपुर

हाल काठमाडाैं

पुलिसको भ्यान

साेमबारको दिन थियो। सधैं झैँ आज पनि भान्साघरबाट आमाले नानी ६ बजिसक्यो, चिया खान आइज भन्नुहुन्छ भनेर सुति रहेको थिएँ। तर त्यसदिन आमाले बोलाउनु अघिनै घर बाहिरबाट धेरैनै हल्ला सुनियो। पहिले त बिहानमा टाढा टाढाबाट साइकलमा तरकारी बेच्नेहरु आउँथे पक्कै उनीहरु नै होलान् भनेर बाहिरसम्म पनि निस्कन अल्छि गरेँ। आमाको ‘नानी माथि आइज’ शब्दकै प्रतिक्षामा पल्टिरहेँ। तर अब धेरै नै भयो बाहिरको हल्ला पनि बढ्दो थियो। घर वरिपरिका मानिसहरु बाेलेकाे सुनेँ ‘लौन के दिन आयो यस्तो ! अबबाट त मर्निङ वाक भन्दै राति चारैबजे निस्कन पनि मिलेन। लौ यस्तो तालले पेट कसरी पाल्नुहोला खै!’

त्यत्तिकैमा बाबाले नानीकी आमा अस्ति राख्न दिएको करेलाको बिउ पुर्याउ त भन्नुभयो। छिमेकी काकाले पनि बाबासंग बिउ लिनुभयो। अब त आफ्नै बारीमा खेती गर्नुपर्यो क्यारे नत्र त लकडाउन बढ्दो छ। जहान परिवार मात्रै पनि बाँच्न हम्मे हम्मे पर्छ भन्दै कुरा गर्दै हुनुहुन्थ्यो। पक्कै पनि काकाले अल्लि अगाडिको घर बाहिरको घटनालाई सम्झँदै कुरा गर्नु भएको होला। र अघि मैले खाटमै बसेर सुनेको हल्ला त्यही तरकारी बेच्नेहरुकै पो रहेछ।

तर अरुबेलाको हल्ला र आजको हल्लामा धेरै भिन्नता थियो। अरुबेलाको हल्ला स्थानीय र तरकारी बेच्नेहरु बिचमा हुन्थ्यो भने आजको हल्ला त पुलिस र तरकारी बेच्नेकाे बिचको पो रहेछ।

म सुतिरहेकी थिएँ त्यसैले सबैकुरा बुझ्न आमा जानुभएको रहेछ। आमाले म उठ्नु अघि भएका सबै घटनाक्रमहरु सुनाउँदै मलाई चिया दिनुभयो। आमाले सुनाउँदै हुनुहुन्थ्यो, तरकारी बेच्ने दिदीलाई  पुलिसले लाठी हान्यो रे! अनि त्यो दिदीलाई पुलिसले लग्यो रे। यो कुरा सुनेर म एकछिन त स्तब्ध भएँ। कौसीबाट बाटो तिर हेरेँ । अहिले त्यो सडक सुनसान थियो। सबै मानिसहरु आफ्नो आफ्नो कामतिर लागिसकेका थिए। त्यो शून्य सडकमा थियो त केवल छरिएका तरकारीहरु र तरकारी बेच्न आएकी दिदीको फुटेका चुराका केही टुक्राहरु। त्यो देखेर नरमाइलो लाग्यो। एकैछिनमा भुस्याहा कुकुरहरु पनि त्यही छरिएका तरकारी सुघ्नँ थाले। म त्यो दृश्य हेरि नै रहेँ र स्तब्ध भएँ।

बाबा पनि चिया खान आउनु भयो र चियाको पहिलो चुस्कि लिँदै आमालाई सुनाउँदै हुनुहुन्थ्यो ‘अब त ५ वर्षपछि हाम्रो गाउँको खेत, बारी जाेत्न गइन्छ जस्तो छ। सहरको हालत यस्तो छ। बाबाआमाको कुरा सुनेर मलाई पनि खुसी लाग्यो र अघिको सटको दृश्य सम्झेर फेरि दुख पनि लाग्यो। मेरो मनमा अनेकौँ कुराहरु खेल्न थाले। ५ वर्ष अघि त्यो खेत किन बाँझो थियो। के अब पैसाको साँच्चै  केही मूल्य छैन। के अब मानिसलाई मिहिनेतको भन्दा बेइमानीको फल मिठो लाग्छ। तर के हजुरबाले भनेझै उहिलेको पाला र अहिलेको पालामा साच्चै धेरै नै भिन्नता छ त?

हुनपनि हो घरबाट निस्कन मिल्दैन सबै श्रोत साधनहरु ठप्प छन्। आफ्नो दैनिक जीवनयापन सबैलाई गर्नैपर्यो।अनि मानिसले अझै पनि भएका जग्गा जमिनहरु प्लटिङ गर्दै बेच्लान् त। के अझै पनि घर छेउको बारी बाँझो राखेर पैसाको पछि कुद्लान् त। यो बन्द समस्याले सबै मानिसमा कडा मेहिनतका साथ मिठो फल पाउने नयाँ जागरण र स्वाभिमानको साथ बस्ने नयाँ मोड लिन सिकाओस्।

पुलिसको गाडी फेरि कुईँ कुईँ गर्दै आइपुग्यो ।

हे भगवान् यो बन्दले सबै मानिसमा मैले सोचेको जस्तै परिवर्तन ल्याओस् र नेपाल छिट्टै विकसित र आत्मनिर्भर बनोस्।

सुरक्षा आचार्य

घोराही दाङ

ज्यामी दाइ

जीवन मूल्यवान त थियो नै! तर कति मूल्यवान हुँदोरहेछ भन्ने आधार र प्रमाण यो महामारीको संत्रासले पक्कै आकलन गर्न सकिन्छ। भोलिका दिनमा खै यो मास्क लाउने चलनले कतिसम्म निरन्तरता पाउँला! तर आज चाहिँ मास्क लगाउनुपर्ने बाध्यता छ। हातमा लगाउने सेनिटाइजरको बजारको मागले भने मास्क र सेनिटाइजरको व्यापारीहरुलाई गतिलै फाइदा भएको हाेला।

यो संकटमा गाउँ जाने मेसो थाँती राखेर काडमाडौंमै बसेको म। कुरा सोचेरै दिन कटाउने बाहेक कुनै उपाय छैन । बाहिर जाउँ कहाँ जाउँ।हर कुरा ठप्प छ। आजभोलि मेरो काम भनेको विहान एक फेर घर नजिकैको तरकारी पसलमा गएर एक छाक तरकारी ल्याउने र केही किचनको काममा आमालाई सकेकोे सहयोग गर्ने । यो बाहेक मेरो दैनिकीमा कुनै जिम्मेवारी छैन।

बिहानीको पारीलो घामसंगै दिन बिताउन बार्दलीमा बसिरहेको थिएँ। करेसामा करिव चार पाँचजनाको जमघट देखेँ। कोही वार्तालाप गरिहेका र केही चाहिँ सामाजिक दुरी कायम गर भन्दै सुझाव दिइरहेका थिए। उनीहरु वडा कार्यालयबाट विपन्न वर्गलाई सहयोग गर्नको लागि तथ्याङ्क संकलन गर्न आएका रहेछन्। बुझ्दै गएँ, कथा अलि फरक पो रहेछ। म बसेको घरको छिमेकी घरबेटी पनि विपन्न वर्गमा नै पर्दारहेछन् झैँ लाग्यो। किनकि सहयोग लिनको लागि उहाँको पनि डाटा संकलन भयो। यो वेला विपन्न वर्गको परिभाषा खोज्न मैले चासै दिइन। डाटा संकलनकर्ताले भन्दै थिए छुटेकाहरु भोलि वडा कार्यालयमा आउनु र त्यहीँ फारम भरेर बुझिलिनु।

राति यही कुरा सोच्दा सोच्दै निदाएँछु। भोलिपल्ट सधैँ झैँ सबेरै उठ्नु पर्ने बाध्याता थिएन। आजको लागि तरकारीकाे पनि व्यवस्था थियो। म ओछ्यानमै पल्टिरहेँ। खाना खाँदै गर्दा मैले हिजो वडाका प्रतिनिधिहरुले भनेका कुरा सम्झेँ। आमाले जाऊ बुझैर आऊ भन्नुभयो। म करिव बिहान ११ बजे तिर वडा कार्यालय गएँ। चर्को घाममा मानिसको हुल थियो। वडा कार्यालयको वरपर। के गरिब के धनी सबै जना सहयोग पाइन्छ कि भन्ने आशामा आएका थिए।आमाले हामीलाई अहिले नै त्यस्तो केही आवश्यकता छैन। कुरा बुझेर मात्र आए हुन्छ भन्नुभएको थियो। वडाका प्रतिनिधिहरुले भन्दै थिए, अहिले सहयोग फारम सकिएको छ। पछि उपलव्ध भएपछि खवर गर्छौं ।

छेउपट्टी बसेका एक जना दाइलाई देखेँ। ज्यामी काम गर्नुहुन्छ होला झै लाग्यो मलाई। “दुई हप्ता भइसक्यो साइटको काम नचलेको कसरी जीवन धान्ने, कसरी परिवार पाल्ने” भन्दै वडा प्रतिनिधिसंग विलौना गर्दै हुनुहुन्थ्यो। तर वडाका प्रतिनिधिहरुले कड्किँदै जवाफ दिए “तपाईंहरुलाई भनिसकेँ त, अहिले फारम सकिएको छ।अब आएपछि खबर गरौँला।” यही गन्थन मन्थन चल्दा चल्दै फारम नपाइने भएपछि सहयोगका आशमा गएकाहरु फर्किन थाले र म पनि आफ्नो कोठामा फर्केँ ।

फर्किदै गर्दा मनमा कुरा खेलिरह्यो । प्रश्नै प्रश्नको चाङ लाग्यो । साँच्चै विपन्न वर्गले राहत पाउँछन् त ? कि जो टाठा बाठा छन् उनीहरुले मात्र पाउने हो ? मेरो छिमेकी घरबेटी विपन्न वर्गमा पर्छन् कि, ती ज्याला मजदुरी गर्ने दाइ !

सुजाता दुवाडी

बालुवाटार

कसरी म भुलें केमा म भुलें…

प्यारो सम्झनाको बगैंचा,

तिमीलाई सम्झिँदै म त फेरि आएँ

आज अर्को सम्झना रोप्न आएँ

रोप्दा रोप्दै कलमको मसी रोकियो।

आकाशमा उडने हवाईजहाज रोकियो। गुडी हिँड्ने मोटर रोकियो। रोकियो उडी हिँड्ने प्रदुषण। रोकिएनन् त दुःखी हिँड्ने पाइला। अनि रोकिँदैनन् खै आमाको चिन्ता! दिदीबहिनीको हाँसो र नाच रोकिँदैनन्। बाबाको न्युज 24 रोकिँदैन र रोकिँदैन छिमेकी आन्टिको गफ। रोकिएँ त म।

अरे वा ! सेतो पानामा कालो अक्षर कति सुहाउने।

नौ दस बजे उठ्छु, नित्यकर्म गर्छु। एकछिन घामको साथी बन्छु। अझै भोक लाग्दैन। अँ, एकछिन पछि भोक लाग्छ। घामलाई छोडि आउँछु। ऊ रिसाउँछ अनि रोइदिन्छ। 

एकछिन सेलफोनलाई साथ दिन्छु। तर यो एकछिन धेरै छिनमा परिवर्तन भइदिन्छ। कहिले बिनोद चौधरीको `Making It Big´ पल्टिन्छ। कहिले अच्युत घिमिरेको आवाज गुन्जिन्छ। त कहिले नारायण गोपाल एकोहोरो गाउँदै हन्छन्, `कसरी म भुले केमा म भुले´। अँ, म सोच्छु कि केमा भुले? खान भुले, खाजा खान भुले….आमाले बोलाएको भुले। तर मकै भटमासले मलाई कहिल्यै भुलेनन्। 

अब घामलाई म भुल्दिन भनेर साथ दिन गए। तर घामले मलाई साथ दिएन। साथ खोज्न दिदीबहिनीसँग गए। उनीहरुले नाचमा सहभागी गराए, तर म सहभागी भइन। अन्तिममा बाबासँग मन नलागि नलागि लुडो खेल्न भने सहभागी भए। अनि एकछिनमा खान पनि सहभागी भए।मुभि खोलेर `Train to Busan´ मा बसे। ट्रेनले अब स्टेशन छाडिसक्यो। खाली बुसान कहिले आउँला भनेर कुरिरहेको छु।

अध्याँरो हुनु थियो भैदिन्छ। फेरि अध्याँरोमा नै अनेक कुरा खेल्छ। खेल, खेल म केही भन्दिनँ! खेल्दै गर्दा अमेरिकामा भएका दाजुहरूको याद आउँछ। मनमा चिसो पस्छ। भारतमा भएका साथीको याद आउँछ। अनि आउँछन यस्ता थुप्रै यादहरू।

मेरा यादमा भएका सबैको प्रतिरक्षाको कामना गर्छु। र यादमा भएजति देवताको नाम लिन्छु। नाम लिदाँलिदैँ निन्द्र देवी प्रकट हुन्छिन्। उनले मेरो उद्दार गर्छिन्। म उनको काखमा निदाउँछु।

फेरि आउनेछु।

उहि तिम्रो,

माली।

राजिब लामगादे

दोलखा 

‘बिसु’काे सम्झना

बहिनी यसपालि एस.इ.इ परीक्षाको तयारीमा थिइन्। उनकाे परीक्षा स्थगित भयाे। केही दिनपछि नेपाल सरकारले लकडाउन सुनायो। बस टिकटको लागि गोङ्गवु बसपार्कबाट २ चोटी रित्तै हात फर्कनु पर्यो। साथीहरुलाई समेत टिकटको लागि भनेको कतै भेटिएन। र अन्त्यमा जे जस्तो भए पनि अब काठमाडौं मै बस्ने निधोँ गरे।

आजभोलि घरबाट आमाबुवाले दैनिक फोन गर्नुहुन्छ। आफ्नो कोठामा बसिरहनु, बाहिर कतै नजानु भन्दै सम्झाइ रहनुहुन्छ। बिहान क्याम्पस अनि दिउँसो कोठामै बसेर साँझ तिर खेल्न निस्कने बानी एकैचोटी कोठाभित्र दिनभर बसिरहन सजिलो त पक्कै थिएन। तर पनि कोरोना भाइरसको बढ्दाे संक्रमणका समाचारहरु सुन्दा सबै अप्ठ्यारोपन हराएर जाने रहेछन्। मोबाइल, ल्यापटप, इन्टरनेट साथी बनेका छन् अचेल। छत, भान्सा र सुत्नेकोठा ठूला मान्नुपर्ने भएको छ। घर जानुभएका साथीहरु र देश विदेशमा रहनुभएका आफन्तजनहरुसँग कुराकानी गरेर दिन बिताइरहेको हुन्छु। हेर्ने कथा दोहोर्याएर हेर्ने समय पाएको छु।

लकडाउनले ‘बिसु’को निकै याद दिलायो। बिसुका थुप्रै सम्झनाहरु मनमा खेले। यसपालि घर पुग्ने याेजना थियाे।

सम्झिए भोलि त नयाँ बर्ष हो। नयाँवर्षको सुरुवात अर्थात ‘बिसु जात्रा’ हाम्रोतिर निकै रमाइलो गरि मनाउने गरिन्छ। कार्तिक मंसिरमा खेतीपातीको काम गहुँ-जौँ छरिसकेर ज्याला मजदुरी गर्न छिमेकी देश भारत जाने र ‘बिसु’को अवसर पारेर घर फर्कने आफन्तजनरू र घरपरिवारमा हुने खुसीयालीलाई सम्झिए। (यसपालि त महाकाली पौडेर पनि घर फर्किन पाउनु भएन रे!)

हजुरआमाले भोलि ‘बिसु’ हाे, विहान सबेरै उठेर आँखा नखोलि आँगनमा जाने र आकाशतिर हेरेर आँखा खोल्ने भन्नुभएको सम्झे। भन्नुहुन्थ्यो त्यसाे गर्दा बर्ष भरि मन सफा र शान्त हुन्छ रे ! ‘बिसु’मा बटुक पकाउन मास भिजाएको सम्झे। गाउँमा हुँदा हरेक बर्ष साथीभाइहरुसँग ‘बिसु’ जात्राको अवसरमा लाग्ने मेला गएको सम्झे। सबै कुरोको सम्झना आयो सायद घरबाट टाढा भएर होला।

हुन त पछिल्ला ६-७ बर्ष यता नयाँ बर्ष घरपरिवारसँग मनाउन पाएको थिएन। तर यसपालि बहिनीको एस.इ.इ पनि सक्किने र आफ्नो पनि क्याम्पस बिदा पर्ने भएकाले ‘बिसु’ घर जाने योजाना थियो।त्यसैले याे नयाँ बर्ष अलि बढी नै याद दिलाउने खालको रह्यो।

सूर्योदय ऐडी

बझाङ्ग

हाल: काठमाडौं

मनकाे सन्नाटा

म अहिले दिपायल, डोटीबाट करिब ८३२ कि.मि. टाढा रहेको गोठाटार, काठमाडाैंमा बस्दै आइरहेको छु । गाउँ छोड्दा अरुले झैँ मनमा अनगिन्ति सपनाहरु साँचेको थिए सके लोक सेवामा नाम, नसके राम्रो निजि कम्पनीमा काम, परिवार प्रतिको मेरो जिम्मेवारी बढ्दै गएको जो थियो। तर अहिले आएर मेरो मात्रै के भनौँ पूरै संसारको प्रगति, उन्नति, आशाको घडी एकएक टक्क अडिएको छ । जसरि सुँनेथे, काठमाण्डौँको घण्टाघरको घडी रोकिएको छ।कसैले कल्पना सम्म गरेको थिएन होला कि, यस्ता पनि दिन आउँछन, जहाँ महिनौँ घर भित्र बस्नु पर्ला, सम्पत्ति हुँदा पनि अभावै अभावमा दिन काट्नुपर्ला, उपचार सजिलै सम्भव हुँदा पनि मर्नुपर्ला, आफ्नैले लाश छुन सम्मन डराउँलान, आदि इत्यादी कुरा ।

सरकारले कोभिड – १९ का कारण गत चैत्र ११ बाट देशैभरी लकडाउन गर्याे। मनमा खुसी छायो, संक्रमणमा कमि आउँछ भनेर। फेरि एक दुई जनामा कोराना भाइरसको संक्रमण देखिएसँगै पुनः लकडाउनको अवधि थपियो।मेराे मनमा केही पिर पनि थपिए। केही आशा पनि थपिए। अब त यो भाइरसको संक्रमण कम होला कि भन्याे तर त्यसाे कहाँ हुनु र! यसरी लकडाउन थपिदैँ जाँदा अचेल मनले मनलाई घरी घरी एकै प्रश्न गरिरहन्छ, आँखिर कहिले, कहिलेसम्म यो लकडाउन ? जाँच थियो, जाँच छुट्यो, सानो काम गर्थे त्यो पनि बन्द छ। थाहा छैन कम्पनीले तलब पनि दिन्छ दिदैँन। कमाएर घरमा दिनु पर्ने बेला आफैँ घरपरिवारमा आश्रित छु । 

हरेक दिन साँझ डेरा घरको छतमा जान्छु, म गोठाटार आए देखि कहिल्यै सुनसान नदेखेको एयरपोर्ट अनि आकाश सुनसान देख्छु। अनि यसो सोच्छु  आखिर कहिलेसम्म यो सन्नाटा मनमा छाइराख्ने हो? कहिलेसम्म नेपाल यातायातको हर्न सुन्न नपाइने हो? कहिलेसम्म चाड पर्व स–परिवार सँगै मनाउन नपाउने हो? कहिलेसम्म हामी सामान्य जीवनमा फर्किने हाे? यी प्रश्नहरुको उत्तर सबैले केवल अनुमान मात्र लगाउन सकेका छन्।यस महामारीको अन्त्य कहिले हुन्छ कसैलाई थाहा छैन। यो रोगका कारण नेपालसँगै विश्वमा आर्थिक मन्दि छाउने निश्चित छ। करोडौँ वेरोजगार हुने निश्चित छ। र यसको प्रत्यक्ष चापमा युवाहरु पर्ने पनि निश्चित छ। यी कुराहरु सम्झिदा मन झनै विरक्त भएर आउँछ कारण त्यो करोडौँ वेरोजगार युवामा म पनि पर्ने हो । जो सुन्दर सपना बोकेर सुन्दर गाउँ छोडि आएको थियो। 

यति हुँदा हुदैँ पनि यो लकडाउनले गर्दा थप अध्ययन गर्ने समय जुटेको छ। जुन मैले लिएको लक्ष्य प्राप्त गर्न थप सहज हुने पूर्ण विश्वास लिएको छु। तर साँझपख समाचार सुन्छु मनमा कता कता पिर पर्न सुरु हुन्छ । आशा गरौँ यो महामारीको अन्त्य चाँडै हुनेछ । 

भरत सुनार

दिपायल, डोटी

मेरी आमा र गोमा आमाकाे त्याे भेट

२०७६ साल जसरी २०७७ सालको नयाँ वर्षको उमगं हामी माझ छ कि छैन त थाहा छैन, तर कोरोनाको त्रास भने देशविदेशका मानिसको मन र मस्तिष्कमा यसरी गडीन पुगेको छ कि, मानिसहरु आफूले माया गर्ने व्यक्तिहरुको मुहार हेर्न आफ्नो गाउँघर फर्कने चहानामा देखिन्छन्। जसरी काक्रो खादैँ जादाँ फेद तितो हुन्छ, त्यसरी नै हेर्ने हो भने, विदेशमा कोरोना फैलिँदा गुलियो काक्रो खाए सरह रमाइरहेका हामी, अहिले फेद अर्थात आफ्नो वक्षस्थल तर्फ आइपुग्दा तितिन पुगेका छौँ र हाम्रो मन पनि तितिएको छ । बिहान उठेर समाचार पढ्यो त्यही कोराेना भाइरस। मृत्यु हुनेकाे सङ्ख्या देखेर उराठ लाग्छ र लकडाउनको कारण देश अब कुन बाटो तिर उन्मुख हुन्छ भनेर पनि सोच्छु तर जवाफ मिल्छ त केबल, मौनता। दिन र रात नभनि खटिएका सुरक्षाकर्मीे र सहयोगी हातहरु प्रतिको माया र सम्मान अझै बढेकाे छ मनमा। सलाम छ हजुरहरुप्रति ।

सोच्छु, टाढा समुन्द्रपारी, आफ्ना आफन्त भएकाहरुको हालत के भएको होला, जहाँ कोरोनाको त्रास यहाँ भन्दा दोब्बर तेब्बर नै छ। जब हामी बुवाबाट केही किलोमिटर पर हुदाँ पनि उहाँ हामीसँगै भएको भए कति खुसी हुने थियौँ जस्तो लाग्छ। तर फेरि मानिसहरुको मनोबल र इच्छाशक्त्ति देख्दा केहि हद सम्म भए पनि राहत मिल्छ कि पक्कै पनि एक दिन यो संसार जुरमुराई उठ्नेछ र हामी पहिले भन्दा अझै बलियो हुनेछौँ । 

२०७७ साल क्यालेन्डर त घरकाे भित्तामा भित्री सक्यो तर हाम्रो मनमा भने अझै भित्रीन सकेको छैन। सधैँ हर्ष र खुसीका साथ मठ मन्दिर, ताल तलैयामा छाउने नयाँ साल यस वर्ष, घरको गेट भन्दा बाहिर छाउन सकेन। मन उजाड छ, सक्रिय छ त केबल कोरोना भाइरस। उही उच्च मनोबल र सकरात्मक बिचार धाराले यस्ता कोरोना भाइरस त के जस्तो सुकै आँधिलाई पनि हराउन सक्छौँ रे। बढ्दै गरेको प्रकोप सँगै हाम्राे ईच्छाशक्ति घट्नु हुदैँन । बढ्दै गरेको त्राससँगै हाम्राे मनोबल पनि घट्नु हुँदैन ।

बाटाहरु रित्तिएका छन्, तर मन नरित्तिउन्

आम्दानी आउने श्रोतहरु रित्तिएका छन्, तर धैर्य धारण गर्ने शक्ति नरित्तिउन्

खाद्यान्न रित्तिएको छ, तर राहत बाढ्ने हात नरित्तिउन्

सहयोग गर्न योग्य साधन रित्तिएका छन्, तर सहयोगी हातहरु नरित्तिउन्

सहरहरु रित्तिएका छन्, तर सहरलाई उज्यालाे बनाउने हात नरित्तिउन् 

पहिले भन्दा अहिले चराको चिरबिर बढी सुन्छु। लाग्छ, उनीहरु अहिलेकाे संसारमा रमाइरहेका छन्। आफूलाई पूर्ण रुपले यो स्वच्छ हुन पुगेको हावा, यो पानी अनि यो वनजङगलमा समर्पित गरेका छन् । यस लकडाउनमा हामीले आफूलाई बुझ्ने र फर्केर हेर्ने  मौका पाएका छौँ, वर्षौ देखी थाती राखेका कामलाई पूरा गर्ने समय पाएका छौँ,गाउँघरका तिजु, काफलका रुखले पनि यस वर्ष साथी पाएका छन्। यस बखत आफूलाई र घर परिवारलाई सम्हालेर आफूलाई चिन्ने सक्दो प्रयास गर्दैछु।

हेर्ने कथाका धेरै अंकमा गोमा आमाको कथा पनि निकै प्रिय लाग्छ। केही दिन अघि मेरी आमाले उहाँलाई बजारमा भेट्नु भएको रहेछ। कथामा जसरी नै उहाँले एक टुक्का गीत पनि गाउनु भएछ र केही भलाकुसारी पश्चात छुटिनुभएछ। यति कुरा सुनाउँदा मेरी आमाको मुहारमा छुट्टै खुसी थियो। सानो सानो कुरामा पनि खुसी हुन त्याे अनुहारबाट सिकेँ पनि।

सुस्मिता पाैडेल

पाेखरा

लकमा छु, डाउन भएको छैन

बिहानको किरणसँगै मेरा आँखाका परेली पनि झुल्के घाम र नयाँ परिवर्तन हेर्न आतुर छन्। तर सधैँ जसो मेरो दिनको सुरूवात इन्टरनेटमा “कोरोना” भाइरसको अपडेट संगै हुने गरेको छ। 

मलाई लक डाउनको तेस्रो दिन सम्म पनि थाहा थिएन “लक-डाउन”को अर्थ के थियो भनेर तर पालना भने गरिनै रहेको थिएँ। बिस्तारै फेसबुक र इन्टरनेट तिर यसको व्यापक हल्ला हुँदै गयो अनि मलाई पनि थाहा भयो। 

संसारभर अहिले महामारीले निकै त्रास पैदा गरेको छ। यसैगरी मेरो मनमा पनि एक प्रकारको डर पैदा गरेको छ। तर म बिभिन्न तरिकाले आफ्नो मन सम्हाल्ने काम गरिरहेको छु। विकल्प पनि अरू केही छैन।

मन ‘झनै आत्तियो’ भन्दै थियो हिजोको तुलनामा आज संक्रमितको संख्या बढ्दो छ। समाचारले आफ्नो धर्म छोडेको थिएन। अझ थप सतर्कता अपनाउन आग्रह गर्दै थियो। म धन्यवाद दिन चाहन्छु संन्चारकर्मी, डाक्टर, पुलिस, नर्स र अरु बिभिन्न विधाको सहयोगीहरुलाई जसले यस्तो माहामारीको बेलामा पनि यसरी कर्म गरिराख्नुभएकाे छ।

यो मेरो लागि निकै महत्वपूर्ण समय रहेको छ। मलाई हेर्न मन लागेको सिरिज, फिल्महरु हेर्नका लागि मलाई सबैभन्दा उत्कृष्ट समय मिलेको छ। मैले यो बसाइमा Money Heist, Vikings, Prison break, Narcos, The last kingdom  सिरिज र मुना मदन, पुरानो पुस्ताका फिलिम, हेर्ने कथाको छुटेको भाग र बिभिन्न डकुमेन्ट्री हेरेर दिन बिताएको छु। केही समय निकालेर म उपन्यास पनि पढ्छु।

म यो बेला आफूलाई सिकाइको समयमा सदुपयोग गरि रहेको छु। अझ भन्न पर्दा मैले अहिले भन्दा पहिले कहिल्यै यसरी डायरी लेख्ने गरेको थिइन। तर अहिले मेरो दैनिकि नै बनेको छ। म धन्यबाद दिन चाहन्छु “हेर्ने कथा” र “सपनाको श्रङ्खला” को सम्पूर्ण पात्र र टिमलाई। 

म यो समय अझ बिशेष होस् भनेर जानि नजानि भए पनि गितारमा औंलाहरु चाल्न थालेको छु। म आफू हराइएको महसुस भएको थियो, यो बसाइले म भित्रको आफूलाई खोज्न मद्दत गरिरहेको छ। मैले आजकै दिनमा मात्र हेमन्त रानाको “साइँली” गितमा धेरै थोरै बजाउन सक्ने भएको छु। जब म गितार समाएर बजाउन र गाउन सुरू गर्छु तब मलाई उज्जवल सागरको भनाइहरुले थप उर्जा र हौसला दिन्छन्।

अब त  बर्खा लाग्यो क्यारे। गाउँमा सबैजना खेति गर्नमा मस्त हुन्छन्। टुसाएकाहरु फक्रिउन्, फक्रिएकाहरु फुल हुन्, फुलेकाहरु सुगन्धित हुन्, सुतेकाहरु उठुन्, उठेकाहरु हिडुन्, हिडेकाहरू दैडिउन्, दैडिएकाहरु गन्तव्यमा पुगुन्। 

यस्तै सोच्दै र कल्पना गर्दै आजको दिन बित्छ र  त्यो भन्दा अगाडि मैले मेरा भावना, चाहनाहरुलाई यही वहानामा यो डायरी लेखेर भ्याए । 

मलाई यसरी  लेख्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई दश औंला जोडेर नमस्कार 🙏🙏

बिनाेद सापकाेटा

तनहुँ

  

                                                                                        

                                                                        

फेरिएका दिनहरु

लकडाउनले म लगायत धेरैको दैनिकी फेरिएको छ।  म कर्मथलोबाट जन्मथलो फर्किएको छु । मेरो घर तराईमा पर्छ। गाउँघरका मान्छेहरु खेतबारीको काम गर्न अनि गाईवस्तु चराउने सिलसिलामा घर बाहिर निस्किरहनु पर्ने हुनाले यता मान्छेहरुको चहलपहल भैरहन्छ।                                                 

लकडाउनले देशका धेरैजसो मानिसहरु घरमै अर्थात एकान्तवासमा छन् । यसले थुप्रै क्षेत्रहरुमा प्रत्यक्ष असर पारेको छ। सुरुमा सरकारले लकडाउन घोषणा गर्दा, देशका नागरिक अनभिज्ञ थिए । म पनि अनभिज्ञ नै थिए । अहिले लकडाउन के हो भन्ने कुरा प्रायः सबैले बुझेका छन्। अत्यावश्यक काम बाहेक अरुबेला घर बाहिर निस्कन नपाए पनि नियालेर हेर्दा  केही सामाजिक कुरामा भने सकारात्मक प्रभाव पारेको देखिन्छ ।

 धेरैजसो व्यस्त हुने मानिसहरु घरमै परिवारसँग बस्दा परिवारमा खुशीको माहोल हुनेनै भयो । यस्तो अवस्थामा पारिवारका सदस्य छलफल गर्न पनि सजिलो भएको छ। मान्छेहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै  आफूलाई मन पर्ने विभिन्न परिकारहरु घरमै बनाएर खाएको सामाजिक संजालका पोस्टहरुमा देखिन्छ।

यसरी घरमा विभिन्न परिकारहरु बनाउँदा परिवारका सदस्य तथा बालबालिकाहरुले केही सिक्ने मौका पाएका छन् । यतिमात्रै होइन बालबालिकाहरु घरमै बस्दा अन्य कुराहरु पनि सिकेका छन् । जस्तै चित्रकला, नृत्यकला आदि। लकडाउनले मानिसहरु घरमै  सिमित हुँदा घर आँगनको सरसफाइ तथा सानोतिनो मर्मत सम्भारमा पनि ध्यान दिएको पाइन्छ। 

हाम्रो गाउँतिर कसै कसैले आफ्नो घरमा फूल बगैँचा पनि बनाएका छन ।  अरुबेला  व्यस्त भएर पढ्न नपाएकाहरु यो बेला पुस्तक पढिरहेका भेटिछन्।  सृजनात्मक तथा रचनात्मक काम गर्नेहरुले पनि यो समयको सदुपयोग गरिरहेको देख्छु गाउँमा।

मेरो दैनिकी पनि यस्तै यस्तैमा बितिरहेको छ। अहिले म हेर्ने कथको सम्पूर्ण भागहरु पुनः हेरिरहेको छु। यो समयमा सबैले हेर्ने कथाका प्रेरणादायी कथाहरु आफूले हेरिसके पनि परिवारका सदस्यहरुलाई देखाउन सक्नुहुनेछ ।

तपाईंहरु जहाँ हुनुहुन्छ, सुरक्षित साथ रहनु होला। स्वास्थको ख्याल राख्दै यो लकडाउनको समय सृजनात्मक बनाउनुहोला।                    

हिमाल पराजुली 

 कोल्हबी-४ बारा

सपनाकाे महल

जब चीनको बुहान सहरमा कोरोनाको आतंक मच्चिरहेको थियाे, त्यतिबेला हामी काम गर्ने देशमा त्यस्तो केही हल्ला खल्ला थिएन। हामीलाई त पत्यार नै लाग्दैन थियो कि त्यसले यति ठूलो रुप लिनेछ भनेर।

हामीले काम गर्ने छिमेकी देश इरानमा नि निकै मानवीय क्षति भैसकेको थियो। त्यसपछि यसकाे बारेमा चासो बढ्न थाल्यो। अनि मनमा डर पनि। बिस्तारै हामी काम गर्ने देशमा नि संक्रमण हुन थाल्यो। विभिन्न संचार माध्यम अनि सामाजिक संजाल मार्फत हामीले नि यसका लक्षणहरु र बच्ने उपायहरु नि थाहा पाइसकेका थियौ। त्यतिकैमा एक्कासि हामी बस्ने क्याम्पमा एउटा मिटिङ भयो र हाम्राे दैनिकीमा केही फेरबदल भयाे। कहाँ कसरी हुन्छ, सेनिटाइजर, मास्क र पन्जाको व्यवस्था गर्नतर्फ लाग्यौं। सुरुमा काम गर्ने ठाउँमा मास्क लगाउँदा मान्छेहरुले हामीबाट दुरी बढाए जस्तो महसुस हुन्थ्यो र आफूलाई मास्क लगाउदा सास फेर्न गाह्रो भए जस्तो हुन्थ्यो।

पछि यसकाे संक्रमित नेपालमा नि भेटिए रे भन्ने समाचार आए पछि मनमा डरले डेरा जमाएर बस्यो। हाम्रो जस्तो देशमा यसकाे महामारी फैलियो भने कसरी नियन्त्रणमा आउँला। त्यसमाथि झन मेरो घर त त्यो बिकट वस्तीमा छ जहाँ सामान्य रुघखोकी लाग्दा सिटामोल नि पाउँदैन। म यस्तै सोचेर रातभर काम गरेर रुममा जाँदा नि कयौँ दिन नसुतेर पुन: काममा जाने समय हुन्थ्यो।

त्यसमा पनि मैले त मेरो कम्पनीबाट भिसा नि क्यान्सेल गरिसकेको थिए। मेरो भिसाको अन्तिम मिती ७ अप्रिल २०२० थियो र कम्पनीले मलाई ‘१५अप्रिल सम्म काम गर अनि अन्तिम अप्रिलमा तँलाई घर पठाउछु’ भनेको थियो। यो कुरा यहाँ कोरोना फैलनु भन्दा अघिको थियो। मैले त घर जाने भनेर अलि अलि किनमेल नि गरिसकेको थिए। घरमा नि बैशाख अन्तिम तिर आउँछु भनेर सबैलाई खबर गरिसकेको थिए। म एकदम खुसी थिए २/३ साल पछि घर जाँदै थिए।मैले सपनाका धेरै महल बनाउँदै थिए। तर त्यत्तिकैमा कोरोनाको संक्रमण विश्वव्यापी फैलि रहँदा हामी काम गर्ने देश नि अछुताे रहन सकेन।

यहाँ दिनप्रतिदिन संक्रमित बढदै जान थाले अनि सरकारले कडा कडा निर्णय लिन थाल्यो। अलि अलि गर्दै पूरै देशमा कर्फ्यु जारी गर्यो। दिनमा लाखौ लाख मान्छेहरुले किनमेल गर्ने र भ्रमण गर्ने दुबई मल बुर्जखालिफा बुर्जअलअरब जस्ता सपिङ्ग मल र होटलहरु बन्द गर्यो। लाखौ लाख गाडी गुड्ने शेख जायद रोड एकाएक सुनसान बनायो। लाखौ यात्री बोक्ने मेट्रो रेल सार्वजनिक बस नि बन्द गर्यो। बिस्तारै यहाँ काम गर्ने मान्छेहरु बेरोजगार हुन थाले। एउटा रुम मा ५/६जना भन्दा बढी बस्न कहर हुन थाल्यो। त्यसपछि त झन मान्छेहरुको मनमा अनेक खुल्दुली र तनाव उत्पन्न हुनथाल्यो। काम नहुँदा तलब नि नहुने।

नेपालमा नि यसकाे संक्रमण बढेसंगै सरकारले नि सबै बन्द घोषणा गर्यो। अन्तराष्ट्रिय उडान नि सबै बन्द भयो। म जस्ता भिसा सकेर घरजाने भनि सपना देखेका र टिकट हातमा भएर नि जान नपाएकाहरुको सबै सपना त्यही तुहियो। अब प्रवासमा भएका सम्पूर्ण नेपालीहरुको कुनै त्यस्तो सपना छैन। बश सपना छ त , कसरी म सुरक्षित रहुँ ,परिवार कसरी सुरक्षित हुन्छ्न् र कहिले नेपाल जान पाउँछु भन्ने मात्र छ । मेराे घर जाने प्लेन त छि देशकाे अर्थ व्यवस्था धानेको वैदेशिक रोजगार अनि यहाँ कार्यरत नेपालीहरु अप्ठेराेमा पर्दा सरकारको तर्फबाट केही न केही आफ्नो पक्षमा निर्णय हुन्छ होला भनि आशा गरि बसेका छाैं हामी धेरैजना।   

सपनाका कुरा गर्दागर्दै म सपना मै हराएँछु ।अघिकै प्रसङ्गमा आउँछु। एक दिन कामबाट फर्किएर म कोठामा बसिरहेको थिए।त्यतिकैमा क्याम्प बोस आएर ‘तिमीहरु साँझ तयारी हौ है। जहाँ काम गर्छौ त्यही बस्ने आज देखि।’ हामी ५ जना सुरक्षागार्ड एउटा यहीँकै आवसिय बिल्ल्डिङ्गमा काम गर्थ्याैं। सुरुमा त अचम्म लाग्यो यस्तो महसुस भैराको थियो कि म आफ्नो घर परिवार छोडी टाढा जाँदै छु। हुन त परदेशमासँगै एउटै रूममा बस्ने  सबै परिवार जस्तै भैहाल्छ्न्। त्यसपछिदेखि हामी हाम्रो क्याम्पबाट सिफ्ट भएर यतै काम गर्ने ठाउँमा हालसम्म पनि बसिरहेका छौ। मेरो अन्तिम डिउटी १५ अप्रिल भने पनि अन्तिम अप्रिलसम्म गर भन्ने आदेश दिएको छ। त्यही कम्पनीको आदेशलाई पालना गरेर काम गर्दै छु। नेपाल सरकारले हामीलाई प्राथमिकता दिन्छ होला भन्ने आशामा हामी लाखौ नेपालीहरु बसिरहेका छौ।

घरबाट ‘के छ कस्तो छ त्यताको अवस्था’ भनेर धेरैले सोध्नु भयो। हाम्रो घर तिर फोन त बडा मुस्किलले लाग्छ। अब इन्टरनेटको के कुरा गरौ। म पहिला हप्ता मा १/२ पटक मात्र फोने गर्ने मान्छे, अहिले दैनिक फोन गर्छु। मैले कुनै दिन फोन नगर्दा उताबाट खबर आइहाल्छ ‘किन फोन नगरेको’ आमाले चिन्ता मान्नु भाको छ। यस्तो अवस्थामा हामीले घरपरिवारलाई कति सम्झिन्छौ होला! उनीहरुले कति सम्झिन्छन् होला! घरमा टिभी छैन। आमाले थोत्रो बिग्रेर कुनामा फालेको रेडियो बनाउन लगाएर समाचार सुन्छिन् रे!

म जस्ता लाखौ छोरा छोरी प्रदेशमा बिचल्ली अवस्थामा छ्न्।न काम, न पैसा, न खाना, केहीको ठेगान छैन। यस्तो बेला हामी के गर्ने ? हाम्रो एउटै मात्र अनुरोध सरकार सामु। हाम्रो उचित सुरक्षित व्यवस्थापन हुन पर्यो। आज यो डायरी पनि मैले समय धेरै भएर लेखेको हैन १२/१४ घण्टा काम गरेर रूम आएर सुत्न खोज्दा निद्रा नलागेर मनमा उठेका र घटेका कुरा मात्र लेखेको हुँ ।

 हस् त मेरो डायरी यही अन्त्य गर्ने अनुमति चाहान्छु। 

ललित परियार 

 जाजरकोट 

 हाल : दुबई

अरबमा एकदिन

जिन्दगीकाे सँधै एउटै रुटिन उत्साह त खासै थिएन तैपनि दिन हो बितिदिन्छ, म हुँ बिताइदिन्छु ।

पहिलो बर्ष हो अरबमा। निन्द्रा मजाले नखुली नै a/c को भ्यार्‍र्‍र आवाज सधैं झै… बेड छेउमा रहेको टेबल माथिको रिमोटले बन्द गरिदिएँ। सँगै भएको मोबाइल ताने अनि थाहा भो बिहानको ९:३० भएछ। टाइम चेक पछिको दोस्रो काम १ मेसेज, ३ फेसबुक नोटिफिकेसन अनि  6 message from 3 chat on whatsapp , message र facebook notification ।ले कहिलै प्राथमिकता पाएनन् । म सिधै whatsapp मा घुसेँ। प्यारी मान्छेको Good morning रिप्लाई गरेपछि दोस्रो छोडेर तेस्रो chat मा ट्याप गरे दोस्रो यो कारणले छोडेको हो कि त्यो एउटा Group को message थियो र तेस्रो कम्पनीको message थियो । हेरे केही थिएन। बन्द गरि फेसबुक खोले अनि फेसबुकका पाना पल्टिँदै जाँदा नारायण कार्की दाजुले share गर्नु भएको हेर्ने कथा को lockdown Diaries मा  भएको कथा पढे र मलाई पनि लेख्न मन लग्यो। म खासै लेख्दिन। अँ कहिलेकाही प्रयास भने गर्ने गर्छु । कसरी सुरु गर्नेहोला सोच्न नपाउँदै पेट्भित्र मुसा दौडन थलिसकेछन्। यस्तोबेला घरको याद बिछट्टै आउने। सुति सुति बेड टी र नास्ता ल्याइदिन यो बिरनो मुलुकमा को नै छ र!

उठेर खाना बनाए र खाँए। धन्न यो माहामारीको बेलामा नजिकैको सुपर मार्केट बन्द भएको छैन र कम्पनीले पनि समयमै सेलरी दिएकै छ। तैपनी एक महिना बढी सम्मको खाना स्टक राखेको छु । चामल, दाल, चाउचाउ, चिनी, चियापत्ती, नुन, तेल, मर-मसला आदि अनि टमाटर र अरु सब्जी चै मार्केट बन्द नहुन्जेल हप्तामा एकपटक जाँदैछु। गत हप्ता नजिकैको Jumla Express जाँदा पन्जा र मास्क नलगाइ पस्नै दिएन ।

आज Night shift छ शैक्षिक संस्थामा। दिनभरी रूम र किचन। यति नै हो दैनिकी । गत ६ महिना देखि मेरो duty यस्तै छ लगभग। जहिले क्वारेन्टाइन। shift भने चेन्ज हुन्छ कहिले day त कहिले night

खाना खाएपछि फेरि बेडमा पल्टिएको म कथा कसरी लेख्ने सोचिरहेको बेला एउटा रुपेन्देही जिल्लाको साथीको message आयो। याे त्यही साथी हो जो म सँगै नेपालबाट आएको थियो र अहिले अबुधाबीमा लुब्र संग्रहालयमा काम गर्दैछ ।

पिडा सबैको उहीँ त हो । विश्व भरी महामारीको रुप लिएको कोभिड १९ र त्यसबाट भएको असुविधा भन्दै थियो। ‘नेपालबाट  आउँदा लिएको ऋण अझै तिरेर सकिएकाे छैन। यो कोरोनाले गर्दा ड्युटी अफ भाको आज ५ दिन भो । यही ICAD लेबर क्याम्पमा बिना ड्युटी बसेकाे छु।’

उसकाे कुरा सुनेर मन अमिलो भयो। मेरो भने शैक्षिक संस्थामा डिउटी थियो। त्यसैले मेरो अफ थिएन र मेरो बसाइ पनि यही थियो। म नि नेपालबाट आउँदा सुरुमा ऊसँगै त्यही लेबर क्याम्पमा २३ दिन बसेको थिए।

यहाँ विदेशी मजदुरहरुकोलागि विभिन्न ठाउँमा लेबर क्याम्प छन्। जहाँ प्राय सबै कम्पनीहरुले आफ्ना कामदार राखेका हुन्छन्। अनि एउटा रुममा ८ देखि १२ जनासम्म हुन्छन्। एउटा तलामा २० देखि ३० वटा रूम अनि २ देखि ५ तले बिल्डिङहरु त कत्ति हो कत्ति। Average मा ४/५ वटा रुमको लागि ठूला ठूला toilet र bathroom यद्यपि नियमित सफाइको चै प्रबन्ध गरिएको हुन्छ। अरब बसाइको सात महिना चलिरहँदा सुरुवाती दिन र ट्रेनिङ  परीक्षा गरि २३ दिन बाहेक अरु बेला क्याम्पमा नबसेकोले मलाई त्यहाँको बारेमा धेरै जानकारी छैन। जे होस् यो कोरोनाको माहामारीमा अन्यत्र भन्दा क्याम्पमा संक्रमणको फैलन सक्ने सम्भावना अलिक बढी नै हुन्छ। तर के गर्नु, लगभग सबैको त्यहीँ बस्नु भन्दा अर्को बिकल्प हुदैन र छैन पनि!

ओहाे !! कस्तो गर्मी साच्चै a/c त बन्द पो छ ।फेरि अन गरेँ।सितल हुँदै गयो म भने facebook को भित्तो स्क्रोल गर्न थाले। केही थान birthday wish र news update नियमित समाचार अचेल निकै कम सुन्छु। कोरोना बाहेक अरु समाचार खासै हुँदैन पनि। अँ , नेपाल एम्बेसि, अबुधाबी पुलिस, खलिज टाइम्स, गल्फ न्यूज, सेतोपाटी, नागरिक, उज्यालो लगायतका पेजहरुबाट पर्याप्त सूचना चैं लिएकै हुन्छु ।

ए ! १२ बजिसकेछ! एकपटक natural call एटेन्ड गरेपछि साबुन पानी प्रयोग गर्ने त पुरानै बानी हो। तर अचेल हरेक चिज छोएपछि कि त सेनेटाइजर कि त साबुन पानी । सकेसम्म सुरक्षित त हुनैपरो। नत्र सात समुन्द्र पारीको यो देश अनि रुघाखोकी, ज्वरो या कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा कम्पनीमा जानकारी गराउनै पर्ने supervisor को निर्देशन। हैट्ट !!!

शम्भु टन्डन क्षेत्रि

गुल्मी, चारपाला

संयुक्त अरब इमिरेट्स 

आफूलाई बुझ्दै

सहर बसेको पनि ६ वर्ष भैसकेछ । गाउँबाट एस.एल.सी दिएर उच्च शिक्षा हासिल गर्न काठमाडौँ छिरेको म ठिटो , हेर्दा हेर्दै २४ वर्ष लागि सकेछु । गाउँकै एक सामान्य सरकारी विद्यालयबाट एस.एल.सी प्रथमश्रेणीमा उतीर्ण हुँदा के के न पाए र जस्तो भएकाे थियाे। साथमा केही सपना बोकि काठमाडौँ  छिरेको म गाउँ र काठमाडौको वातावरणमा आकाश जमिनको फरक रहेछ भन्ने अनुभूति त्यतिबेलै गरे ।

एक वर्ष अगाडि व्यवस्थापन संकायमा स्नातक सकिसकेको म जागिरको लागि भौतारिरहेको थिए। गाउँबाट बुवाले गाउँमै आएर केही गर भन्नुभएको कुरा अहिले लकडाउनको समयमा झलझल्ती याद आउँछ। हुनपनि लकडाउनले मलाई व्यक्तिगत रुपमा धेरै कुरा सिकाएर जान्छ जस्तो अनुभव मअहिले गर्दै छु । लकडाउनकै कारण गाउँ जान नपाएपनि म गाउँमा आमाले पकाएको खाना र  बुवाको त्यो उत्तरदायित्व मिसावट वाणीबाट पटक पटक टोलाइरहन्छु । मास्टर दोस्रो सेमेस्टरको परीक्षा हुँदाहुँदै लकडाउन भएको र अफिसको केही कामकाजले गर्दा गाउँ जानबाट वञ्चित भएको थिए।

आफैमा चित्त बुझाएकाे छु । जीवनभन्दा ठूलो कुरा के नै छ र? डेरामै बसेर आफूसंग जे छ त्यही खाएर बाहिर ननिस्किकन मैले कोरोनाभाइरस न्यूनिकरण गर्न भूमिका खेल्दछु भने यसमा दुखी हुने कुरा नै के छ । यसो सोच्छु, हाम्रो  जस्तो देशमा यसले युरोप,अमेरिका जस्तो महामारीको रुप लियाे भने त हामीलाई बाँच्न पनि धौँ धौँ पर्नेछ। त्यसैले आफ्नो मनलाई सकभर सकारात्मक राखेर केही सिर्जनात्मक काम गर्न खोज्छु ।

इन्टरनेटमा युट्युब हेरेर केही मिठा परिकारहरु  बनाउन कोसिस गर्छु । अनि युट्युबकै मद्दतले आफ्नो शरीरलाई स्र्फूर्त राख्ने टिप्सहरु फलो गर्छु ।हुनपनि यो समयमा इन्टरनेटको सही सदुपयोग गर्न जानेमा असल साथी हुँदोरहेछ। तर पनि बुवाआमासँग भैदिएको भए अर्कै मज्जा हुन्थ्यो जस्तो लाग्छ । त्यो न्यास्रोपनलाई थाती राख्दै फेरि युट्युबमै प्रेरणात्मक भाषण हेर्छु, पुराना साथीहरुसँग कुरा गर्छु । स्नातकतह पढ्न भनि विदेशिएका साथीहरुको गुनासो सुन्छु। अनि सोच्छु,यो परिस्थितिमा उनीहरुभन्दा आफू धेरै नै भाग्यमानी रहेछु । कमसेकम हामीलाई कलेज शुल्क, खाने खर्चको तनाव त छैन ।

यही लकडाउनकै कारण आफूले काठमाण्डौ आएर सिकेको कुरा मनन र चिन्तन गर्ने भएको छु ।आफूले आफैलाई अझै बुझ्न पाएको छु । आफूमा भएको कमजोर पक्षलाई अझ बढी केन्द्रित गरी सुधार्ने प्रयत्न गरिरहनेछु। हाम्रो पुस्ताकाे २०७२ सालको भूकम्प देखि लिएर यो लकडाउनको अवस्थालाई साक्षात्कार अनुभव, सायद पछिल्लो पुस्तालाई कथन गर्न साँचिएको हुन सक्छ ।जीवनमा कस्तो कस्तो चुनौति अनि अवस्थालाई स्विकार गर्न बाँकी छ भने यो त विश्वभर आइरहेको भुमरी र आपत्ति हो। धैर्य राखे यो अवस्थाबाट पार अवश्य पाउन सक्छौँ ।


अजित लाल श्रेष्ठ

सिन्धुपाल्चाेक , जलबिरे

डायरीमा आमा

हुन त अरुको डायरी पढ्न रमाइलो लाग्छ ! तर मैले भने तिमीलाई पहिलो चोटी सम्झिने कोसिस गरेकी छु । 

पहिलो चोटि तिमीसँग मित्रता गाँस्दा आफ्नो जीवनको अभिन्न अंगकाे बारेमा तिमीलाई केही बताउन चाहे। मेरो जीवनको महत्वपूर्ण अङ्ग अर्थात ‘मेरी आमा !’

सानैदेखि परिवारसँगै हुर्किने मौका पाएँ । परिवारबाट टाढा छुट्टै बस्ने अनुभव नै भएन । मैले पहिले देखि नै सोच्ने गर्थेँ, “आफूलाई पढाइको कति तनाव छ । कसरी राम्रो गर्ने होला? कसरी बाआमालाई खुसी बनाउने होला? कसरी गुरुको आज्ञा पालना गर्ने होला? कति सङ्घर्ष गर्नुपरेकाे छ! भविष्यमा यति पढेर पनि केही गर्न सकिएन भने कति बेइज्जत हुन्छ होला!” 

यस्तै तनाव, पिर र चिन्ताले आफूलाई बाँध्दा आमालाई हेर्थेँ । अनि लाग्थ्यो “आहा! कति रमाइलो जिन्दगी !” लाग्थ्यो “आमाको जस्तै जिन्दगी भए त क्या मजा! न कतै पढ्न भन्दै जानुपर्ने, न कसैलाई खुसी पार्नुपर्ने, न कसैलाई रिजाउनुपर्ने, न केही कारणले आफ्नो बेइज्जत हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने । कति रमाइलो त्यो जिन्दगी। त्यसरी बस्न पाएँ त।” आमालाई कसैलाई खुसी पार्नै पर्दैन भने पनि मैले नै कहिलेकाहीँ समयमा खाना नपाक्दा, नुन मरमसला कहिलेकाहीँ ट्वाक्क नलाग्दा “अरु के काम छ र आमाको? त्यति जाबो काम गर्न पनि गाह्राे हुने आफूले के के काम भ्याउनुपरेको छ !” भनेर गाली गर्थेँ । आमाले थाकेँ भन्दा “केही नगरी थाक्ने कस्तो खालको ज्यान होला” भन्ने सोच पनि आउँथ्यो । 

लकडाउनले सबैतिर अस्तव्यस्त भएको बेला मेरो सोचमा भने केही परिवर्तन आएको छ । आमाको कामलाई अझ बढी नियाल्ने मौका मलाई लकडाउनले दिएको छ । अरु बेला बिदा नै भएपनि आफ्नो पढाइ तथा अन्य काममा व्यस्त भएर होला, आमाको यो घरमा, मेरो जिन्दगीमा योगदान के छ भनेर मैले त साँच्चै कहिल्यै बुझेकी नै रहेनछु। तर अहिले हेर्छु र अचम्म लाग्छ “कसरी भ्याउनु भएको होला त्यति सबै काम?” लकडाउन नहुँदा जुन समयमा आमा उठ्नुहुन्थ्यो , त्यही समयमा पनि अहिले पनि उठेर घर सफाइ, न्वाइ ध्वाइ, व्यायाम र योगा, पूजा पाठ, चिया, खाना, सरसफाइ, खाजा, हामीलाई पढ्नुपर्छ भन्ने प्रेरणा, कहिले विभिन्न शारीरिक र मानसिक गेम खेलाउने, बत्ति कात्ने, फूल स्याहार्ने, फेरि बेलुकाको खाना र हामीलाई सुताएर बल्ल आफू सुत्ने काम गरेको नियालिरहेकाे छु।  आमाको यति काम देखेपछि अहिले त म अब आमालाई धेरै गाह्रो भयाे होला भनेर सघाउन पनि थालेकी छु । आमाको शरीरमा कहिलेकाहीँ तेल लगाएर माडिदिन्छु । आमासँग बसेर ‘हेर्ने कथाका’ विभिन्न अङ्कहरु हेर्न थालेकी छु । आमा अहिले निकै खुसी हुनुहुन्छ । 

लकडाउनले मात्र मलाई यो पनि अनुभूति गरायो कि आमाकाे पूरै जिन्दगी परिवारको बारेमा सोचेर मात्रै बितेको! आमा भएको भएर मात्र जीन्दगीमा सुख रमाइलोपन, सहजता, सम्बृद्धिले बास गरेको छ । धेरैले भनेको सुन्छु “गृहिणीको, आमाको घर बस्ने बाहेक के काम हुन्छ र !” तर लकडाउनले बुझायो आमाले नै हाम्रो जीन्दगी स्वर्ग स्वरुप बनाइदिनुभएको छ । धन्यवाद आमा !! सम्पूर्ण आमाहरूलाई कोटी कोटी प्रणाम ! 

गरिमा भट्टराई 

 गुल्मी

‘मुटु माथि ढुङ्गा राखि हाँस्नु पर्या छ’

याे स्वास्थ्यकर्मीहरुले आफ्नो जीवनलाई खुकुरीको धारमा राखे झै गरेर काम गरिराख्नु परेको छ । काम नगरौँ भने पनि सकिन्न।गर्न पनि डरमर्दाे। तर यो स्वास्थ्यकर्मीको जिम्मेवारी हो ।

म पनि एक स्वास्थ्यकर्मी हुँ। देशमा लकडाउन छ । मलाई भने लकडाउनले झनै बढी संवेदनशील व्यस्त र अझै जिम्मेवार बनाएको छ। मैले काम गर्ने अस्पतालले आकस्मिक सेवा, अन्तरंग सेवा र बहिरंग सेवा प्रदान गरि नै राखेको छ। कुष्ठ राेगबाट प्रभावितहरू, टिबि, मधुमेह र टाढा टाढाबाट जुनसुकै समस्या लिएर आउनु भएका बिरामीहरुलाई पनि अस्पतालको टिमले सेवा दिइरहेकै छ ।

म साँढे आठ बजे ड्युटी जान्छु र तीन बजे फर्कन्छु। आवश्यक पर्याे भने जुनसुकै समयमा पनि अफिसमा उपस्थित हुन्छु। अस्पतालमा मेरो जिम्मेवारी भनेकाे आवश्यक पर्ने औषधी आपूर्तिको व्यवस्थापन र बिरामीहरुलाई औषधी वितरण गर्नु हो । लकडाउन भन्दा अगाडि दैनिक ५०० देखि ६०० जना बिरामीहरु आउने गर्थे। अहिले भने मोटामोटि २० देखि ३० जना आउने गर्छन्। मैले औषधी दिने बेलामा ‘कसरी आउनु भयो?’ भनेर साेध्ने गर्छु। कतिपय बिरामीहरू हिँडेर, कोही साइकलमा, बाइकमा त कोही एम्बुलेन्स समेत रिजर्व गरेर आएकाे बताउनु हुन्छ।बिहान खाए बेलुका के खाने। दैनिक ज्यालादारी काम गर्ने बिरामीहरू एम्बुलेन्स रिजर्व गरेर ३००० देखी ४००० सम्म पैसा तिरेर औषधी लिन आउनुपर्ने अवस्था छ । गरिबहरुको लागि निकै सकस भएकाे छ यो लकडाउन ।

धन्न म कार्यरत अस्पतालले दुःखी, गरिब, असक्त, अपाङग, कृष्ठरोगी र प्रभावितहरुलाई सम्पूर्ण सेवाहरु र औषधी फ्रिमा दिन्छ।तर कहिले सम्म होला यसरी लकडाउनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुले ।

पहिला पहिला फार्मेसीको झ्यालमा औषधी लिनेको भिड हुन्थ्यो। तर अहिले भने एउटा बिरामी औषधी लिन आयो भने पनि मनमा कस्तो कस्तो बिचारहरु आउँछन्। किनभने यस अस्पतालमा भारतबाट जाँच गर्न आउने बिरामीको संख्या पनि धेरै नै हुन्छ। त्यसैले कोरोनासँगै लिएर आएका छन् कि अथवा कोरोनाको संसर्गमा भएका व्यक्तिहरु पनि आएका छन् कि भनेर मन डराइरहेको हुन्छ। अहिले तराईका जिल्लाहरुमा प्राय मानिसहरु विदेश तथा भारतबाट आउने भएकोले मनमा त्रसित भएर काम गर्नु परेको छ । यो कोरोनाको डर कहिलेसम्म हो? अत्यास लाग्न थालिसक्यो। तापनि सामाजिक दुरीलाई कायम राख्दै औषधी बितरण र परामर्श दिने गर्छु ।

सुरु सरुका दिनमा लाग्थ्यो,कोरोना त जहाज चढेर मात्र आउँछ। तर होइन रहेछ। यो त हिँडेर, बसमा, ट्रेनमा ,साईकलमा जेमा पनि आउँदो रहेछ । जुनसुकै ब्याक्तिबाट पनि आउन सक्दो रहेछ।  हरे कस्तो दिन आयो, मान्छेसँग मान्छे डराउनुपर्ने । यतिखेर म स्वर सम्राट नारायण गोपाल ज्यूको गीत ‘मुटु माथि ढुङ्गा राखि हाँस्नु पर्या छ’ सम्झिन्छु ।

म अस्पताल परिसरभित्र बस्छु । अहिले अस्पतालको परिसरमा क्वारेनटाइनको व्यवस्था छ । यस्तो बेलामा सरकार र जनतालाई सहयोग नगरे कहिले गर्ने भनेर १० बेड राखिएकाे छ । अहिले यहाँ ५ जना क्वारेनटाइनमा छन्। म दैनिक बेलुका आधा घण्टा अस्पताल परिसर घुम्थेँ जसले स्वास्थ्यलाई फाइदा हुन्थ्यो। तर अहिले म घुम्न छोडेर बालबालिकासँग टेवुलटेनिस खेल्छु। घरमा आएर थप व्यायाम गर्छु । आफूलाई स्वस्थ राख्नु नै महत्वपुर्ण कुरा हो यो समयमा ।

कोरोनाको बारेमा समाचार सुन्छु। स्थिति राम्रो छैन बिरामी बढ्दो क्रममा छन् । विदेशतिर त स्वास्थ्यकर्मी र डाक्टरहरको समेत मृत्यु भएको समाचार छ। मनोबल बढाएर काम गर्न खोज्छु तर घरीघरी त झसंग हुन्छु। आखिर मेरो पनि त मनमै हो ।

मेरो परिवारका तीन जना अस्पतालमै काम गर्छौं । झन् हामीलाई केही हुने हो कि भनेर मनमा धेरै कुराहरु खेल्छन्। अनि घरमा खाना राम्रो खाएर शरीरको प्रतिरोधात्मक शक्ति बढाउनुपर्छ र मनोबल बढाएर काम गर्नुपर्छ भन्ने सल्लाह गर्छाैं । कस्तो त्रासको जिन्दगी हामी स्वास्थ्यकर्मीको।।

सीतला देवी शर्मा

धनुषा, लालगढ

मलेसियाको उकाली ओरालीहरुमा

कामको सिलसिलामा म मलेसिया आएको आउँदो अगस्ट ४ तारिखमा ६ वर्ष पुग्छ। म अगस्टको १/२ तारिखमा घरमा जाने आशामा बसेको छु। म यहाँ सुरक्षागार्डको काम गर्दैछु। सुरक्षागार्डलाई न त छुट्टी मिल्ने न त आराम नै मिल्ने। नियमित कामको सास्ती पाएको अवस्थामा लकडाउनले गर्दा ड्युटीमा मलाई केही राहत मिलेको छ । मलेसियामा अहिले देशभर कोभिड-१९ रोगले गर्दा मार्च १८ देखि अप्रिल २८ सम्म लकडाउन छ । लकडाउनले गर्दा मैले काम गर्ने अफिस पनि बन्द छ। मेरो नियमित दिनचर्या ५:३० बजेको मोबाइलको अलार्मसँगै सुरु हुन्छ ।

बिहानै उठ्यो, खाना पकायो, नुहायो, खाना प्याक गर्यो र ६:३० मा झोला बोकेर नियमित काममा हिँड्यो । मेरो ड्युटी बिहान ७ देखि साँझ ७ बजेसम्म हुन्छ । म मलेसियाको पहाडी क्षेत्रमा बस्ने भएकोले यहाँ उकाली र ओराली गर्दै ड्युटी जानु पर्छ । बिहानको आधा घण्टा पैदल हिडेर ड्युटी जाँदाको बेग्लै मजा हुन्छ  किनभने चिसो हावा, मनिसहरुको मर्निङ वाक र उज्यालो हुँदै गर्दाको चरीको चिरबिर आवाजमा हिडेंकाे पत्तै हुँदैन । मलाई पनि बिहान मर्निङ वाक हिँडेको जस्तै लाग्छ ।

ड्युटी ७ देखि सुरु हुने भएपनि अफिस ९ बजे देखि खुल्छ र कामको चाप बिस्तारै बढ्दै जान्छ। दिनभर ड्युटीमा यताउता गर्दागर्दै साँझको ६ बजे अफिस बन्द हुन्छ। अफिसका सबै स्टाफहरु घर हिँडेपछि म साथीलाई कुर्दै दिनभरको थकाइ मेट्छु । जब साथी आइपुग्नुहुन्छ तब म फेरि आफ्नो झोला बोक्छु अनि उही उकालो र ओरालो बाटोमा हस्याङफस्याङ गर्दै कोठातिर लाग्छु ।

कोभिड-१९ रोगले गर्दा कम्पनी बन्द भएको हुँदा ड्युटीमा मलाई आनन्द छ। कम्पनीमा सुरक्षागार्ड अन्तिम अवस्थासम्म पनि खटिनु पर्ने भएकाले मेरो छुट्टी भने छैन तर राहत मिलेको महसुस भने गरेको छु। यहाँ सुरक्षागार्ड बाहेक घाँस काट्ने कामदार अरु तीन जना आउँछन्। त्याे पनि हप्ताको तीन दिन मात्र। सफा गर्ने दुई जना स्टाफ भने नियमित आउँछन्। अहिले मैले बिहान र बेलुका यिनै कामदार र सुरक्षागार्डको बारेमा कम्पनीका मान्छेलाई रिपोर्टिङ गर्ने मात्र काम हो।

आजभोलि दिनभर आरामले एक्लै बस्ने र मोबाइल खेलाउने काम हुन्छ। अहिले काम सजिलाे भएकाले मलाई त लकडाउन थप भए हुन्थ्यो जस्तो लाग्छ बेलाबेलामा। तर के गर्नु फेरि तलब भनेको समयमा नपाइने हुँदा छिटो खुले हुन्थ्यो भन्ने पनि लाग्छ। कम्पनीबाट मोबाइलमा मेसेज पनि आइसकेको छ – यो महिना खाना खर्च मात्र दिन्छु बाँकी तलब अर्को महिना सबै दिन्छु भनेर । हुँदैन यो महिना चाहिन्छ भनौं भने पनि कसरी भनौं सबै अफिसियल काम बन्द छ। तलब भन्दा पनि ठूलो चिन्ता त यो साल म बेलैमा घर जान मिल्दैन कि भन्ने पो छ।

आशा राख्द छु छिटै कोभिड-१९ रोगको अन्त्य होस् । म समयमै घरमा जाने वातावरण मिलोस् ।

नरेश घर्ती

हाल मलेसिया

बाँडिएको मन

चैत्र १० गते सोमबारको दिनसम्म कार्यालय जानु परिरहेको थियो। एकाएक साँझको करिब ६ बजेतिर समाचारमा सुनेँ “भोलिबाट सरकारी कर्मचारीलाई घरबाटनै काम गर्ने वातावरण मिलाइने भयो।” लामो समयदेखि घर जान आत्तिरहेको मेरो मन खुसी हुँदै इसेवामा फ्लाईटको टिकट हेर्न पुग्यो । किनकी लामो दुरीका गाडीहरु दुई दिन अघिबाट नै बन्द भैसकेका थिए। भैरहवा, नेपालगंज, पोखरा कहाँको टिकट दर कति । अहिलेको अवस्थामा कहाँ जान उचित भनेर सोच्दै मात्र के थिएँ “देश भोलि बिहान ६ बजेबाट लकडाउनमा जाने सरकारको निर्णय” भन्ने अर्को समाचार आयो।

म बानेश्वरमा होस्टलमा बस्दै आएको थिएँ । एकाएक मनमा डर पैदा हुनथाल्यो। पूरै ठप्प भएपछि होस्टलमा कसरी बस्ने भन्ने चिन्ताले सताउन थाल्यो। भैँसीपाटीमा बस्ने ठूलो ममीसँग बरोबर फोन सम्पर्क भैरहन्थ्यो। त्यस दिन पनि समाचारहरु सुनेपश्चात हतारमा मलाई फोन गरेर ठूलममीले भन्नुभयो, “भोलि बिहान ६ बजे भित्र आइपुग्दैनो होला तिमी। ट्याक्सी खोजेर सामान लिएर आजै आऊ।”  

सम्पूर्ण सामानहरु होस्टलबाट निकाल्नुपर्ने थियो। न सामान प्याक गर्न सहज न ट्याक्सीमा नै अट्ने। अतालिँदै सामान प्याक गर्दै गोंगबु बस्ने दाजुको भ्यान मगाएँ। दाजु आफै भ्यान लिएर आउनुभएको थियो। सामान लोड गरेर अघि अघि भ्यान अनि पछि पछि स्कुटरमा कुद्दै रातको १० बजे ठुलममीकोमा आइपुगेँ। यसरी हतार हतार आउँदा मलाई लागेको थियो, लौन नि कसैले लखेट्दै छ यसरी। आखिर के हो यो कोरोना भाइरस।

२०७६ साल मंसिरमा बिहे लगत्तै म कामबाट सरुवा भइ काठमाडाैँ आएको थिएँ । जागिरे बुहारी भएर बिहे पश्चात घर बस्ने अवसर जुरेन। काठमाडाैँ आएपछि नजिकिँदै गरेको लोकसेवाको परीक्षालाई ध्यानमा राखेर मैले केही समय होस्टल बस्ने निर्णय गरेको थिएँ । पढाइले सोचे अनुरुपको गति लिन नसकेतापनि चैत्र महिनामा परीक्षा दिएपछि मात्र घर, माइती दुवै ठाउँ पुग्नुपर्ला भनेर चित्त बुझाउँदै बसिरहेको थिएँ। एकाएक काठमाण्डौँमा लकडाउन भएर बस्नुपर्यो ।

लकडाउन हरेक हप्ता बढेसँगै मेरो घरको बुवा ममीहरु नयाँ बुहारी बिहे पछि घरमा बसेकै छैन भन्दै निकै आत्तिनुहुन्छ। अनि काठमाडाैँ बर्दघाटसम्म बुहारीलाई  ल्याउनकालागि कहिले एम्बुलेन्स त कहिले रासनको ट्रक लगायतका उपायहरु सोचिरहनुहुन्छ। तर यस्तो जोखिमको अवस्थामा हामी जस्ता बुझेका व्यक्तिहरुले भावनामा बगेर गलत कार्य कदापि गर्नुहुँदैन। हामी धैर्यवान र संयमित हुनैपर्छ। माइतीका बा आमाको दुख उहाँहरुकै मनमा छ। जन्माएर यहाँसम्म पुर्याएको छोरी, पढ्दा होस् या जागिर गर्दा टाढा टाढाबाट यात्रा गरेर प्राय भेट्न आइरहने छोरी, बिहे पछि यतिका महिनामा एक पटक पनि घर आइन भनेर सोच्नु हुँदो हो। सबै छोरीहरुलाई आत्मनिर्भर बनाएका मेरा बा आमा निकै व्यवहारिक हुनुहुन्छ। बाहिर नदेखाएपनि फोन गर्दा सिधै मेरो मुटुमा वाण लाग्छ। अनि भिडियो कल गर्दा मलिन अनुहार देखिन्छ। तैपनि दरिलो भएको देखाउने सक्दो कोसिस गर्नुहुन्छ उहाँहरु किनकी तत्कालको अवस्थामा मुटु दरिलो पार्नुको अन्य कुनै विकल्प छैन।

माइतीको माया एकातिर, घरको माया एकातिर र श्रीमान एकातिर भए पनि समयले थप धैर्यवान बन्न सिकाएको छ मलाई। जहाँ छु घरमा जस्तै सुरक्षित र सुखी छु । हरेक दिन ठूलाेममी र ठूलबुवाबाट नयाँ कुराहरु सिक्दै छु। यो समयलाई घर परिवार र व्यवहारका कुरा सिक्ने अवसरको रुपमा लिएको छु मैले। भनिन्छ सुख आफ्नो हेर्नु दुख अरुको। यो समयमा घर, माइत या श्रीमानसँग हुन पाएको भए हुने भन्ने मात्र न हो अरु त के कमी छ र यहाँ मलाई। नियमित रुटीन बनेको छ। बिहान सबेरै उठ्ने, सरसफाई गर्ने, भान्छामा बुवा ममीको सहयोगी हुने, योगा गर्ने, टीभी, इन्टरनेट चलाउने, मन लागे पढ्ने आदि इत्यादि । आफ्नो संसारबाट बाहिरिएर हेर्याे भने बिचरा बस्ने, खाने नभएर अलपत्र परेका कति व्यक्तिहरुबारे सुन्छौँ, देख्छौँ हामी । यस्तो कुराले मन कुँडिएर आउँछ।

लकडाउनको २१ औँ दिनसम्म आइपुग्दा मन कुनै बेला थोरै अत्तालिएको छ। के भइरहेको छ र कहिले सम्म यत्तिकै हुने हो भन्ने लाग्छ । तर हामी अत्तालियौँ, कमजोर भयौँ भने परिस्थिति सहज कहिल्यै हुन सक्दैन। परिस्थिति जतिनै विषम भए पनि, भित्री मनोबल कहिँ कतै डगमगाएता पनि एकछिन अत्तालिनु, कमजोर महसुस गर्नु स्विकार्य हुन्छ तर कमजोर परिस्थितिले आफूलाई धरमराउन दिनुहुँदैन। अँधेरी रात पछि सुनौलो बिहानी अवश्य आउँछ। जब हामी निराशा बिच दरिएर आशावादी हुन सक्छौँ तब मात्र हाम्रो जीवन सार्थक हुन्छ।

यस पटक पनि मलाई आशा अनि भरोसा छ, विश्वव्यापी रुपमा आतंक मच्याइरहको कोरोना भाइरस पनि एक दिन परास्त भएर जानेछ। मेरो देश साथै विश्व नै सामान्य अवस्थामा आउनेछ । निकट भविष्यमा म मेरो घर परिवारलाई भेट्न पाउँनेछु।

नयाँ साल २०७७ को सबैमा शुभकामना।

बिजु पाैडेल

राहत कसलाई ?

म आफ्नो घरमा बन्दाबन्दिमा रहेर झ्यालबाट देखिएको राहत बितरणका नमूना हेरिरहेकाे छु। र केही पात्रहरूको बारेमा तपाईंलाई बताउँदैछु।

पहिलो पात्र : यी पात्र शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ तर स्नातकोत्तर गर्नुभएका।उहाँकी श्रीमती पनि शारीरिक रूपमा श्रीमान जस्तै हुनुहुन्छ तर सरकारी तलब लिने सेवामा हुनुहुन्छ। त्यो घरमा एउटा गैरसरकारी, गैह्रनाफा मुलक संस्थाको बोर्ड झुन्डिएको छ जुन वहाँको अपाङ्गता संग सरोकार राख्छ । उहाँको आफ्नै पक्की घर छ, २/४ वटा ५०/६० लाख पर्ने घडेरी र ब्याजमा रकम लगानी गर्नु भएको बुझिन्छ। उहाँहरुका छोराछोरी पनि बाहिर कतै पढाइ गर्छन् वा बिहेवारी गरेर छुट्टै बस्छन्, एकदुई बर्ष आगाडि देखिन्थे आजकल देखिदैनन्। यो बन्दाबन्दी पछाडि एउटा सरकारी गाडी उहाँको निवासमा आयो। सायद काेही आयो भन्ने लाग्यो र त्यति वास्ता गरिन। केही दिनपछि दुईवटा निजी गाडी आए। पहेंलो र निलो हाफ जकेट लगाएका मुख मास्कले ढाकेका मानिस राहत लिएर आएका रहेछन्। फोटो खिचे र गए। अनि फेरि पछि स्थानीय वडाबाट पनि त्यहीँ घरमा राहत ल्याएर दिएछन्।  

दोश्रो पात्र: यी पात्र तराई मूलका हुन्। एक श्रीमती र दुई बच्चा गरि ४ जनाको परिवार छ। हातमा सुनको औँठी छ, जग्गा भाडामा लिएका छन, ४/५ जना कवाडी संकलन गर्नेलाई रोजगार दिएका छन। बन्दाबन्दी पछि देखिएका छैनन्। घरतिर लागे कि! अघिल्लो महिना कवाडी लिन घरमा बोलाएको बेला सोधेको थिएँ, के छ कमाइ धमाइ ? उसले कपाल कन्याउँदै भन्यो ” के हुनु र सर पोहोर घरबाट ५ लाख ल्याएर यही जग्गा भाडामा लिएर टहरो बनाएर काम सुरु गरेँ, अहिले त्यो पैसा फिर्ता गरेँ, जग्गा भाडा तिरेँ, केटाकेटीलाई बोडिङ हालेको छु, हामी पालिएका छौं।” बन्दाबन्दिको ६/७ दिनपछि वडाका राहत प्रतिनिधि कवाडीखानामा देखे। केही क्षण पछि उनी मेरो घर अगाडीको किराना पसलमा जाँदै थिए। छतबाटै सोधे तिमीलाई पनि राहत दिन आएका हुन् र ! उस्ले जबाफ दियो ” हजुर घरबेटीले नाम लेखाइ दिनु भएको रहेछ, भोलि तिर राहत आउँदै छ।

तेस्रो पात्र: यो पात्रलाई  मैले मेरै घरबारीको कुनामा रहेको पुरानो गाइगोठलाई कोठा बनाएर भाडामा दिएको छु। उसको घर बेनीको तातोपानी नजिकको एउटा दलित बस्तीमा छ, पढाइ लेखाइ खासै छैन र दक्ष कामदार पनि होइन। कुनै ठेकेदारकोमा दैनिक ज्यालामा काम गर्छन्। घरभाडा तिरेर सार्वजनिक सवारीमा जाँदा पनि सस्तो पर्ने भएकोले बिगत दुई बर्ष देखि यहीँबाट काममा जान्छन्। यो पात्रलाई सायद राहत आवश्यक होला भन्ने सोचेको थिए। तर बन्दाबन्दी पछि पनि उसको ढोका बाहिर कुनामा खाली बियरका बोत्तल देखे जुन अघिल्लो दिन थिएनन्। त्यो देखेपछि राहतको बारेमा सोधपुछ गर्न मनले मानेन।

चौथो पात्र: यो पात्र बन्दाबन्दी भन्दा एक/ दुई महिना अगाडि वैदेशिक रोजगारमा गएका खाडीबाट चार बर्ष पछि पहिलो पटक फर्किएका हुन्। घर लमजुङ तर मासिक चार हजार भाडा तिरेर श्रीमती छोरीलाई बोर्डिङ पढाउन मेरै घरमा भाडामा बसेका छन् र बढी भएको कमाइले एउटा घडेरी जोडेको छ भन्ने सुनेको छु। श्रीमतीको अन्य कुनै पेशा छैन। हालै बिदेशबाट फर्केकोले उनलाई सायद राहत आवश्यक नहोला भन्ने लाग्यो मलाई। यस बिषयमा न उनले कुरा उठाए न मैले।

मेरा अगाडि यी पात्रहरू छन् तर वास्तविक राहत कसलाई आवश्यक हो ? कि होइन ? कसले मूल्याकंन गर्ने ? हामीले तिरेको करबाट वितरण हुने राहत भोकभोकै हुनेका हातमा पनि पुगोस् भन्ने सोचेर याे सबै लेखेको हुँ।  

माधव भण्डारी

आ-आफ्नै कथा

वर्ष दिनको महान चाड दशैँलाई बिदा गरेर तिहार नजिकिँदै गर्दा, परदेशीहरु घरदेश फर्किने समयमा गाउँभरी मखमली अनि चमेलीहरु फुल्दै गर्दा, म भने, मनभरी घरदेशको सम्झना अनि आखाँभरी सपनाहरु बोकेर, जीवनकाे पहिलो जहाजमा, एउटा बेग्लै यात्रा तय गर्न निस्किएँ— बाबा आमाको आशीर्वादलाई शिरमा सजाएर । साथीभाइ अनि आफन्तको मायालाई हृदयमा सङ्गालेर, २०१९ को अन्त्यतिर, अक्टोबर महिनाको २४ तारिखका दिन मैले त्यो सहर छोडे, जुन सहरको कुनाकाप्चा अनि गल्ली–गल्लीसँग म परिचित थिएँ । हेर्दा हेर्दै काठमाडौँको त्यो झिलिमिली पनि बिस्तारै हराउँदै गयो । एकछिन मन अमिलो भयो । जहाजको झ्यालबाट फेरी एकपल्ट त्यो मधुरो सहरलाई हेरेँ, दुई थोपा आशु पुछेँ । मन भारी भयो । त्यसपछि ‘अब चै साँच्चै कतै टाढा जाँदैछु’ जस्तो भान भयो ।

यसरी नेपाल छोडेर अस्ट्रेलिया आएको पनि झण्डै छ महिना पुग्न लागेछ, यो आधा वर्ष कसरी बित्यो पत्तै पाएको छैन । सुरुका केही महिना त घुमघाम र रमझममै बित्यो, तिहारको बेला थियो, सायद नेपालीहरुको बाक्लो बसाइँ भएर होला यता, नेपाल जस्तै लाग्यो । आएको दिनमै मोःमो पार्टीले स्वागत अनि भोलिको देउसीभैलो कार्यक्रम। विदेशमा पनि स्वदेशी मायाले म आश्चर्यचकित थिएँ । अनि सबैप्रति आभारी पनि । बिस्तारै म यताको रहनसहन र परिवेशमा घुलमिल हुँदैथिएँ । ‘बुस फायर’ले अस्ट्रेलियालाई तहसनहस पारिदियो, करौडौको क्षति भयो, दिनानुदिन डढेलोको खबरले मन त्रसित भैरहन्थ्यो । कक्षामा पनि सबैको ध्यान अनि कुरा पढाइमा भन्दा धेर डढेलामै हुन्थ्यो। आज डढेलो कहाँसम्म फैलियो, हामीभन्दा कति पर छ? यस्तै कुराले हामी चिन्तित हुन्थ्यौँ । प्रोफेसरहरु पनि यस्तो खडेरी पैले कहिले नदेखेको भन्दै वर्षाको लागि प्रार्थना गर्थे । मलाई भने आगलागीले रङ्गाएको यहाँको आकाश अनि प्रदूषण देख्दा पनि नेपालकै झल्को आइरहन्थ्यो।

बिस्तारै सबै कुरा सामान्य हुँदै थियो फेरि यो कोरोनाले संसार नै तहसनहस पारिदियो । लाग्छ, मेरो यो दुई वर्ष यस्तै यस्तैमा बित्ने पो हो कि ?? यो  परदेशसँग धेरै आस गरेर आएको त थिइनँ तर पनि केही गर्छु र सिक्छु, केही हदसम्म भएपनि बाआमाका सपना पूरा गर्छु भनेर छिरेकाे। यो सबथोक भोगिरहँदा आजकल कताकता मनमा चिसो पस्छ, भोलि के हुने हो चिन्ता लाग्छ ।

अचेल मन बेचैन हुन्छ, छट्पटिन्छ । न म खुलेर रमाउन सक्छु, न त दुखी भएर बसिरहन । रमाइलो गर्न मसँग साथीभाइ छन् । आफ्नो रहरको काम गर्न समय छ। घण्टौ फेसबुक चलाएर बस वा संसारका कुनाकाप्चाहरुमा छरिएर बसेका मित्रजनहरुसँग भलाकुसारी गरेर बस्न इन्टरनेटको सुविधा छ । तर पनि यो मनमा बेग्लै खालको छटपटी र औडाह छ । कोरोनाको कहरले सबथोक लथालिङ्ग र भताभुङ्ग भएको देख्दा आज त रमाउँला, भोलि के गराैँला भन्ने पिर लाग्छ । अझ, मजस्ता भर्खरै मात्र पढ्न आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई त के–के समस्या पर्छ त्यो भनि राख्न नपर्ला।पत्रपत्रिका र टेलिभिजनमा आइरहेकै छन्, सामाजिक सञ्जालमा त झन् चाहिनेभन्दा बढी भाइरल भइरहेकै छन् । यो सब देखेर म सँधै दुखी भइ रहन पनि सक्दिनँ किनकी मलाई थाहा छ, म एक्लो छैन । सबैलाई यस्तै परेको छ । यो बेला झुपडीमा बसुन् वा महलमा, सबले आफ्नै खालका पिडा महसुस गरेका छन् । अनि सबैलाई आफ्नै समस्या ठूलो लागेको छ । 

हिजोआज जिन्दगी नै कस्तो कस्तो बनेको छ । आधा रातसम्म निन्द्रा नलागेर मोबाइलमा संसार चिहाउनु अनि मध्यदिनमा उठ्नु मेरो दिनचर्या बनेको छ । मलाई न छिट्टै उठेर काम जाने हतार छ, न त युनी पुग्न । म उठुँ, सुतुँ, खाऊँ, नखाऊँ जे गरुँ तर घरको चार कोठाभित्र । मेरो लागि सबथोक खुल्ला छ, सबथोक छुट छ अचेल । कुनै दिन, हामीमध्ये धेरैले यस्तै कुराको ईच्छा गरेको हुनुपर्छ । तर पनि खै त यहाँ सन्तुष्टि, खै त यहाँ हृदयदेखिको खुसी ??

कारोनाले गर्दा घर बसेको पनि महिना दिन पुग्न लागि सक्यो, अझ कति दिन यसरी बस्नु पर्ने हो, थाहा छैन । घर बसिरहँदा भएभरका चलचित्र हेरेर अनि गेम खेलेर नी भ्याइसकेँ । तासको जुतपत्ति मात्र आउने मलाई अचेल म्यारीजबाहेक सबथोक आउँछ भन्दा फरक नपर्ला । बाघचालबारे सुनेको मात्र थिएँ, साथीभाइले घरमै कागजको टुक्राले बनाएर सिकाएदेखी त्यै आजकल ‘फेबरेट’ बनेको छ । केही नहुदाँ मोबाइलमा लुडो पनि खेल्छु र दिन कटाउँछु, मन भुलाउँछु । यस्तै बेला युनीले फेरि ‘असाईनमेन्ट’हरु दिन्छ— अनलाईन क्लास के–के जति हो गरौँ भन्छ । तनमन नै बैचैन भइरहेको बेला पढाइमा पनि के मन जान्छ र ? उताबाट त्यत्रो पैसा तिरेर पढ्न आइयो यता युनीचाहिँ, त्यै अनलाइनको ‘पावार पोईन्ट’ र १—२ घण्टे लेक्चरले टार्न खोज्छ । चित्तै बुझ्दैन, तर पनि बुझाउनु परेको छ किनभने कोरोना सबैको लागि एक अप्रत्यासित वास्तविकता बनि सकेको छ । यस्तो होला भनेर न कसैले सोचेका थिए, न कोही यसबारे तयार नै । 

मसँग आज जति गुनासा गर्ने ठाँउहरु छन्, सायद चित्त बुझाउने ठाउँहरु पनि उत्तिकै छन् । कोरोनाले संसारभरका लाखौ मानिसहरु सङ्क्रमित भैरहँदा, म स्वस्थ छु । हजारौ जना घरबार विहिन अनि भोकभोकै परिरहँदा, दुई छाक मिठो मसिनो खाइरहेकै छु । टाढा होस् या नजिक ‘के छ हालखबर, सन्चै छौ?’ भनेर सोध्ने साथीभाइ र शुभचिन्तकहरु पाइरहेकै छु । अर्काकै देशमा किन नहोस्, आफ्ना सोच्नेहरु भेटेकी छु । बा–आमाको आशीर्वाद लागेकै छ । अनि… परिस्थिति जस्तोसुकै होस्, यो मुस्कान सँधै यस्तै रहोस् भन्दै हर दुःखसुखमा साथ दिने प्यारो मान्छे छ । आखिर यो भन्दा अरु के चाहिन्छ र जिन्दगी जिउनलाई अनि खुसी हुनलाई ! 

सबैमा माया अनि मिठो सम्झना ।

sukugrg10@gmail.com

सुकमाया गुरुङ्ग

सिरान्चोक गोरखा

हालः सिड्नी, अस्ट्रेलिया