भाेलि भोलि

भोलि कसैले देखेको हुदैन । तर देखेका भोलि कस्ता होलान् ?  भोलिलाई पछ्याउने क्रममा हामीले कति आजहरुलाई हिजोमा बिताइसकेका छौँ । 

भोलिको रफ्तारमा बढ्दै गर्दा जिन्दगी एक रेस बनेको छ । कहिले ठेस लाग्छ , कहिले लडिन्छ त कहिले चोटपटक लाग्छ तर दौडन भने छोडेका छैनौँ । दौडने क्रममा कति आफ्ना पराई भए अनि कति पराई आफ्ना जस्ता ।

भोलिको पछि लाग्दा लाग्दै कति रुप फेरिए, कति रडः, कति मन,कति सोच अनि कति साथ फेरिए । 

सबैले आफ्नो भोलि सुन्दर कल्पिएको हुन्छ । बुवा सधैँ भन्ने गर्नु हुन्छ “आज धेरै पढ छोरी ,भोलि सुखी हुन्छ्यौ ।” आमा पनि खाना पस्कदै गर्दा भन्नुहुन्छ ” तरकारी खा, साग सबै खाइसकिस् भने भोलि चस्मा लाउनु पर्दैन ।” यसै बिच टिःभीमा भ्रष्टाचारको समाचार सुन्दै गर्दा हजुरबुवा कराउनु हुन्छ “कति घुस खा ‘का, मर्नु पर्दैन भोलि यिनीहरुलाई ?” 

तर हिजोआज लकडाउनका कारण भोलिलाई पछ्याए पनि जिन्दगी भने रफ्तारमा बढे जस्तो लागेको छैन । घरमा बुवा, आमा, दिदी, भाई र म बस्छौँ । आज हामी सबैसँग सबैका लागि प्रशस्त समय छ । भोलिको अनेकाै भ्रम देखाएर नजिकिनेहरुलाई पनि ‘social distancing’ ले टाढै राखेको छ । बुवा आमाको यति धेरै माया पाउँदा भोलि कसैले यति 

माया गर्न सक्दैन भन्ने कुरामा विश्वस्त भएकी छु । 

जिन्दगीका रफ्तारमा अहिले ‘covid_19’ले टक्क विश्राम दिएता पनि मलाई पनि भोली पछ्याउनु नै छ। भोलि अझ संघर्ष गर्नु छ, टाढा देखिएका ती आशाका किरणलाई अझ चाँडो दाैडेर जित्नु छ, अडिग रहनु छ , सही र केही गलत गर्नु अघि नै सच्याउनु छ, सबै कुरा थाँती राख्दै आफ्नाहरुलाई मन भरिकाे सबै माया दिनु छ । भोलि अझै सुन्दर बनाउनु छ । 

ब्राेनिका थापा

काठमाडाैँ

जिन्दगीमा खुसी हुन सिकेँ

सानै देखि म अलिक धेरै जिस्कने र अरुलाई कसरी हँसाउने भनेर मात्र सोच्थें। अरुलाई खुसी बनाउँदा नै मलाई खुसी मिल्छ। म जब बोल्थे तब हँसाउने कुरा नै बोलिरहेकाे हुन्थे।यस्ताे हँसाउन कहाँ कताबाट कसरी आइरहेको हुन्छ, त्याे मलाई नै थाहा हुन्थेन। म धेरै चुटकिलाहरु सुनाउँथें। जस्तो मान्छेलाई पनि म हँसाउन सक्छु, यो मेरो खुबी नै हाे। स्कुल धेरै चोटी फेर्नु परेर होला मेरा धेरै साथी छन्। म आएको देख्दा पनि साथीहरुको अनुहारमा खुसी देख्थे। मलाई बिर्सिने सायद कमै छन् जस्तो लाग्छ। मलाई लाग्छ एक पलको जिन्दगी मरेर के लानु छ, खुसी भएरै जिउनु पर्छ।

बुवा आमा आफ्नो काममा व्यस्त हुँदा त्यति समय बुवा आमासँग हुन पाएकाे थिएन।म पनि कलेज जाने। धेरै समय साथीहरुसँगै बित्थ्यो। हाम्रो भेट बेलुका थकित भएर मात्रै हुने । बिहानको खानासँगै हुँदैन थियो। संगै खाना खान पनि शनिबारै कुर्नुपर्थ्यो। शनिबारको दिन पनि सरसफाईमा जान्थ्यो। यति धेरै समय सायद मैले मेरो परिवारसँग कहिल्यै बिताएकी थिइनँ। अहिले महसुस हुँदैछ त्यो खुसी, हामी सबैजना घरमा मिलेर काम गर्छौं, आमालाई पनि धेरै सहयोग भएको छ। कहिले छोरीको हातको खान पाउँला भनेर सोच्ने मेरी आमालाई मिठो पकाएर खुवाउने गरेकी छु।

आफूलाई समय दिन थालेको छु। दादासँग आफ्नो कुरा मिल्दा गफ अलिक  बढी हुने गरेको छ। दिदीसंग दिनकै कुरा हुन थालेको छ । भाउजूसँग वर्षमा एकचोटी भेट हुने अहिले एक अर्कासँग छुट्नै गार्हो हुने अवस्था आएको छ । भाउजूले पनि अलिक मलाई बुझ्न थाल्नु भएको छ। मेरो भदैहरुलाई मैले नै हुर्काईरहेको छु जस्तो महसुश भैरहेको छ अहिले। म धेरै समय उनीहरुसँगै बिताउँछु। कहिले खेल्ने, कहिले हसाउने, कहिले रुवाउने कहिले पढाउने गर्छु। एकछिन मलाई घरमा देखेनन् भने खोज्दै हिड्ने भएका छन् । म काठमाडौँ, उनीहरु हेटौडा हुन्थे। यति धेरै समय उनीहरुसँग बिताएकी थिइनँ। सानी छोरी मैले खुवाएको मात्र खान्छे। ठूलीलाई आफै खानुपर्छ भनेर सिकाउने गरेकी छु। साँझ बिहान घरको काम पनि सघाउँछु।हजुरआमालाई  हामी एकचोटी मात्र आउँछौ भन्ने हुन्थ्यो। अहिले उहाँको पुरानो कुराहरु सुन्न पाएकी छु। एकदिन घरमा नहुँदा मेरो न्यास्रो लग्यो भनेर गनगन गर्नु हुन्छ। गाउँमा  LOCKDOWN को खासै प्रभाव छैन।

मान्छेहरु असारे खेतीको तयारीमा छन्। तरकारी बगैचा तिर छ। मान्छेहरु सामाजिक दुरी राखेर भेट्छन्। घरमा भैसी छ, कहिलेकाहीँ रहरले घास काट्न हिड्छु आमासँग। कहिले खोले दिन्छु। मल ल्याउने दाउरा चिर्ने। जंगलमा दाउरा लिन जाने थुप्रै नयाँ काम कुरा गर्दैछु।

यो lockdown  ले  मलाई मेरो परिवारसँग नजिक ल्याएको छ। म खुसी छु। 

“जिन्दगीमा खुसी हुन सिकेँ यही नै मेरो हतियार हो “

जादुको पटुकी

लकडाउनले मलाई मेरो गाउँमा बिताएका दिनको याद गरायो।

सुन्दा अचम्म लाग्छ, म त्यही कठै डाँडाको काखमा हुर्केको छोरा हुँ। बनपाखा, खोलानालासँग मैले धेरै ॠण लिएको छु। मिठा यादहरूको ॠण। मलाई अझै ॠणी बन्ने धोको छ।

सानै छँदा मेरी हजुरआमाले आफू घाँस काट्न जाँदा मलाई पनि उपल्लो दारे जंगलमा लैजानु हुन्थ्यो। बाटोमा म हजुरआमाको हात समाउँदै पुराना दन्त्यकथा सुन्दै जान्थे। आफू कदमा सानी भएपनि आफू भन्दा तीन चार गुणा ठूलो भारी सकि नसकी घरमा ल्याउनु हुन्थ्यो। म पनि ठूलो मान्छे बन्ने रहर गर्थे। सानो भएपनि भारी नबोकि हुँदैन्थो। हजुरआमाले लहराले बाँधेर सानो भारी बनाइदिनुहुन्थ्याे। हामी संगै घर फर्किन्थौं। कहिले भारी बिसाउँदै काफल अनि ऐंसेलुको मिठास लिँदै त कहिले टाप्रे र थाकल हातमा झुन्डाउँदै। घरको भकारीमा थाकल पकाउन राख्थ्यौं। कहिले त धानमा दाना झरेर घट्ट चलाउनेले दुःख पाउँथे।
बनको बाटो भए पनि हजुरआमासंग खानेकुराको भने कमी हुँदैनथ्यो। हजुरआमाको रातो तर पसिनाले भिजेको पटुकी मेरा लागि भने खानेकुराको भन्डार नै थियो। कहिले भुटेको मकै, भट्ट त कहिले मिस्रि त कहिले गडि। लाग्दथ्यो हजुरआमाको पटुकीमा जादु छ। 

एकदिन हजुआमा पधेँरामा नुहाउन गएका बेला त्यो रातो पटुकी घरको माथिल्लो ऑटिको पुरानो काठे बाकसमा लगेर लुकाएँ। भोलिपल्ट घरमा हल्ला खल्ला मच्चियो “यै पिढीमा राखेर गएको पटुकी कुन चाहिँ मुर्दारले हात हालेछ कुन्नि!” केही छिन चर्का चर्की चलिरह्यो। म चुपचाप रातो अनुहार बनाएर बसिरहेँ।

केही समयपछि माहोल शान्त भयो। दिउँसोको टन्टलापुर घाममा सबैजाना थारोमा बसेर गफ गर्दै हुनुहुन्थ्यो। म त्यही मौका छोपेर आफ्ना रहर बोकेर माथिल्लो आँटीसम्म पुगे। बिस्तारै काठको बाकस खोलेर हेरेँ। तर ‘त्यो पटुकीमा मैले आसा गरेका खानेकुरा थिएनन्। खालि पटुकी थियो।’ मलाई लाग्यो जादुले काम गर्न केही समय लाग्छ। म त्यो पटुकी त्यही छाडेर तल झरें। भोलिपल्ट बिहान सबेरै उठ्ने बित्तिकै पटुकी हेर्न पुगे। हिजो जस्तो पटुकीमा आज पनि केही थिएन। अब भने पटुकीको के काम भनेर हजुरआमाको सिरानी छेउमा राखिदिएँ। म निकै निरास थिएँ। किनकि त्यो पटुकीको जादुको मन्त्र हजुरआमालाई मात्र थाहा रहेछ भनेर।

फेरि अर्को दिन हजुरआमाको कथा सुन्दै जंगलतर्फ लागेँ।ठाडो उकालो पछि छेउमा सानो कुवा थियो। कुवाको चिसो पानि घटघट पिएर सकेपछि हजुरआमाले फेरि पटुकी खोल्न लाग्नु भो ! आज पनि सदा जस्तै त्यहाँ खानेकुरा थियो। गर्मी मौसममा खाने गुड ; मलाई थाह भयो यो जादुको पटुकीले हजुरआमासँग हुँदा मात्र काम गर्दो रहेछ।

बिपिन अर्याल

पाल्पा 


आफैले लेख्नुकाे मज्जा

जुन प्रतिष्ठा सेताे काेट लगाउनेले पाइरहेका हुन्छन् त्याे प्रतिष्ठा सबैले पाउन सक्दैनन्। किनकि सेताे काेट भित्र लुकेको उत्तरदायित्व अरुले निभाउन पनि त सक्दैनन् । त्यसैले म पनि सेताे काेट भित्र लुकेको उत्तरदायित्व निभाउन र सेताे काेटलाई दिने प्रतिष्ठा पाउनका लागि आतुर थिएँ । सायद म सानैमा धेरै पटक बिरामी भएर पनि हाेला, मलाई याे सेताेकाेट प्रति यति धेरै आकर्षण बढेको। याे सेताे काेट पहिरन र समाजसेवामा हाेमिनकै लागि म एस.ई.ई सकिएपछि नर्सिङ पढ्न सुरु गरेँ ।

पढ्न थालेकाे थाहै नपाइकन कति छिटो एक वर्ष बितेछ । second year काे first terminal exam  सकिएपछि हामी अस्पतालमा practical काे लागि गयाैँ । practical मा दैनिक रुपमा नयाँ कुराहरु सिक्ने क्रम जारी नै थियाे । त्यतिकैमा चीनकाे वुहान सहरमा covid 19 नामक सङ्क्रामक राेग देखियाे भन्ने सुनियो । त्याे सुनेकाे करिब २ महिना नबित्दै नेपालमा पनि काेराेना सङ्क्रमित देखिन थाले। त्यसले गर्दा हाम्रो practical  स्थगित भयाे र हामी सबैजना लकडाउन अघि नै मातृभूमि फर्कियाैं। लाग्छ कुनै युद्ध नै जितेर आएजस्ताे ।       

अहिले त लकडाउन भएको पनि तीन महिना हुन लागिसक्याे। मैले आजकाल लकडाउनकाे समय र म स्वयंलाई एउटा पिँजडामा कैद गरिएको सुगासँग तुलना गरेकी छुँ। जसरी एउटा सुगालाई उसकाे स्वतन्त्रतामाथि खेलवाड गरेर एउटा पिँजडामा कैद गरिन्छ, त्यसरी नै आज लकडाउनले मलाई घरभित्रै बस्न बाध्य बनाएको छ। तर मैले लकडाउनलाई बाध्यताकाे रुपमा नलिइ यसलाई एउटा अवसरकाे रुपमा लिएर पहिले पूरा गर्न नसकेका अधुरा कामहरू कलेजकाे project work, hospital काे case study काे  report हरु बनाउने र अन्य थुप्रै कामहरु लकडाउनमा गरेकी छुँ । ती सबै कामहरू पनि छिट्टै सकियो तर लकडाउन सकिएन ।

काेराेना सङ्क्रमित थपिएसँगै लकडाउन पनि थपिदै छ । त्यसैले मैले यी दिनहरुमा कहिले आमालाई घरकाे काममा सघाउने त कहिले बगैचामा फूल गाेडमेल गरेर सजाउने गर्छु। करेसाबारीमा तरकारी लगाउने देखि बारीतिरकाे काममा पनि आमालाई सहयोग गर्न थालेकाे छु ।

लकडाउन धेरै थपिदै जाने देखिएपछि हाम्रो कलेजले पनि अनलाइन कक्षा सुरु गर्याे। त्यसपछि त म सधैं अनलाइन कक्षासँगै अन्य कामहरूमा व्यस्त रहन थालेकी छुँ । सुरुमा त अनलाइन कक्षा कस्तो हुन्छ हाेला ? भनेर जिज्ञासा पनि लाग्यो । जिज्ञासाहरु पनि इन्टरनेटबाट अनलाइन कक्षा सुरु गरेपछि मेटियाे । दुई तीन दिन त अनलाइन कक्षा पनि राम्रैसँग चलिरहेको थियाे। तर बिडम्बना त्यसपछिका दिनहरूमा कहिले माैसमले साथ नदिने, कहिले इन्टरनेटले त कहिले बत्तीले साथ नदिने समस्याहरु पनि देखिन थालेका छन् । त्यसैले अनलाइन कक्षामा पढाउनुभएका कुराहरु साथीहरूसँग साेधेरै आफैले बुझ्दै पढ्ने काेसिस गर्ने गरेकी छुँ । त्यसले गर्दा आजकाल मेराे स्वअध्ययन गर्ने बानीकाे विकास भएकाे छ।

कहिलेकाहीँ फुर्सदकाे समयमा ‘हेर्ने कथा’ मा रहेका थुप्रै लकडाउन डायरीहरु पनि पढ्ने गरेकी छुँ । ती डायरीहरु पढ्नाले र अन्य साहित्यिक पुस्तकहरु पढ्नाले पनि मलाई साहित्य लेखनमा रुचि बढेकाे छ । त्यसैले मैले दिनमा एउटा केही न केही भएपनि साहित्यिक रचना लेख्ने गरेकी छुँ । आजकाल त मलाई अरुले लेखेकाे डायरी पढ्नुमा भन्दा आफैले डायरी र लेखहरु लेख्नुकाे मज्जाकाे अनुभव गर्न थालेकी छु।      

बर्षाैदेखि मेरैलागि भनेर दःख गर्नुहुने मेराे आमाबुबासँग पनि समय बिताउने र उहाँहरुकाे काममा सहयोग गर्ने समय मिलेकाे छ आज । त्यसबाट म आफूले नजानेका कामहरू पनि सिक्ने माैका पाइरहेकी छुँ । आजकाल त म धेरै कामहरु पनि गर्न सक्ने भएकी छुँ । साथसाथै मैले आफूलाई स्वस्थ राख्न दैनिक रुपमा व्यायाम, याेगा, मेडिटेसनहरु पनि गर्ने गरेकी छुँ । त्यसले गर्दा मेराे राेगसँग लड्न सक्ने क्षमता पनि वृद्धि भएको अनुभव गरेकी छुँ ।       

दैनिक कलेज जाने, घर आउने अनि एकछिन पढ्ने अनि फेरि पनि भाेलिपल्ट त्यस्तै दैनिकीसँगै बितेको थियाे मेराे लकडाउन अघिका दिनहरू र म भन्ने गर्थें ‘मलाई साहित्यिक रचना गर्ने त मन छ तर मसँग समय नै छैन।’ तर अहिले त मसँग समय नै समय छ त्यसैले अहिले नै लेख्न सुरु गरिहाल्नुपर्छ भन्नेमा पुगेकी छुँ । स्कुलमा १० कक्षामा पढ्दा म्यामले भन्ने गर्नुहुन्थ्यो “यत्तिकै केही पनि आउँदैन। आउनकाे लागि त कलमलाई कापीमा चाेप्नुपर्छ अनि मात्रै आउँछ ” आज मलाई म्यामकाे याे कुरा पनि सत्य लागेकाे छ ।         

आज म लकडाउनमा छु तर पनि दुखी छैन। अझ म त म भित्र भएका प्रतिभाहरुलाई चिन्न पाएकाेमा एकदमै खुसी छुँ । त्यसको लागि लकडाउन पनि मेरो एउटा धन्यवादकाे शब्द बनेको छ । म घरभित्रै बसेर भएपनि हरतरह नै The lady with lamp भनेर चिनिने फ्लाेरेन्स नाइटिङ्गेल बन्ने प्रयत्न गरिरहेकि छुँ र भविष्यमा पनि गरिरहने नै छुँ । अनि जति पनि याे लकडाउनमा आफ्नै ज्यानको बाजी राखेर खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, र सञ्चारकर्मी महानुभावहरुमा मेराे सम्मान छ र उहाँहरुलाई हामीले पनि याे लकडाउन अत्यावश्यक काम बाहेक अन्य समय भित्रै बसेर सहयाेग गरौं है त ।

कामना श्रेष्ठ

 

विश्व घुम्न रहर

यही फागुनमा १५ दिनको छुट्टीमा कतारबाट काठमाडौँ आएको हुँ।  जति बेला चीनमा कोरोनाले माहामारीकाे रुप लिइसकेको थियो। नेपालमा भने छिमेकी भएर पनि खासै प्रभाव देखिएको थिएन। त्यतिबेला नेपाल सुरक्षित नै लाग्दै थियो । काठमाडौँको बसाइ चैत महिनाको ७, ८ गते सम्म त राम्रै बितिरहेको थियो  यत्तिकैमा ३ जनामा संक्रमण देखिएको अवस्थालाई भयावह मानेर सरकारले चैत ११ गतेबाट देशभरि नै लकडाउनको घोषणा गर्‍यो। एक साताका लागि गरिएकाे लकडाउन यत्तिका दिनसम्म खुल्ला गरिएकाे छैन।

एउटा सिङ्गो जीवन बोकेर हतारमा हिड्नु छ। असंख्य दौडधुपको यात्रामा थुप्रै भारीको बोझ उठाउनु छ,  घमण्ड र स्वार्थको संकल्प होइन,व्यबहारले चलाएको जिन्दगी नै यही हुन्छ।  पहिलो, दोस्रो, तेस्रो, चौथो चरण पार गर्दै अब कति औं चरण पार गर्नु पर्ने थाहा छैन। तर अब चाहिँ भबिस्यकाे चिन्ता लाग्न थालेको छ। अलमलमा छु १५ दिनको छोटो बिदामा आएको ३ महिना हुन लागिसक्यो।  अब कम्पनिले बोलाए जुम्ला नबोलाए नेपालमै केही गरुम्ला भन्ने छ। शारीरिक रुपमा त म एकदम स्वस्थ छु। तर यत्तिका दिन घरमा नै थुनिएर बस्नु पर्दा मनोबैज्ञानिक असर भने धेर थोर पर्दो रैछ।

सिङ्गो भविस्य नै कर्कलाको पानी जसरी अड्याउनु पर्ने अवस्थामा यस्ता खाले लकडाउनले म जस्ता लाखौ युवाहरुलाई कुनै न कुनै रुपमा मानसिक उल्झनमा पक्कै पारेकाे छ। यो अवधिलाइ कसरी उपयोगी बनाउने भन्ने लागेर आजभोलि किताब पढ्न थालेको छु। समाचारहरु हर बखत सुनिरहेकै हुन्छु। सिङ्गो नेपाललाई आज नजिकबाट हेर्ने मौका पनि पाइरहेको छु। हाम्रा देशका नेताहरूलाई नजिकबाट बुझ्न कोसिस गरिरहेको छु।  सामाजिक आर्थिक रुपमा नेपाल कुन अवस्थाबाट गुज्रदै छ भन्ने पनि भेउ पाउन थालेको छु। यो चाहिँ लकडाउनकै बिच भएका उपलब्धी हुन् मेरा।

यदि महामारी आउन्नथ्याे र लकडाउन हुन्नथ्यो भने म मेरो काम,व्यस्तता र रमाइलोमै झुमिरहेको हुन्थे। मान्छेले एउटा काममा मात्र ध्यानकेन्द्रित गर्न हुन्न। समयले भ्याएसम्म अरु एक दुइटा वा बढी  इलम गर्नु पर्छ भन्ने पाठ पढाइ रहेको छ कोरोनाले मलाई। आशा छ यो महामारीमाथि चाडै नै  बिजय पाउनेछौं र फेरि घरबाहिर हुनेछौं। अनि म विश्व घुम्न निस्कने छु।

मिलन रोक्का

काठमाडौ

परिवारकाे जिम्मेवारी

कोरोना भाईरस कोभिड १९ चीनको वुहानबाट फैलिएको खबर सुनेपछि त्यस्तो केही हैन होला, सामान्य रोग होला भन्दा भन्दै अन्य देशमा पनि फैलियो। नेपालीहरु रहेको चीनबाट सरकारले उद्धार गरेपछि बल्ल कोलाहल मञ्चियो। यस्तो होला, नेपालमा आउला भन्ने अनुमान कसैको थिएन। अन्य देशहरु हायल कायल हुँदा पनि नेपाल ग्रिन जोनमा थियो। पशुपतिले बचाएको भनेर धेरैले भ्रम पनि छरे। कालान्तारमा नेपाल पनि ग्रिन जोनमा रहन सकेन। तर यहाँ खासै प्रभावकारी ढंगले सावधानी अपनाइएन। त्यसैको प्रभाव दिन प्रतिदिन नेपालमा कोरोना सङ्क्रमितको सङख्या बढिरहेको छ। मृत्युको खबरले कान पाकिसक्यो। घर बाहिर निस्कन पनि डराउनु पर्ने दिन आयो।

दिनहरु उराठ लाग्दो हुँदै गयो। लकडाउन भएको पनि यत्तिका दिन भयाे। काठमाडाैँबाट घर आए। कलेज पनि बन्द छ। दिक्क लाग्न लागेको छ। अफिस कलेज हुँदा त मनका अनगिन्ति पिरहरु भुलिन्थ्यो। साथी भाइ भेटिन्थ्यो। उनीहरु मेरा अभिभावक झैँ थिए। अहिले त डरै डर मात्र छ। धन्न काठमाण्डौबाट घरमा आउन पाए। केही दिन त घर तिरको काममा व्यस्त भएँ। भाइबैनीको गुनासाे सबै सुनि दिनुपर्छ। उनीहरु त दिदी साथै भएर निक्कै खुसी छन्। तर म भने अभिभावक विहिन छु।

कहाली लाग्दो परस्थितिबाट गुज्रिएर यहाँसम्म आइ पुगेको छु। बाबा आमा विना भोगेको जिन्दगी सम्झिदा मृत्यु पनि केही होइन जस्तो लाग्छ। अब त घरभित्र पनि कति बस्नु। कोरोना भन्दा पनि अन्य जिम्मेवारीको डर छ। अभिभावको भूमिका निभाउन पक्कै सजिलो छैन। आफू भन्दा साना भाइ बहिनीको गुनासाे सुन्दा सुन्दै यत्तिका दिन वितिसकेछ।मेराे मनकाे कुरा चाहिँ कसलाई सुनाउनु हाेला! मलाई मेरो चिन्ता भन्दा पनि भाइ बैनीहरुको चिन्ताले निकै सताउँछ। कही बाहिर निस्किन दिएको छुइन। आफू पनि निस्केको छुइन। अब सधैँ यसरी कहिले सम्म चल्ने होला!

घर चलाउन निकै गाह्रो छ  जिम्मेवारीको बोझले थिचेको छ। दिन प्रतिदिन कोरोना सङक्रमितको सङ्ख्या बढिरहेको छ। सास हुन्जेल आश पक्कै हुन्छ। मृत्युको खबर दैनिक सुन्नु पर्दा मन भावुक हुन्छ। म जस्तो अभागी अरु नबनुन्। कसैको मृत्यु नहोस्। अभिभावकको अभावमा बाँचेको जिन्दगी बहुत दुखदायी हुँदोरहेछ। मैले ती दिनहरुको सामना गरे, अहिले सम्झिदा पनि सास रोकिन्छ आँशु बर्सिन्छ। छोरीहरुको महत्व नदिने समाजमा परिवारको सम्पूर्ण जिम्मेवारी लिएर आफू रित्तो भएर पनि अभिभावकत्व निभाउन लागि परेको छु।

अब कहिले सम्म यसरी त्रासमा जिउने होला ? कहिले सम्म मृत्युको सङख्या गनेर बस्ने होला? विकसित मुलुकहरुलाई त हम्मे हम्मे परेको छ ।नेपालमा के हुने होला पिरै पिरले सुकेको ज्यान झनै सुकिसक्यो। न रोइकराइ गरेर कोरोना हट्ने। डर मात्र लाग्छ। ठूलो स्वरले खोके मात्र पनि छिमेकीले कान ठाडो बनाउँछन। कस्तो रोग आयो ! रोग नलाग्दा नै हेरिने दृष्टिकोण फरक छ, रोग लाग्यो भने त के हालत होला !

आफ्नो पिर, कलेजको पिर, भाइ बहिनीको पिर, त्यसमाथि लकडाउन। कति डामाडोल छ जिन्दगी! तर पनि हरेस खाएको छुइन। विधाताले लेखेको कुरा कसले टार्न सक्छ र ! कसैले ममता देखाए सहानुभूति मात्र दिए पनि मन शान्त हुन्छ।
घरमा बसिरहँदा पनि छटपटी लागिरहन्छ। जिन्दगी अस्तव्यस्त चलिरहन्थ्यो। परिवारसँग पढाइको कारण टाढा रहनु पर्थ्यो। अहिले समय छ , फुर्सद छ, तर अभिभावक नै छैनन्। बा आमा बिनाको घर के घर! वरिपरि सबै छोरा छोरी अनि बा आमा हुनु कति आनन्दमयी हुन्थ्यो। घर भरि टन्न मानिस भए त लकडाउन पनि  पारिवारिक जमघटको रुपमा सदुपय‍ोग गर्न हुन्थ्यो।
तर यी सब कल्पना हुन् मेरो। हुनेहरुको छोराहरुले कति दुख दिएका छन्, संसार यस्तै छ । सानै उमेर देखि दुख भोग्दै आए  धेरै कुराहरु सिक्ने अवसर पाएको छु पढेर भन्दा पनि परेर भोगेर परिपक्क भएको छु।

एक मनले लाग्छ कस्ता कहाली लाग्दो दिन त बित्यो। अब यति नै लेखेको रहेछ भने हुने कुरा कसैले टार्न सक्दैन। जे भए पनि कठोर बन्न  नजाने पनि शाहस कायम छ। साथीभाइको साथ र प्रेरणा पाए यो भने पनि कोरोनालाई जित्न सक्छु जस्ताे लाग्छ। जटिल छ समय तर भाग्ने कुरा भएन। सामना गर्नुको विकल्प छैन।

शुसिला थापा

चितवन

ढोका ढक्ढक्याउँदै असार

चीनको वुहानबाट शुरु भएको कोभिड १९ को संक्रमण बढ्न थालेपछि मानिसहरु भयभित हुन थाले । नेपाल सरकारले पनि सुरक्षित रहनका लागि चैत्र ६ गतेदेखि शैक्षिक संस्था बन्द गर्यो । म पनि कर्मभूमिबाट आफ्नो घर आइपुगेँ। अझ संक्रमण नबढोस् भनेर चैत्र ११ देखि पूर्ण रुपमा बन्दाबन्दी नै घोषणा भयाे। जुन अहिलेसम्म निरन्तर छ।

मेरो गाउँको बसाइँ भएकोले त्यति साह्राे कष्टकर त छैन नै। तैपनि टि.भि. मा समाचार हेर्दै गर्दा त्रास चाहिँ बढिरहेकै छ । हेर्दा हेर्दै गन्दा गन्दै नेपालमा नै संक्रमित ३ हजार पुग्न लाग्याे। मृत्यु हुनेहरुको संख्या पनि दिनानुदिन बढ्दै छ । परिस्थिती जसरी बिग्रेर आएपनि सुरक्षित भएर आत्मबल बढाएर बस्नुको बिकल्प छैन । सपरिवार घरमै जम्मा भएर बसेका छौं। टि.भि. मोबाइल र पुस्तकहरु साथमा छन् ।बेलाबखत खेतबारीमा काम गरिन्छ । आफ्ना दाजुभाइहरुसँग गफ गाफ गरिन्छ। समय सहजै बितेकै छ। यद्यपि मुलुकका विभिन्न ठाउँका अकल्पनिय खबरले स्तब्ध बनाउँछ । शंकाको घेरामा रहेकाहरुको व्यवस्थापन पनि कमजोर देखिन्छ। मानिसहरु खान नपाएर अन्य रोगको उपचार नपाएर मरिरहेका समाचारले भावुक बनाउँछ ।अर्कोतिर बन्दाबन्दीको कारणले धेरैकाे दैनिकी प्रभावित भएको छ ।

मेराे मात्रै कुरा गर्ने हाे भने म त गाउँमा बसेको छु। अहिलेसम्म यता संक्रमण आइपुगेको छैन। आफैले आएर छरेका मकैहरु फल दिने तयारीमा छन्। करेसाबारीमा तरकारी टन्नै छन्। असारले ढोका ढक्ढक्याउँदै छ। दिनहरु पढाइ लेखाइ काम काज टि.भि. मोबाइल अनि गफ गाफमै बितेका छन्। तैपनि मन कत्ति खुसी छैन। सम्झन्छु ती दैनिक ज्यालादारी मजदुरलाई, ती बैदेशिक रोजगारमा गएका र काम बन्द भएर कोठामा पल्टिरहेका युवकहरुलाई। मन भारी हुन्छ। कहिले सम्म होला यो कहर??

केटाकेटीहरुले पढाइलेखाइ बिर्सिसके। कुलत अनि नराम्रो बाटो हिड्छन कि भन्ने जगजगी बढिसक्यो। कति मानिस डिप्रेसनका सिकार भैरहेछन्। कतिले जिन्दगी नै भार सोची आत्महत्या गरिरहेछन् । कहिले सम्म होला यो बन्दाबन्दी? नगर्दा संक्रमणको डर, गर्दा जीवन तहसनहस, जे गरेपनि सहज छैन । तर अब सरकारले बिकल्प त खोज्नै पर्ने भयो कि भन्ने लाग्न थालेको छ। अन्त्यको कुनै टुङ्गो नभएको यो समस्याको समाधान पूर्ण बन्दाबन्दी मात्र नहोला ।अब सुरक्षित बाटो अपनाउँदै सुरक्षित हुने आफ्नै लागि हो भन्ने आत्मबोध गर्दै बन्दाबन्दीलाई परिमार्जन गर्नुपर्ने देखिन्छ ।

सबैलाई मेराे अनुराेधः सुरक्षित रहौं, संयमित बनौं ।

प्रकाश राज ढकाल 

लम्जुङ


जीवनका अनुत्तरित प्रश्नहरु

हामी हतारमा थियौं । जीवनको गति र बेग दुवै बढ्दै थियोे । विश्व हिजोलाई पछि छोड्दै भोलि तर्फ एक तमासले अघि बढिरहेको थियोे। तर हाम्रा सपनाले सजिएका अनगिन्ती पाइला पृथ्वीले अब अरू थेग्न सक्दिन भन्ने बोध गरेछ क्यार..
टक्क लाएर राेकि दियो। कोलाहल साम्य पारिदियो। अनियन्त्रित मानव गतिविधिको श्रृङखला चुँडाइ दियो।
सायद यो जरुरी पनि थियो, उसका लागि। त्योभन्दा बढी हाम्रा लागि।

लकडाउन मेरा लागि:

पढ्न सुरु गरे देखि यति लामो समय घर बसेको यो पहिलो पटक हो। लिच्चीको फूलदेखि फलसम्मको बिकास क्रम यसैपालि राम्ररी हेर्न पाँए। घर बसाइँका सुरुवाती दिन अलि व्यस्त  बिते पनि आज भोलि मसँग व्यस्तताको अभाव र समय प्रशस्त छ। मेराे गाउँ चारैतिर अग्ला पहाड र जङ्गलको बिचमा भएकाले म सानैदेखि प्रकृतिको नजिक हुन पाएँ। त्यसैले प्रकृतिको सामिप्यमा नै अानन्द लाग्छ।

बारीको पुछार तल तमोर एकनासले बगिरहेको हुन्छ। आज भोलि म प्रत्येक छालसँग बात गर्छु। डाँडामाथिबाट उदाउँदो घाम, ढिला उठ्ने बानीले खासै हेर्न नपाए पनि अस्ताउँदो सूर्यलाई कोशी(तमोर)का छालहरुमा तैरिदै डाँडाबाट ओरालो लागेको पनि आँखाले भ्याउन्जेल हेर्छु, बादलले लुकाको दिन बाहेक सधैँ।

थरीथरीका चराचुरुङ्गी आकाशमा उडिरहेका हुन्छन्। एकाद बाहेक अरु धेरैको नाम जान्न थालेकि छु, आज भोलि। साँझपख काफल पाक्यो(चराको नाम)ले नाम अनुसार काफल पाकेको सूचना दिइरहन्छ अनि फिर कुइरो(चराको नाम) बादललाई फर्कि आउन भनिरहेको हुन्छ। मसँग यिनको स्वर सुनिरहन पर्याप्त समय छ। ढुकुर जोडिको प्रेम, जुरेलीको नाँच अनि काग र चिबे(चरा)को दुश्मनी हेर्ने फुर्सद पनि छ आज भोलि।

फूल रोप्न असाध्यै मन पर्ने घर आएपछि मलाई। अरु बेला थोरै बिदा हुन्थ्यो। कहाँ कहाँबाट ल्याएर रोप्यो, ममीले पानी हाल्न बिर्सेर त्यसै मर्थे कति त। अहिले चाहिँ आफैले तिनकाे हेरचाह गरेर हुर्काउन पाउँदा बेग्लै आनन्द आ’को छ। 

पौडी खेल्न जान्ने हुने मेरो उहिले देखिको सपना अझै सपनै छ। कुनै पनि कुरा सिक्न साँच्चै गाह्राे हुँदो रहेछ। र पनि सुधार चाहिँ हुँदै छ भन्ने टिप्पणी मभन्दा उमेरले निकै सानी मेराे कोच बहिनीले दिइरहेकाले मेरो कोसिसले पनि हार मानिहालेकाे छैन।

लक डाउन यति लामो हुन्छ भनेर थाहा नपाएकोमा पछुतो मान्ने म मात्रै त पक्कै हैन होला। परीक्षाको मुखमा आएर लक डाउन सुरु भा’को हुनाले नोट र सिलेबसका किताबले मात्रै घर आउने झोलामा सिट पाएँ। साहित्यका  किताब, उपन्यास आदि पढ्न रुचाउनेलाई यो जस्तो राम्रो समय सायदै कुनै होला। तर मसँग घरमा सानो बेलाका कथाका किताब, भाषा नबुझिने धार्मिक पुस्तक र वर्षौ अघिका अक्षर नै मेटिन आँटेका पत्रिका मात्र छन्। तिनै भए पनि हेर्छु कहिलेकाहीँ । मेरा खालि गोजी समयले जो भरिएका छन्।

Know thyself. भनिन्छ, हरेक मानिसले आफू को हो भनेर चिन्नु पर्छ रे! हामीमा बाहिरी “म” जुन अरुले पनि देख्न सक्छन् र भित्री “म” जुन आफूले पहिला खोज्नु पर्छ, देख्नु पर्छ अनि मात्र अरुलाई देखाउन सकिन्छ गरि दुई “म” हुन्छन् रे! यो कुरा मैले आफूले चाहिँ अनुभव गरेको छैन। तर मेरो मानसपटलमा आज भोलि यो कुरा बारम्बार आउन थालेको छ। के साँच्चै यस्तो हुन्छ? हुन्छ भने म कसरी अनुभव गरुँ त्यसलाई ? बाटो के हो त्यहाँ पुग्ने? कि यस्तो हुँदैन? यो सब मिथ्या हो? यदि यस्तो हुँदैन भने के मानव बाहिर देखिएजस्तै काम, क्रोध, लोभ, मोह, माद र मत्स्यकाे पुन्ज मात्रै हो त? . ..  आदि इत्यादी अनेकन प्रश्नको लहर मस्तिष्कभरि तेर्सिन्छन् आज भोलि। “उफ्, मसँग फाल्तु कुरा सोच्न पनि कति समय छ,”  यति सोच्न नपाउँदै प्रकाशको गतिभन्दा थोरै मात्र कम रफ्तारमा.. जीवन के हो त उसो भए? म जहाँ जुन परिवेशमा छु, किन छु? मानव प्रायको जीवनको केही विशेष अर्थ हुन्छ कि ? … …या यी प्रश्न उत्तरित हुन जरुरी छैन?.. मनमा अर्को लहर तैनाथ भइसक्छ । 

दैनानुदिन जीवन यस्तै भइ रहे पनि मैले खास ख्याल नगरेका, सधैँ अस्तित्वमा रहे पनि मेरा लागि भर्खर अस्तित्वमा आएका र सायद मानव जीवनका आधारभूत कुरा भए पनि मेरो चेतनाका निम्ति भर्खर फजुल समय काट्न सोचिने प्रश्नका रुपमा उभिएका.. यी सब कुराका बिचमा हराउँदै, केही नयाँ कुरा सिक्दै र आफैलाई पनि बेला बेला नियाल्दै, आफूभित्र चियाउने प्रयास गर्दै बितिरहेका छन् मेरो लकडाउनका दिनहरु !

रुविना भण्डारी

धनकुटा

वनकी चरी के भन्छे के ?

न्युरोड सहरबाट ९ किमि टाढा ऎतिहसिक सहर टोखामा बस्छु। यता बसेको पनि १० वर्ष  भइसकेको छ। यहाको हावापानी, हरियाली अनि सिस्नुले मलाई मेरो जन्मथलो रामेछापबाट टाढा बसेको महशुस गराएको छैन तर पनि मेरो गाउँलाई मैले पटक्कै विर्सेकी छुइन। बिहानको कलेज, दिनभरि काम अनि खै के के कारणले यो काठमाडौँ सहरले मलाई व्यस्त बनाइ राख्थ्याे। यो लकडाउनमा शिवपुरी डाँडालाई हेर्दा र चिसो हावाको स्पर्शले मलाई मेरो गाउँको याद दिलाएको छ। मैले अठोट गरेकी छु कि लकडाउन पछि यो सहरकाे व्यस्तता छाेडेर गाउँ जानेछु।

फेसबुकमा स्क्रोलीङ गरिरहँदा झ्यालबाट आएको चराको आवाज मेरो कानमा गुन्जिरहयो। हत्तपत्त उठेर बाहिर हेरेँ । चराको प्रजातिको बारेमा त्यति ज्ञान छैन तर पनि उनीहरुको सुरिलो आवाजबाट म सधैँ मोहित हुन्छु।

अचेल थरीथरीका चराहरुका फरक फरक सुरका आवाजहरु सुन्छु। कसैको “काक………काक” , कसैले “कु……कु” अनि  अरू पनि थरीथरी। ती मिठा र सुरिला आवाज मनमा छन् तर शब्दमा भन्न सक्दिन। त्यसैले पनि त्याे खास लाग्छ मलाई।

चिरबिर चिरबिर चराकाे अवाज सुन्दा के भन्न खोजेको होला यसले, के कुरा गरिरहेका होलान् भनेर मेराे मन पनि एकदम चकचक गर्छ। मनको चित्त बुझाउन लागि म आफ्नै तरिकाले परिभाषित गर्दिन्छु। ऊ त्यो ४ वटा हाँगा भएको रुखमा भएको चराले ” के छ? ” भनेर सोधेको होला अनि त्याे पातलो रुखमा भएको चराले ” ठिकै भनुम, हावाहुरी आएर अलि दु:ख दिइरहेको छ।” भनेकाे हाेला। म आफ्नै तरिकाले उनीहरुको वार्तालाप बुझिदिन्छु।

कागलाई चराहरूमा विशेष रुपमा हेरिदैन, आकर्षित पनि मानिदैन। तर मलाई अहिले कागको जीवनशैली एकदमै मन परिरहेको छ। आफ्नै तरिकाले कसैलाई असर नगरि बाँचिरहेका हुन्छन्। स्वतन्त्र रुपमा उडिरहेका हुन्छन्। कसैले पक्रेर पिजँडामा हाल्ला भन्ने डर पनि छैन।

लकाडाउनमा कोठामा थुनिएता पनि चराहरुमा विशेष रुची बढेको छ र छुट्टै खालको खुसी मिलि रहेको छ । यो वनका चरीहरु के भनिरहेका होलान्! कस्ता कुरामा झगडा गर्छन् होला! बुझ्ने कौतुहलता बढ्दै गइरहेको छ। कहिलेकाहीँ फेसबुक, इन्स्टाग्राम अनि युट्युबको दौडबाट वाक्क लागेर कौसीमा चराहरुबाट sound Therapy लिन जान्छु। अनि डायरीमा मनमा उब्जिएका तर्क वितर्कहरुलाई शब्दमा सिमित पार्ने कोसिस गर्छु ।

मिङ्मा शेर्पा

काठमाढाैँ

अचेल फुर्सदमा छु

अहिलेको समयमा पूरा विश्व नै कोरोनाको महामारीबाट आक्रान्त छ। आज हामी बन्दाबन्दीको ६९ औ दिनमा छौ। चारैतिर खुल्ला भएपनि एकान्तवासमा गुम्सिएको महसुस हुन्छ म आफूलाई नै। विश्व नै कोरोनाको कहरबाट ढलमल भइरहेको बेला कतै म आफ्नो पहिचान बनाउन पो सक्दिन कि भनेर मन पिराेलिरहेको हुन्छ। महिनौ अघि देखि आराममा छु तर मन मनै भाैतारिदैँछु। मलाई भोलिको चिन्ताले राति निन्द्रा लाग्न छाडेको नि धेरै भयो।

निम्न वर्गको परिवारको मान्छे म लम्बिदै गरेको लक्डाउनले मन उकुस्मुकुस भएको छ। मनसपटलमा अनेकौ कुरा खेल्न थालेका छन्। लकडाउनले फुर्सदमा छु म अचेल। 

घर परिवारबाट टाढा, बिहान उठ्यो पकायो, खायो कलेज गयो, साँझ आयो असाइन्मेन्ट गर्‍यो, फेरि पकायो खायो। यस्ता थिए मेरा दिनचर्या। ‘मान्छेलाई सपना देखाउने, आङ जिरङ्ग पारिदिने, एकैपल्ट शान्त र उद्धेलित बनाइदिने किताबले नै हो’ हजुरबुवा मलाई यही भन्नुहुन्थ्यो। घरबाट टाढा बसेको पनि आठ बर्ष पूरा भैसकेको थियो। बन्दाबन्दीले गर्दा घरपरिवारसँग बस्ने बातावरण मिलेको छ। ८७ वर्षको हजुरबुवा, त्याे शरीरको जोश, उहाँको कुराहरु, जहानियाँ राणा शासन, पञ्चायत, लोकतन्त्र साथै गणतन्त्र ल्याउनको लागि गरेका संघर्षका गतिबिधिका किस्साहरु सुन्न पाएकी छु। बुवाले १६ वर्ष देखि परिवारको जिम्मा आफ्नो काँधमा बोकेर हिड्दा देखिका उहाँका जिन्दगीका कथाहरु उहाँकै समिपमा बसेर बुझ्न पाएकी छु। ममी पोखरा आउँदा एक रात पनि आमा छोरी बसेर कुरा गर्न नपाएको त्यो न्यास्रोपनलाई आजकाल मेटाउन थालेकी छु। सकेसम्म म भित्रको आफूलाई चिन्न खोजिरहेकी छु। 

सानैबाट कोर्सका किताबहरु भन्दा बाहिरका पुस्तक पढ्न मन पराउने मान्छे म, कलेज हुँदा पनि एउटा न एउटा किताब पढिरहेकै हुन्थे। पौराणिक कथाहरु पढ्ने बढो हुटहुटी थियो मेरो मनमा। पहिला पहिला गीता ‘आईमाई मान्छे’ले पढ्नु हुन्न भनिन्थ्याे रे! त्यही भएर सानो फपुले पनि राति कसैले थाहा नपाउने गरेर पढेकी थिएँ भन्नु हुन्थ्यो।

यो सुन्दा मलाई झनै गीता पढ्ने मोह जागेको थियाे। त्यसैले यही बिचमा मैले गीता पनि पढेँ। त्यति मात्र नभएर मेरो मनमा जरा गाडेर बसेको प्रश्न कुरुक्षेत्रमा भएको लडाईं एउटा महिलाको कारण हो भनेर सानोमा आमाले भन्नु हुन्थ्यो। त्यही कौतुहलता मेटाउनका लागि भए पनि मैले महाभारत पढेँ। गीता र महाभारतको ज्ञान लिएसँगै रामायण पनि पढेँ। मलाई अक्षर र शब्दका जादुगरले तानिरहेको जस्तो लाग्छ। अध्यात्ममा रस बनाउने हो भने ओशोको ‘मे मृत्‍यु सिकाता हुँ,’ त्यो पढ्नुपर्छ भनेर कुनै पत्रकामा पढेकी थिएँ। किताब पढ्नलाई किताब त थिएन। पिडीएफ डाउनलोड गरेर त्यो पनि पढेँ।

सुलाेचना देवकाेटा

स्याङ्जा

१५ वर्ष अघिकाे कुराे

लकडाउनमा घरैमा छु। व्यस्त दैनिकीबाट अलिकति फुर्सद मिलेको छ।परिवारसँग हुन पाउँदा रमाइलो त छ तर घर फर्किन नपाएका मानिस, दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवार, कल कारखाना बन्द हुँदा दुख पएका परदेशी सम्झदा मन खिन्न हुन्छ। खाली समय भएकाले सामाजिक संजाल अघिपछि भन्दा बढी नै चलाउँछु। देशमा हुने घटनामा चासो राख्न समय मिलेकाे छ। बिगत ४-५ दिन यता रुकुम पश्चिम्मा घटेको घटना र जातीय विभेदमा भएका टिकाटिप्पणीले मलाई भने आज भन्दा १५ बर्ष आगाडिको एउटा घटना सम्झाएको छ।

बैशाख महिनामा ठूलो पानी परेर आकाश भर्खरै खुलेको थियो। बसन्त ऋतुमा लागेका नयाँ पलुवा, कोइलीको कुहु- कुहु र काफल पाक्यो चरिको सन्देशले प्रकृतिलाई रमणीय बनाएको थियो। बारीमा मकै छर्ने तर्खर गर्दै थियाैं। सहयोग गर्नका लागि पल्लो गाउँबाट बीरे काका आउनुभएको थियो। आँगनको छेउमा खेल्दै गरेकी मलाई हजुरआमाले भान्साबाट “ए नानी यो चिया बीरे काकालाई देउ त “भनेर अह्राउनु भयाे। मैले चिया दिनै लग्दा हजुरबुबाले “अलि परबाट देउ छोइएला नि!” भन्नुभयो। मेरो बाल मस्तिष्कमा हजुरबुवाले बीरे काकालाई किन फरक व्यवहार गर्नुभएको होला भन्ने लाग्यो। तर जब म बुझ्ने भए तब बल्ल थाहा पाएँ हजुरबुवाको व्यवहारमा अन्धविश्वास झल्केकाे थियाे भनेर। म उहाँलाई दाेष दिन चाहन्न। उतिबेलाकाे समाज जस्ताे थियाे, उहाँकाे व्यवहार पनि त्यसैकाे प्रतिनिधि मात्रै हाे।

तर, अहिले पनि जातीय विभेदका घटना सुन्दा भने मुटु पिरोलिन्छ। हजुरबुवाको  पालाबाट हामी नाति नातिनाको पालामा आइपुग्दासम्म  पनि समाजमा जरा गाढेर बसेको जातीय विभेद भने उस्तै छ।सहरमा भन्दा गाउँमा जातीय भेदभाव अझै उस्तै भएकाे मैले अनुभव गरेकाे छु।जातीय व्यवस्थालाई हामीले अन्तरमनले  नै बहिष्कार नगरेसम्म  कानुनले र नीतिले मात्रै केही हुनेवाला छैन। त्याे परिवर्तन आफैबाट सुरु गर्न सक्नुपर्छ।

आशा छ लकडाउन पनि खुल्ने छ, हामीले काेराेना भाइरसबाट मुक्ति पाउनेछाै र याे समाजमा रहेकाे छुवाछुत नामकाे याे भाइरसबाट पनि हामी सबैले छिट्टै मुक्ति पाउँछाैं।

कविता पाण्डे  

   अर्घाखाँची 

   

                 

                   

हराउँदै गएकाे मानवता

COVID-19 ले गर्दा अहिले अरु कुरा नै कुरा बिर्सियौ कि जस्तो लाग्न थालिसक्याे।

नेपाली समाजमा social distance  भन्ने कुरा भन्दा पनि  social unity, social co-operation  बारे मैले बढी बुझेकी र पढेकी थिएँ। तर अहिले यी कुराहरु कतै हराउँदै गए कि जस्ताे भान भएकाे छ।

  • केही दिन अगाडिको कुरो हो, मेरी ९९ वर्ष कि हजुरआमा बिरामी पर्नु भएको थियो। उहाँलाई श्वास-प्रश्वासमा समस्या भएकाले तुरुन्तै अस्पताल लग्नु पर्ने भयाे। तुरुन्तै धरान उहाँलाई लगियो। त्यहाँसम्म एम्बुलेन्समा बिरामी बोकेर लैजानु भएको दाइ र त्यहाँ उपस्थित केही कर्मचारीले समेत उहाँलाई समाएर अस्पतालको बेड सम्म लैजान मान्नुभएन।
  • त्यसरी नै केही दिन अगाडि सिरहाकाे सुखीपुर नगरपालिकाका साथीहरुसँग कुरा गर्दा त्यहाँका नागरिकहरुले आफ्नो नगरपालिकाका मेयरसँग राहतका लागि कुरा राख्नु भएको रहेछ। जवाफमा मेयरले ‘तपाईंहरु आफै धनि हुनुहुन्छ’ भन्दै राहत नदिने भन्नुभयाे रे! अनि त्यहाँका बासिन्दाहरुले आक्रोशमा आएर प्रत्येक घरबाट एक-एक मुठी चामल, त्यसरी नै तरकारी, लुगाफाटा समेत जम्मा गरि मेयरलाई दिनु भनेर वडामा बुझाए रे! अहिले त्यहाँ राहत सम्बन्धि समस्या समाधान गरियाे भन्ने सुनेकाे छु।

यस्ता थुप्रै उदाहरण हिजाेआज गाउँघरमा भेटिन थालेकाे छ। आफू सुरक्षित हुनु आवश्यक छ तर त्यसाे भन्दैमा अरुलाई सहयोग नै नगर्नु र आफ्नो कर्तव्य नै पूरा नगर्नु चाहिँ हुन्नजस्ताे लाग्छ मलाई। मानव भएपछि विवेककाे प्रयोग पनि गर्नुपर्छ| कोही सिकिस्त बिरामी पर्दा हामी एम्बुलेन्सलाई फोन गर्छौ र अस्पतालमा उपस्थित व्यक्तिले बिरामीलाई सहयोग गर्छ भन्ने सोच्छौ तर त्यो वातावरण त्यहाँ देखिएन। COVID-19 ले खतरा निम्त्याएकाे छ भन्दैमा आफू मानव हुँ भन्ने कुरा नै बिर्सनु, आफ्नो कर्तब्य नै बिर्सनु भनेकाे आफू स्वयम् बिलिन हुनु हो

यतिका लामो दिनसम्म खान लाउन पाएका व्यक्तिलाई त गाह्रो हुन्छ। झनै जसको आर्जन नै दैनिक मजदुरी गरेर चल्छ उसकाे जीवनमा अहिले के बित्दाे हाे! कति गाह्रो हुँदाे हो! त्यसैले सरकारले यस्ता कुरामा पनि ध्यान दिनु आवश्यक छ नत्र COVID-19 सँगसँगै भाेकमरी हुने सम्भावना बढ्दै जानेछ। 

“म” भन्ने शब्दमा एकदमै अहम् भरिएको हुन्छ भन्ने मैले कतै पढेकी थिएँ तर यदि सरकारले “म छु” भनेर आफ्ना जनतालाई भन्न मात्रै सक्याे भने पनि त्यो सबैभन्दा ठूलो सान्त्वना, विश्वास र एउटा उम्मिदकाे किरण हुनेछ।

हामी सबैले आफूले सकेसम्म एकआपसमा सहयोग गराैं , सके आर्थिक सहयोग गराैं नसके मनाेबल बढाउने काम गराैं।

प्रतिक्षा यादव

सिरहा

                                                                                                                                                                                                         

                                             

साेलुदेखि हिडेरै घर आएँ

जिन्दगीलाई हरियाली बसन्त पनि भनिन्छ तर मेरो भोगाइमा बसन्तहरु भन्दा  दुख, पीडा, सन्ताप र तड्पनहरु धेरै छन् । त्यसैले त अचेल मलाई नि यस्तै लाग्छ कि जिन्दगी भनेको कसैले रोजेर छानेको बाटोमा हिड्ने साधन होइन रहेछ। यो हजारौ घुम्ती र मोडहरु हुँदै गुडिन्छ । जस्तो सुकै चलाख चालकले पनि सोझ्याउनै नसक्ने गरि बाङ्गो टिङ्गो गुड्ने।

जब म १३ वर्षको थिए, एक दिन बुवा बेपत्ता हुनु भयो। धेरै दिन खोजी भयो। बल्ल १४ दिन पछि लास भेटियो। बुवाले  दशनङ्ग्रा खियाएर छातीमा निलडाम बनाएरै भए पनि हाम्रो पालन पोषणको उत्तर दायित्व बोक्नु हुन्थ्यो। हाम्रै सुन्दर भविष्यका निम्ति रगत  र पसिनासँग खेल्नुहुन्थ्यो। 

बुवा बित्नु भएको मात्र छ महिना पछि एक दिन लडेर अचानक दिदी बित्नु भयो। त्यसपछि जिन्दगीमा एक पछि अर्को मोडहरु थपिदै आयो। बर्ष दिन पछि महिनौ महिना हस्पिटलमा राखेर उपचार गरेपछि  हजुरबुबा पनि  बित्नु भयो। काल नै पल्के जसरी एक पछि अर्को लासै लासको खाँत लागेपछि कसकाे मन पो बिचलित नहाेला र? अझ समाजले त आमा माथि नमिठो बचन पनि लगाए । पीडामा मलम पट्टीको त कुरै छोडौ । 

जे होस् केही समय आमाले  हामीलाई  गाउँमा खेतीपाती र  रिन नै गरेर भए पनि पढाइ राख्नु भएको थियो । खेती गरेर वर्षभरि काम गर्दा पनि ६ महिनालाई मुस्किलले पुग्थ्यो । घरको यस्तो अवस्था देख्दा पढेर भबिस्यमा ठूलो मान्छे बन्छु भन्ने मेरो सपना  दिन दिनै मर्दै गयो। बुवा र दिदी बित्नु भएपछि आमा पनि सानो भाइलाई लिएर काठमाडाैँ निस्कनु भयो। सहरमा मजदुरी गरेर भाइलाई पढाउन थाल्नु भयो ।

अन्तमा मैले पनि सबै सपनालाई तिलान्जलि दिदैँ कक्षा ८ सम्मको आफ्नो पढाइलाई सधैका लागि छाडेर काठमाडौँ हिडेँ। हुन त मेरो बुबा उबेला एस़ एल.सी .पास गर्ने गाउँकै पहिलो व्यक्ति हुनु हुँदो रहेछ। शिक्षक हुन घर घरमै लिन आउने जामाना थियाे त्याे। बुबा शिक्षक पनि हुनु भएछ। तर मेरो बुबालाई जागिर खान  मन लागेनछ पछि उहाँको पूरै जिन्दगी हलो, कुटो,कोदालो,डोको,डालो र नाम्लोमै बित्यो। पढाइ लेखाइ गरेर खाने मेरो पनि भाग्यमा लेखेको रहेनछ भन्ने मलाई लाग्थ्यो। यसरी बाध्यताले निस्सासिदैँ काठमाडाैँ पुगियो। नातामा मामा पर्नेको होटलमा काम गर्न थाले । त्यसपछि धेरै समय    माइक्रोबसमा सहचालक भएर काम गरे। केही समय पछि सहचालक काम छाडेर टेक्निसिएनको रुपमा बिद्दुत प्रशारण लाईनको अति जोखिमकाे काम सुरु गरे ।

लकडाउन हुनु अघि म यही कामकाे सिलसिलामा बिकट सोलुखुम्बु जिल्ला पुगेको थिएँ।

सोलुखुम्बु जिल्ला असाध्यै चिसो ठाउँ। मोबाईल नेटवर्कको समस्या। धेरै दिनसम्म घर परिवारसँग समेत सम्पर्क हुन सकेको थिएन।  सोलुखुम्बु आउनु अघि खासै कोरोना भाइरस फैलिएको थिएन। लकडाउन हुन्छ भन्ने कुरा कल्पनासम्म पनि गरेको  थिएन। दुर्गममा भएकाले देशमा के हुँदैछ भन्ने हामीलाई केही थाहा थिएन।  काम गर्दै थियौ।  अचानक चैत्र १० गते नै लकडाउन हुँदैछ भन्ने खबर थाहा भयो । 

केही दिन पछि हामी काम गर्ने ठाउँमा रासन आउन बन्द भयो । हामीसँग  भएको रासनले ५-६ दिनलाई मात्र पुग्ने थियो। कम्पनिमा काम गर्ने सयौ कामदार हामीसँगै थियौं। तरकारी केही बाँकी थिएन। २/४ दिनलाई मात्र पुग्ने दाल हामीसँग थियो। केही दिन त साथीहरु मिलेर तरकारीको लागि जङ्गल गएर निउरो टिप्दै ल्याउन थाले। २-४ दिनपछि त्यो पनि पाउन छोड्यो। त्यसपछि के गर्ने कसो गर्ने भनेर छटपटि सुरु भयो ।केही केही कामदारहरु त आफूखुसी हिड्न सुरु गरिसकेका थिए। हामीलाई पनि एकातिर आफ्नो घर परिवारको चिन्ता थियो भने अर्को तिर आफू पनि कसरी बचौं भयो ।हामीसँग चाहिने जति खर्च पनि थिएन । अन्तमा हामीले हिडेरै आफ्नो घर फर्किने  निर्णय गर्यौ ।  चैत्र १८ गते हामी ११ जनाको समूह आ-आफ्नो समान बोकेर राती ११ बजे कम्पनिबाट निस्कियाैं। हामीलाई हिडेर घर पुग्ने बाटो थाहा थिएन।जता पनि जङ्गल नै जङ्गल। मात्र हामीलाई घर पुगेर आफ्नो परिवारसँग भेट हुनु थियाे। 

लकडाउनको कारण हामीले पाउनु पर्ने तलब पनि पाएका थिएनाैं। केही खाने कुराहरु झोलामा हालेको थियौ। हामीले बाटोमा धेरै नै समस्याहरुको सामना गर्नु पर्यो।  बाटो नचिनेर ३ घन्टाको बाटो पनि ९ घन्टा सम्म हिडेका रहेछाैं। त्यतिखेर थाहा भयो कि अज्ञानता कति महंगो हुँदो रहेछ। लगातार ४ दिनको पैदल यात्रा पछि हामी बल्ल रामेछाप जिल्लाको सदरमुकाम मन्थली आइपुगेछौ।  मन्थली आइपुग्दा हामी हिड्न सक्ने अवस्थामा थिएनौ । ४ दिन सम्म हामीले केही तातो चिज खाएको थिएन । आफूसँग भएको खानेकुरा पनि सकिएको थियो।  कोरोनाको डरले हामीलाई कसैले पनि बास दिन मानेनन् । ४ दिन सुतेको पनि थिएन।  सुत्न नपाएको र लगातारकाे हिडाइले शरीर पूरै थिलथिलो भएर गलेको थियो। पाइला जत्ति अगाडि बढाउँछु भन्छु उत्ति नै पछाडि सर्न थालिसकेकाे थियो।मन्थली आइपुगे छि हामीलाई अलि सजिलो भयाे। म बाहेक सबै साथी रामेछापकै थिए । घर परिवारसँग सम्पर्क पनि भयाे।

मन्थली आइ पुगेको ३ दिनपछि बल्ल म आफ्नो गाउँ आइपुगे । घरमा हजुरआमा एक्लै हुनु हुन्थ्यो । लगभग सबैजसाे गाउँ आइसकेका रहेछन्। गाउँलेहरु झाडी फाड्न बाझो जोत्न र खेतीपातीका काममा लागिसकेको देखेँ।  मेरो पनि सबै जग्गा जमिनहरु पूरैका पूरा बाझो थियो। झाडीले छोपेर, खोज्नु पर्ने अवस्था थियो।  पहिले नै खेतीपातीमा वितृष्णा जागेर होला । मलाई त्यो झाडी फाड्न जान जाँगर चलेन। बिस्तारै स्थिति सामान्य हुन्छ अनि आफ्नै काममा फर्कन्छु भनेर लकडाउन खुल्ने पर्खाइमा बसे । तर ६० दिन भइसक्दा पनि लकडाउन खुल्ने कुनै संकेत सम्म देखिएन ।  

केही महिनासम्म त गाउँ घर तिरै साथीभाइहरुसँग रमाइलो गर्दै हिडियो । सधैँ भरि डुलेरै हिड्ने भन्ने पनि भएन। घरमा खानेकुराहरु सकिदैं थियो । भूकम्पले जिर्ण भएको घर पनि बनेको थिएन। खेतबारी बाझै। लकडाउनले गर्दा मात्र त हाे, म गाउँमा हुन पाएको।अरु बेला मेरो काम सधैँ बाहिर बाहिरै हुन्थ्यो । मर्दा पर्दा भन्दा बाहेक गाउँमा आइरहनु जरुरी पनि थिएन ।
पूरा २ महिनाको लकडाउन पछि पनि सामान्य नहुने नदेखिए पछि, मलाई लाग्यो कि हामी मान्छेको लागि आफ्नो घर, खेतबारी र माटो हुन आवश्यक छ। याे पनि नभए संकटको बेला कतै अड्किए र फर्किन परे कहाँ फर्किने? कहाँ जाने? जसरी  म सोलुखुम्बु पुगेर आफ्नो घर सम्झेर फर्किएँ । बाटोमा कसैले बास सम्म दिएनन्। 

जिन्दगीमा मान्छे जहाँ पुगे पनि उसको लागि आफ्नै बास चाहिदो रहेछ। त्यसैले त यो संकटको समय काठमाडाैँ बसेकाहरु घर खोज्दै आइपुगे। सुन्दैछु विदेशमा भएकाहरु यो रोगको महामारीले गर्दा आफ्नै देश फर्कन्छु भनिरहेका छन् रे। यो कुराको गहिरो अनुभूतिले गर्दा आजभोलि म पनि झाडी फाड्न र बाझो जोत्न निस्किएको छु । अरु सबैले बेलैमा खेतीपाती सुरु गरेकाले मकै दुई सरो गोड्ने बेला भइसक्यो । म निक्कै ढिला भएको छु । अब कोदोको बिउ छर्छु अनि रोप्छु । खेत पनि बाझै छ । खेत रोप्ने समय त अझै पनि छँदै छ। जे होस लकडाउनले गर्दा मैले आफ्नो माटो चिन्न र माटोको महत्व बुझ्ने मौका पाएको छु । जुन कुरा मैले आज सम्म बुझ्न सकेको थिएन । 

निश्चल मोक्तान  

काभ्रे

                       

..र ट्युसन पढाउन थाले

बिराटनगरकै छेउमा रहेको बुढीगंगा गाउँपालिका(बाँसबारी)को एउटा कुनामा अवस्थित मध्यम वर्गीय परिवारकी जेठी छोरी म।

घरमा बिरामी आमा, दिनभरि मजदुरी गर्ने बाबा, १३ बर्षकी बहिनी र ६ बर्षको सानो भाइ। घरको पारिवारिक उतारचढाव सानै देखि देखेकी मैले जसोतसो पढाइलाई निरन्तरता दिदै सानो जागीर गर्दै घरमा भरेथेग गर्दै थिएँ। सबैकुरा राम्रैसँग चलिरहेको थियो। यसैक्रममा ठूलो महामारी (COVID-19) फैलिन थाल्यो। मेरो परिवार लगायत सम्पूर्ण मानिसका लागि कालो दिन नै भित्रिए सरह भयो। लकडाउनमा बस्न बाहेक अरु कुनै विकल्प थिएन र छैन पनि। सबैको जागिर ठप्प, आयआर्जनको बाटो पनि बन्द। हुने खानेको लागि त पर्व नै आएजस्तो भयो हाेला! तर हाम्राे परिवारकाे लागि याे समय निकै गाह्राे हुँदै गएकाे छ। सामाजिक संजालहरुमा दिनहुँ विभिन्न परिकारका खानेकुरा देखाउने, नाचगान गर्ने ‘trend’ नै आएजस्तो देखिन्छ। मलाई पनि यसले नछोएको भने हैन, देखाउन नसके पनि हेरेरै दिन काटिरहेको छु।

मेरो जस्तो मध्यम वर्गीय र अरु निम्न वर्गीय परिवारमा आइ परेको आर्थिक चपेटा सम्झदा मनै कटक्क खान्छ। अरुको लागि केही गर्ने छु भन्ने मान्छे म आफ्नै पारिवारिक वातावरण देखेर आकुलव्याकुल भैरहेको छु। छिमेकी गाउँमा एक सुत्केरी  खान नपाएर लडिरहेको कुरा सुन्दा त आङ नै सिरिङ्ग भयो। गाउँपालिकाले बाडेको ५ के.जी चामलले कति नै दिन पो गुजारा चल्थ्यो र। हुन त जसोतसो खान पुगिराखेको छ अहिलेसम्म, तर यस्तै अवस्था भैराख्ने हो भने के होला भन्ने साेचेर कोरोनालाई चुनौती दिँदै १५ मिनेट साइकल कुदाएर ‘tuition’ पढाउन जान थालेकी छु। म जस्तो शिक्षित मानिसले झन अरुलाई यस्तो बेलामा घरै बस्न पर्छ भनेर सम्झाउन पर्ने हो, तर म असफल भैरहेको अनुभव  हुन्छ। कति कुराहरु थाहा हुँदा हुँदै पनि चुप लाग्नु पर्ने रहेछ।

मेरो लागि राम्रो पक्ष भनेको चाहिँ बाबाआमाले छोराछोरीहरुका लागि गरेको सङ्घर्ष र त्याग मज्जाले बुझ्ने मौका दियो यो लकडाउनले। मलाई हुर्काउदाका दुःख-सुख सुन्ने मौका पाए। यसले पक्कै पनि मलाई भविस्यमा अझ मजबुत बनाउने छ। यसले अझ उर्जा थपेको महसुस हुन्छ। प्रेमको अर्को नाम परिवार रैछ भन्ने कुरा बुझ्न पाएँ। घरायसी काम कहिल्यै गर्न नपरोस् भन्ने केटी  म, आजकल घरायसी काम सिक्न थालेकी छु।

छिट्टै यो महामारीको अन्त्य भएर सबैको घर उज्यालो भएको हेर्न आतुर छु। सबैको मुहारमा हाँसो छिट्टै देख्न पाइयोस्, यही छ प्राथना।

निशा पोखरेल

मोरङ्ग

                                 

                         

खुसी आफै भित्र

कहिले दुई दिन छुट्टि होला र आनन्दसँग घर बसौंला भन्ने म आजभोलि दुई महिनासम्म घर बसेर थाकिसकें। दिन दुई गुणा रात चार गुणाले पट्यारलाग्दो भइरहेको छ। कस्तो दिन आयो सबै भएर पनि केही नहुने, केही भएर पनि नहुने अनि केही नभइ पनि नहुने। सकारात्मक ऊर्जालाई प्रवाह गराउन यो अल्छी केटोबाट नयाँ नयाँ प्रयासहरु हुन थालेका छन्। कहिले सद्गुरुकाे भिडियो हेर्दै ध्यान गर्ने विधि सिक्न थालेको छुँ, कहिले रामदेवको योग अभ्यास त कहिले एप डाउनलोड गरेर आलस्य शरीर मर्काउन थालेको छु। 

नकारात्मकतालाई हटाउन आफू भित्र रहेको कलालाई प्रष्फुटित गराउने प्रयास एउटा अचुक अश्त्र हुने कुरा आफ्नै अनुभवबाट थाहा पाएँ। जब मनमा अनेक कुरा खेल्न थाल्छन् तब कलम र स्केचबुक लिएर घोत्लिँदै विभिन्न आकृतिहरु बनाउँछु, मण्डला कोर्छु। त्यसो गर्दा ध्यान एकत्रित भई मनको वेग अलि शान्त हुँदो रहेछ। 

मनको चिच्याहटबाट अलि शान्त हुने अर्को उपाय चाहिँ माटोसँगको लगाव रहेछ। सानो टुक्रो करेसाबारीमा आमाले काँक्रो, फर्सि, मकै, सिमि, बोडी, इस्कुस, सागपात उमार्नु भएको छ। त्यहाँ गएर गोडमेल गर्दा, झार उखेल्दा झार संगसंगै मनको नैरास्यता पनि उखेलिएर मन पनि गोड्ने बित्तिकैको माटो जस्तै फुरुङ्ग हुँदो रहेछ। 

मैले आफूलाई पढ्न मन लागेका किताबको सूचीहरु आफ्नो ऐनामा टाँस्ने गर्छु। त्यो ऐनाले पनि भन्दो हो मलाई उकुसमुकुस भइसक्यो यो कागजको बुजाे हटाइदेउ भनेर। तर एउटा बुजो हट्दा अर्को दुईवटा किताबको सूची अंकित पन्नाहरुको चोप ऐनामा टाँसीइसक्थे। कलेज आउजाउ गर्नमा नै दैनिक ४ देखि ५ घण्टा बित्ने मेरो दिनचर्यामा ऐनाले मुस्कुराउन पाउने त कुरै भएन। तर अहिले सन्दर्भ विल्कुल फरक भएको छ। पन्नाहरु हप्ताको एक दुइवटा कहिले पन्ध्र दिनमा एउटा गरेर उप्किँदै गइरहेका छन्। Paulo Coelho को Alchemist, Eleven Minutes, Veronika decides to die, Cleopatra शेक्सपियरको The Merchant of Venice, Hamlet, Macbeth प्लेटोको The Republic, सोपेनाओर, अर्वेल, महाकवि देवकोटा, पारिजात, बुद्धिसागर, नयनराज पाण्डेका रचनाहरु अंकित पन्नाहरु उप्किँदै गएका छन्। Will Durant को Our Oriental Heritage को ठेलीले २० दिन सम्म थिचेर राख्यो। पूर्वीय दर्शन प्रतिको लगाव झनै बढ्दै गइरहेको छ। सानै छँदा टिभीमा हेरेको महाभारत आजभोलि पढ्न थालेको छु। अनेक पत्रको अनेक चरित्रले सुसज्जित महाभारत त झन् व्यापक ज्ञानको भण्डार पो रहेछ भन्ने बोध भयो। आजको दिन सम्म पनि कुटिल राजनीतिज्ञ कृष्ण, अभागी र उपेक्षित कर्ण, चतुर सकुनी, पुत्रभक्त धृतराष्ट्र, अनैतिक र सत्तामोहित दुर्योधन, विवश भिष्म, नीतिवान सज्जन पुरुष विदुरसंग त प्रत्येक दिन साक्षातकार भइरहेको पो रहेछ।  महाभारत जति प्राचीन भएपनि कहिल्यै बुढ्यौली नलाग्ने र साँच्चौ भीष्मको जस्तै इच्छामरणको संजीवनी बोकेको आमार ग्रन्थ पो रहेछ। 

गाउन नजाने पनि शास्त्रीय संगीतले मेरो मन पुलकित पर्छ। सितार, हार्मोनियम र तबलाको धुनसँगै कहाँकहाँ बग्छु पत्तै पाउँदिन। साथी कोससँगै फ्रेन्च सिक्ने आग्रहलाई स्वीकार गर्दै आजभोली साँझ डेढ घण्टा ल्यापटप आगाडि बसेर युट्युबको भिडियो हेर्दै घोत्लिन्छु। मरे उच्चारण गर्न जान्दिन त्यै पनि हार मानिसकेको छैन। असफल हुँदैमा हार मानेको भए संसार कहाँ विजुली बत्तीले झलमल्ल हुन्थ्यो होला र ! जे के रोलिंगको ह्यारी पोटर कहाँ जनप्रिय हुन सक्थ्यो र ! पृथ्वी नारायण शाहले हार मानेका भए म अहिले यो डायरी कुन पो भाषामा लेखिरहेको हुन्थेँ मलाई नै पत्तो छैन। 

नकारात्मकता मात्र होइन प्रत्येक चुनौतीले सकारात्मक सङ्केत पनि आफैसँग बोकेर ल्याएको हुन्छ। मलाई पनि यो बन्दाबन्दीले ठूलै पाठ सिकाएको छ। हामी जिन्दगीमा अरुलाई अल्झाउँदै, पन्छाउँदै अनि कुल्चँदै अनेक चिजको प्राप्तिमा भौतरिन्छौँ। एक चिजको प्राप्ति पछि फेरी अर्कै वस्तुको प्राप्तिको पछि दौडिन्छौँ। त्यही तृष्णाले नै आज मानिसले यति भौतिक प्रगति गरेको होला। तर मानिस नैतिक, मानसिक र अध्यात्मिक रुपले स्खलित हुदै गइरहेको छ। पाएको कुरामा खुसी नै हुदैनौँ। हामी दिनभरिको दौडधुपमा पनि सुखी त होऔँला तर खुसी कम छौँ। खुसी त गाउँको बाँझो खेतबारीमा बुढा भएका बाबुआमालाई एक्लै छाडेर सहर पस्दा आमाबुवाको आँसुसँगै बगेर गए। सुखको मापक करोडौको घर लाखौको गाडी र विलाशिता भोग होला तर खुसीको मापक सन्तुष्टि हो। जो आफ्नो कार्य प्रति सन्तुष्ट छ ऊ नै खुसी हुन्छ।

आँधी हुरी आउँदा प्रत्येक रुख जराकै भर परेजस्तै हामी पनि हाम्रो जरामा नै आश्रित हुँदा रहेछौँ। त्यही भएर होला हामी आनेक कष्ट गरेर भएपनि बुढा बाबुआमाले दस नङ्ग्रा खियाएका थाकथलाे गएका। यो बन्दाबन्दिले गर्दा कहिल्यै आफ्नो बाबुआमासँग खेल्न नपाएका नानीहरुले आफ्ना बाबुआमाको हात समाउँदै रमाउन पाएका छन्। वर्षौ टाढा भएका सन्तानलाई साँच्चै नै सहारा चाहिएका बुढा बाबुआमाको खस्रो हातले सुम्सुम्याउने मौका पाएको छ। सकारात्मकताको खोजी गरौँ सुख टाढा होला तर खुसी आफै भित्र छ। 

राजेश ढुंगाना

काठमाडाैँ

    

सेलाएको चिया र सपना

मन बेचैन छ एकनासले। “फुच्चु चिया सेलाइसक्यो“ भन्ने आमाको मधुर स्वरले झसङ्ग हुन्छु। मोबाईलको अलार्म बज्नु अघि आँखा खुल्ला भैसकेका छन्। यी आँखाहरु पनि अचेल त सपना देख्नकालागि बन्द भएका छन्। चियासँगै सपना पनि सेलाएका छन्।

कोरोना माहामारीले विश्व आक्रान्त भइरहेको बेला नेपालमा बन्दाबन्दी जारी रहेको (सायद)६६औं दिनमा यो डायरी लेख्दैछु । “सायद” यस मानेमा कि अचेल दिन गन्न पनि छोडिसकेको छु ।

मलाई चिया असाध्यै मन पर्ने । त्यसमा पनि कागती चिया। बन्दाबन्दी भन्दा अगाडीका दिनहरुमा मर्निङवाकको बहानामा साथीहरुसँग सखारै ३,४ कप चिया रित्तिसक्थ्यो । चियाको चुस्कीमा मिठास भर्थे सपनाका वाफहरुले। खाना पछि नियमित काम सकि कोठा फर्किदासम्म त दैनिक ६,७ कप चियासँग कयौं सपना पनि साटिसकेको हुन्थे । थप एक कप खाना खानु अघि पुनः इभिनिङ वाकको बहानामा ।

नेपालमा बन्दाबन्दी हुनुभन्दा ३ दिन अगाडि मात्र पनि म सिंहदरबार भित्रको एक चमेना गृहको एक टेबुलमा नेताहरुका समृद्धिका सपना बडो ध्यान दिएर सुनिरहेको थिएँ। उनिहरुसँगै म पनि पुगेको थिएँ, उनीहरुले चिया गफमा बनाएको समृद्धिको गाउँमा।

एक चिया पसल देखि अर्को चिया पसल, एक कपबाट २,३ कप ।सायदै घोराहीमा कुनै चिया पसलको टेबुल बाँकी छन् जहाँ मैले चियाको रित्तो कप नछोडेको हुँदाे हाे। तर अचेल गाउँमा छु, चिया खान जाउँ भन्ने पनि कोही छैन यहाँ। सहर गाउँ जहाँ भएपनि बन्दाबन्दीको नियम त पालना गर्नै प‍र्यो।

बन्दाबन्दीका सुरुवाती दिनहरु गाउँघरमा रबिपात स्याहार्न मै व्यस्त रहे। सडक सुनसान रहेपनि खेत र खलिह्यान भने व्यस्त नै देखिन्थे। किसानहरुले खेतमा अन्नको बिउ मात्र छरेका हुँदैनन्, अन्नसँगै सपना पनि छरेका हुन्छन्। सपना कम्तीमा बिउको सावाँ मात्र भएपनि अन्न फलाेस्। तर किसानका सपना अपबाद बाहेक कहिल्यै हराभरा हुन्न रहेछन्। बर्खामा पानी नभएर सुक्ने अनि हिउँदमा असिना पानीले झारिदिने । काका भन्दै हुनुहुन्थ्यो “कोरोना त पहिले रबिपातमा पो लागेछ, छरेको बिउ बराबर पनि फलेन।” काकाको मुरी फल्ने सपनाहरु पनि खलियानमा त्यसै सोत्तर भएका थिए।छोराको एसईई पछि राम्रो कलेजमा पढाउँछु भन्ने सपना पनि रबिपातसँगै सोतर भएछन्।

यसपालि बैशाखमा त कान्छी नातिनीको बिहे पो छ, मामाघरको नानी(हजुरआमा)को आफ्नो कान्छी नातिनीको बिहे हेर्ने ठूलो सपना। दाङ मै घरजम र ६ बच्चाबच्ची हुर्काएर राप्तीपारी(राप्ती सोनारी) सम्म दाङ छारा गरेर हिड्नु भएको नानी लगभग ७५ वर्ष कट्नु भएको होला। उहाँको यकिन जन्म मिति नै थिएन। न त नागरिकताको प्रमाणपत्र नै। एउटा कागजको सानो टुक्रा भएपछि नानीले एकलनारी भत्ता र बृद्ध भत्ता पाउने सुविधा थियो। बन्दाबन्दी पछि नानीलाई नागरिकता बनाउने र कान्छी नातिनीको बिहे हेर्ने ठूलो सपना। बैशाख सकियाे, बन्दाबन्दी अझ लम्बियो । तर नानीको उमेर र सपना भने लम्बिएन। जेष्ठ महिनाको सुरुवातीमै नानीले सपना देख्न नै बन्द गर्नु भयो। कस्तो दुर्भाग्य? सरकारी कागजी ढड्डामा आफू पनि नेपाली नागरिक हुँ भनेर लेखाउन नपाउँदै नानीका सपना पनि अस्पतालको पर्चासँगै जलेर खरानी भए ।

मेरा सामान्य दिनहरु प्राय औपचारिक कार्यक्रम र पत्रिकामा व्यस्त रहन्थे। कहिले यो गाउँ, कहिले त्यो गाउँ। चाडपर्व बाहेक कहिल्यै घरमा नबसेको म पहिलोपल्ट यति लामो समयसम्म घरमा छु, गाउँमै। बन्दाबन्दीका दिनहरु बिताउन निकै सकसपूर्ण हुँदो रहेछ। मन त जम्मै घोराही बजार तिरै हाम फाल्छ। चिया पसलका टेबुलहरु चहार्दै। तर बन्दाबन्दीले केही थुप्रै अवसर पनि दिएको छ। म पनि फिल्म हेर्ने, पुस्तक पढ्ने र केही लेख्ने कार्यमा आफ्नो समय खर्चिरहेको छु। बिहान बेलुकाको समय भैंसी र बाख्रा चराउने गोठाला भएको छु। लाग्छ यी पशुहरुले पनि आजकल मलाई चिन्न थालेका छन् । फोटोग्राफीमा म बढी साैखिन, त्यसैले खेतबारी, फूलबारीतिर केही बुट्यानमा फूल, पुतली, चराचुरुङ्गी देख्यो कि फोटो खिचिहाल्छु। खेतका आँलीहरु चिन्न थालेको छु। विभिन्न बुटन, फलफूल र चराचुरुङ्गीहरुका नाम कन्ठष्त भैसकेका छन् ।

जेष्ठ नागरिक हाम्रा जिउँदा इतिहास। उहाँहरुसँग उहाँका अनुभव सुन्ने, पुराना कुराको ज्ञान लिने र लोकलयमा धनी थारू समुदाय उहाँहरुलाई सजना, माँगर गुनगुनाउन लगाउँछु र रेकर्ड गर्छु। प्रविधिले दिएको सुविधा युट्युबको सहायताले ग्राफिक्स सिक्दैछुँ। साथै जापानमा विद्यावारिधी गर्दै आउनु भएको कनैलाल चौधरीको एउटा किताबमा सहसम्पादकको जिम्मेवारी पनि पूरा गर्दैछुँ।

हरेक वर्ष चैत्रको तेस्रो सातातिर हुने थारू साहित्यिक महोत्सवको यसपाली पाँचौ शृङ्खला बन्दाबन्दीका कारण स्थगित भयो। यही मौकामा अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा म अध्यक्ष रहेको संस्था ख्याल बगालको आयोजनामा प्रविधिको भरपुर सदुपयोग गरि तिनदिने अनलाइन साहित्यिक उत्सव सम्पन्न गर्याै । उत्सवको एउटा सेसनमा श्रमिकका विषयमा कुरा सुनिरहँदा मलाई घर पुग्ने सपना सजाएर राजमार्गमा पैदल सवार र ट्रकमा लुकेर यात्रा गरिरहेका सामाजिक सञ्जालमा देखिएका श्रमिकका बिदारक तस्विरहरुले निःशब्द बनायो। आफ्नो परिवारको कयौ थान सपनाहरु पूरा गर्न गाउँघर परिवार देखि टाढा आफ्नो सपनालाई मारेर सहरमा श्रम गरेका पाइलाहरु राजमार्गमा सयौँ किलोमिटरको म्याराथनमा थिए। अहिले ती पाइलाहरु घरमा बन्द रहेपनि परिवारको इच्छा चाहना पूरा गर्ने सपनाको म्याराथन जारी नै होला ।

भौतिक दुरी कायम गरिरहेका हामी यो समयमा भावनात्मक दुरीमा कति नजिक भएका छौं। केही त्यस्ता मनहरु जो धेरै पहिले टाढा थिए आजकल हालखबर सोध्न थालेका छन्। नयाँ सम्बन्धहरु निर्माण भएका छन्। अझ भनौं मित्रता, परिवार, आफन्तलाई विल्कुलै नयाँ तरिकाले नजिकबाट सम्झिने स्विकार्ने मौका यो बन्दाबन्दीले जुराएको छ ।

गर्मी दिनदिनै बढिरहेको छ। ओहो! आज त झन् दाङमा अत्यधिक गर्मी भनेर समाचार पढिरहेको थिएँ। धन्न यो समयमा गाउँघरको चिसो हावा पानीमा रमाउन पाइएको छ। आफ्नै करेसाबारीमा उत्पादन गरेको हरियो सागसब्जी खान पाइएको छ । यी दिनहरुमा शहरका सडकछेउमा बैजनी ज्याकराण्डा र गुलमोहोर मुस्कुराइ रहेको तस्बिर सामाजिक सञ्जालमा टन्नै भेट्छु । यी केही समय अगाडी मात्र ती फूलका रुख पनि सुख्खा थिए, विना पातका । तर विश्वास र आशा जरुर थियो होला फेरि फुल्ने र त अहिले यसरी फुलेका छन्। त्यसरी नै हामी सबैलाई आशा छ कि हामी ढिलो चाँडो एक दिन कोरोनालाई जित्ने छौँ । एकदिन पुनः आफ्नै सामान्य जीवनमा फर्किने छौँ । एक दिन हामी पुनः विना डरको मुस्कुराउने छौँ । र एकदिन घरमा बन्द भएका पाइलाहरु पुनः पहिलेको जस्तै सडकमा टङ्ग्रिने छन् ।

उता घोराहीको कोठाको ताल्चा बन्द भएको र यता घरको ढोकामा ताल्चा नलगाएको महिनौं भइसक्यो । चाबी कता छ भन्ने पनि ठेगान छैन । यता म आफ्नै घरमा रहेकाले घरबेटीले Live without Pay भन्ने वातावरण नभएपनि बन्दाबन्दी पछि पुनः घोराहीको कोठामा फर्किदा Welcome without Pay भनुन् भन्ने सपना म जस्ता कोठा छाडेर गाउँघर फर्किएका लाखौहरुले देखिरहेका होलान् ।

दैनिक कयौ कप चिया पिउने म अचेल बिहानको एक कप चिया पनि पूरा पिउन नपाउँदै सेलाइसकेको हुन्छ। सोच्छु बन्दाबन्दी नभएको भए मसँगै हामी मिल्ने ४ जनाको एउटा समूह यतिबेला म जस्तै कपको चियासँग कयौँ सपनाहरु चियाको बाफसँगै उडाउने थप एक थलो(क्याफे)को संचालनमा हुन्थ्यौँ होला । यति लेखिरहँदा पनि नजिकै रहेको चिया सेलाइ सकेको छ। म सोच्दैछु लेखक, निर्देशक, इन्जिनियर र बैकंरको समिश्रण रहेको मिक्स चिया कुन फ्लेभरमा हुन्थ्यो होला ? खैर बन्दाबन्दीले यसलाई सपना मै सिमित गरिदिएको छ पूरा हुने नहुने बन्दाबन्दी पछिका दिनमा थाहा होला । या त यो सपना सेलाएर अर्को सपना पनि चियाको कपमा घोलिन आउँला। तर साँच्चै नै यी सपनाहरु पनि कति निष्ठुर हुँदा रहेछन् एउटा पूरा नहुँदै बदलिरहन्छन् । र पनि हजार सपनाहरुको माया लागेर आउँछ ।

हजार सपनाहरुको माया लागेर आउँछ…….

सवि थारू

दाङ

‘म’ वर्तमान मात्रै

हिजो कहीँ कतै नसुनिएकाे यो लकडाउन भन्ने शब्द आज सम्पूर्ण जनमानसमा पुगिसकेकाे छ। यसले निस्फिक्रि हिड्ने हामीजस्ता मान्छेकाे मन मस्तिष्क बेचैन बनाइदिएकाे छ। रात अनिदाेँ बनाइदिएकाे छ। अनायासै हुन्डरी बनेर आयो COVID-19 नामक महाब्याधि। बेतोडले आयाे,बेजोडले आयाे।

जब म स्वतन्त्र थिएँ, मैले सोच्दा नि सोचिन बन्दाबन्दिको बारेमा। यस्ताे हुन्छ भन्ने थाहा पाएकाे भए पाे पूर्वाभ्यास गर्नु त। थाहै नभएकाे कुरा जाे पर्याे। lockdown चुनौतीकाे आभास त छदै छ तर याे अवसर पनि हाे। यथार्थलाई विश्लेषण गरी रहँदा अहिले वास्तविक जीवन बुझ्दैछु। विद्यालयदेखि विश्वविद्यालयसम्म आइपुग्दा मभित्र भएका परिवर्तन, जीवन भोगाइ र सङ्घर्षका महत्वाकांक्षी भावका अनुभवहरू केस्राकस्रा केलाउन पनि भ्याइसकेकी छुँ । lockdown ले गर्दा आत्मनिर्भरताको पाठ भने राम्रैसँग बुझेकी छुँ ।            

कहिले समथर बाटोमा अरुले हात समातेर हिडाउँदा पनि दुखी हुने यो मन आज आफै खाल्डाखुल्डी नपुरिएका कच्ची बाटोमा एक्लै हिड्दा पनि कदापि दुखी भएको छैन। यस्तै रहेछ, अरुले छन्दमा लेख रचना गर्न सिकाए पनि आफैले बेछन्दमा लेखेको लेख रचना नै सुमधुर लाग्छ। “सायद याे मेरो सफलताको प्रथम श्रेणीको दोस्रो पाइला भएकोले त होला नि!”

ओहो! लाग्छ कोही पनि नचढेको पहाड कैयौं दिनको प्रयत्नमा आज बल्ल चढ्न सकेँ । एक टकले  गम्भिर भएर मनमनै सोचिरहे छुँ। विगतका सफलता असफलतालाई अहिले lockdown मा संशोधन गर्न सकेँ । यो पनि अर्को नयाँ अवसरको नै भन्नु पर्छ ।          

साँच्चै नै परिस्थिति र समय अनुरुप चल्न सिक्नुपर्छ। हाे आज मैले त्यहीँ पाठ सिकें। हिजो असङ्ख्य पानाका किताबमा छापिएको परिवर्तन र सुधारका पाठहरु आज व्यवहारमा पनि लागू गर्न भ्याएँ। विक्षिप्त विगतकाे त्याे समयलाई सम्झिँदा याे मन आँसुका छालहरुमा पाैडने गर्दछ। बेलाबेला वास्तविक जीवन नै आत्मनिर्भरताकाे स्राेत त रहेछ नि , आत्मनिर्भर नभए जीवनका हरेक सपनाहरु अधुराे नै हुने रहेछन्। याे लकडाउनकाे समयभरि आफूमा आफै निर्भर रहेर जिन्दगी जिउन भ्याइसकेकी छुँ ।       

विगतका अस्तव्यस्त पलहरु सम्झिदा लाग्छ आफ्नाे जीवन पनि अरु कसैले जिएर भ्याइसक्याे। त्यसैले विगतमा घटेका ती प्रत्येक घटनाका पात्रहरु पनि बेग्लाबेग्लै थिए। मानाैं हिजाे बाँच्ने ‘म’ हाेइन। त्याे अरु काेही थियाे। ‘म’ नामक त्याे पात्र आज मात्र जन्मिएकाे छ।’म’ वर्तमान मात्रै हाे।

हिजो आफैले राेपेर गाेडमेल गरेकाे बगैंचाका ती पुष्प गुच्छाहरु हेर्न पनि मसँग समय थिएन। तर आज त्यहीँ बगैंचाका प्रत्येक कुनाकुना हेर्न भ्याएकी छुँ। त्यसैले त हाेला याे लकडाउनकाे समय मानिस-मानिसलाई नजरबन्द जस्तै भएपनि प्रकृतिका अनुपम छटाहरुसँग भने दिनानुदिनकाे भेट रहेछ। एकैछिनमा बगैंचाका फूलहरुकाे मुहार धाेइ पखाली गरेर,यताउता सारेर सूर्यको प्रत्यक्ष प्रकाशमा राख्दै तिनलाई चिटिक्क बनाएकी छुँ। सायद अहिले म फुर्सदिलो भएकी हुँ। बन्दाबन्दीकाे समय परिवारसँग मात्रै घुलमिल हुनु हाेइन याे समय त प्रत्येक दिन हिडेकाे घर अगाडिको बाटाहरु, घर नजिकै भएको बगैंचा, करेसाबारी लगायतका थुप्रै प्राकृतिक सौन्दर्यसँग घुलमिल तथा नजिक हुने समय पनि भएको छ।             

आज संसार नै स्तब्ध भएको छ। तर मन स्तब्ध छैन । हिजो ठूलाठूला गाडीहरू गुड्ने सडकमा अति नै कोलाहल थियोे। तर आज त्यही सडक सुनसान छ। लाग्छ, जंगलमा बसेका चराचुरुङ्गीहरू अन्तै बसाइँ सरेर गए। केही छैन, पछि फेरि फर्किएलान् आफ्नै बासस्थानमा,  म पर्खनेछु तिनलाई।

सबैतिर सन्नाटा छाएको छ अहिले। हिजोको अस्तव्यस्त जीवनशैली आज आनन्दको पर्दा बनेर यता उता हल्लिरहेकाे छ। यतिबेला मैले भने कहिल्यै नसिकेका पाठहरु सिकेकी छुँ , कहिल्यै नसुनेका भाकाहरू सुन्न थालेकी छुँ, कहिल्यै पालना नगरेको नियमहरूमा बाँधिएकी छुँ ।

हो, यो अवसर नै हो मेर‍ो लागि, जीवन प्राप्तिको अवसर। याे सिर्जनाकाे समय हो। कोभिड १९ महामारी नै भएपनि मेराे लागि याे जीवन भोगाइ र संघर्ष सिकाइको माध्यम बनेको छ। त्यसैले म मेरा डायरीहरू कुनै हालतमा अपूर्ण छाड्ने छैन । यो नै मैले सुरु गर्ने मेराे कर्मकाे आरम्भ ।।

                       

करूणा श्रेष्ठ                         

दोलखा

दाेस्राे डायरी वीथ दाेस्राे सन्तान

दोस्रो सन्तान, २२३ दिने छोरा काखमा निदाइरहेको बेलामा याे डायरी लेख्न मन लाग्यो। खास डायरी भनेर लेखेको पनि याे दोश्रो पटक नै हो। पहिलो पटक,आज भन्दा ठ्याक्कै १० बर्ष अगाडि, सायद म कक्षा ७ तिर पढ्दाकाे कुरा हो।

हाम्रो बुवालाई बाथ रोगले सताएको थियो। त्यस बखत म उहाँको कुरुवा बस्थे अस्पतालमा र घरमा पनि। अस्पतालकाे ३ महिने बसाइँ पछि घर फर्कियाैं। अस्पतालको भनाइ थियो “घर लगेर इच्छा पूरा गर्दिनुस्”। त्यस बेला ४ दिदीहरुको विवाह भैसकेको र १ दाजु वैदेशिक रोजगारीका लागि साउदीमा हुनुहुन्थ्यो। दाजु नेपाल आउन ऋण तिर्न नसक्ने भएकाले र दिदीहरुलाई आफ्नै घर व्यवहारले गर्दा बुबाको हेरचाह  गर्न कसैलाई सम्भब भएन।आमा र म भएर बुवाको स्यहार गर्थ्याैं। बहिनी सानै थिइन ।बिहान बुवालाई दालको रस खुवाएर बिद्यालय जान्थे र राति बुवा कुर्न आमालाई पालो दिन्थे। एक दिन राति निन्द्रा लागेन।  बुवाको बचन थिएन। दिशा पिसाब सफा गरेर किताब समात्न आँटेको थिएँ, डायरी लेख्न मन लग्यो। गृहकार्य छोडेर डायरी लेखेँ। २ रात लगाएर लेखेँ।त्याे रात लेखेकाे डायरी आफ्नो कक्षाको अब्बल साथीलाई मिलाउन दिएको थिएँ। त्यति बेला रेडियोमा पठाउने विचार थियो प्रसारणको लागि। तर उनले बिर्सिन् कि के गरिन्। मैले भने २/ ३ महिनासम्म प्रतिक्षा गरेँ। तर आजसम्म फिर्ता आएन। त्यसपछि डायरी लेख्ने इच्छा मर्यो।

तर आज मिति २०७७/०१/१३ गते फेरि डायरी लेख्ने जमर्को गरेँ। यतिबेला म बसेको ठाँउ लोलाङ ,बालाजुबाट ७५ किमी टाढा रहेकी, कपाल फुलेर सेतै भएकी, सुगर, प्रेसर …आदिको दबाइ साथ नभइ नहुने, ६५ बसन्त पार गरिसकेकी मेरी ममतामयी आमाको साह्रै सम्झना आइरहेको छ। जमानाले पनि न्यास्रो कम गर्ने उपाय त भेटाएकाे छ। videocall गर्छु। तर के गर्नु ! धुरुधुरु रुँदै भन्नुहुन्छ- तिमी कुरा बुझ्ने छोरी हो। ६ छोरी भएर पनि काखमा र साथमा कोही छैनन्। आमाको आँखामा टल्केको आँसु थम्न गाह्राे हुन्छ मलाई पनि …….”

अहिले यहाँ साथकाे सानु बाबु गुनगुन गर्दै छ। बाबुलाई थपथप पारेर सुताए।

लकडाउनको रमाइलो पाटो।हाम्रो विवाह भएको साल ०७२/०१/०८ अनि त्यस पछि १२ गते भूकम्प गयो । विवाह पछिको मेरो इच्छा श्रीमानसँग समय बिताउने थियोे। सबैतिर भूकम्पको त्रासले कही कतै जना पाएका थिएनाैं। समय बित्दै गयो। छोरी जन्मी। अस्तव्यस्त थियो जिन्दगी। खास भन्नु पर्दा हामी एकले अर्काेलाई समय दिनै पाएका थिएनौं। तर आज लकडाउनको ६६ दिन पुग्दा हामीले एकअर्काको अनेक रुप देख्न पायाैं। २ सन्तानका आमाबुवा हामी एकदम प्रेमपूर्ण ढंगले lockdownमा छाैं ।अब परिवार तर्फ बुबालाई बिर्साउने ससुरा बा पाएकी छु । आमा जस्तै प्यारी सासू पाएकी छु। मेरो आफ्नो भाइ छैन। तर भाइको कमी देबर बाबुले पूरा गरिदिनु भएको छ।हामी घरमा खाना मिलिमिली बनाउँछौ ।ससुरा बाले हामीलाई चिया बनाएर खुवाउनुहुन्छ। मेरो श्रीमानले हरेक काम साघाउनुहुन्छ। छोरीलाई पढाउन देखि सानो छोरालाई तेल मालिस सम्म उहाँकै जिम्मा छ।

अनि पख्नु पख्नु!

एउटा कुरा झन्डै छुटेकाे। दिउँसोको खाजापछि देबर बाबुले बनाएको चियाको स्वाद झन्न्डै बिर्सेको ……..अहह्हा साह्रै मिठ्ठाे!!

कृति भट्टराई

हालः काठमाडाैँ

जन्मघरःकाभ्रे
कर्मघरःधादिङ

जे हुन्छ राम्रोको लागि हुन्छ !

म काठमाडौF आएको पनि पाँच बर्ष पुगेछ। कोरोना भाइरस फैलनु दुई महिना अघि मेरो जर्मनी जाने सपना भिजा नलागेको कारण सपनामै सिमित भयो। कक्षा १२ को परीक्षा सकिने बित्तिकै एकाएक बिदेश जाने सुरु चढ्याे। एक बर्ष लगाएर जर्मन भाषा सिकेको थिएँ।भिजा नलागेको दिन खुब रोएँ। देश छोडेर जान नपाउँदा रुने मूर्ख रहेछु म जस्तो लाग्छ आजभोलि।

खिन्न मन बनाउँदै म गाउँ फर्किएको थिए। घरमा आमा बुवाले धेरै सम्झाएपछि मात्रै मन अलि हल्का भयो। फेरि अप्लाइ गर्न घरमा मान्नुभएन। जसोतसो मनलाई सम्झाउँदै काठमाडौँ फर्किए। यता आएर म कलेज भर्ना भए। कलेज सुरु हुन मात्रै लागेको थियाे, यो माहामारीले बिकराल रुप लियो। फेरि गाउँ जान मन लागेन। त्यसपछि त देशमा लकडाउन भयो, कतै जान पनि मिलेन।

म काठमाडौँ बस्न सुरु गरे देखि नै सानिमासँग बस्छु। सानिमाको एक छोरा अनि एक छोरी छन्। म काठमाडौँ आउँदा बहिनी ८ महिनाकी मात्रै थिइन्। भाइ चाहिँ भर्खर १ बर्षको भयो। बिशेष त बहिनी र म बीच धेरै माया छ। ऊसँग भएपछि मलाई मेराे बहिनीको न्यास्रो लाग्न पाउँदैन।

आजभोलि दिन यिनै भाइ बहिनिसँगै बित्छ। बेला मौकामा मात्रै खेल्न पाउने उनीहरुसँग आजकाल फुर्सदमा खेल्न र समय  बिताउन पाएकी छु। कुनै दिन चित्र बनाउन व्यस्त हुन्छु भने कुनै दिन चाहिँ युट्युबको भिडियो हेरेर खाने कुरा बनाउन सिक्छौं। बहिनीले पनि खुसी भएर सघाउँछे। म बहिनीलाई मायाले छोरी नै भनेर बोलाउने गर्छु। भाइ सानु त छ तर हाम्रो खुसीमा सामेल हुन थालिसकेको छ। मायाले दुबै जनाले मलाई पक्कु भनेर बोलाउँछन्। आजकल म यही शब्दमा खुसी भेट्टाउछु।

स्ति भर्खरै मात्र बहिनीको कलिलो जोश र मेरो इच्छा अनुरुप जेरी बनायौं। लामो समयको छुट्टीले गर्दा पढ्न खासै मन गर्दिन आजकल बहिनी। त्यही पनि फकाएर पढ्नचाहिँ लगाउँछु। सानिमासँग दिनहुँ भलाकुसारी हुन थालेको छ।  बेलाबेलामा ‘दिज्जु कथा’ भन्दै आउँछे बहिनी अनि म आमाले सानु हुँदा सुनाएको कथामा आफ्ना शब्दहरु थपेर सुनाउने गर्छु। त्यति नै बेला आमाको खुब याद आउँछ अनि म भावुक हुन्छु।घरमा दिनहुँ भिडियो कलबाट कुरा हुन्छ।काठमाडौँ निकै सुनसान छ अचेल। बिहानीपख तरकारी किन्न पनि निस्किन्छु। लकडाउन कहिले खुल्छ होला भन्ने बिषयमा चोकतिर छलफल भैराखेको हुन्छ।

अर्कोतिर जर्मनीको भिजा नलागेको पनि राम्रो नै भएछ जस्तो लाग्न थालेको छ आजकल। परिवारको छत्रछायाँमा त बस्न पाएको छु। अफ्ट्यारो परेको बेला सोध्ने छिमेकी छन् साथमा। जर्मनी भएको भए कहाँ यस्तो हुन्थ्यो र ! ठिक त्यति नै बेला आमाले भनेको कुरा खुब याद आउँछ “जे हुन्छ राम्रोको लागि हुन्छ।” त्यहीबेला बुवाले भनेका कुरा पनि सम्झन्छु, “स्वदेशमा जस्तो सुख अरु कुनै पनि देशमा पाइदैन।”आजकल बुवाको कुरा एकदम ठिक जस्तो लाग्छ। स्वदेश र बिदेशको फरकबारे बुवा र मेरो बेलाबेलामा वादविवाद परिरहन्छ। हिजोआज फोन गर्दा भन्ने गर्नुहुन्छ ” जर्मनीको भिजा नलागेर कति राम्रो भएछ देखिस् त छोरी ?” म ‘हो’ भन्ने जवाफ दिन्छु। 

यही समयमा मैले फोटोशप सिक्ने मौका पनि पाए। आफ्नो गीत गाउने इच्छालाई पनि मर्न दिएको छैन। बेलाबेलामा गुनगुनाउँछु पनि। धुलो लागेर बसेका किताबहरुलाई दुई चार शब्द सिक्ने लोभमा अङ्गाल्ने गर्छु। अर्को संयोगको कुरा त के भयो भने यही समयमा मैले “हेर्ने कथा ” हेर्न सुरु गरे। आजभोलि यिनै कथाका पात्रहरुको कथामा भुल्न थालेको छु। आफ्नै देशको पात्रहरुको कथा व्यथामा र स्वदेशको बसाईंमा बिदेश माेहलाई बिर्सिने क्रममा छु। यिनै कुराहरुले कहिलेकाहीँ  निराश पनि बनाउँछ। तर फेरि पछाडिबाट ‘पक्कु’ भन्ने शब्दले मुहारमा खुसी ल्याइदिन्छ। अनि बहिनीको भाँडाकुटिको एउटा पात्र बनेर खेलमा समावेश हुन्छु। जर्मनी जाने सपना पूरा नभए पनि सपनामा कहिलेकाहीँ जर्मनी चै पुगेकै हुन्छु अनि आफ्नो सपना सम्झिदै मुस्कुराउँछु

प्रकृति दाहाल 

काठमाडाैँ


बहालमा बस्ने विद्यार्थीकाे दुःख

लकडाउनले हामी सबैको दैनिकी फेरिएको छ र पहिला भन्दा निकै फरक बनेको छ।सबैभन्दा धेरै मानिसकाे बसोबास भएकाे निकै व्यस्त मानिने राजधानी सहर काठमाडौं यतिबेला सुनसान छ। मान्छेको भिड, घुईंचो र सवारी साधनको एकोहोरो चाप हुने अनि हिड्ने गल्ली बाटोहरुसम्म खाली नहुने सहरको स्वरुप बदलिएको छ। निजी अस्पतालहरु, विश्वविद्यालय मठ, मस्जिद, मन्दिर, पाटी, पौवा, पार्क, ठूला ठूला व्यापारिक मल, कारखाना, उद्याेग, पाँच तारे होटेल, बार नाचघर र सिनेमाहलले आराम पाएका छन्। पैदल यात्रा गर्दा बाटो काट्न कत्ति बेर पर्खन पर्थ्याे। अहिले सडक करिब करिब रित्तै छन्।

सुनसान र फेरिएको रुपले काठमाडौँको वातावरण भने निखारिएको छ। काठमाडौँ झन सुन्दर भएको छ। म ललितपुरको महालक्ष्मी नगरपालिका नजिकको एक टोलबाट नियालि रहेको छु। यो फरक सहर र फेरिएको मुहार। मैले बुझेको र यसअघि देखेकाे अव्यवस्थित काठमाडौँ सहर, धुँवा, धुलो, प्रदुषण जस्ता समस्याहरु भन्दा माथि रहेछ।

बिहानपख पत्रपत्रिका शारीरिक ब्यायम, कलेज, साना बालबालिकालाई होम ट्युसन पढाएर र अन्य विभिन्न खाले काम गरेर मेरो दिन बित्ने गरेको थियो। अहिले म एकाएक समाज निहाल्दैछु। म आफै एक विद्यार्थी, अहिले डेरामा बसिरहेकी छु।

सर्वप्रथम त विभिन्न किसिमका मिथक समाचाहरुको बढ्दो प्रभावले दिमागमा धक्का दिरहेको जस्तै लाग्छ। कोरोना रोगको प्रभावले बिद्यार्थीलाई परेको असर असहजता र समस्याहरु त छँदैछ।त्यसमाथि नेपाल सरकराले उपत्यका देखि बाहिर आवतजावतमा निषेध गरेको हुनाले मेरो लकडाउनको समय यही बितिरहेकाे छ।

यहाँ बस्दै गर्दा यहाँको समाज र छिमेकीहरुको हेर्ने दृष्टिकोण र व्यावहारमा मैले आकाश जमिनको फरक पाएको छु। म सधैँ एकैठाउँमा बस्न नरुचाउने स्वभावको भएता पनि समयको मागलाई मध्यनजर गर्दै आपतकालिन खाद्यान्न सामग्री र अति आवश्यक वस्तु खरिद गर्न जाँदासम्म पनि छर-छिमेकीले नकारात्मक चियो चर्चा गरिरहेकाे झैँ लाग्छ। छिमेकीहरुले कुरा काट्ने घरबेटीलाई नचाहिने कुरा लाउने कोठामा बस्ने बाहालवालाहरुले कोरोना रोग सारेर ल्याउँदैछ भनेर हल्ला फैलाउने समाजलाई देख्दा म आफै निशब्द छु। भौतिक दुरीलाई ध्यानमा राखेर आफन्तसँग अति आवश्यक कुरा र काममा पनि घर बाहिरै भेटघाट गर्नुपर्दा खल्लाे लाग्छ। मान्छेलाई मान्छेसँग भेट्न अनि घरभित्रै आउन दिनु हुन्न भन्ने यो समाज र छिमेकीहरुको कुरा सुन्दा म आफैलाई हामी मानव हो कि होइन? भनेर प्रश्न गर्न मन लाग्छ।

यो महामारीको समयमा म जस्तै धेरै बाहालमा बस्ने विद्यार्थी साथीहरुले यो असहजता खेप्न परे पनि चुप भएर बस्न बाध्य भएका छौं। के बाहालमा बस्ने विद्यार्थीलाई चाहिँ आपत बिपत नै नपर्ने हो र? भाडामा बस्ने विद्यार्थीको आफन्त हुँदैन होला र? के पक्का छ कि भाडामै बस्ने विद्यार्थीहरुले मात्र कोरोना रोग सारेर ल्याउँछ भन्ने? जति नै विकसित सहर ठाउँ भए पनि यस्ताे अमानविय व्यवहार देखेर म अकबक्क भएको छु। यो संक्रमणको समय सकेको सहयोग गर्ने र नसकेको बेलामा सहयोग माग्ने समय हो। यो संकटको बेलामा त एकले अर्काकाे मनाेबल बढाउने काम गर्नु पाे राम्राे हुन्छ त।

निन्दिना पुमा राई

हाल ललितपुर

घरजस्तै घर

आज लकडाउनको भएकाे पनि दुई महिना कटिसकेको छ। हाम्रो कलेज त अझ १५ दिन अगाडि देखि नै छुट्टी भएको थियो।सुरुका दिनहरुमा त सामाजिक सञ्जालमा लेखिएका भ्रामक कुराहरुले निकै चिन्तित र ग्रसित भएका थियौँ। त्यसैले यो गरौँ, त्यो गरौँ भन्ने लागेकै थिएन, कसरी चाहिँ दिन कटाउने होला भन्ने मात्रै हुन्थ्यो। तर लकडाउनको तीन–चार दिनपछि भने हामी सबैले छुट्टै दैनिकी नै बनायौँ।

बिहान अबेरसम्म सुत्ने म, सबैजना बिहान ६ बजेदेखि योग गर्ने भन्ने सल्लाह पछि सबेरै उठ्न थालेँ। पहिले कलेजको व्यस्तताका कारणले पनि होला, मामुलाई घरायसी काममा त्यति सहयोग गर्न पाउँदिन थिएँ। तर अचेल भने मामुलाई निकै आनन्द छ। बिहान कान्छी छोरीले (मैले) भान्सा सम्हाल्ने, राति जेठी छोरी (दिज्जुले) हा! हा!

समय अनुकुल नभएकाले कत्ति कुराहरु पूरा गर्नै पाएकी थिइनँ। शनिबार एकदिनकाे छुट्टी त के गर्ने भनेर सोचेरै बित्थ्यो।कोर्सका किताब पढ्नु पर्ने हुँदा बाहिरी किताब पढ्न समय नै दिन सकेकी थिइनँ। कति पुस्तकहरु किनेर दराजमा थन्क्याउने काम मात्र हुन्थ्यो। नजिकबाट हिँड्दा पनि पुस्तकहरुले– ‘के हो! एक पल्ट पल्टाउँदिनस् त हामीलाई’ भनेर जिस्काउँछन् कि झैँ लाग्थ्यो। तर अहिले भने मन लागेका सबै पुस्तकहरु पढ्ने समय पाएकी छु। कृष्ण धरावासीद्वारा लिखित “झोला“ कथा र गुरुप्रसाद मैनालीको “नासो“ कथाको अडियो बुक पनि बनाएकी छु भने अहिले एउटा कथाको अडियो बुक बनाउने तरखरमा छु ।

दिउँसोको खाजा खाने समयमा एक गेम लुडो र क्यारम बोर्ड अनिवार्य जत्तिकै भैसकेको छ। सुरु–सुरुमा भाइ सानै छ, जिताइदिऔँ न भनेर खेल्थ्यौँ। तर अहिले भने उसले साँच्चिकै सबैलाई हराइदिन्छ। मलाई सदा झैँ अहिले पनि दिनको सबैभन्दा मन पर्ने समय साँझ हो। साँझमा सबै छिमेकीहरु छत–छतमा योग गर्ने, कुद्ने, नाच्ने आदि गरेको देख्दा वातावरण नै छुट्टै रमाइलो लाग्छ। सबैले स्वास्थ्यप्रति गरेको विशेष जोड दिएकाे देखेर लकडाउनले राम्रो काम गरेझैँ लाग्छ। साँझमा सधैँ एकछिन साङ्गितिक माहोल बन्छ। भाइ कर्ड मिलाउँदै गितार बजाउँछ भने बाबा चाहिँ यसो थिचेझैँ गरि सबै गीतमा उही पारामा बजाउँदै गाउनु हुन्छ।

लकडाउनले झन् हामी एकअर्कासँग बढी समय घुलमिल हुन पाएका छौँ। पहिले बेलुकी खाना खाइसकेपछि सबै आ–आफ्ना कोठामा गइहाल्थ्यौँ। तर अहिले भने खाना खाइसकेपछि बाबाले आफ्ना बाल्यकालका सम्झनाहरु र गाउँमा हुने विभिन्न रमाइला र दुखद् घटना सुनाउँदा सबैजना चाख मानेर सुन्छौँ। अब त कहिले, कसले, के गर्दा, के भएको थियो भन्ने कुरा पनि कण्ठस्थ भइसक्यो। लक डाउनको आजको दिनसम्म बाबा र मामुको विवाहसम्मको कहानी सुन्यौँ। यसरी नै मेरा दिनहरु बितिरहेका छन्। यस समयमा म आफूलाई सकेसम्म व्यस्त बनाउन खोजिरहेकी छु ।

स्मृति घिमिरे

भक्तपुर

विभेद कहिले सम्म?

मैले सोचेकी थिएँ, जातीय भेदभाव धेरै हदसम्म निर्मूल भइसकेको छ। तर रुकुमको घटनाले फेरि पनि पहिला सुनेका सबै घटना ताजा गराइदियो।अझै पनि यो कुरिति हटेको रहेनछ। याे घटनाले मनमा आगो बलिरहेको छ। कस्ता ह्र्दय नभएका मान्छे?यतिसम्म मानवता हराएका मान्छे पनि हाम्रो समाजमा रहेछन् झैँ लाग्याे। विश्व कहाँबाट कहाँ पुगि सक्यो। पहिलेकाे परिवेसलाई हेर्ने हो भने पनि समाजमा कति धेरै परिवर्तन भइसक्याे। तर हामीकहाँ याे साधारण सोचाइमा पनि परिवर्तन हुन सकेकाे छैन। 

म कक्षा पाँचमा पढ्दा, एउटा संस्थासँग काम गर्नै मौका पाए। त्यसमा हामी दुई बहिनी संलग्न थियौ। घरबाट बुवाको सपोर्ट थिएन। तर पनि उहाँलाई सम्झायौ। पछि त उहाँ हामीले गरेको कामको तारिफ गर्ने हुनुभएकाे थियाे। हामी जिल्लाका विभिन्न ठाउँ-ठाउँमा गएर कार्यक्रम गर्थ्यौ। म नाच्न सिपालु , समाज परिवर्तनको गीतहरूमा नाच्थे र हामी गीतबाट सन्देश दिने प्रयास गर्थ्याै। हामीले जातीय भेदभाव, छुवाछुत, कुरिति, बालविवाह,जाँडरक्सी, जुवातास र केही स्वास्थ्य सम्बन्धि सडक नाटक पनि गर्याैं। हाम्रो प्रस्तुतिबाट धेरैले आफू परिवर्तन भएको अनुभव पनि बाँड्नु भएको थियो।

अहिले मैले महसुस गरे अनुसार छुवाछुत, जाँडरक्सी, जुवातास र बालविवाह धेरै हदसम्म निर्मूल भए। तर जातिय विभेद भने अझै उस्तै नै छ। म कोहलपुरकी बासिन्दा हुँ। उहिले दलितहरूलाई छुन दिँदैनथे कतिपयले। आज भोलि त्यस्तो भने छैन। तर जातीय भेदभाव भने अहिले पनि छ। के यो निर्मूल पार्न साँच्चै यति कठिन होला त?

कति पुस्ता बितिसक्याे, बाउ-बाजेको पालामा त अशिक्षित भए र त्यसो गरे भनेर चित्त बुझाउने बाटो भयो, तर अहिलेको युगमा पनि यस्ता अपराध भइरहेकै छन्। के साँच्चै अशिक्षित भएरै हो त? मलाई त लाग्दैन याे अशिक्षाले मात्रै भएकाे हाे भनेर। जंगलमै बस्ने राउटेलाई सोध्नुभयो भने पनि,”हामी सबै एक हौ सबै मानव हौ” भन्छन्। आखिर कहिलेसम्म चपेटामा पर्ने दलितहरू? कति सम्म सहने यस्ता जघन्य अपराधहरू? मलाई त लाजै लाग्छ,यी सब सुन्दा र देख्दा।

हामी नमूना काम, नमूना काम भन्छौ तर यस्ता झिनामसिना कुरामा अल्झे पछि, के हाम्रो समाजले फट्को मार्ला त? साँच्चै देश विकास होला त? आफैबाट सुरु गरौ,आफ्नो घरबाट। हामी शिक्षित युवाहरूले आफ्नो परिवारका सदस्य, आमा बुवालाई, सम्झाइ बुझाइ गरौं। मेरो विचारमा,जबसम्म ठूला जात कहलिनेले सार्की,परियार, विश्वकर्मासँग कुटुम्बको नाता जोड्दैनन् तबसम्म यो समस्या निर्मूल पार्न धेरै गाह्रो छ। प्रेम, विवाह पनि जातका आधारमा गर्ने चलनकाे जब सम्म अन्त्य हुँदैन, तबसम्म यस्ता घटनाहरू सुन्नमा आइ नै रहनेछन्।

सृजना बि.सी                                               

कोहलपुर, बाँके 

ऋण कसरी तिर्नु!

गलत साझेदारहरुको चयनले घिटघिट गरेर कछुवा गतिमा चलिरहेको सुपरमार्केट व्यवसायलाई जेनतेन घिच्याइरहेको बेलामा एकाएक विश्व हल्लाउने कोरोनाको सन्त्रास नेपाल भित्रियो। बैशाखको अन्त्यमा नै टुंगो लाग्नुपर्ने काम काेराेना सन्त्रासले पेण्डुलम जस्तै भएको थियाे। कैयौ आर्थिक लेनदेन र हिसाबकिताब त्यसै अलपत्र परे।

एकहप्ता  सम्म खासै केही सोच्नै  सकिन मैले। दिमाग खाली कसरी अनगिन्ति समस्याले घेरेको आफ्नो व्यवसायलाई फेरि पुरानै ढाँचामा पुर्याउने भन्ने मै अल्झिरह्यो। ॠणको ब्याज, दुई बर्षको ट्याक्स क्लियरेन्स, बिमा जस्ता अनगिन्ति सुल्झाउन बाँकि समस्याहरुले राम्रोसँग निन्द्रा पनि पर्न छोडेको थियो। 

दोस्रो हप्ताबाट दिमागलाई शान्त पार्न कैयौ आध्यात्मिक गुरुहरुको प्रवचन सुन्ने तालिका दैनिकीमा सामेल गर्न थाले। सुनुन्जेल केही हल्का नभएको पनि होइन तर जसै प्रवचन सकिन्थ्यो मुटुमा तिरले घोचेजस्तो भैहाल्थ्यो। घरभाडा उठाएर केही समस्या टार्न सकिन्थ्यो। फ्याट्टै सरकारकाे उर्दी आयो- आम्दानीको त्यही एउटा श्रोतमा पनि सरकारको आँखा लागेपछि अब कुनै गुरुको प्रवचन काम नलाग्ने निश्चित भैसकेको छ। 

दिनदिनै घटेका र घटाइएका  अनेकौ राजनीतिक, सामाजिक घटनाले दिमाग फनफनी घुमिरहन्छ, एकछिनलाई आफ्नो समस्या थाँती राखेर सोच्दा कहिले भारतीय मिडियाकर्मी अर्नब गोस्वामीसँग चर चर बाझ्न जान मन लाग्छ, कहिले लिपुलेक र कालापानीमा  नाङ्गो खुकुरी नचाउन जान मन लाग्छ। नक्सामा थपिएको भूभाग हेरेर रमाएको मन एकैछिनमा आफ्नो भूमिमा टेक्न आतुर हजारौ लाखौ भूमिपुत्रहरुको याचनाले अमिलो हुन्छ। तिनैले पठाएको रेमिट्यान्सले कैयौ विपद झेलेको राज्यले अहिले उनीहरुको विपत्तिलाई आलटाल गर्दै गरेको देख्दा नराम्रो लाग्छ। विदेशबाट घर आउन महाकालीमा हाम्फाल्ने युवा अनि स्वदेश भित्रै पनि घर पुग्न माइलाै पैदल यात्रा गर्ने थकित यात्रीहरु सम्झिदा घरभित्रै थुनिएर बस्दा पनि आफ्नै खुट्टामा कैडा लागेजस्तो हुन्छ।

कोही साथीहरु मोमो पिजा खान मनलाग्यो भनेर सामाजिक संजालमा रोइ रहँदा बेबारिसे बनेका सूर्यबहादुरको लास आँखा अगाडि आउँछ र थालमा पस्केको भात पनि किलकिले लाग्छ। 

दुई महिना भयो परिवारबाट टाढा छु। कहिलेकाही आधारातमा झल्यास्स बिउँझन्छु। न्यास्रो लाग्छ रुन मन लाग्छ। तर जसै त्यो जन्मेको केही दिनमै आमा गुमाएको बालक सम्झिन्छु मेरो नियास्रो एकदम फिक्का लाग्छ। 

लकडाउन थपिदै जाँदा बेचैनी पनि बढ्दै गएको छ, बिहान उठ्ने कुनै निश्चित तालिका छैन, ब्युँझने बित्तिकै सामाजिक संजालमा यति संक्रमित थपिए, यति मरे भन्ने हेरेर उठ्दा सकारात्मक सोच राख्न सम्भव भएकै छैन। 

बेला बेलामा उखान टुक्का र मेडिकल परामर्श सहित राष्ट्रका नाममा सम्बोधन हुँदा, म र मजस्ता कैयौ निम्न मध्यम वर्गका साना व्यापारीलाई छुने कुनै योजना देखिदैन। लकडाउन सकिने बित्तिकै मै जस्ता जिन्दगी बनाउन ऋण लिएर व्यापार सुरु गरेकाकाे हालत खराब हुनेछ। त्यसले आर्थिक रुपमा धरासायी भएका म जस्ता कैयौले कोरोनाले नदिएको मृत्यु अंगाल्नु पो पर्ने हो कि भनेर मन अत्तालिन्छ। 

यो डरले फेरि आजको रात पनि प्रदुषण घटेर सफा भएको सफा आकाश हेरेर नै रात काट्नु पर्ने हुनेछ।

रजनी ढुंगाना

समयसँगको मित्रता

भनेको जस्तो के नै हुन्छ र ! म त समयको सिमा भित्र जे पनि अनिश्चिता मात्र देख्छु। यो अनिश्चित बन्दाबन्दीले मलाई मेरो घरको चार पर्खालमा घेरेर राखेको आज दु‌ई महिना भन्दा नि बढी भएछ। 

महामारीले सिर्जेको बन्दाबन्दी मेरो लागि कल्पनीय थिएन। दुई-तीन हप्ता त इन्डोर भ्याकेसन नै जस्तो भयो। तर जब दिन गन्ती लम्बिदै गए, मनभित्र अटेसमटेस पनि थपिदैं गएको रहेछ। त्यसैले होला, घरको आगँनबाट देखिने निलो आकाश र सडकमा हिडँदा देखिने निलो आकाश फरक भए जस्तो लाग्न थालेको छ हिजोआज । व्यस्त जिन्दगी अस्तव्यस्तमा रुमल्लिएकाे छ। रुमानी समय पनि उराठलाग्दाे जर्जर बन्न कसरी सकेको होला? त्यसको कहालीलाग्दो सन्नाटाले मन विचलित भएको छ। के समयले पनि आफ्नो वेग हावा सरि परिवर्तन गरिरहन्छ र! 

मनमा कुरा नखेलाउने म, हिजोआज मन र मगजका कुराहरूको युध्दले कुरूक्षेत्रमा सोचको लडा‍इ लड्दैछु जस्तो आभाष हुन्छ। त्यो सोच हरेक पलको समयलाई लिएर आउँछ, हरेक क्षणको सोचाइलाई लिएर आउँछ। यो सोचाइ र भोगाइको अन्तर कति धेरै छ है ! सोचमा गफ पनि भेट्छु, अनि भोगाइले अनुभवलाई भेटाउँछ। जे होस् बन्दाबन्दीको अनुभव अद्भुत होला हरेकको।

सुनेको थिए, समयले हर थोक दिन्छ रे! तर त्यसको लागि समय आउनु पर्छ रे! हो, म पनि त्यसको पर्खाइमा छु। जहाँ सामान्य तर सहज जीवनयापन संम्भव होस्। एक छाक भोकको रोदन कसैलाई नपरोस्। काम र मामको सम्बन्ध अहिलेको जसरी बिच्छेद नहोस्। स्कृनकाे कृतिम हाँसोमा अल्झिन नपरोस्। आफ्नै घरभित्र कैदि जसरी बस्न नपरोस्। कामना छ समयसँगको मेरो मित्रताले मलाई मेरो विगत जस्तै आगत दिनेछ।

प्रकृतिको र समयको आज क्या मिल्ती छ। समयले आज मलाई उसको रुपको चिनारी गराएको छ। त्यो रुप जहाँ सौन्दर्यमा प्रदुषण छैन। दुई महिना आगाडि आगँनको माच्छापुच्छ्रे र दुई महिना पछाडिको माच्छापुच्छ्रेमा क्या भिन्नता छ! खैरो सतहले माच्छापुच्छ्रेलाई ढाक्दा उसको सौन्दर्य लुटिए जस्तो थियो तर आज त्यो सौन्दर्य हरेक कोणबाट मनचोर्ने भएर परिपूर्ण छ। वारिपारिको रानी बन र लभ्ली डाँडा पनि अर्कै स्वरुपमा जाँदै छन् जस्तो लाग्छ। उनीहरुसँगको सामिप्यता भन्दा पर, घरको छतबाट नियाल्दा मात्र आज मलाई यिनीहरु आफ्नै आफन्त झैँ प्रिय लाग्छन्। 

भन्छन् बनको बाघ भन्दा मनको बाघ धेरै शक्तिशाली हुन्छ। आज म मेरो मनको बाघसँग मित्रता गर्दै समयका प्रत्येक डोबसँग विगत झैँ आगतको कामनामा रमेको छु।

दीपा अधिकारी

पोखरा , कास्की