यत्ति नलेखी मन शान्त भएन

कलम समाए डायरी लेख्न भनि मोबाईल नोटिफिकेशनको घण्टी बज्यो । हेरे नेपालमा थप १ संक्रमण भेटियो । मनै गरूङ्गो भयो । कलम र डायरी त्यही टेबुलमाथि राखेर एक गिलास चिसो पानी पिउन खोजे । फेरि त्यही बेला टेलिभिजनमा भनिरहेकाे थियो कोरोना भाईरसको संक्रमणबाट बच्न शरिरको तापक्रम बढाइ राख्नुहोस् । तातोपानी, तातो सुप ज्यादा पिउनुहोस् । जुरुक्क उठेर पानी तताउदै थिए फेरि उता जर्मनबाट साथीले फोन गरि “ओए ! टिमुर पानी सँधै पिउनु है ! फोक्सोलाई खुलाइराख्छ रे ! श्वास फेर्न सजिलो हुन्छ है ! ” 

यो कस्तो समय आयो ! यो के सजाय आज धर्तीले हामी मान्छेलाई दिइरहेछ। म यतिबेला संसारकै अति विकसित देश मानिने जापानमा छु। मेरो देशमा कल्पना नै गर्न नसकिने या यस्तो पनि हुन्छ र भनिने या आफू नेपालमै रहँदा लाग्ने त्यस्ता कौतुहलताहरुलाई विपना बनाइदिएको छ यो देशले । विकासको लागि बाँकी केही छैन शायद यहाँ।

सम्पूर्ण भौतिक सुविधासम्पन्न मुलुक, विज्ञान र प्रविधिमा सम्पन्न मुलुक ।याे देशमा समेत आज यसरी कोरोना(कोभिड-१९) दिन दुगुना रात चौगुना फैलिरहेको छ। गरिरहेको काम नछोडि सुखै भएन। कुरो पैसोको होइन । यहाँ जीवन बचाउने सवाल छ दुनियाँलाई । एक त परदेश त्यहीमाथि मँहगी । झनै काम नै बन्द गरेर बसेपछि मुखमा कसरी माड लगाउने ! चिन्ता त हुने नै भयाे ।

कहिलेकँही  त लाग्छ कृत्रिम मानव बनाउन सक्ने देशहरुले यस्ता रोगहरुबाट बचाउन सक्ने औषधी बनाउन किन नसकेका होलान् ? गर्न के नै पो सकिन्छ र ! बस् परदेशबाट यही कामना गर्छु संसारका सबै मानव जातिलाई यस्ता प्राणघातक रोगहरुबाट बचाउन सक्ने औषधी कोही त बनाइदेउ। लेख्न कहिल्यै जाँगर नलाग्ने मलाई आज यत्ति नलेखी मन शान्त भएन।

धन्यवाद

प्रेरणा पाण्डे

टोकियो,जापान

पुतलीको खेल


चैतमासको उराठलाग्दो दिनमाथी कोरोनाको सन्त्रास । उसैमाथी बिश्वब्यापी लकाडाउनमा म अनि म जस्ता थुप्रै गृहिणीहरुले भोगेको- भोगिरहेको / देखिएको-नदेखिएको / बताईएको-गुपचुप राखिएको अनुभवलाई शब्दरुपमा कहिँ कतै बिसाउन पाउँदा मात्रपनि मन हलुङ्गो हुदो रहेछ ।   

सधैँको बिहानी झै आजकालको बिहानी पनि दैलो-कसेर ,पुजापाठ ! तर फरक यति मात्र हो , आजभोलि गृहिणीलाई बाहेक अरुलाई न बेलैमा उठ्न हतार छ, न म जस्ता गृहिणीलाई खाना बनाउन हतार। न सुतेकी छोरीलाई ” उठ छोरी उठ ” भन्दै लोलोपोतो गर्दै खुवाएर कोरिबाटी गरि स्कुल पाठाउन हतार छ । 

उमेरले पाँच लागेकी छोरी पनि लकडाउनले गर्दा मास्टर्नी भएकी छिन  । पढाउँछिन आफ्ना केही पुतलीहरुलाई । उनी म जस्ती गृहिणी भएकी छिन्। नपकाए पनि पकाए जस्तो गरि खुवाउँछिन् ती पुतलीहरुलाई । बिना पानी ,  बिना साबुन/ स्याम्पु ले नुहाईदिन्छिन् ती पुतलिहरुलाई  । ख्यालख्यालको साबुन , ख्याल्ख्यालको पानीले भए पनि  धोइदिईरहन्छिन् ती पुतलीहरुको हात मिचिमिची ।

त्यति बिघ्न माया पाउने ती पुतलिहरुलाई कुनै बेला सम्झाई बुझाई गर्छिन् । फ्याट्ट रिसाए झैं  जस्तो पनि गर्छिन् । हप्काउँछिन पनि बेलाबेलामा । कारण सुन्दै अचम्म –  “ममि, मेरी छोरीले लगाईदेको मास्क किन फुकालेको ? ” भन्दै, बिचरा ती निर्दोष निर्जिव पुतलीहरु ! हेर्छु, नियाल्छु छोरिको यो वालखेल । अनि रमाँउछु आफ्नै विगतको सम्झनामा ।

नानीजस्तो समयमा आफुले खेल्ने गरेको ती पुतलीहरु , ती गट्टाहरु , ती भात पकाईएका भाँडारुपी ढुङ्गाहरु , ती पकाउँदै नपकाईएका भात खान थाल भनी थापिएका वरका पातहरु सम्झँदै  अलमलमा पर्छु । अनि अचम्मित हुन्छु कहिलेकाही गृहिणीको काम देख्दा । हिजो सामान्य अवस्थामा पनि उही , आज लकडाउनमा पनि उही। हेर्दा नदेखिने , गरेर नसकिने । काम उही, टन्टा उही । रासन उही , कासन उही । उही भान्छा , उही कोठा ,उही घर , उही दैलो , उही मेलोमेसो । उही कामकाज , उही गाउँ , उही घर ,उही बस्ती , उही समाज , उहि छिमेकी , उही पसल । लकडाउनमा पसल बन्द । अफिस बन्द ।स्कुल बन्द ।कलेज बन्द । हिनडुल बन्द । तर मेरो दैनिकी चलिरहन्छ । भान्छा चलिरहन्छ । सम्झन्छु किसानलाई अनि बुझाउँछु आफ्नो मन ।

सन्सारमा कुनै पनि परिस्थितिमा बिदा नहुने भनेको हामिलाई रहेछ । बन्द नहुने भनेको हामी गृहिणीको काम रहेछ ।  एउटै परिवारभित्र गृहिणी कामले थिचिएका छन । पुरुष काम भएन भनेर पिरोलिएका छन। बस्दाबस्दा थाकेर हद्दु परेको बताइरहेका छन। दिन कटाउन गार्‍हो भयो भन्दै रोईला गाएर सामाजिक सन्जालमा उचालिएकालाई प्रश्न गर्न चाहान्छु ” खोइ हामि गृहिणीको फुर्सद ? ”  

सँधै गाडिहरुको चर्को हर्न र बाटोमा हिँड्न पनि  डर हुने मेरो घर अगाडि  हिजोआज सुनसान बनेको छ । पसलहरु सबै बन्द छन । लकडाउन अघि सम्म बाटोभरी स्कुल जाने बिध्यार्थी हुन्थे र एकपछी अर्को स्कुल बसहरु आउथे अनि आफ्ना नानिबाबुहरुलाई बस चढाएर बिदाईको हात हल्लाउदै प्राय आमाहरु घर फर्किएको क्षणलाई घरबाट हेर्न बन्चित भएको छु ।  त्यो समय पनि आज हराएको छ । त्यो बाटो पनि आज सुनसान छ ।   बुढाबुढी देखि बच्चाहरुको मुखमा आज मास्क छ । सबै आ-आफ्नो घरमा बसेका छन । तर कतिपय मानिसहरु अनावश्यक अबस्थामा बाटो हिडिरहेका देखिन्छन । यसमा हाम्रा प्रहरी दाजुभाईहरु बारम्बार  भनी रहनुहुन्छ कि ” घर  भित्रै बस्नुस “।   

आज कोरोनाले मानिसलाई यस्तो ठाउँमा ल्याएको छ कि जहाँ पैसा भएर पनि केहि नहुने अबस्था बनेको छ । सन्सारभर हलचल मच्चाएको छ । बिश्वका ठुला ठुला देश तथा ओल्लो पल्लो ग्रहमा समेत खेती गर्छु भन्ने देशले केही गर्न नसकेको अबस्था छ ।  अन्य देशको तुलनामा हाम्रो देश कमजोर छ । आज पनि थप तीन जनामा कोरोना पोजेटिभ देखा पर्यो भनी समाचारले फुक्दा घरका बुढाबुढी मान्छे , बिदेशी भुमिमा रहनुभएको श्रीमान , स्यानी छोरी ,आफन्तहरुलाई सम्झन्छु र मन आत्तिन्छ ।

अब चाईना , ईटाली , स्पेन , अमेरिका , भारत यस्तै अन्य देश पछि कतै नेपालको पालो आउने त होइन भनी मनमा पिर परिरहन्छ । हुन त बिपद् बाजा बजाएर आउदैन । हुने कुरा हुन्छ नै । तर पनि हुन्छ भन्दैमा सँधैको  दैनिक कामकाज छोडी हामी जस्तो गृहिणी त्यसै बस्नु पनि भएन । सरकारले लगाएको लकडाउनले  केही हदसम्म जोखिम कम गर्न सकिन्छ भन्नी बिश्वासका साथ हामी सबैले पालना गर्न सक्छौ र गर्नु पनि पर्छ । यो झन झन बिग्रदो अबस्थालाई हेर्दा हाम्रो लागि दिनरात नभनी खटिएका डाक्टर , स्वास्थकर्मी र सुरक्षाकर्मीहरुलाई हामि घर भित्रै बसि असल नागरिक को दायित्व निर्बाह गरि सहयोग गर्न सक्छौ र गर्नु पर्छ पनि । 

बिहानको तुसारोलाई दिउँसोको  घामले त्यसै पाखा लगाए झै यो कोरोना सन्सारबाट हराओस भन्दै यस्तो अबस्थामा आफ्नो घरबाट टाढा बसि अरुको सेवा गर्नुहुने सबैलाई मनैदेखी आभार र धन्यवाद दिँदै नेपाल अनि नेपाल बाहिर रहनु हुने सबै दाजुभाई तथा दिदिबहिनीहरुमा लकडाउनको पुर्णपालना गर्नुहुने आशमा  ” आफू बाँचौ , अरुलाई बचाउ ” भन्दै म गृहिणी भलाकुसारीबाट बिदा लिन्छु । 

धन्यवाद !

सरला अधिकारी थापा

गाउँ फर्किएकाे बेला

महिना दिन नबित्दै भारतमा कामको सिलसिलामा गएका पल्लाघरे माहिला दाइ पनि घर फर्किसक्नु भयो । नेपालमा धेरै खर्च लाग्छ भनेर छोराको सहायतामा गोडाको अप्रेसन गर्न भारत जानुभएका दुई दम्पती लकडाउनले गर्दा उतै अल्झिनुभएछ । गाउँ छाडेर काठमाडौंमा सुन्दर भविष्य कोर्न पसेका विद्यार्थी र दुइपैसा कमाइ हुने आशले गएका मजदुर सबै गाउँ फर्किसकेका छन् । मेरो पनि कक्षा १२ को अन्तिम परीक्षा तयारीको निम्ति कलेजले बिदा दिइसकेको थियो । म पनि गाउँतिरै लागे । बिदेश जाने युवाहरू पनि गाउँको नाउँ जप्दै बसिरहेका छन । गाउँमा युवाहरूलाई पनि कोरोना भाइरसले पाठ सिकाएको छ । कोही अब बिदेश नजाने दृढ संकल्पका साथ नेपालमै केही गर्ने सोचमा बनाउँदैछन् । 

लकडाउनको समयमा तातो घाममा किसानहरूले आफ्नै कृषि कर्ममा ध्यान दिइरहेका छन । अर्मपर्म , आलोपालो र पैँचो तिर्ने, बिउदुना ल्याउने काम नियमित चल्दैछ । यतिबेला घरमा मुसुरो र गहुँ बाली भित्र्याउन धमाधम छ । हाम्रो बा’ ले पुरानो बाली थन्काएर हलो जोतेर मकै छरिसक्नुभयो । आमा जोरजाम तर्फ लाग्नुभएको छ। बुढापाका मानिस नाति-नातिना हेरेर घरमा चोया काट्दै डोको बुन्दैछन् ।

वसन्त ऋतुको आगमनमा बिरुवाले पालुवा हालेर वरपरका वातावरणमा शितलता थपेको छ । वनमा लहरा ढाकिएका छन् । जमिनमा दुबो मौलाएर स्वागत गरिरहेको छ । कोइलीको कुहुकुहुले वन संगीतमय छ । चराहरु स्वतन्त्र खुल्ला आकाशमा पखेटा फिँजाएर उडिरहेका छन् । माहुरी, पुतली र भमरा जस्ता किटहरु पुष्परस संकलन गर्न र परागसेचनमा तल्लीन छन । 

हाम्रो घरको बिरालोले पनि ६ ओटा सन्तान जन्माएछ । हाम्रो घरको गोठ नजिकै डुम्रीको बोटमा ढुकुरले गुँड लगाएर भर्खर बच्चा पनि कोरलेको छ । म त्यो हेरेर नडराउ बचेरा तिम्रो सामु प्रकृति रुचाउने मनुवा आइसकेको छ । तिमीहरूसंग माया साटासाट गर्न आएको छु भन्दै आफ्नु मन फुरुङ्ग पारेर फर्कन्छु ।

त्रिलोचन काफ्ले

सिन्धुली

आखिर ठूलो के?

सानो छँदा पढेको थिए “धनभन्दा विद्या ठूलो “यो कुरामा हाम्रो वादविवाद पनि नभएको होइन ।

कक्षा कोठामा मात्र सिमित यो वादविवाद आज एकान्तबास बाट सोच्न बाध्य बनायो । सायद त्यतिबेला मन मस्तिष्कमा यी सबै कुरा अटाउने पो थिएनन कि ? तर, आज यस बिश्वव्यापी फैलिएको महामारी covid-19 (कोरोना भाइरस ) ले सोच्न बाध्य बनायो । आज हामी कुन हालतमा छौ ? हाम्रो के हैसियत रहेछ त यस पृथ्वीलोकमा ? आज विभिन्न विकसित देशहरु यो महामारीलाई परास्त गर्न अनेकौं जुक्ति लगाइरहेका छन । तर, महामारी भने दिन दुई गुणा रात चौगुणा हुदै फैलिदै छ । कसैले सोचेको पनि थिएन होला यस्तो परिस्थिति आउला भनेर ।

आज दुख लाग्छ किन यस्तो दुनियाँमा जन्म लिन पुगेछु भनेर । हामी साँच्चै हाम्रो पू्र्खाहरुले देखाएको बाटोमा हिडेका छौं त ? पू्र्खाहरुले दिएको संस्कृति बचाएर राखेका छौं ? पक्कै छैनौ ! वृद्ध अवस्थाका बा-आमालाई एक्लै छोडी आफ्नो प्राण भन्दा प्यारी (भन्ने गर्छौं नि )श्रीमती लाई सुखसयल दिन भनी शहर तिर लागेका छौ। संजोग मिल्यो भने मेला पर्वमा मात्र घर जाने गरेका छौं। या भनौ शहर तिर केही आपत विपत पर्यो भने मात्र गाउँ समाज छरछिमेक बा आमा, दाजुभाइ, दिदिबहिनी, आफन्त सम्झने गर्छौ । भुकम्पको बेला होस् या कोरोनाको बेला। केही दुई पैसा कमाउँदैमा ‘मै ठूलो, मै राजा” भन्ने हरुलाई पनि आखिर चाहिने त त्यही भिर पाखो त रैछ नि ! फेरि के को घमण्ड ?

आज विभिन्न विकसित देशहरुको हालत देख्दा दुख लाग्छ । त्यस्तै हालत मेरो देशको पनि हुने होकि भन्ने चिन्ता पनि लाग्छ । तर मैले मात्र चिन्ता गरेर पनि नहुँदो रहेछ । सरकार चलाउने उच्च ओहाेदामा बस्ने हरुको समाचार आउँछ – फलानोले यति भ्रष्टाचार गर्‍यो रे ! ढिस्कानाले यति भ्रष्टाचार गर्‍यो भन्दा मन दुखेर आउँछ ।साच्चै होला कि भन्ने सोचाइ पनि आउँछ । तर होइन कि! यस्ता समाचार त गलत पनि हुन सक्छ भन्छु र मनलाई शान्ति बनाउँछु । किनभने हालै त्यता समाचार छाप्ने अन्लाईन मिडियालाई ब्लक गरेको पनि सुनेको छु र आज भोलि ती मिडियाको समाचार पढ्न नपाउँदा पनि खुसी छु ।

 बिश्वव्यापी फैलिएको यस महामारीबाट हामी उम्कोँला नउम्कौँला यो त समयले बताउला । तर, यस महामारीले भने केही पाठ अवस्य सिकाएर जानेछ । हिजो धर्म,जातपात,उचनिचका कुरा गर्ने खै आज ? आज अरबौ धन हुने हरु पनि यो कोरोना बाट अछुतो हुन सकेनन् । गरिबको त कुरा नगरौ । आज किन चाहिएन त्यो महल त्यो धन सम्पत्ति ? त्यो आराम ? आज मनुष्यको औकात देखाइ दियो महामारीले ।आज मनुष्यलाई जीवन चाहिएको छ । मृत्यु देखि डर लागेर आएको छ । तर म ढुक्क छु मानिसलाई केही त चेतना होला अब । वातावरणसंग खेलबाड गर्नुको नतिजा त आइसक्यो । अब झन् के के हुन बाँकी छ । यस्तै यस्तै मनमा कुरा खेलाउँदै एकान्तमा धैर्यका साथ बसेको छु ।

  बर्मा कुँवर क्षेत्री

इस्मा गाउँपालिका, गुल्मी  हाल: दुबई

कतारबाट डेलिभरी बाेई

म अहिले कतारको एक प्रतिष्ठित कम्पनिमा काम गर्छु । कतारको street 1 देखि street 32 Right side मा लकडाउन गरेको २ हप्ता भन्दा बढी भयो । लकडाउन हुनु भन्दा अघि night duty गएकाहरु जहाँकाे त्यही छन् । सरकारी कार्यालय र केही कम्पनीहरु बाहेक अरु कम्पनीहरुमा काम चलि नै रहेको छ। 

खाना पकाउने सुविधा भएका कम्पनीका कामदारहरु हिजो बेलुकी पकाएर फ्रिजमा राखिएको खाना बोकी काममा हिड्छन् । खाना पकाउने सुविधा नभएका हामी जस्ताहरु चैं क्यान्टिनमा खाएर वा लिएर जाने गर्छौ। 

म चाहिं डेलिभरीमा काम गर्ने भएकाले लकडाउनले मेरो काममा खासै असर गरेको छैन। अझ पहिलाको भन्दा धेरै काम बढेको छ। कतारको सडकहरूमा मोटरगाडीको चाप कम भए पनि यहाँका सुपर मार्केट र हाइपर मार्केटहरुमा चाप उत्तिकै छ।  

डेलिभरीमा हुँदा धेरै नेपाली दाजुभाइ र एसियाली मुलुकका नागरिकसंग भेट हुन्छ । Corona को असरकै बारेमा बातचित हुन्छ । सरकारले सामाजिक दुरी कायम गर्ने भने पनि मार्केटको रिसिभिङ क्षेत्रमा यो नियमको पालना भएकाे देखिदैन। खाडीका देशहरुमा अब गर्मी सुरु हुन लागेको छ। मास्क लगाएर काम गर्दा पसिना र गर्मीले सासै फेर्न गाह्राे हुन्छ । त्यसमा पनि कम्पनीले दिनमा एउटा मास्क दिन्छ। कत्तिको त त्यो पनि छैन। साबुन पानीले घरी घरी हात धुने भन्छ। कत्ति ठाउँहरुमा पिउने पानीको त सुविधा हुँदैन कहाँबाट हात धुनु।  सबै होटल रेटुरेन्ट बन्द भएकाले काममा हुँदा खाजा, खाना खान अप्ठेरो छ । अहिलेसम्म साह्राे गाह्राे चल्दै छ । 

बैंक, exchange हरु बन्द हुँदा धेरैले घरमा पैसा पठाउन पाएका छैनौ। धैरैको घरमा यहाँबाट पठाएको पैसाले महिना भरि रासन पानीको जोहो हुन्छ । त्यो पनि ठप्प भएको छ। धेरैका व्यवहारहरु रोकिएका छन । धेरैका आधा अधुरा सपनाहरु रोकिएका छन। सायद देशको राजनीतिक गतिलो भैदिएको भए यस्तो बेलामा देशकै माटोमा हुन्थ्याै होला ।  

नेपालबाट यहाँ कल गर्दा महङ्गाे पर्ने हुँदा म नउठ्दै आमा र श्रीमतीको miss call आइ सकेको हुन्छ। call फर्काउँदा उनीहरुले ‘खाजा खाइस’भनेर सोध्छन । कहिले खाइसकेको हुन्छु । कहिले नखाए पनि ‘खाइसके’ भन्दिन्छु । म मात्रै होइन धेरैले यस्तै भन्छन। यो महामारीमा काममा जाने कुरा गर्दा परिवारकाले मन तितो बनाउँछन।

यहाँको बाध्यता यतै छ। यहाँ रहुन्जेल काम त गर्नैछ । बसुन्जेल बाध्यतालाई  सहज बनाउनु नै छ । फर्किने वातावरण भैदिएको भए जे-जस्तो भए पनि परदेशमा रहेका धेरै नेपाली यतिबेलासम्म घर फर्कि सक्थ्याै होला।

आर के चौधरी

कतार

परदेशमा गार्डको ड्युटी

म यतिबेला मलेसियामा छु । 

अहिले प्राय सबैतिर कोरोना भाइरसका कारण lock down छ  । तर म चाहिँ सेक्युरिटी गार्ड भएकाले यो महामारीको बेला पनि सधैँ काम गरिरहनु पर्छ । डराइ डराइ काम गर्छु ।

यो संकटको घडीमा सबैभन्दा पहिला त घर परिवार इष्टमित्र सबैको याद आउँदो रहेछ । घरपरिवार एकातिर आफू पर देशको मरूभूमीमा ।

कोरोनासम्बन्धि जानकारी हेर्दै नेपालमा कोरोना नलागोस् भनेर प्रार्थना गर्छु भगवानसंग । अहिले नेपालमा पनि कोरोनाको केस पोजेटिभ देखिएकाले मन डराएको छ । मनमा अनेकन भावनाहरू खेल्छन् अनि आँखा चिम्लिएर सोच्ने गर्छु, “मेरो र सम्पूर्ण मानवको भाग्य”  संसारका शक्तिशाली र संसारलाई जित्छौं भन्ने देशहरु पनि आज कोरोनासंग डराएको देख्दा मान्छेले घमण्डलाई त्याग्नु पर्ने रहेछ भन्ने लागेको छ । 

कहिलेकाँही छटपटी चल्छ । निन्द्रा पनि कहाँ छ कहाँ? घर-परिवार याद आइ रहन्छ । फुर्सदको समयमा नेपालको समचार हेर्ने गर्छु । विश्व महामारीको संकटमा पसेको बेलापनि भ्रष्टाचार गर्न खोज्ने नेताहरु अनि ज्याला मजदुरी गरेर खाने गरिब मजदुरहरूको हालत सम्झेर चिन्ता लाग्छ । 

शक्ति आर्जनको नाममा प्रकृतिलाई नै चुनौती दिने मान्छेका लागि यो समय नै ठूलो चेतावनी भएको छ । यस्तै सोच्दा सोच्दै दिन बित्छ, अनि मन निराश हुन्छ । तर पनि आशा मारेको छैन । चाडै नै यो संकट सकिएर  र हामी सबै सामान्य जीवन यापनमा फर्किने छौं ।

रेख लिम्बु

ताप्लेजुङ, हाल : मलेशिया

आमाले पठाएकाे गुन्द्रुक

लेख्न भन्दा पढ्न सजिलो मान्ने मान्छे म । लेखक बन्न शब्दसँग खेल्ने क्षमता हुनुपर्छ । हुन त विद्या दिदिले लेखक नै हुनु नपर्ने ढाडस दिनुभएको छ । म चाहिँ खेलाडी बन्न मैदानमा प्रवेश गर्न लागेको सिकारू परेँ । नयाँमा खेलका धेरै नियमहरु मिचिन सक्छन्, नजानी नजानी नियम तोडिन पनि सक्छन् । यसको लागि अहिले नै माफी मागे ।

लेख लेख्ने खासै ढंग नभएका हामीहरुलाई प्रोत्साहन गर्न हेर्ने कथाको टिमले प्रयास नगरेको भए म पनि कोरोनासँगको लडाइँमा सरकारलाई खाटमा सुतेर सहयोग गरिरहेको हुन्थेँ अरु दिन जस्तै । या यतिबेला सामसुङ मोबाईलमा बुढी औँलाले स्क्रीन तलमाथि गर्दै हुन्थे। साथीको पुरानो फोटोमा ट्रेन्डिङमा चलेको ‘कमेण्ट पेष्ट’ गर्दै हुन्थेँ ।

बिहान टाउकोमा घामको झुल्को नपरेसम्म आँखाको ढकनी खुल्न छोडेको पनि लगभग दुई हप्ता भयो । ‘लकडाउन’ को एघारौँ दिनसम्म आउँदा आरामको उच्चतम बिन्दुमा पुग्नै लागिसकेँ । अब बस् आराम स्वयंले बेआराम महसुस गर्दैहोला भन्ने लाग्छ ।

‘अफिस’ जान नपर्ने भएपछि निन्द्राको मिठास पनि पहिले भन्दा मिठो लाग्ने रहेछ । आलार्मको घण्टीले पनि आराम गर्दियोस् झैँ लाग्ने । तर भोली पेटको बोसो पगाल्न कसरत गर्नुभन्दा अहिले समयको नियम अंगाल्न नै जाती । उठेर पहिला झ्यालको पर्दा थोरै उघारेर बाहिर नियाल्न मन लाग्छ । मानिसको चहलपहल जाँच्ने यो उपाय दिनको तीस चालिस पटक जति गरिन्छ । 

दुबै हातलाई तनक्क तन्काउँदै पाइखाना गैसकेपछि नाक मुख नछोइने गरी गम्साले मुख पुछ्ने गर्छु । एक माना पानी डिक्चिमा उमाल्नै लाग्दा पहिला अदुवा, बेसार र थोरै नुन हालेर प्रतिरक्षा प्रणालीलाई थप हौसला दिने काम पनि बिहानकै तालिकामा पर्छ । फेरि स्मरण रहोस् कि यसमा बिच-बिचमा साबुन पानीले मिचि-मिची हात धुने काम प्रत्येक १० मिनेटको अन्तरमा गर्नु त हामी सबैको साझा तालिकामै पार्नुपर्छ । 

आजभोलि खाना पकाउने काम भने साधारण दिन भन्दा चुनौतीपूर्ण छ । एक त सामान फारु गर्नु पर्ने अर्को बिहान पकाएको खानाले दिउँसो लन्च पनि गर्नुपर्ने । त्यही खानाबाट थोरै बचाएर चरा चुरुङ्गीलाई छतमा बोलाएर दिनु पनि पर्याे ।  छैन त चुनौती

अब तरकारीको कुरै छोडौँ । कुरा छोडौँ भन्दा पनि कुरा गर्नै पर्ने विषय हो यो फेरि ।  के पकाउने ? सोच्नु त खासै पर्दैन । आमाले घर जाँदा पोका पारेर झोलामा राख्दिएको गुन्द्रुकले आजसम्म धानेको छ । ‘लकडाउन’ लम्बियो भने चाहिँ सोच्न बाध्य बनाउने छ । पकाउन सजिलो । भिजाएर थोरै नुन, थोरै अदुवा लसुन र दुइ मुठी पानी हाल्दिएपछि भइ त गयाे । फेरि साथी नै बनाउन मन लागे, आलु मिसाए भैगो । गेडागुडी मिसाए पनि ठिकै छ । परिकार नै बनाउन मन लागे, अचार बनाए पनि भो,  ग्रेभी बनाए पनि भो,  रोस्ट बनाए पनि ठिकै । त्यसैले त बेला-बेलामा शाकाहारी हुनुमा गर्व लाग्छ ।

म त भन्छु यस्तो बहु-उपायोगी तरकारी बनाउने उपाय र प्रविधि नेपालले विश्व जगतलाई सिकाएर गुन लगाउनै पर्छ । अझैँ जोड दिएर भन्छु, हामीले हाम्रो पुर्खालाई गुन्द्रुक उत्पादनको प्रयोग र उपयोगिताको लागी सलाम गर्नै पर्छ । सलाम!

खाना खाएपछि दिनभरी के गर्ने ? भनी एकछिन अन्यौल हुन्छ । बरण्डाबाट छिमेकीको बरण्डाको चहलपहल हेर्नु र भर्याङ दिनको पाँच-छ पटक तलमाथी गर्नु। फेरि छिमेकिको बरण्डामा केटिमान्छे देखे भने त्यो बरण्डा बसाइ पनि संसदमा संसदलाई मानानीय सदस्य भन्दै सभामुखले छुट्याएको दुइ मिनेट भन्दा कम हुन्छ । लजालु जो परे!  र त्यतिले पनि दिन काट्न गाह्रो भएमा कान्तिपुर एफ एम जस्तै हरपलको साथी छँदै छ । सामसुङ मोबाइल । फेसबुक खोल्यो । ‘नोटिफिकेशन’ ले निमन्त्रणा दिन्छ । खोल्यो, त्यही दश वर्ष अघिको फोटोमा ‘ट्रेन्डिङ कमेण्ट’ को बिग्बिगी ।अझ गजब त गाउँको साथीले गरेको ‘कमेन्ट’ र अमेरिका बस्ने साथीको ‘कमेन्ट’  एउटै । फेरि अर्को साथीको ‘फेसबुक वाल’ मा गएर उसले अर्कै साथीलाई गरेको ‘कमेन्ट’ चोरेर  जवाफ दिनु पर्छ । गाह्रो छ । गाह्राव छ ।  मानिसको जातलाई दु:ख यसै भएको त कहाँ हो र हनुमान जी !

बिहान एकमुठी बढी बनाएको भातलाई भुट्यो । खायो । अनि फेरी ट्विटर छिर्यो । विचारको लडाइँ त यहाँ पो छ गाँठे! तेस्रो विश्व युद्द हेर्न अन्त कहीँ जानु नपर्ने गरी ट्विटर निर्माण गरिदिनु भएकोमा ज्याक दोर्से, विज स्टोन्, नोह ग्लास र इभान विलियम्सलाई पनि सलाम! मन्त्री देखि सचिव सम्म, इन्जिनियर देखि डाक्टर सम्म लडाइँमा सामेल । कोही चिया खादैँ लडाइँमा भने कोही घुस खादैँ । कोही तरकारी गोड्दै लडाइँमा भने कोही सरकारी जागिर खाँदै । आज यो लडाइँमा कोरोना पनि मिसिएको छ । फरक यति मात्र हो ।

ओहो! तपाईले हात त धुनुभयो ? यत्तिकै होइन । साबुन पानीले । मेरो साबुन पानीले हात धुने बेला हो यो । त्यो पनि मिचि-मिची । कम्तिमा बिस सेकेण्ड । 

यसरी साबुन पानीले हात धोएपछि, कोरोनाको विश्व महामारी र यसको संक्रमणको ताजा जानकारी लिने गर्छु । घरमा फोन गर्छु । आमा भन्नुहुन्छ; के छ बाबु ?

 मेरो जवाफ हुन्छ: आराम छ । 

घर बाहिर ननिस्किनु है! 

म हुन्छ भन्दै गर्दा आमा खाना र  यहाँको तरकारीको चिन्ता फोनमै पोख्नु हुन्छ । 

हजुरले झोलामा राख्दिएको गुन्द्रुक छ भन्छु । सबैलाई सावधान रहन आग्रह पनि । परिवारका सबै सदस्यलाई अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन भन्छु । यो लडाइ सावधानीले मात्र जित्न सकिन्छ । 

दीपक सुनार

व्यवसाय अधिकृत – कृषी विकास बैंक

“आज दिल्ली होइ ऊ फलानो आयो”

मौसम झै बदलिरहने रैछ जिन्दगी पनि । अबको जिन्दगीको बाटो यस्तो होला भन्ने अड्कल गर्दा गर्दै पनि कहिलेकाँही  नसोचेकै भइदिने समय ।

विश्वमा महामारीको रुप लिएको कोरोना का कारण चैत ७ गते  हुने भनिएको एस. इ. इ.  स्थगित भयाे ।  त्यही बेलामा  संचालन हुने अरू सबै परिक्षा स्थगित भनिएको  सूचना आएसंगै मेराे एम. ए चौथो सेमेस्टरको परीक्षा पनि स्थगित भएको खबर पाए । परीक्षा होला कि छुट्टी भन्ने दोधारमा भएको मन अब एकाएक घर फर्किने बाटोतिर लम्कियाे । मन मात्रै, म त यतै छु कोठाको भित्ताै हेर्दै । 

कस्तो भएको होला गाउँ ? के गर्दै होलान गाउँले? महामारी बारे थाहा होला कि नहोला मेरा गाउँलाई ? साबुन पानि र मास्कको प्रयोगबारे गाउँमा कसैले बुझाए होलान् कि नाईं ?  म बसेको सहर देखि परको, मेराे गाउँमा के भयो होला भन्ने त्रास बेग्लै छ मनमा । आँखा, मन मस्तिस्क गाउ‍ँमै भएको महसुस गरिरहेछु ।

… … … … 

घर पछाडिको ठूलो पिपलको रुखले पालुवा फेर्दै छ । त्यस माथि भेला भएका भँगेरा र कागहरु कसकव आवाज ठूलो भन्दै कराइरहेका छन् ।

आहा…मेरो गाउँ !!!! 

 …रास्ट्रपति  बाजेले  बिहानै चौतारा लिपपोत गरेर सफा राखेका छन् र ओम जय जगदिश भजन रेडियाेमा घन्काएका छन्  ..

 …घाम लागेको छ हरेला ( दिँउसो  घाममा आवज दिने किरा) बेस्सरी  कराइराखेका छन्  .. ..

…केटा हरु खोलामा माछा मार्न डोको र दुवाली बोकेर गहुँका खेतका आलीहरु तिर अघि बढ्दै छन् …

.. .बुढाबुढीहरु घर पछाडि तोलेनी डाँडामा तल रोडमा चलिरहेका जिपहरू हेरी बसेका छन र भन्दै छन् “आज दिल्ली होइ ऊ फलानो  आयो” …”बेली धनगढी होइ उइका  छोराछोरी आया” …”अ काठमाणु बाट पनअ जम्मै आयाका छन्” ..

stay_home ,stay_safe भनेको कोरोना नियन्त्रण गर्ने उपाय हो भनेर गाउँलाई के थाहा ।  सामान्य रुघाखोकी लाग्दा, तल पल्लो गाउँमा बस्ने बंगलादेश देखि मेडिकल थाप्न आएका मामाजी ( गाउँलेले दिएको नाम )  कहाँ पुर्याउनु पर्थ्यो । एकफेर व्यथाले च्यापेकी पल्ला घरे भाउजूलाई १२ बजे राति साथीभाइ ,काका काकी भएर नाम्लोको भारीले  डोकोमा बोकेर अस्पताल लागेका थियौ । कथम कदाचित अहिले गाउँमा कसैलाई ज्वरो रुघाखोकी लाग्यो भने बोकेर स्वास्थकर्मीकहाँ कसले लैजालान् ? कि कोरोना भनेर बेबारिसे छोडी देलान  ? 

सुन्दैछु , रोजगारीका लागि भारत गएकाहरु  जम्मै गाउँ फर्किदै छन् अरे । उहाँहरुलाई एक दुई हप्ता छुट्टै राख्ने ब्यवस्था कसैले अपनाउलान् कि नाइँ ?  भारतबाट आएकाहरुको छिमेकमै एकजना ७०-७५  बर्षकी हजुरआमा बित्नु भयो अरे , दमको बिरामी हुनुहुन्थ्यो अरे..( भावपूर्ण श्रदान्जली)  ।।

 म झसङ्ग भए , कारण भर्खेरै एक गाउँले दाइले फोन गरेर गाउँमा त कोरोना भगाउन सबै गाउँका आइमाई बेलुकी बेलुकी घर पछाडिको मन्दिर मा भेला हुन्छन र पुजा गर्छन अरे । त्यति मात्रै हैन शरीरका प्राय भागमा कोइला दल्ने चलन चलेको छ अरे मेरो गाउँमा…कठै मेरो गाउँ!!!     

सुनिल क्षेत्री

त्रिभुवन विश्वबिद्यालय, कीर्तिपुर,काठमाडौं

यस्तै छ गाउँको तस्बिर

मार्क्सवादी लेखक अशोक सुवेदीको सामाजिक सञ्जाल हिजोआज गाउँका तस्बिरले भरिएका छन् । रामेछापको मन्थली नजिकै रहेको सिर्जनानगरतिरका तस्बिर देख्दा गाउँको तिर्सना मेटिन्छ । उनले खिचेर पोस्ट गरेका सुकुमार र ‘भर्जिन’ प्राकृतिक दृश्य, ग्रामीण श्रमशील जनजीवन, रहनसहन र ग्रामीण जीवनशैलीले आफ्नै बाल्यकाल सम्झाउँछन् । अझ उनका शारीरिक र मानसिक श्रमसँग गाँसिएका तस्बिरहरूले असाध्यै लोभ्याउँछन् । म प्रायः गाउँका तस्बिर ‘सेभ’ गरेर राख्छु ।

मेरा स्थानीय मित्र शशी डङ्गोल वेत्रावती बजार नाममा फेसबुक पेज चलाउँछन् । उनी गाउँका अनेकौँ तस्बिर त्यहाँ पोस्ट गर्छन् । डाँडा,पाखा र पखेराका तस्बिर मात्र होइन, उनी वेत्रावती आसपासका मानिसहरूका दैनिकीलाई क्यामेरामा कैद गर्छन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । यसपटक उनैले खिचेकाे मास्कवाला तस्बिर भाइरल बन्याे । डङ्गोलले फलाखुको तस्बिर पोस्ट गर्दा त्यही खोलामा पौडी खेलेको सम्झना आउँछ । गाडीले दिएको ट्युबमा चढेर पानीमा तैरिएको सम्झना आउँछ ।

सहरको बन्द कोठामा कोरोना कहर खेपिरहँदा गाउँलाई बहुत सम्झिन मन लाग्ने रहेछ । प्रिय गाउँलाई मटुमै सजाउँ जस्तो आदर्शभाव पनि आउने रहेछ ।

सबैभन्दा पहिले गाउँकै कुरा गरौँ । गाउँ बिर्सनेको कुरा गरौँ । गाउँलाई सम्झिनेको कुरा गरौँ ।

बजारको विकास हुँदै जाँदा गाउँ छोड्ने लर्को लाग्यो । गाउँका हुनेखाने सहर पसे । मध्यमखालका मान्छे तराई झरे ।पहाडका गाउँहरू उराठ पखेरामा फेरिए । जहाँ कोइली पनि विरहको भाका मात्र सुसेल्छ । गाउँका पखेरामा फुलेको गुराँस टिपी लगाउने युवतीहरू त्यहाँ छैनन् । मेलापात गर्ने भाउजूहरू छैनन् । दुवाली थुनेर माछा मार्ने हामी केटाहरू छैनौँ । रत्यौलीको भाका हाल्ने गाउँको आर्गानिक म्युजिक टिम अरबमा ऊँट चराउँदैछ । फेसबुकबाट नेतालाई गाली पनि गर्दै होला ।

बुढा बा घरि चुहिने छानु हेर्छन्, घरि छोराछोरी आउँछन् कि भनि बाटो । बुढी आमा दमले थलिएकी छिन् । गाउँ छोडेर जानेहरू गाउँलाई पाखे देख्छन् । पाउरोटी खान सिकाउँछन् । कहिलेकाँही गाउँ आउने अरबे लाहुरेकी श्रीमती सिमीको झालमा बसेर टिकटक बनाउँछिन् । दुई बोट फर्सी, एक गह्राे साग र एकदुई बोट सिमी रोप्ने जाँगर कसैलाई छैन !

यस्तै छ गाउँको तस्बिर । बेचैनी बनाउने खालको !

कोरोनाले कतिपय सुविधाभोगीहरूलाई गाउँ पुर्याएको छ । नेकपा एमालेको सम्पर्क मञ्चमा बसेको ठुटे नेता गाउँमा पुगेर काँक्रोको अचार खाएको तस्बिर ट्विटरमा पोस्ट गर्दैछन् । अर्का पत्रकार छन् जो सहरमा मनोरञ्जन पत्रकारिता गर्थे । उनी गाउँकै युवतीको तस्बिर पोष्टाउँछन् र लेख्छन् – झन्डै केकी अधिकारी जस्तै लाग्ने बैनीको तस्बिर ।

धन्न यूट्युबेहरूचाहिँ मेरो गाउँमा पुगेका छैनन् ।  ती हुँदा हुन् त मायालु झगडा गरिरहने साइँला दाइको घर पुगेर भाउजूलाई रुन लगाउँदा हुन् र भाइरल ‘कन्टेन्ट’ दिँदा हुन् । साइँली भाउजू आउँथिन् होला रुँदै मिडियामा र भन्थिन् होला– अब सम्बन्धविच्छेद गर्छु ।पच्चीस वर्षसम्म जिन्दगीमा कहिले झगडा, कहिले खुसी, कहिले दुःखी हुँदै बाँचेका साइँलासाइँलीको सम्बन्ध घनिष्ठ छ । चित्त नबुझेको कुरामा उनीहरू चर्काचर्की गर्छन् । ठिक यस्तैबेला यूट्युबे छिरे भने साइँलासाईंलीको जिन्दगी त चौपटै हुन्छ ।

सहरको लकडाउन झ्याउलाग्दो छ । सुत्यो, उठ्यो, फेरि सुत्यो । खासै सिर्जनात्मक बन्न सकेको छैन । कहिलेकाँही यस्तै केही लेखिन्छ । चिया खाइन्छ । हल्का किताब पढिन्छ, त्यही हो । यो डायरीचाहिँ आजको गाउँको कथा हो ।

रसुवाली कवि

विपदमा गाउँघर

कोरोना भाइरस संक्रमणले विश्वलाई थला पारिरहेछ । दैनिक हजार भन्दा बढीको मृत्यु भयो भन्दा मन अत्तालिन्छ । त्यही माथि विश्वका शक्तिशाली राष्ट्रहरुले परास्त गर्न नसकेको कोरोना भाइरस संक्रमण हाम्रो सानो मुलुकमा फैलिए के होला ? निरन्तर यही प्रश्नले झक्झकाइ रहन्छ ।

पेशाले पत्रकार हुँ । चाहेर वा नचाहेर पनि देश भित्र र बाहिर के भइरहेकाे थाहा पाउनु मेरो काम र रूचीभित्रै पर्छ । यतिवेला स्थानीय स्तरमा पनि सानो तिनो भएपनि दैनिक तयारी भइरहेको देख्छु । म पनि डराइ डराइ यिनै दैनिक तयारीबारे निरन्तर सूचना अपडेट लिन्छु । जस्तो सुकै अप्ठेरो पर्दा पनि मान्छेलाई सूचना दिने काम त छोड्नु भएन । विपदमा हाम्रो कामको महत्व झनै धेरै हुने रहेछ ।

म आफूलाई पनि झलझली घर गाउँ र परिवार याद आइरहेको छ । ‘साथीभाइहरु सबै गाउँ फर्किसके, जे जसो भएपनि आफ्नै घरमा सुरक्षित भएर परिवारका साथ बस्नुको मजा बेग्लै छ । तर पेशाको दायित्वले गर्दा त्यो सब देखेर पनि नदेखेझै गरी बसेको छु । मेरो दैनिकी चैं कोरोना भाइरस संक्रमण रोकथामका लागि कसले के गर्दैछ,  स्थानीय सरकार र यिनका कमी कमजोरीमा प्रश्न गर्दै वितिरहेको छ ।

अहिले बजार सानसुन छ ।गाउँघरमा निकै चहलपहल बढेको छ । छोडेर गएका घरहरु टालटुल गर्दै खेतीपातीमा व्यस्त भएकाे गाउँघरको तस्वीर साथीभाइहरुले सामाजिक सञ्जालमा हाल्दा म आफैँ पुर्ख्याैली गाउँघर पुगेको अनुभूति गर्दैछु । विदेशीएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुले पनि आफ्नो पुर्ख्याैली गाउँघर सझिरहेकाे देख्छु । रमाइलो लाग्छ । बुढापाकाले धानेको गाउँघर, आफ्ना छोराछोरी जन्मस्थल सम्झिएर आउँदा कति खुसी होलान् । सम्झीदा नै मन दंग हुन्छ !!

यो विपदको बेला शहर पसेकाहरुले पुर्ख्याैली घर सम्झने प्रचलन हाम्रो लागि नौलो होइन । ०७२ सालको महाभूकम्प, नाकावन्दी लगायत प्राकृतिक विपदका बेला गाउँघरले शहर पसेकालाई राम्रै गुन लगाएको छ । रोजगारका लागि गाउँ छाेडेका मेरा धेरै साथीभाइहरु छन् । म आफै पनि एक हुँ । दुई चार पैसा हुनासाथ बजार पस्ने प्रवृत्तिवाट हाम्रो गाउँघर पनि अछुतो छैन । सरकारी विद्यालयहरुमा पठनपाठन दिनहुँ खस्किदै छ । आफ्ना छोराछोरीलाई राम्रै विद्यालयमा पढाउनका लागि नचाहदाँ नचाहदै पनि हामी शहर पसिरहेकै छाै । 

याे सब सोचि ल्याउँदा मन खिन्न हुन्छ । पत्रकार भएकले थिती बेथितीका धेरथोर कुरा थाहा पाउँछु । विपदका बेलामा काम गर्दा मनमा दुवै किसिमको भाव हुँदो रहेछ । खुशी पनि दुखी पनि । यतिबेला कोरोनासँग लड्नको लागि दक्ष जनशक्ति छैन, पूर्वाधार छैन, सरकारसँग ठोस योजना छैन, आवश्यक तयारी छैन भन्ने सब कुरा थाहा पाइसकेपछि पनि केही हुन्न भनि चित्त बुझाउन गाह्रो हुँदोरहेछ ।  

म लगायत सबै नेपालीहरु यतिबेला भगवान भरोसामा बाँचेको जस्तै लाग्दैछ । यस्तो अवस्थामा म जस्ता धेरै नेपालीहरु सरकार भन्दा पनि आफ्नै गाउँघर सम्झिरहेका छन् । सुखको बेला पुर्ख्याैली थलोको नाम लिन लजाउनेहरु आज विपदको बेला सुरक्षाको लागि पुर्ख्याैली थलो पुगेका छन् । पुर्ख्याैली थलोलाई विपदको बेला मात्र होइन अरू बेलामा पनि सम्झिए गाउँघर सधैं गाउँघर जस्तै हुन्थ्याे होला ! शहरमा छोराछोरी बोर्डिङ पढाउँदैमा, एक फ्ल्याट घर, दुई चार पैसा रिमिट्यान्सबाट आउँदैमा प्रगति र समृद्धि हुँदैन भन्ने पाठ यो कोरोनाले पनि सिकाइसक्याे । अलिकति मात्र शहरिया सोच बदल्ने हो भने त्यो उजाडिएका गाउँघर फेरि सधैँ हराभरा र रमणीय बन्छ होला !!   

आस गुरुङ

पत्रकार, लमजुङ

एलिनाको डायरी

मलाई लेख्ने मान्छेहरु औधी मन पर्छन् । मैले पनि लेख्न सकुँ भन्ने सधैं लाग्छ । तर मेरा लेखाइहरु मेरो दिमागमै मात्र घर बनाउँछन् र बाहिर निस्किन मान्दैनन् ! यस्तो हुनुमा दुइटा कारण छन् । मुख्य कारण, म अल्छी छु । अर्को चाहिँ मैले थुपारेका डायरीका चाङहरुमा राम्रै कुरा मात्र भर्ने चाहना ! 

यही दुई कारणले मेरा डायरीहरु धेरै एक्लिन्छन् । उनीहरु रिसाएर आक्रमण गरे भने मलाई थिच्न सक्ने गरि मनमा कुरा थुप्रिएका छन् । तर डायरीहरु रिसाउँदैनन ! दुख, सुख,आक्रोश,प्रेम जे प्रकट गर्नुस् या नगर्नुस् चुपचाप सुनिरहन्छन्  । प्रश्न उठाउँदैनन् । बरू सम्झना राखिरहन्छन्। त्यसैले त डायरीलाई साथी भनिएको होला ?

आज लकडाउनको एघारौं  दिनमा म मेरो ‘साथी’लाई मेरो कोठाको चार पर्खाल बाहिर लैजादै छु। मलाई मान्छेहरु र लेखहरुभन्दा पनि अति प्रिय लाग्ने प्रकृतिसंग भेट गराउन । प्रकृतिसंगको मेरो पहिलो भेट होइन । तर field note मा लेखिएका केही प्रजातिका नाम र केरमेट बाहेक मेरो डायरीको लागि भने यो पहिलो भेट हो । 

आज म उठ्दा पर क्षितिजमा आकाश रङ्ग फेर्दै थियो । गुलाफी,रातो अनि सुनौलो भएर । बिस्तारै घाम उदायो अनि देखिन थाले उत्तर तिर अन्नपूर्ण हिम श्रृङ्खलाहरु । सुन्दर सेता हिमाल हेर्दै गर्दा घर पछाडिको नाङ्गो सिमल को बोटमा एक हुल बस्तुबकुल्लाहरु आएर बस्न थाले । सिमल पनि अब ढकमक्क भयो  । अलि पर नुघेका बाँसहरुमा सुसेलिन थाले जुरेली र चिबेहरु ! गाडीहरुको आवाज गुन्जिने यो शहरमा अहिले चराहरुको चिर्बिर स्पष्ट सुनिन थालेको छ दिनमा पनि ।

घाम अब डाँडाबाट आकाशमाथि पुगिसकेको छ । न्यानो लाग्दैछ चैते घाम पनि ! अब बारी मा फुर्फुर गर्दैछन् रंगीचंगी पुतलीहरु । नजिक गए केही तस्वीर लिने आशामा । अनि देख्न पाँए परबाट आँखाले नभ्याएको सुन्दर धनिया र सोंपका फुल बुट्टाहरू । तिनै फुलहरुमा चर्दै गरेका माहुरी र कमिलाहरु । त्यस्तै निस्फिक्रि उडानमा छन् घामकिरीहरु ।

साँझ पर्यो , अब पश्चिमतिरको आकाशको रङ्ग फेर्ने पालो । बिस्तारै जून, तारा देखिन थाले  । अहिले त शहर छिट्टै अस्ताउने भएकाले होला यी ताराहरु पनि आइपुगे झै लाग्दछ ।सानो हुँदादेखि नै हेर्ने गरेका यी जूनतारा light pollution ले नहराउन् !

शब्दमा आज यति मात्र उतारेपनि lockdown सुरु भएदेखि र फुर्सद भएसम्म अरुबेलाका मेरा दैनिकी यस्तै यस्तै हुन्छन् । तपाईंहरु पनि फोनको स्क्रिनबाट बाहिर निस्केर यसो नियाल्नुहोस न है !  तपाइको वरिपरि, unedited , विना filter का सुन्दर raw दृश्यहरुले तपाईंहरुलाई पर्खिरहेका छ्न् ।

एलिना आले

पोखरा 

उडिरहने मन

 म पनि घरभित्रै कहिले छत, कहिले भित्र गरिरहन्छु । भित्रै बसेका बेला “हेर्ने कथा ” का छुटेका अंकहरु हेर्छु । हिजोआज सबैले विभिन्न ठाउँबाट आफ्ना मनका भावनाहरुलाई लकडाउन डायरीमा प्रस्तुत गरेको देख्दा मलाई पनि रहर लाग्यो । तर डायरी लेख्ने बानी नभएर कसरी  सुरु र अन्त्य गर्ने अन्योलमा परे । तरपनि मेरो सानो कोसिस “मन”।

सदा झैँ सडकमा कुद्ने यातायात ठप्पै छन्। आकाशमा उड्ने कयौ जहाजहरु थन्किएका छन्। बाटोमा आ- आफ्नो गन्तव्यतिर भौतारिने मानिसहरुको भिड पातलो भएको छ। धुवा धुलो मडारिएको कालो आकास धेरै पछि खुलेको छ। आफ्नो वास्तविक रुप आकाशले बल्लबल्ल पाएको छ। मानौ प्रकृतिका हरेक वस्तुहरुआफ्नै स्वरूपमा फर्किन पाएका छन् ।  कयौ साल समय र परिस्थितिले साथ हुन नपाएका मानिसले पनि एकअर्कालाई नजिकबाट बुझ्ने र संगै भएको महसुस गर्न पाएका छन् । धेरैका छोराछोरीले आमाबुवाको न्यानो काख र माया पाएका छन्। बुढाबुढी, बाआमाले पनि  छोराछोरीको साथ पाएका छन्। अरुकाे हेरेर देखेर चित्त बुझाउँछु ।

मेरा पनि  खुसी,साथ, माया मोहका हजारौ चाहना र रहरहरु छन्। यी रहरहरु असिमित छन्। त्याे निलो आकाशमा पंक्षी उडे झैँ मेरो मनले आफ्नै लय र सुरतालमा उडान भरिरहेका छन्। बसन्त ऋतुको फुलसरि फुलिरहने मन छ । कहिले बतासको बेगसंगै टाढाटाढा उड्ने मन छ। कहिले नबिन पालुवा झैँ लहराउने मन छ। बसन्त ऋतुको प्यारो मान्छे म ।

यो मन कहिले माइती घरको आँगनीमा,कहिले कर्म घरको सेरोफेरो डुल्छ । पहेंलै फुलेको प्याउली अनि सेताम्य बनमारा अनि खेतका गह्रा गह्रा, डाडाँपाखा सबैतिर उडीरहन्छ मन । कहिले सात समुन्द्र पारी उही परदेसीको साथमा हुन्छु । आमाबाबासंगै लामो समय भलाकुसारी गर्ने इच्छा पनि छ।  सासु ससुरासंगै गाउँ घरकै पेटीमा बसेर दु:ख सुखको बात मार्ने धोको छ । दिदिबहिनी, दाजुभाइ, भाउजुबुहारी सबैसंग दिल खोलेर हाँस्ने दिन पर्खिरहेकाे छु । याे बेलामा सबैलाई सम्झिदों रहेछ । कलेजका साथीहरुसंगको सम्झना पनि गाढा भएको छ । उनीहरुसंग आफ्नो वास्तविक उमेर बिर्सेर एकफेर फेरि हाँस्न, रमाउन मन छ ।

यो मनको के कुरा गर्नु, अमूल्य र अविस्मरणीय पलहरु यादगार बनाउने चाहना झनै ठूलो छ  । जीवनसाथीसंग समय,परिस्थिति र जिम्मेवारीले गर्दा टाढा छाैं । यो दुरी चाडै घटाउनु छ। हाम्रा मायाका थुंगा थुंगा  संगालेर राखेकी छु, त्यसलाई सिंगो माला बनाउनु छ। सन्तानको भविष्य सुन्दर बनाउनु छ, मायाको सानो संसारलाई स्वर्ग बनाउनु छ।  बिछोडका यी दिनहरुमा झरेका आँसुहरुलाई हाँसोमा बदल्नु छ। नयनमा नयाँ सपनाहरु सजाएको छु, त्यसलाई साकार पार्नुछ। 

मन चञ्चल छ, बेचैन छ, हजारौ सवालजबाफ तछाडमछाड गरिरहन्छ । कहिले भविष्यमा पुग्छ । कहिले विगतमा । वर्तमानमा त परदेशी परदेशमै छन् । माइतीको आँगनी शून्य छ । घर रित्तै छ । मन त के उडिदिए भो !

सिर्जना लामा

स्वयम्भु, काठमाडौँ

समयको ब्यालेन्स

चैत १० गते बिहान अफिस गएँ । कोरोना भाइरसको डरले करिब ४/५ दिनदेखि सार्वजनिक यातायात चढ्न छोडेको थिएँ । छोराको क्याम्पस छुट्टी भएकाले म स्कुटीमै अफिस गएँ । अफिसमा उति चहलपहल थिएन । आवश्यक सेवामा नपरेको कार्यालय हुनाले ग्राहकको उपस्थिति थिएन । कर्मचारीहरू आफ्नो कोठामा खुम्चिएर रहेका थिए । न कामको चाप थियो, न काम गर्ने मुड । मैले केही पुराना डकुमेन्ट अध्यावधिक गर्न खोजें । मनमा अनेक कुरा खेलाउनुभन्दा काममा लाग्नु राम्रो भनेर म व्यस्त हुन खोज्दै थिएँ । यत्तिकैमा विदेशबाट नेपाल आइपुगेकी एक किशोरीमा कोरोना संक्रमणको पुष्टि भएको खबर आयो । मन चिसो भयो । नेपालमा पनि कोरोना आउँछ भन्ने थाहा त थियो र त्यो महसुस भइसकेको थिएन । थाहा हुनु र महसुस हुनुमा यही त फरक छ !

अपराह्न मौसम बदली भयो । चैतको महिना भए पनि बदली र झार्रझुर्र पानीले मौसम चिसै थियो । त्यो दिनको बदलीले त मनै अँध्यारो बनायो । मलाई अफिस बस्नै मन लागेन । सिनियर सरलाई जानकारी गराएर म झोला प्याक गर्न थालें । घरमा बस्दा चाहिन्छ भनेर अरू बेला अफिसमा छोड्ने गरेको ल्यापटप र केही पढ्ने सामग्री बोकें र पाँच बज्नु केही बेर अघि नै घर लागें । कोरोना संकटमा घर बाहिर हिड्न मन नलागेकोले पर्सिपल्टबाट बिदा लिउँ जस्तो पनि लागेको थियो । तर भोलिपल्टबाटै लकडाउन सुरू भइहाल्यो । 

लकडाउनको अवधि फेरि थपियाे । मैले सोचें, यो लक डाउनको डायरी लेखेको भए पनि त हुन्थ्यो नि । तर डायरी पनि के लेख्‍नु । सधैं उही त छ । लकडाउनपछि मेरो उठाइ ढिलो भएको छ । बिहान उठ्नका लागि राति एउटा प्रेरणा लिएर सुत्नुपर्छ । त्यही प्रेरणाले त बिहान आँखा मिच्दै उठाउँछ । यो नै सक्रिय मात्र नभई सामान्य जीवनको पहिचान हो । तर कोरोनाको कारण मनमा कुनै तिख्खर प्रेरणा जन्मेको, हुर्केको छैन । उत्साहहीन यो समयमा अहिले रात लामो भएको छ, दिन लामो भएको छ । उही पुरानो २४ घण्टाले अहिले विराट स्वरूप धारण गरेको छ । कोरोनाको कारण अहिले शायद समयको ब्यालेन्स कम तर कारोबार र खर्च बढी भइरहेको छ । समयको फजुल खर्च । बरू पढेर, टेलिभिजन र फिल्म हेरेर समय काट्न सक्ने भएकोले मलाई यो समयको फजुलखर्ची गर्न केही गाह्रो छैन । हिँडडुल र गफगाफ गर्न बानी परेकाकाे लागि त यो बन्दी जीवनभन्दा कम छैन होला । फेरि, त्रसित बन्दी हुनुजस्तो कष्ट अरु के होला ?

बिहानी पत्रिकाबाट सुरू हुन्छ । कोरोनाको डरले पत्रिकालाई पनि एकछिन घाममा सुक्न दिन्छु, अनि मात्र ल्याउँछु । कोरोनाको समाचार पढ्छु । मृत्युको बजारमा त्यसको एकछत्र राज भएको जस्तो देखिन्छ । नेपालको तयारी पढ्छु । कहिले आश लाग्छ, कहिले लाग्दैन । कोरोनाका बिरामीका लागि अस्पतालमा आइ.सी.यु. र आइसोलेसन बार्ड थपिएका छन् । थप भेन्टिलेटरको व्यवस्था भएको छ । चीनबाट स्वास्थ्य उपकरण लिएर हवाइजहाज काठमाडौं आइसकेको छ । यी कामले आशा जगाएका छन् । फेरि अर्कोतिर, बिरामीका लागि कतिपय अस्पतालका ढोका बन्द भएका छन् । डाक्टरले सामान्यतया जोखिमयुक्त बिरामी मान्ने गरेका रूघाखोकीका बिरामीले उपचार पाउन सकस भएको छ । अरु बिरामीले पनि उपचार पाउन नसकेकाे खबर सुनिन्छ । यस कुराको समाधान हुन्जेल कतिले अन्तिम सास फेरिसकेका हुनेछन् । यो निराशाजनक छ । तर म अहिले कसैलाई दोष दिन पनि चाहन्न । 

यो फुर्सदमा किताब पढ्न खोज्छु तर सकेको छैन । अहिले मलाई जुन ज्ञान चाहिएको छ त्यो कुनै लेखक चिन्तक र दार्शनिकको कृतिमा छैन । कमसेकम मसँग भएको किताबमा त छैन । अनि किन पढिरहनु त्यो ? कहिले किताब बदलेर पनि हेर्छु । १/२ पेज पढ्यो, कि दिक्क लाग्छ, कि निद्रा । दुवै लागेन भने पनि मलाई त्यो काम नै निरर्थक लाग्छ । कोरोनाको छायाँमा सबै अक्षर र शब्दहरू शक्तिहीन महसुस हुन्छ । भयले सुकेको जिब्रोमा के स्वाद रहोस् ?

किताब फ्याँकेको हातले टेलिभिजनको रिमोट पक्डन्छ । नेपाल र भारतका विभिन्न च्यानल हेर्छु । आफूलाई पछ्याउँदै आएको मोटरलाई ड्राइभरले लुकिङ ग्लासबाट हेरे झै म टेलिभिजनको काँचमा कोरोनाको गति हेर्छु । मृत्युले छोडेको अश्वमेघ यज्ञको त्यस घोडालाई अहिलेसम्म कुनै वैज्ञानिकले पक्डन सकेका छैनन् । कतिले मृत्युवरण गरिसके, कति मृत्युशैयामा छन्, कति त्राहित्राही भएर घरभित्र लुकिरहेका छन्, कति कोलाहल गरेर आफ्नो थातथलो फर्कैदै छन्, कैयौ मानिस लकडाउनबाट सिर्जित आर्थिक/सामाजिक परिस्थितिका कारण बेसहारा बनी सडकमा आइपुगेका छन् । त्यस महासमरमा विजय भएर जीवनलाभ गर्नेहरू पनि प्रशस्त छन् तर तिनको सफलताले मेरो नसामा उत्साह सञ्चार गर्न सकेका छैनन् । म फेरि आजित भएर च्यानल फेर्छु । न सत्यको भुइँ, न आदर्शको आकाश, कतैतिर पनि गति र दृष्टि नभएका सिरियल मलाई मन पर्दैनन् । पाकिस्तानी सिरियलले मेरो मनमा बनाएको ठाउँ आज पनि तिनकै लागि सुरक्षित छ । तर ती सिरियल कहाँ छन् मलाई थाहा छैन । बरू मलाई फिल्ममा रुचि छ । एकपछि अर्को गरेर ‘बाला’, ‘ड्रिम गर्ल’, ‘आन्धाधुन’, ‘हिन्दी मिडियम’ र ‘रजनीगन्धा’ नामका पाँच फिल्म हेरें । महाभारत पनि श्रृंखला-४ सम्म पुगेको छ । कोरोनाका त्रासका कारण यी मनोरञ्जनका साधनको पनि स्वतन्त्र अस्तित्व सकिएको छ ।यी बस् कोरानाजनित मानसिक पीडा घटाउने अफिम जस्ता घटिया उपाय मात्र भएका छन् ।

नशा हो र केही अर्थमा विषको नशा हो भन्ने थाहा हुँदाहुदै पनि सामाजिक सञ्जालको दुर्व्यसन यो लकडाउनमा बढेको छ । चाहिने/नचाहिने सूचना यही छन्, आफन्तसँग सस्तो (यस्तो वेला पनि सस्तो चाहिएको छ!) र सजिलो सम्पर्क यहींबाट हुन्छ अनि आफ्नो भडास यहीं निर्वाध पोख्‍न पाइन्छ । हरेक पल हातमा मोबाइल हुन्छ र हरेक दश मिनटमा त्यो हेर्न मनलाग्छ । यो रोक्न पनि सकिन्थ्यो होला । यो वेला न अरूसँग कठोर हुन मन लागेको छ, न आफैंसँग । अहिले पौडने हिम्मत घट्दै गएपछि तैरिने रणनीति बनएको छु । खोलाको धारले जहाँ पुर्‍याउँछ, त्यही गन्तव्य । तैरिन पनि नसके त कुरै अर्को भयो । यही दुर्व्यसन अहिले साँचो दैनिकी भएको छ । सामाजिक सञ्जालमा उपलब्ध केही सामग्रीले त रुन्चे हाँसो नै सही, हँसाएका छन् । साँझ म, पत्नी र दुई छोरा मिलेर एकछिन तास खेल्छौं । मैले दिनभरि गरेका काममा अहिलेका लागि अलि गतिलो काम यही हो । र, यो दैनिकीमा हामी निकै अभ्यस्त हुनुपर्ने देखिन्छ । मनले अनेक सोच्छ । यो उसको कमजोरी होइन, विशेषता हो । लकडाउनबाट सिर्जित फुर्सदिलो दैनिकीमा मन बाहेक अरू अवयवको खासै काम पनि छैन ।

मनमा भएको त्रासले समय समयमा तातो पानी खान उठाउँछ, साबुनपानीले हात धुन पठाउँछ । घरमा बसेर रोगबाट बच्न प्रेरणा दिन्छ । फेरि सम्झन्छु मर्कल, चार्ल्स र बोरिस जोनसन ! यिनले हात धोएनन् होला कि, भीडबाट बचेनन् होला कि ? तातो पानी खाएर, हात धोएर अनि घरमै बसेर रोगबाट बचिने होला त ? मन निराश हुनपुग्छ । तर पनि हिम्मतसाथ अघि बढ्नुको विकल्प छैन । जानेका र अह्राएका सबै उपायको अवलम्बन गर्नुमै हाम्रो कल्याण छ । आगे उपरवालाको मर्जी !!!

फुर्सदमा फेरि भेटौंला !!!
२०७६ साल चैत १७ गते ।

केदारप्रसाद आचार्य

समयले छुटायो परदेशले सिकायो

सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, बर्षौ छुटे यहाँ….अझै छुट्दैछन । न रोक्ने अधिकार छ मलाई न आदेश दिन र तगारो हाल्न नै सक्छु …..बर्षौपछि आफैलाई आज कोल्टे फर्कि हेर्न मन लाग्यो।

छुटे त्यो बालापन, छुटे ती कबड्डी, अनि काठका खेलौना, छुटे ती क ख ग घ सिक्ने कालो पाटी, छुटे मेरा चकचके उत्ताउलो पन । 

यहाँ सम्म आउँदा म ठूलो भइसकेछु। फेरि छुटे ती पानिले भिजेका पिढीं, छुट्याे खरको मेराे सानाे झुप्रो, छुटे दौंतरी नातागोता, छुटे अठार धुरे मेरो गाउँ, छुटे श्रीमती उसको पेटको बच्चा, छुटे नेपाल आमा छुटे जन्म दिने आमा पनि…..सबै छुट्दै छुट‌दै यहाँ सम्म आउँदा म परदेश हिँडिसकेछु । 

समयले छुट्ने छुट्दै गए । बाध्यताले छुट्ने सम्झनाका छाप बनेर छुटिरहेँ । म टुलुटुलु हेरिरहेँ ।  उनीहरू छुटिरहे, म हेरिरहे म हेरिरहे …..

एक छिन ल ! म अलिक लामो श्वास लिन्छु । कोल्टीदा त म निकै पो हराए छु त ! हेर्नुस् न, परदेशीएको पनि निकै भइसकेछ । पेटमा छाडेको छोरा भेट्नै नपाइ ठूलो भइसक्याे। बाबा आमा पनि निकै उमेर खाइ सक्नुभयो । 

परदेशले मलाई धेरै सिकाएको छ। परिश्रमी बन्न सिकायो । परिवार, समाज, देश प्रतिकाे जिम्मेवारी सिकायो । समयको सही उपयोग गर्न सिकायो । दुई पैसा कमाउन सिकायो । दुई पैसा बचाउन पनि सिकायो । सामाजिक काम गर्न पनि यही परदेशले नै सिकायो । परदेशमा आपत बिपतमा परेका नेपालीहरुलाई अलिकति भएपनि सहयोग गर्न सिकायो यही परदेशले……खुशी पनि लाग्छ परिपक्व बन्न यही परदेशले त सिकाउँदै छ मलाई।

ए साँच्चि मलाई उद्यमी बन्न पनि यही परदेशले नै सिकाएको छ। नेपालमा दाइहरुसंग मिलेर सानो तिनो काम सुरू गरेको छु । सेयर बजारमा र लगानी गर्न पनि सिकेको छु। नेपालमा श्रीमतीले गर्ने जीवन बिमाको काममा पनि सक्दो सघाउँछु ।  गर्न खोज्नेलाइ परदेश मै रहेर पनि उद्यम,व्यबसाय गर्न सकिने रहेछ भनेर मै पनि सिक्दै छु । हजुरहरुलाई पनि उत्साह दिन चाहन्छु ।

टिङटङ मोबाइलको घण्टीसंगै बिहानै उठ्यो काम मा गयो । दिन भरको कामको थकान खायो। कहिलेकाँही त गर्दै नगरेको गल्तिको पनि थकान माथि बोक्नै नसक्ने गालीको भारी बोकाइ पठाउँछ। 

बेलुका घरमा कुरा गर्नै पर्यो। 

उता बाट …… के छ खबर ? सन्चै हुनु हुन्छ ? 

काम को थकान माथि अघिको गाली को भारीले रिङ्गटा छुटाएको बेला आफैले आफैलाई ढाक छोप गर्दै मलिन स्वरमा म ठिकै छु ……यस्तै हो, सायद सबै परदेशीहरूको उत्तर । ठिक छु नभनौँ भनेपनि परिवारले चिन्ता गर्लान् र फेरि अर्को भारी बोक्नु पर्ला । काम नगरौं चुलो बल्दैन । यस्तै यस्तै परदेशीको पिडा ।

परदेशमा मन भुलाउने, सुख दुख साट्ने हाम्रो फेसबुक ग्रुप,म्यासेन्जर ग्रुप बनाएका छौं।दुख सुखको कुरा हुन्छ, हाँसी मजाक मनग्य चल्छ। सूचना ओसारपसार गरिन्छ।आबश्यक जानकारी लस्करै लाइन लाग्छ ग्रुप मा। ग्रुप मा सहभागी हुनु,थकान मेटाउनुको मज्जा बेग्लै छ हामी परदेशीहरूको।

प्रत्येक हप्ता छुट्टीमा सांगितिक, धार्मिक, सामाजिक काममा भेट हुने हामी परदेशी त्यो पनि महामारी कोरोनाले बछिट्टै बनाइ दिएको छ । परदेशमा झनै एक्लो बनाइदिएको छ।

यसरी नै छुट्दैछन कोरोना पिडित परदेशीका जीवन …….।

ल त आजलाई यत्ति नै । ड्युटी जाने बेला भयो नत्र भरे फेरि चुलो बल्दैन।

बाँकी भेटमा कफीको स्वादसँगै गफिँदै कुराको बिट मारौला …….।

म गए हजुर बस्नुस ल ।

नमस्कार 

दाउत राई

कुवापानी, मोरङ हाल दक्षिण कोरिया 

कोरोनालाई बहिस्कार गरौं

मेरो नाम मनिस खत्री हो । म रैनादेवी छहरा ४ दागिलबाट । 

हरेक दिन फरक फरक तरिकाले लगभग एक्लै समय बिताउनु पर्थ्यो । तर लकडाउनको बेला भने सबै परिवारसंग घरायसी काम गर्दै रमाउँदै बिताउँदैछु ! गाउँमा भएकोले गर्दा घरमा अघिपछि हुने भन्दा धेरै कामहरु गरिरहेका छौ! साँच्चिकै यो लकडाउनले परिवारको माया र ममता धेरै बढाएको छ ! परिवारसंग समय बिताउन यो लकडाउन मेरो लागि रमाइलो पल बनेको छ! 

तर यति  हुँदा हुँदै पनि कोभिड १९ ( कोरोना भाइरस) बाट मृत्यु भइ दु:खमा बिचलित भएको परिवार र देशलाई भने म कदापी बिर्सिरहेको छैन! हरेक पटक अनलाइन न्युज र रेडियो सुनिरहेको हुन्छु! हामीले आफ्नो गाउँमा कोरोनालाई आउन नदिनको लागि निरन्तर प्रयासहरु गरिरहेका छौ ! गाउँघरमा सचेतना मुलक जानकारीहरु दिदैछाै । 

हाम्रो समाज भन्दा टाढा देश बिदेशमा रहनुभएका इस्टमित्र, दाजुभाई तथा दिदिबहिनीहरुलाई म भनिरहन्छु कि “कृपया तपाईहरु बिचलित नहुनुहोस, केही नहुँदा सम्म केही हुँदैन! त्यसैले तपाईहरु जहाँ हुनुहुन्छ त्यही बस्नुहोला । हतार गर्यो भने झन् तपाईं र अरु धेरै मानिसको ज्यान जान सक्छ! हो हामी सबैलाई थाहा भएको कुरा तपाईहरु एकदमै आत्तिनु भएको छ तर आत्तिएर समस्याको समाधान हुदैन! लकडाउन खुल्ने बित्तिकै आत्तिएर परिवार भेट्न नआउनुहोस किनकी लकडाउन खुले पनि कोरोना भाइरसहरु बाटोमा तपाइलाई कुरेर बसेका हुन सक्छन्!  तपाईले घर आउँदा कोरोना लिएर आउनुभयो भने सम्झिनुहोस त तपाइको परिवारमा कत्रो दुर्घटना हुन सक्छ! त्यसैले बरू जहाँ हुनुहुन्छ , त्यही बसेर कोरोना भाइरसलाई बहिस्कार गरौ! साबुन पानीले नियमित हात धौउ! हाँच्छिउ गर्दा नाकमुख राम्रोसंग छोप्ने गरौ ! !” 

मनिस खत्री

खोइ सुरुवात पो कसरी गरुँ

म जस्तै लाखौं परदेशीहरुको व्यथा एउटै छ। झन् यो अवस्थामा मलाई जस्तै अरुलाई पनि त भयो होला। युएई को दुबईमा आएर निर्माण कम्पनिमा लागेको पनि छ बर्ष हुन लाग्यो। थुप्रै सपना बोकेर अरु लाखौं युवाजस्तै खाडी छिरेको पनि डेढ दशक हुनै लाग्यो। कहिले कतार, अहिले युएई। 

यहाँको अवस्था लगभग सामान्य जस्तै छ। सबै सतर्क छन्। थुप्रै सेवा प्रदायक कम्पनि लकडाउनको मारमा छन् । कैयाैं मित्रहरु बेतलबी बिदा बसेका छन। निर्माण कार्य रोकिएको छैन तर उच्च सतर्कताको साथ। सरकारी निकायको कडा निगरानी छ। नियमित स्वास्थ्य परिक्षण हुन्छ। हजारौं कामदार दिन र रातको सिफ्टमा काम गरिरहेका छन। कामदारहरुको स्वास्थ्य र सुरक्षाको जिम्मेवारी हाम्रो निकायको छ । त्यसैले पनि हरेक ग्रुपहरुमा जानुपर्छ। उनीहरुको समस्या हेर्नुपर्छ। यसरी धेरै मान्छेहरूसँग प्रत्यक्ष सम्पर्क गर्नु पर्ने भएकाले संक्रमण हुने खतरा मलाई झन् बढी छ। तैपनी म, सतर्क छु र बढो सावधानीपूर्वक काम गरिरहेको छु । यहाँको पुर्वाधार र स्वास्थ्य सेवा र तयारी प्रति पनि मलाई विश्वास छ । यहाँको आकस्मिक स्वास्थ्य सेवाको बारेमा धेरै नजिकबाट बुझ्ने अवसर पनि पाएको छु र सहकर्मी मित्रहरुलाई बुझाउने पनि गरेको छु। 

यहाँको प्रेस मिडिया सरकारको निगरानीमा भएकाले भ्रामक समाचार र गलत तथ्यांक र सूचना प्रेषित गरे कडा कार्यवाही हुन्छ। यहाँसम्म कि तपाईंको आफ्नै गाडी दुर्घटना भयो र सामान्य डेन्ट मात्र भएको फोटो खिचेर सामाजिक संजालमा हाल्न पनि पाउनु हुन्न। उता आफ्नो देशमा चै नानाथरीका भ्रामक समाचार, व्यंग्य हेर्दा दिक्क पनि लाग्छ। 

परिवारको चिन्ताले राम्रोसंग निद्रा पनि लाग्दैन। नेपालमा कोरोनाको महामारी ह्वात्तै देखियो भने के होला? सम्झेर आत्तिन्छु । न त कुनै गतिलो पूर्वाधार छ। न आकस्मिक सेवा नै । सामान्य रुघाखोकीको बिरामीले पनि उपचार पाउँदैनन्। झन् कोरोना आशंका गरिएका बिरामीको हाल के होला । नीजि अस्पतालहरूले सामान्य रुघाखोकी निमोनियाका विरामी पनि नलिने खबर सुनेर डराएको छु । सरकारलाई दोष दिंदा र यो वृत्तान्त प्रकाशित गर्दा कतै हेर्ने कथा नै कारवाहीमा पो पर्ने हो कि?

नेपाली समाज फेरिंदै छ। नैतिकता बिस्तारै हराउँदै छ। संकटको अवस्थामा पनि निजि स्वार्थपुर्तिको लागि कालाबजारी जिब्रो काडेर बसेका छन। हुन त थुप्रै बंद, हडताल, चक्का जाम, संकटकाल, नाकाबन्दी संग जुधेको हामी सहनशिल नेपाली हो। तैपनी सोच्न बाध्य छु, दैनिक ज्यालादारी गर्ने मजदुरहरुको अवस्था कस्तो भएको होला? भारतीय सिमानामा अलपत्र हाम्रा नागरिकको जिम्मा कस्ले लिने? 

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

हरि रावत

दुबई, युएई 

भोकले मर्नु नपरोस्

 म रातको खाना खाएर आराम गर्ने कोठाको झ्याल छेउमा बसेर बाहिर हेरिरहेको छु। चिसो हावा चलिरहेको छ। वरीपरी सुनसान छ। किराहरू कराएको र पर पर कुकुर भुकेको आवाज सुनिदै छ । जून लागिरहेकै छ।

मेरो मनमा अनेक कुराहरू  खेल्दै छन् । गाउँबाट आमाले बारम्बार बाबु लकडाउन छ कोठा बाहिर नजानु । सब्जि किन्न जाँदा माक्स लगाउनु भनेर सम्झाउनु हुन्छ। फोनमा आफ्न्तसॅग पनि त्यही कोरोनाबारे कुरा हुन्छ। हिजसम्म कसैलाई फुर्सद थिएन बिगत सम्झिने ।  सब जिन्दगीको तछाड मछाडमा थिए । तर हिजआज मानिसहरू पुराना दिनहरू सम्झिदै फेसबुकमा पुराना फोटो हाल्ने र कमेन्ट गर्ने गर्दैछन् । कोही सामाजिक सञ्जालमा किताबको फोटो हाल्छन । कोही कोरोना सम्बन्धि समाचार सेयर गर्छन्। कोही भने चामलका दाना गन्ने र झुलका दुलो गन्ने काममा लागेका लागेका छन् । जे होस् सबैजना केही न केही रमाइलो गरेरै दिन बिताउँदै रहेछन् जस्तो लाग्छ ।  

मेरो भने मनभरी अनेक प्रश्न खेलिरहेका छन् । सिमापारी अड्किएका नेपालीको कस्तो हालत होला ? भनेर कल्पन्छु ।  घर नहुने मागेर खानेहरू कता गएर बसे होलान्? बिदेशमा नेपालीहरूको हाल के होला? यस्तै प्रश्नहरूले मन भारी छ ।  हरेक दिन कोरोनाले मान्छे मारिरहेको खबर आउँछ । नेपालमा पनि दिनकै नयाॅ सॅक्रमीत फेला पर्दैछन् ।

यो बेलामा पनि  भ्रष्टचार भयो भन्ने सुन्दैछु । याे खबर सुनेर निकै दुःख लागेको छ । देशको नेतालाई जनताकसरी जोगाउने भन्ने चिन्ता हुनुपर्ने हो यो बेलामा त ।  कोरोनाको राहत कोषमा आज धेरै सहयोग रकम जम्मा भइरहेको पनि सुनेको छु । डर लाग्दैछ यसको पनि सदुपयोग हुन्न कि भनेर । नेता अझै धनि हुने र गरिब अझै गरीब हुन नपरोस् । यो महामारीको यो संकटको समयमा कसैले नेतालाई सत्बुद्दी दिउन् ।

रोगले भन्दा भोकले मर्नु नपरोस् । भगवानसंग प्रार्थना गर्छु विश्वमा मान्छेको जीत होस् कोरोनाको हार ।

राम बेघा

लकडाउन सदुपयोग गर्न सकिँन कि !

पेशाले म सरकारी जागिरे हुँ । जिन्दगीमा यति फुर्सद कहिल्यै भएन । केटाकेटीमा खेल्न पढ्नका र घरको कामधन्दाले फुर्सद भएन । अहिले जागिरे छु । धेरै सेवाग्राहीको चाप हुने कार्यालय भएकाले यहाँ पनि सधै व्यस्त हुन्छु । 

अहिले यी सबै कुरादेखि टाढा भए पछि जिन्दगीमा नयाँ अनुभव भइ रहेको छ । आफूलाई एक्लो महसुस गरेको छु । सुतेर उठेदेखी पुनः नसुत्दासम्म पनि कोठामै भएको सायद यो जीवनकै पहिलो अनुभव हो ।

जागिर खान थालेपछि कामको व्यस्तताले साथीभाइ र आफन्तसंग नियमित सम्पर्कमा रहन सकेको थिएन । अहिले फेरिएको छ । फोनबाटै भएपनि कुरा गर्दा अहिले नजिकै भएकाे महसुस गर्नु भएको होला । तर आफन्तहरूसंग छुट्टिएर बस्नु पर्दा भने न्यास्रो लाग्दो रहेछ ।आमा गाउँमा, दिदी पुलिसमा, दाजु अर्को देशमा, म फरक सहरमा बस्दा आफन्तदेखि छुट्टिएको महसुस गरेको छु । तर सामाजिक संजाल र फोनले नजिक्याएको त छ । 

जब एकै छिन सोच्छु , गाउँमा आमा के गर्दै हुनुहुन्छ होला ? खाना खानु भयो कि नाई ? दिदि ड्युटीमा हुनु होला, खाना समयमा खान पाउनु हुन्छ हुन्न ? विदेशमा दाइको समय कसरी बित्छ  ? यस्ता प्रश्नले क्षण भरमै सताउँछन, र फोन गरेर समय समयमा बुझ्दछु । मेरो परिवार जस्तै कतिको परिवार लक डाउनमा टाढिएर बस्नु परेको होला ? सबैले यसरी नै सम्पर्क गरि रहनु हुन्छ होला ! गाउँतिर त फोनको घण्टी बज्न डाँडोमा नै जानु पर्ने बाध्यता छ । यस्ता मान्छेका आफन्तलाई कति चिन्ताले पिरोल्छ होला ? यसको मतलब लक डाउनले हामीलाई दुख दियो भन्न खोजेको हैन, यो हाम्रो लागि हो, हाम्रै सुरक्षाको लागि हो । तैपनी त्यस्तो विषम परिस्थितिमा सबै आफन्तसङ्ग सम्पर्कमा रहेको राम्रो हुन्छ । 

जिवनमा सधै धेरै व्यस्त भइरहे ।  कुनै नयाँ काम गरौ भन्दा फुर्सद छैन भन्ने म आज यति फुर्सद हुँदा नि किन केही गर्न सकिरहेकाे छैन । कहिले समाचार हेर्यो, सामाजिक संजाल चलाएर बस्यो, आफन्तलाई फोन गर्यो ,  यसरी नै दिन बित्दै छ । कुनै पनि काम गर्न फुर्सद हैन व्यस्तता नै आवश्यक पर्दो रहेछ कि जस्तो लाग्न थालेको छ । इच्छा शक्ति भएमा समय जति थोरै भए नि मिलाएर काम गर्न सकिने रहेछ । तर म लकडाउनको सही सदुपयोग गर्न नसक्ने मान्छेमा परे जस्ताे लागेको छ । 

म एक पत्रकारको घरमा कोठाभाडामा बस्छु । कसैले मलाई फ्याट्ट हेर्ने कथा कार्यक्रमको बारेमा सुनाइदियाे । अनि मैले सुरु गरे पहिलो शृङ्खलादेखि हेर्न । ग्रामीण परिवेश र पिछडिएको क्षेत्रका मान्छेको जनजीवनमा आधारित कार्यक्रम रहेछ । कतिपय शृङ्खला हेर्दा मेरो आखाबाट आँसु नै रोकिएनन् । त्यो कथाको प्रमुख पात्र म आफै हुँ जस्तो लाग्यो । 

यसबाहेक कहिले आफन्तलाई सम्झेर, कहिले सरसफाइ गरेर, कहिले हेर्ने कथा हेरेर, कहिले किताव पढेर, यसरी नै लक डाउनको समय बितिरहेको छ । 

तपाई आफू पनि सुरक्षित हुनुहोस् र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुस् । 

दिपक बुढाथोकी 

सिद्ध कुमाख गाउँपालिका, सल्यान

हाम्रो परिवारले भोगेको अपमान

विपत्ति र दुःखमा आफ्नो जन्मभूमि सम्झिनु मानवीय स्वभाव हो । कोरोना भाइरसको विश्वव्यापी जोखिम भए पछि मेरो सानीमा चैत्र ५ गते नेपाल आउनु भयो । एयरपोर्टमा मेडिकल चेक तथा परामर्शपछि काठमाण्डौमा ४ दिन बस्नु भयो । सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने भएको हुँदा, उहाँ आफ्नै डेरामा सुरक्षित बस्नु भयो । काठमाण्डौमा आफ्नै घर नभएपछि, सिन्धुपाल्चोक माइती घर आउनु भयो । स्वास्थ्यको ख्याल गर्ने मामलामा ज्यादै सावधानी अपनाउने उहाँको पुरानो बानी थियो । मास्क लगाउने, हात धुने, स्यानिटाइजर लगाउने काम सधै गर्नु हुन्थ्यो । पहिलो दिन सिन्धुपाल्चोक आउने बस धेरै भिडभाड भए पछि अर्को दिनको बसमा आउनु भयो । सिन्धुपाल्चोक घरमा  सेल्फ क्वारेनटाइन जस्तै सुरक्षित भएर बस्नु भयो । उहाँ आफैले विशेष सावधानी अपनाउनु भयो । हामीले पनि अपनायौ । स्कुल कलेज बन्द भए पछि काठमाण्डौ पढ्न बसेका भाइ बहिनी पनि घर आए । परिवारमा लामो समय भेटघाट नभएका सदस्यहरु भेटिएकोमा खुशी छायो । दशै तिहार झै अनुभूति भयो ।  

परीस्थिती बदलियाे । फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखियो । डर र त्रास परिवार, गाउँटोल सबैतिर फैलियो । घरमा भाइ बहिनीलाई सोही समयमा रुघाखोकीले समायो । झन त्रास भो । ज्वरो र सुख्खा खोकी देखिएन । तर त्रास कम भएन । गाउँलेहरु घर आउन र बोल्न छाडे । 

हेल्थपोस्टबाट स्वास्थ्यकर्मी आए । सबैको ज्वरो नापियो । ज्वरो देखिएन । मौसमी रुघाखोकी भने कम हुँदै गयो । सानिमाले ज्यादै पिर लिन थाल्नु भयो । मेलम्ची बजारमा रहेको अस्पतालामा जँचाएर पनि आउनु भयो । कुनै समस्या देखिएन । स्वास्थ्यकर्मीहरुले उहाँलाई नआत्तिन सुझाव दिए । 

गाउँलेको मानसिकतामा कुनै परिवर्तन आएन । घरमा कोरोना पालेको सम्म भन्न भ्याए । कुरा काट्न छोडेनन् । सकरात्मक कुराकानी भन्दा नि भेदभावको महसुस हाम्रो परिवारले गर्यौ । सावधानीकाे मात्रा झनै बढ्यो । सानिमालाई मानसिक त्रास बढ्यो । परिवारको सबैजनाले उहाँलाई साहस र सहनुभुती दियाैं । 

इन्टरनेट तथा अनलाईनबाट सही सूचना सङ्कलन गरी परामर्श गरियो । सबैको खानपिनमा विशेष ध्यान दियौ । सरसफाइमा विशेष ध्यान दियौ । आ आफ्नो कामधन्दामा लागि रह्यौ । आत्तिने या विचलित भएनौ । आज, सानीमा नेपाल आउनु भएको १७ दिन पुगिसक्यो । स्वास्थ्यमा कुनै समस्या आएको छैन । भाइ बहिनीलाई मौसमी रुघाखोकी निको भइसक्याे । तर  हामी सबै सचेत छौ । २१ दिन सम्म उच्च सतर्कता अपनाउने छौ ।

गाउँटोलमा कोरोना भाइरसको  त्रासले सामाजिक सद्भाव र भाइचारालाई खत्तम पार्ने संकेतहरु देखिन थालेको मेराे अनुभवले भन्छ । सामाजिक सम्बन्धहरुलाई विभाजन गर्ने काम पनि भयाे । तर  हाम्रो परिवार सचेत रही, उच्च संयमता अपनायाैं । कसैसँग विमती राखेनाै । दुष्भाव राखेनाैं । कसैसंग खराब विचार र मनासाय राखेनाै । तर भोलिका दिनहरुमा कोरोना कै कारणले कोही कसै माथी दुर्व्यवहार नहोला भन्न सकिन्न जस्ताे लाग्याे । स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुको गुणस्तरमा गुनासोहरु आउन थालेका छ्न । क्वारेन्टाइनलाई क्वारेन्टाइन जस्तो बनाउन सक्यौं कि सकेनौं ?  यो बेला विदेशबाट आएका व्यक्तिहरुलाई घृणा नगराैं । उनीहरूलाई सहयोग र सद्भावको खाँचो छ । 

दिपा अर्याल

सिन्धुपाल्चोक  

द्वन्दकालको झैं अनुभूति

म जति बेला कक्षा ३/४ मा पढ्थे, त्यो समय माओवादी जनयुद्द उत्कर्षमा पुगेको थियो । हाम्रो क्षेत्र जनयुद्धबाट धेरै प्रभावित त थिएन ।  तर पनि हरेक बिहान, माओवादी आन्दोलन र त्यससंग सम्बन्धित भिडन्तका घटनाहरूको समाचारबाट सुरु हुन्थ्याे । 

एक दिन हामी कक्षा कोठाभित्रै पढिरहेका थियाै । त्यही समयमा ठूलो आवाज़ कानमा पर्याे । हाम्रो विद्यालयदेखि दुई घण्टा पर माओवादीहरूले एम्बुस थापेका रहेछन ।  हाम्रो विद्यालयबाट ३००/४०० मीटर पर आर्मी क्याम्प थियो । त्यो दिन सेनाहरू गस्तीमा गएको बेला एम्बुसमा परेछन् । 

त्याे आवाज़ले आत्तिएर हामी विद्यालयको प्रांगणमा निस्कियाै । सबै जना डराएका थियाै । माथिबाट  सेनाहरू डोकोभरि गोली बोकेर दौडँदै थिए । उनीहरूले हामी सबैलाई भित्रै राख्न शिक्षकहरूलाई भन्दै थिए ।  त्याे घटनाले बालापनमा मन यति डराएको थियो कि अहिले सम्झदा पनि श्वास बढेर आउँछ । 

हिजो बच्चा हुँदा बमका आवाजहरूसंग डराएर भित्रै बस्नु पर्थ्यो । आज कोरोनासंग डराएर भित्रै बसिरहेका छाै । उबेलाको विहान रेडियो नेपालको कहाँ कति कुन भिड़न्तमा को मारीए जस्ता समाचार सुनेर सुरु हुन्थ्याे । अहिलेको दैनिकी कोराेना भाइरसका कारण कहाँ कति संक्रमित भेटिए , कहाँ कति मरेबाट सुरू हुन्छ । 

यति बेला लकडाउनमा घरभित्रै बसेर म धेरैजसाे न्याय, स्वतन्त्रता, मुक्ति, र विभेदका विरुद्ध उठेका बर्ग संघर्षका योद्धाहरूको जीवन कथा, पुस्तक र युट्युबमा हेर्ने कथा हेरेर समय बिताउँदैछु ।

११ दिन को लकडाउनसम्म आइपुग्दा जनयुद्धका थुप्रै याेद्धाहरुको जीवनकथा पढे । याे पढिरहँदा मनमा लागेको कुरा: आज महलमा बसेर चिल्ला गाडीमा सररर गुड्ने हिजोका ती  सर्वहाराका नेताहरू र जनयुद्धका छापामार, घाइते, अपांग, साहिद परिवारहरूबीचको अन्तर धेरै भइसकेछ ।  ।

अब बाँकी लकडाउनमा अन्य पुस्तक उपन्यास पनि पढ्ने जमर्को गर्छु ।। हजुर हरूको लकडाउन पनि शुभ रहोस्।

चुङ्दाक लामा

डियर वैनी!

यो शून्य समयमा, अलग्गै मीठो सम्झना र माया ! धेरै दिनहरू बितेछन्, तिमीसँग कुराकानी नगरी ।

तिमीलाई भेट्ने मनसाय बुन्दाबुन्दै, एक हप्ते लक डाउन घोषणा गर्यो सरकारले । अनि तिमी तिम्रै स्थानमा लक भयाै । म मेरै स्थानमा लक भएँ ।

डियर वैनी!

म यात्राबाट केही दिनअघि मात्र फर्किएकी थिएँ । यसर्थ म यात्राको धङ्धङीमै थिएँ । त्यसैले घरमै बस्ने मन थियो । मलाई एकान्त र शान्ति चाहिएको थियो । कोठाको ढोका थुनेर थकाई मेटाउन मन थियो । कति रात निद्रा कचल्टिएका आँखाहरूलाई विश्राम दिई निदाउन मन थियो । ठीक यतिबेलै घर बस्ने परिस्थिति वा भनौं अवसर मिल्यो । तर मैले सोचेजस्तो शान्त बस्ने र मस्त निदाउने वातावरण थिएन । ती कता गायब भएछन् ।

लकडाउनको सुरुवाती दिन तिर मेरा एक कवि मित्रले- “यो लकडाउनमा के- के गर्नु हुँदैछ ?” भनी मेसेन्जरमा सोध्नु भयो ! मैले जवाफमा भने- “सुनाउनै पर्ने त त्यस्तो क्यै गरिनँ ।” अनि उहाँले कथा लेख्न सुझाउनु भयो । तर मैले सुनाउनै र लेख्नै पर्ने त्यस्ता के घटनाहरू छन् र ! म सोचिबस्छु ।

डियर वैनी!

बितेका हप्तादिनको लकडाउन डायरी विशेष नभएपनि तिमीलाई भने सुनाउँछु । सुन ल |

“इनुमा जी नउठ्ने ? आठ बज्न लाग्यो त ।” यसरी कानैमा अलार्म गुन्जियो। अरू दिनभन्दा फरक आवाज र फरक शब्दमा ।

“ओ कान्छुरी उठ् । ओ साथी उठ् पाँच बज्यो ।” सधैं त आमाको आवाज गुञ्जिन्थ्यो- अलार्म बनेर । आज सुनिएन ।

उठेर हेरें नाना पो रैछिन् ।

लकडाउनको पहिलो दिन । बिदा भएर होला, आमाले मलाई नउठाई आफ्नो सुरमा कतै लाग्नु भएछ । मोबाइल तानेर हेरें । स्क्रिनमा आठ/पन्ध्रमा देखियो । सोचें- “कस्तो अल्छे ज्यान भएछ ।”

बाहिर निस्केर हेरें । टल्टलापुर घाम । आँखा तिरमिरायो ।

आँगनमा राखिदिएको चारो भङ्गेरा र परेवाले टिप्दै रैछ । तिनीहरूका लागि आमा र म पालैपालो आँगनमा चारो राखिदिन्छाैँ । हेर्दाहेर्दै आफ्नो बच्चाको लागि खुसी भएर आमा परेवाले चुच्चोमा चारो च्यापी पल्लो घर उडी । जहाँ तिनले आफ्ना बचेरा हुर्काउदै रैछिन् ।

घर अगाडि बाटोमा मर्निङ वाक गर्ने कोहि देखिएनन् । अघिल्लो दिनसम्म रत्नपार्क जाने माइक्रो बस चर्को हर्न बजाउदै गेटैमा आईपुग्थ्यो । त्यो पनि आएन  । सडक पारी पसलहरू बन्द देखिए । छेउनिरको पार्लर पनि बन्द थियो । नजिकै घर बनाउने मजदुरहरू थिए । तिनीहरू पनि देखिएनन् । एकै दिनमा आश्चर्य गरि राजधानीको वातावरण फेरिएको थियो ।

वातावरण स्तब्ध छ | शान्त छ |

घरैबाट सुनिने मान्छेका आवाजहरू र गाडीका वितण्ड आवाजहरू सबैसबै ठप्प छन् । ती सुनिदैनन् । टोल थर्काउदै कुद्ने दाइको त्यो मोटरबाइक पनि गेटभित्रै लक छ । दाइ पनि कोठाभित्रै लकमा परेका छन् ।

यस्तो लाग्छ, बल्ल हाम्रो टोलले स्वास्थ श्वास फेर्न पायो ।आफ्नै श्वासको गति चाल पायो ।

बरू अन्य सुन्दर आवाजहरू  सुनिन थालेको छ । जस्तो कि कागको आवाज । भङ्गेराको आवाज । परेवाको आवाज । रुप्पीको आवाज।  जुरेलीको आवाज । यस्तै ।

घर छेउको रूख र घर मुनिको जङ्गलबाट आउने

यी आवाजहरूले घरि न घरि गाउँ पुर्याउछ । म एकछिनै भएपनि गाउँ पुग्छु । र नोस्टालजिक बन्छु ।

आहा !! कस्तो आनन्द । कति मीठो  ।

लाग्छ- “यी आवाजहरूलाई कृत्रिमताले दबाएको रैछ । प्रविधिको दुरुपयोगले किचेको रैछ |

झ्यालबाट नियाल्छु- हावाको ससानो झोक्काले रुखका हाँगा र पात हल्लाउछ । यसो फूलबारी हेर्छु- फूलका कोपिलाहरू लस्करै फक्रदैछन् ।

रोपिएका प्याज, लसुन, साग र धनिया गोडमेल गरें ।

कुनै फूलका बिरुवालाई गमलामा र कुनैलाई जमिनमा सार्छु ।

डियर वैनी!

तिमीलाई मेरो दैनिकी नसुनाई रहन सकिन । त्यसैले  अहिले सुनाउने मुडमा छु । आशा छ, तिमीले सुन्दैछाै ।

दोस्रो दिन ।

यो निर्मम समयमा समाहित त हुनै छ ।

पहिलैबाट आमाको लुङ्गी र साडी लगाउने रहर थियो । कत्ति अरूको फोटो खिच्ने हगि ? आफ्नै फोटो खिच्ने मुड चल्यो ।

म आमाको लुङ्गी लगाएर फोटो खिच्न तयार भएँ । नाना पनि लुङ्गी लगाएर बाहिर निस्किइन् । हामी दुवै आ-आफ्नो शैलीमा फोटो सुट गर्न  थाल्यौं ।

“दुवैलाई लुङ्गीले सुहाउँदो रैछ ।” घरको टपमा बस्ने दाइले भन्नुभयो । र माथिबाटै हाम्रो फोटो खिच्नु भयो । दाइका छोराछोरी र श्रीमती लक डाउन अगाडी नै गाउँ गइसकेका थिए । दाइ जाने तरखर गर्दागर्दै लक डाउन भैगो । दाइ यतै लक भए ।

बीचतलामा बस्नेहरू पनि गाउँ गए । एकजना काका गाउँ जाने तरखर गर्दागर्दै लक डाउन भयो । उहाँ आफ्नो परिवारसंग बिछोडिनु भयो ।

अहिले मेरो परिवार र घरबेटीको परिवार मात्र एकसाथ छाैँ । भौतिक भेटघाट हुन्न । तल र  माथि हेराहेर गर्छौँ । बोल्छाैँ । एकआपसमा हालखबर बुझ्छौँ । दुबै परिवारले बनाएको खानेकुराहरू होशियारपूर्वक बाडीचुडी गर्छौँ ।

यस बिचमा टिकटक, इन्स्टा, ट्वीटर र धेरै समय फेसबुकमा बित्यो ।

युट्युब र अनलाइन भने हेर्न मन लागेन ।

धेरैले फोटो सहित क्याप्सन लेखे । त्यसमाथि कमेन्टको थुप्रो । धेरैले मुभि रिकमेन्ड गरे । कसैले किताब रिकमेन्ड गरे । एक- दुईदिन फेसबुकमा हालिएका पुराना फोटोहरू माथी रमाइला कमेन्ट गर्नेको होडबाजी नै चल्यो । यसो गर्दा धेरैले आफ्ना बितेका ती दिनहरू सम्झिए होलान् |

मेरो पनि पूराना फोटो माथीको ताजा कमेन्टहरू पढेर मै हासें । बितेका दिनहरूले फेरि बल्झायो ।

यसरी सामाजिक सञ्जाल मार्फत यो शून्य समयमा भाैतिक दुरी कायम भएपनी साथीभाइसंग संगै हुने मेसो मिल्यो । यस बिचमा जसरी पनि खुसि बन्ने, अनि रमाउने तरिका खोजिरहेकी थिएँ, ती उपलब्ध भएजस्तो लाग्छ |

र आफूलाई सामाजिक सन्जालमा सामेल गराएर कठिन परिस्थिति भुलें जस्तो लाग्छ । तर साथीभाइ र आफ्ना आफन्तहरूलाई फोनकल गरी कुराकानी  गर्ने कार्य चै गरिन । किनकि म आफैंसंग रम्न चाहान्थें ।

वातावरण नै निराशामय छ । मनमा निराशा उठिरहन्छ । तर मलाई निराश हुनु छैन । र अरूलाई पनि निराश बनाउन मन छैन ।

डियर वैनी!

तिमीलाई मेरो दैनिकी सुनाएर निराश बनाउन चाहेको हैन ! सिर्फ म मैले बाँचेको अहिलेको समय सुनाउन चाहान्छु ।

आफ्नो देशमा वा भनाै  बिश्वभर कोरोना संक्रमित व्याक्ती कति पुगे ? मृत्यु हुनेको संख्या कति पुगे ? भनेर यसबारे म कुरा गर्न चाहान्न ।

म यो घटना नै असत्य होस् भन्ने चाहान्छु ।

लक डाउन हुनु अगाडि सबैले कोरोना भाइरसको चर्चा गरिरहदा केही साथीलाई मैले भनेकी थिएँ- “यो कोरोना नाम सुन्दा- सुन्दा मलाई त यो भाइरस नभएर एउटी सुन्दर युवतीको नाम हो जस्तो लाग्छ ।” मेरो कुराले प्रायः साथीहरू अट्टहास हाँसे । हा..हा..हा ।

मलाई अझै पनि लाग्छ, यो भाइसरले विश्वलाई आतंक नबनाओस् । संक्रमण नफैलियोस् । र वैज्ञानिकले पत्ता लगाएको केवल एक सुन्दर वस्तु होस् । अथवा सुन्दर युवतीको नामै होस् ।

“भोग्दै नभोगेको कुरा यदि अन्य देश जसरी हाम्रो देशले भोग्नु परे ! संक्रमित भएर मृत्युसंग लड्नु परे !” अहो ! यस्तो त म सोच्नै सक्दिन ।

यता लक डाउन पछि मजदुरहरूले भोग्नु परेको दर्दनाक पीडा छ । उता सीमामा आफ्नो घर आउन नपाएर अलपत्र परेका आफ्नै परदेशी दाजुभाइहरू छन् । सुन्न सकिन्न यस्ता यथार्थहरू ।

डियर वैनी!

अब म घर परिवारको बारे सुनाउछु ल !

लक डाउनमा परिवारजनको समय एकै भएको छ । जस्तो कि खाना एकसाथ खाने, संगै बसेर गफ गर्ने, अनि टिभीमा सबैले एकै कार्यक्रम हेर्ने ।

नत्र गएका दिनहरूमा हामी सबैको आआफ्नै खाना र खाजा खाने समय हुन्थ्यो । भनौं आफ्नो समय अनुकूल खाई आ-आफ्नो कामतिर लागिन्थ्यो ।

अहिले कोठाको बसाइ भएपनि कोठाजस्तो महसुस भएन । आमा-बाउ साथैमा भएपछि कोठा पनि घर जस्तो लाग्दो रहेछ । परदेशबाट परिवारका सदस्य घर आएका छन् । सबैजना एक ठाउँ हुन पाउनु गजबको संयोग हो ।

एक्लै खाना सबैलाई पुगेको छ । जस्तो कि भाइले टिफिन खाजामा बोक्ने एउटा स्याउलाई भाग लाएर पिस खान्छाैँ ।मैले झोलामा बोकेर हिड्ने गरेको त्यो कोकोनट र डाइजेस्टिक बिस्कुट अहिले घरमा सबैले चियामा चोबलिरहेको हुन्छाैँ ।

आमाले मेरो खाने र बस्ने बानी फेरि मजाले नियाल्नु भएछ । जस्तो कि आमालाई  मैले खाना खाने र मेरो नङ टोक्ने बानी पट्टकै मन पर्दैन । म चुपचाप बसिरहेथें, आमाले प्याट्ट हातमा पिट्नु भएछ । म झसङ्ग झस्किएँ । “नङ नटोक भनेको हैन ।”- आमाले कराउनु भयो । अहो ! म फेरि नङ टोक्दै रहेछु ।

म पनि आमालाई “चुरोट नखानु” भन्छु । आमा मलाई “नङ नटोक” भन्नू हुन्छ । र पनि आमा चुरोट खाइरहनु हुन्छ । म पनि नङ टोकिबस्दो रैछु । बेलुका आमा खुब युट्युब हेर्नु हुन्छ । म “ढल्कँदो उमेरमा धेरै अनिदो बस्न हुदैन” भन्दै आमालाई समयमा सुत्न सुझाउछु । आमा चै मलाई पढ्न सुझाउनुहुन्छ । हामी एक अर्कालाई अटेर गर्छौं ।

आमा छिनभर चुपचाप बस्न नसक्ने । त्यसैले  आमाले बनाएको किनिमा र धुले अचार बजारसम्म पुग्छ । अब बजार बन्द भएपछि पुग्ने कुरा पनि भएन । अचार र किनिमा बनाउने काम पनि बन्द । अनि त आमा धागोका अनेक रङलाई मिल्दोजुल्दो जोडी बनाएर कुरुसमा आफ्नो सीप खिप्न थाल्नु हुन्छ ।  नानाले धागोका लाछी डल्याउन सहयोग गर्नु हुन्छ । म पनि कुरुस चलाउन सिक्दै थिए, आमाले भन्नुभयो- “तँ पढ, तेरो यो काम हैन ।” तर अब मलाई कुरुस चलाउन आईसकेको छ। “आफूले जानेको सीप छोरीहरूलाई सिकाउनु छैन, उल्टै नगर रे !” अनि म कर्किएँ ।

“म नपढेर दु:ख पाए, म जस्तै दु:ख पाउलास्।” यति भन्दै आमाले कुरुस आफ्नो हात पारिसक्नु हुन्छ । आमाको अनुहार निराश देखिन्छ ।

अब आमाको दु:ख कोट्याउन तिर नजाम ।

यत्ति हो, छोराछोरी सकेसम्म पढोस् र त्यहि अनुसार काम गरोस् भन्ने आमाको चाहाना छ ।

डियर वैनी!

तिमी पनि त तिम्रो परिवारको साथमा यस्तै केही गर्दै होउला । यदि एक्लै छाै भने पनि पक्कै परिवार सम्झिरहेछाै होला । आमा सम्झिरहेछाै होला ।

पाचाैँ दिन । 

जिरे (भाइ) पल्लो क‍ोठामा टिकटक बनाइरहन्छ । म वल्लो कोठामा फोटो खिच्न अनेक पोज गरिरहन्छु ।

जिरे- “मेरो टिकटकमा किन लाइक नगरेको ?” भन्दै म छेउ आइपुग्छ । जवाफमा म भन्छु- “मेरो फोटोमा किन लाइक गरिनस् त ?”

जिरे भन्छ- “लाै लाै हाम्रो कान्छीको नक्कल ।”

म भन्छु- “झन तेरो चटक नि !” हामी मुखामुख कमेन्ट गर्छाैँ ।

साँझ, कोठामा आएर नाना भन्छिन्- “लु तिमीहरू नाच त ।” अनि हाम्रो नाच सुरु हुन्छ । “लाै कान्छुरी- कान्छुरेको रमित हेरेर ठिक्क भोइने रैछ ।”- आमा हाँस्दै हामी छेउ आउनु हुन्छ । नाना हाँसोले मुर्छा पर्दै भिडियो बनाउदै हुन्छिन् । बाउले ढोकाबाट चिहाएर मुस्कुराएको देख्छु ।

बाउ सुगर र उच्च रक्तचापको बिरामी । धेरै वर्षदेखि औषधि सेवन गरिरहनु भएको छ ।  बाउलाई धेरै बोल्न मन लाग्दैन । प्रायः जसो शान्त बस्नुहुन्छ ।

अँ त म नाचको कुरा गर्दै थिएँ ।  मोबाइलमा हाम्रो नाच देखेर हामी आफै हाँस्यौं । भो, भिडियो चै देखाउदिन ल ।

डियर वैनी!

तिमीलाई मेरो लक डायन डायरी सुनिरहँदा दिक्क लाग्यो होला है ?

तर मेरै लागि भए पनि तिमी दिक्दार बन्नेछैनौ । मलाई पढ्नेछाै । बिश्वास छ ।

साताैँ दिन ।

सरकारले एक हप्ता तोकेको लक डाउन सकियो । र पून: अर्को एक हप्ता लक डाउन सुरु भयो। फेरि घरमै बसिने परियो । हतारोमा निस्किहाल्नै पर्ने पनि त छैन ।

हप्तादिनभर तालिका बनिसकेको थियो । पालै-पालो खाना बनाउने । पालै-पालो खाजा बनाउने । पालै-पालो घर  सरसफाई गर्ने । अनि संगसंगै खाने । संगै बस्ने र राम्रोसंग हात धुने मूख्य कार्य बन्यो । म घरि-घरि आमा-बाउलाई राम्रोसंग हात धुन सम्झाईरहन्छु । बाहिर नजान होसियारी गर्छु ।

यसो सोच्ने हो भने, हात धुनु पनि काम रहेछ । सरसफाई गर्नु काम रहेछ । पकाउनु पनि काम रहेछ । खुवाउनु पनि काम रहेछ । खानु पनि काम रहेछ । दिनु पनि काम रहेछ । सँगै बस्नु पनि काम रहेछ । पढ्नु पनि काम रहेछ । टिभी हेर्नू पनि काम रहेछ । नाच्नु पनि काम रहेछ । हसाउन पनि काम रहेछ । खुसि बनाउन पनि काम रहेछ । यतिबेला मलाई घर र परिवारलाई हेरेर यस्तै धेरै काम गरिएछ भन्ने लागिरहेको छ ।

आज, राखिदिएको चारो खान परेवा आएन । पल्लो घरमा झोक्राएर बसिरहेको छ । “कागले, बच्चा लगिदिएछ ।” आमाले भन्नू भयो । अहो, यो परिस्थितिमा कस्तो बिडम्बना ।

परेवा त बच्चा गुमाएको शोकमा पो रहेछ । जस्तो पृथ्वी पनि आफ्नो प्राणी गुमाएको शोकमा छ । अझ अरु गुमाइएला भन्ने त्रासमा छ । कस्तो  दुखद संयोग ।

माइला मामाको फोन आयो । निजी गाडी र मोटरबाइकलाई लामो यात्राको लागि सरकारले पासआउट दिने भएछ । मामा माइजूसँगै जिरे पनि गाउँ जान तयार भयो । मलाई पनि गाउँ भन्ने बित्तिकै जान मन लाग्यो । तर आमा र बाउलाई छोड्नु मन भएन । परिवारै जान पाए पो रमाइलो, हगि ! यस्तै बिचार आयो ।

फेसबुकमा किताब पढ्ने र मुभि हेर्नेको हल्लाले मैले पनि हप्तादिन भरमा पढ्दै गरेको किताब युग पाठककाे ‘माङ्गेना'(नेपाल मन्थन) पढिसकें ।

आमोद दाइको रिकमेन्डमा ‘पारासाइड’ मुभि र  ‘चिल्ड्रेन अफ हेवन’ हेरें । पढिएको किताब र हेरिएको मुभि कस्तो थियो भनेर टिप्पणी नगरौं । यसबारे कुरा गर्न उपयुक्त समय पक्कै छ  ।

हेर्नेकथाले बनाएको कोरोना भाइरस सम्बन्धी सचेतनामूलक सन्देश भिडियोमा केहि काम गरें ।

चोकतिर के कसो छ भनेर निस्कन मन लाग्छ । चोकको  चटपटे र पानीपुरी बेच्ने नाना सम्झिन्छु । पानीपुरीको धङधङी लाग्छ । तर यतिबेला चोक शान्त छ । चटपटे र पानीपुरीवाली नाना पनि आफ्नै कोठामा लक छिन् ।

डियर वैनी!

हप्तादिनमा जम्मा दुई पटक छतमा पसेर नजर डुलाएँ । जताततै  बाक्लो घर देखिन्छ । पारि चन्द्रागिरी डाँडा उभिएको छ । त्यसको ठीक उल्टो उति नखुलेका हिमालहरू देखिन्छन् ।

दु:खको अनेक रङ बोकेर कुनै जहाज परदेश गएको देखिएन । खुसिको सफेद रङ बोकेर कुनै जहाज स्वदेश आएको थिएन ।

आकाश सिर्फ चरा र बादलमय भएको छ ।

यतिबेला धर्तीमा आँखाले हेर्नु पर्ने कुनै रमाइला दृश्य छैन । धर्ती मास्कमय भएको छ । धर्ती शून्य भएको छ । घरहरू मात्रै ठिङ्ग उभिएका छन् ।

आज साँझ मात्रै आँखाले खुला आकाश हेर्यो । एउटा चन्द्रमा र सात/आठ वटा ताराहरू चम्किरहेको देखें । यतिबेला आकाश सिर्फ चन्द्रमा र ताराको भएको छ ।

अझ्झ निकैबेर पर्खिएको भए थुप्रै ताराहरू देखिने थिए ।

हिमाल छर्लङ्गै देख्नुछ । स्वदेश फर्किएका परदेशीको हसिलो मुहार हेर्नु छ । त्यो भन्दा अघि हामीले यो परिस्थितिसंग लड्नु छ । हामीले जित्नु नै छ ।  र जित्ने नै छौं।

साना आँखा र मस्तिष्कले युद्ध देखेर जितेको हामी ।

हाम्रा पुर्खाबाट नब्बे सालको भुकम्पको कहानी सुन्दै हुर्किएको हामी ।

नभन्दै अरसठ्ठी र बहत्तर सालको महा-भूकम्प र थुप्रै पराकम्पन भोगेर बाचेको हामी ।

डियर वैनी!

अहिले हामी कोविड-१९ सँग लड्दैछाैँ ।

यो लडाई जितेर बाच्यौं भने कुनै साल संवतमा आउदो पुस्तालाई आजको भोगाइ र भोलिको कहानी सुनाइरहेका हुनेछाैँ ।

इनुमा 

बुइपा, खाेटाङ 

यतिबेला: नखिपाेट ललितपुर

मिति: 2076 चैत 17 सोमबार 30 मार्च 2020

इनुमा राई

इनुमा पूर्व हेर्ने कथाकर्मी पनि हुन् ।

प्रिय जिन्दगी

प्रिय जिन्दगी

संघर्षको मैदानमा कहिलेकाँही थाक्नु स्वभाविक हो, तर पनि जिन्दगी त सबैलाई प्रिय नै लाग्छ । खासगरी जब जिवन वा मृत्यु आफ्नो सम्मुख उभिएको हुन्छ । जस्तै दुःख पनि सामान्य लाग्न थाल्छ त्यो वेला, जव संसारभर जना, सय, हजार हुँदै मृत्यु संख्या दोब्बर बनाउदै भयावह स्थिती अहिले झै हुन्छ ।  

विश्वका कतिपय मुलुकमा भएका नातागोता, ईष्टमित्र र सबै सबै साथीहरुलाई यो विषम परिस्थितिमा बेस्सरी सम्झिरहेको छु । मर्ने त मरिगए मर्नेका आफन्तको त्यो पिडा…..आफ्ना प्रियजनका लागि मलामी नपाउनु, अन्तिम पटक छातिमा टाँसिएर धित् मरिन्जेल रुन नपाउनु जस्तो पिडा….. कसरी भन्न सकिन्छ र ? यो त्रासले सबै सबैलाई गाजिरहेको छ, कोही अछुतो छैन । विदेशी भूमिबाट पनि यसरी नै सम्झिरहेका छन् आफ्नाहरुलाई, आफ्ना बाल्यकाल, भाडाकुटि खेलेको……यसरी नै त बितिरहेको छ लकडाउन । घरको  कुनामा बसेर हेर्ने सामाजिक सञ्जालमा छाइरहने समचार र फोटोहरुले स्तब्ध बनाउछ । खुलेर हाँस्न नसक्नु कस्तो बिडम्बना है……

मनमा तर्क विर्तक गर्नलाई प्रशस्त समय छ । राम्रा नराम्रा कुराहरु आउने नै भयो । अहिलेको परिस्थिति र अहिले सम्म भोगेको समयलाई सम्झन्छु , भाग्यमानी पुस्ता लाग्छ । हाम्रो पुस्ताले सामाजिक र राजनीतिक परिवर्तनका निम्ति गरिएका आन्दोलन लाई सम्झन्छु । समय समयमा झेलेको प्रकृतिक प्रकोप । त्यसैले त  भनिएको होला जिन्दगी भोगाइ हो ।

प्रिय जिन्दगी

जिवन जिउने अभिलाषामा  एकहप्ताको लकडाउन पूर्ण पालना गरियो । अधिकांश समय सामाजिक संजालमा वित्ने गरेको छ, बाँकि समय लुडो अनि त्यसबाट बचेको समय किताब पढ्छु र पेन्सिल आर्टमा रमाउछु । साथीहरु पुरानो फोटोहरु पोष्ट्याछन । बालापन , स्कुल र कलेजको दिनहरु याद गर्ने मौका मिलेको छ । नेपालमा रहेका सबै परिवार एकहप्ताबाट संगै छौ । घरको सरसफाई गर्ने मौका पनि यही हो कि जस्तो पनि लाग्ने । सधै जसो एक्लै पर्नुहुने मेरो आमा  हिजोआज संगै हुँदा निक्कै खुशी देखिनुहुन्छ । 

अप्ठ्यारोमा हाँस्न सक्नु पनि उत्तम कला हो भन्ने भनाइ छ । दिल खोलेर हाँस्ने परिस्थिति नभएपनि के गर्दा खुसी मिल्छ , यसमा परिवार नै लागिपरेका छौ । पिर मान्नलाई त अहिलेको परिवेश काफि छ । तर यसरी नै हरेस खाएर पनि त हुँदैन । 

यतिखेर समचार हेर्न लायक छैन यद्यपी सजगता अपनाउनु पर्ने विषयहरु कामलाग्ने नै भए । अर्थशास्त्रमा पढेको माल्थसको जनसंख्या सिद्धान्त पनि धुमिल सम्झना आउँछ बेलाबेला । अनि सोच्छु क्याम्पसमा पढेका धेरै सिद्धान्तहरु पास गर्नका लागि पढियो , माल्थसको जनसंख्या सिद्धान्त नै लागु भएजस्तो लाग्ने । देशी भन्दा विदेशी नेपाली साथीहरुसंग कुराकानी हुन्छ।उनीहरु निक्कै हतास छन् । मनमा भय भएपनि केही हुन्न सानो मन नगर भनेर हौसला दिन खोज्छु ।‘रोगले नमरे पनि भोकै मरिने स्थिति आउँदैछ’ भनेर स्पेनमा भएको साथी भन्छ।हौसला दिनकै लागि पनि कनिकुथी ‘केही हुन्न हौं’ भन्छु । 

नेपालमा संक्रमित व्यक्तिहरु अहिलेसम्म सकुशल हुनुहुन्छ । यहाँको अवस्था त्यति नबिग्रेकाले पनि होला यहाँका साथीहरुसंग अलिक राजनीतिक गफ हुन्छ । यस्तो अवस्थामा पनि कसरी भ्रष्टचार गर्न सकेको होला भनेर निरासाको कुराहरु हुन्छ । यतिखेर नेपालीहरु सही सलामत हुनुपर्यो , हिसाबकिताब पछि गर्ने दिन आउलानी भनेर मेरो सोझाे बिचार दिन्छु ।  ‘कस्तो देशमा जन्मिएछ जनताको मृत्युसंग पनि यो देशको नेताहरु खेलवाड गर्छ’ भनेर उसले भनिनसक्दै मैले भने, ‘धन्न तँ नेपालमा जन्मेछस् र गनगन गर्न पाउदैछस् । युरोप, अमेरिकामा जन्मेको भए समचार बनिसक्थिस कि आइसोलेसनमा म बाँच्न चाहान्छु भन्दै रोगसंग लडदै हुन्थिस् ।’ पछि लाग्यो यति सम्म त नभनिहालेको भए हुने ।

खैर न कोरोनाले संसार आक्रान्त हुनु राम्रो । न त हाम्रो देशमा भएको भ्रष्टचार राम्रो । तर यी दुवै हाम्रो बस् को कुरा हैन । 

मन्जु सोताङ

ललितपुर 

लकडाउनको उमङ्ग , एक पृथक प्रसङ्ग

मेरो नाम सुमन थापा हो । म हाल सैनिक आवसीय महाविद्यालय भक्तपुरमा ११ कक्षामा पढ्दैछु ।  

त्यो दिन होस्टेलको माहोल निकै बेग्लै लागिरहेको थियो । कोही नाचिरहेका त कोही गाउँदै गरेका …. १, २  १, २ म पनि जान्छु सररर बस चढी काठमाडौं….. । होस्टेलका ती बिल्कुल फरक दृश्यले मलाई अचम्ममा पारिदिएको थियो । मेरो मनमा एक प्रकारको कौतहुलता जाग्यो । जाग्नु स्वभाविक थियो । साथीलाई सोधे । 

रमाउनुको कारण सुन्दा म छाँगाबाट खसे जस्तै भए । उही कुराले चीनको सातो खाएको बेला यहाँ रमाइलो मान्नुको स्वार्थ केवल घर जान पाइने मात्रै थियो । साथीहरुले यो भाइरसको भयावह अवस्थाको ख्यालै नगरेकोले मलाई ननिको लाग्याे । तर म मौन बसे ।

अहिले लकडाउनको बेलामा कुनै एउटा बन्द कोठामा थुनिएको जस्तो माहोल बनेपनि मनको एउटा कुनाले आनन्दको महसुस गरिरहेको छु । किनभने मलाई लाग्छ म यतिबेला घरभित्रै बसेर केही नगरेर पनि एक प्रकारले देशको सेवा गरिरहेको छु । सरकारको कामलाई सघाउनु पनि त हाम्रो कर्तव्य हो नि । फेरि यो सब हाम्रै लागि हो । 

तर मानिसहरु जथाभावी हिडडुँल गरेको पनि देख्छु । दिनहुँ फरक फरक तरकारी खान भन्दै बजार गएको पनि देख्छु । केही साधारण स्वभाव र लोभ छोड्न सके हाम्रै लागि राम्रो हुने हाे जस्तो लाग्छ । तर मैले भनेर पनि नहुने ।  

हाम्रो मुलुकसंग भरपर्दो स्वास्थ्य सेवा नभएकाले म त अहिलेको बेलामा अस्पतालसम्म पुग्ने अवस्था आउन नदिन धेरै ध्यान पुर्याउँदैछु । तपाईहरू पनि यसमा सजग हुनस् है । म हरेक दिन सबैका लागि कामना पनि गर्छु ,’लकडाउन कसैले पनि उल्लंघन नगरोस् ।’ 

मेरा वुढा हुनुभएका हजुरबुबासंग बेलाबेलामा कुरा गर्छु । उहाँ भन्नुहुन्छ ,’यो बेला भनेको आफूसंग जे छ त्यसमै खुसी हुने समय हो ।’ 

त्यसैले म पनि आफूसंग जे छ त्यसमै रमाइरहेको छु । यसमै खुसी हुन सिक्दैछु । 

जय देश । 

जय नेपाल ।।

सुमन थापा

छुटेको जहाज

म बसेको कम्पनी होस्टल नजिकै एउटा सानो पार्क छ। पार्कमा केही थान बडेमानका रुखहरु, शारीरिक अभ्यास गर्ने उपकरणहरु र आराम गरेर बस्ने बेञ्च आदि छन।

 बेलुकीको केही समय म त्यही पार्कमा सुस्ताउँछु। अलि परको हाईवेमा ल्याम्प्पोष्टहरुको दुधिलो किरण पच्छ्याउँदै बत्तिएका सवारी साधनहरु, हाईवेलाई टेकेर उभिएका मझौला पहाडहरु, पहाडहरुको बिचबाट अझ पर देखिने चम्किलो शहर, शहरको काँधैमा भएको समुन्द्रमा बलिरहेका बत्तिहरु….. । म यहाँ आएको शुरुवाती दिनहरुमा एक तमासको अत्यास लागेथ्यो यी सबै हेर्दा। तर आजकल त यी सबै आदत बनिसके। 

प्रायः म बेञ्चमा बसेर आकाश हेर्दा हवाईजहाजहरु तँछाडमछाड गर्दै बेग मारिरहेका देखिन्थे। पुच्छारमा जुनकिरी बाले जस्तै देखिने ती हवाईजहाजका पङ्ती देखेर म मनमनै देश पुग्थेँ र एक्कासी आँगनमा खेलिरहेका कुखुराका चल्लाहरु गने जस्तै निश्चल हुन्थेँ। झसंग झस्किएपछि मन कुँडिन्थ्यो र आत्तिन्थेँ, “कहिले होला म घर फर्किने?” प्रत्येक दिन हिसाब गर्थेँ आफूले बिरानो ठाउँमा बिताएका दिनहरु। तर कत्ति नछाेटिएका दिनहरू !  

तर आजकल त्यो पार्कमा उसै गरि आकाश हेर्दा त्यति देखिन्नन हवाईजहाजहरु। फाट्टफुट्ट उडिरहेका जहाजहरूले कति सपना, त्रास, हिम्मत, आशा-भरोसा अनि सम्भावना ओसारिरहेका होलान्! 

समय एकनासको हुँदैन। समय बितेसंगै समयप्रति मान्छेका धारणा र अपेक्षाहरु पनि फेरिँदै जान्छन्। हिजो हवाईजहाजहरुको बेगसंगै घरदेश पुगेको कल्पनामा हराउने म बिस्तारै यहाँको शान्त ताल, घरिघरी छचल्किने समुन्द्रका छाल, रोबोट जस्तै दैनिकी अनि आफन्त र साथीभाइविहिन निक्खुट एक्लो दैनिकीमा अभ्यस्त हुँदै जान थालेँ। जसरी नयाँ दुलहीले फरक घर र परिवेशमा आफूलाई समाहित गरेर त्यसैलाई आफ्नो बनाउँछिन्।

यदि समय गत डिसेम्बर अन्तिमबाट फरक ढंगले नमोडिएको हुन्थ्यो भने यतिखेर म नेपालमा आफ्ना परिवार, आफन्त र साथीभाइहरुसंग गफिइरहेको हुन्थेँ हुँला । वा कतै घुमिरहेको हुन्थेँ हुँला ।अस्पतालहरुमा चक्कर काटिरहेको पो हुन्थेँ कि? कमजोर आँखा र एकैछिन नि निहुरिन नमिल्ने गरि दुखिरहने ढाँडको उपचार गर्न म स्वदेश फर्कन चाहिरहेको थिएँ। तीन बर्षपछि पहिलो पटक छुट्टिमा घर जाने निधो हुँदा मन पुलकित भएर जुन रफ्तारमा आकाशिएको थियो, अप्रत्यासित रुपमा चीनबाट सुरु भएको कोभिड १९ को आतंकले कोरियालाई समेत लपेट्न थाल्दा लगभग ५ दर्जन देशहरुले कोरियासंगको हवाईसम्बन्ध टुटाएपछी छुट्टि क्यान्सिल हुँदा त्यो भन्दा द्रुत रफ्तारमा म पछारिएँ। 

छोराछोरीको स्कुल परिक्षापछि छुट्टि हुन्छ चैतमा। त्यही छुट्टिमा उनीहरुसँगै केही ठाउँ पुग्न चाहन्थेँ म। मनमनै योजना बनाएको थिएँ। एक महिनाको छुट्टि बसाईमा म नानीहरुलाई हेटौडाको बन बिज्ञान संग्रहालय, सहिद स्मृती पार्क, पोखरा, लुम्बिनी तथा काठमाडौका केही स्थानहरु चिनाउन चाहन्थेँ । गाउँ पुगेर पुराना यादहरुलाई पुनर्ताजगी गर्न चाहन्थेँ।  तर ती सबै योजनाहरु एक्कासी तासको घर जस्तै भत्किए। थाहा छैन, अब कहिले फर्किन पाउँछु! र त्यो पटकको फर्काइमा अहिले जस्तो उत्साह हुन्छ हुन्न !! भन्ने नि थाहा छैन। किनकी समयसंगै मान्छेको कुनै दृष्टिकोणहरु फेरिन्छन्, धारणाहरु बद्लिन्छन्।

शक्ति आर्जनको नाममा प्रकृतिलाई नै चुनौती दिने मान्छेका लागि यो ठूलो चेतावनी हुनसक्छ। मान्छेले न त पानीलाई आफ्नो तरिकाले बग्न दियो न त हावालाई आफ्नै लयमा बहन दियो। न त फलफूललाई आफ्नै समयमा हुर्कन दियो न त जीव जन्तुलाई आफ्नो प्राकृतिक स्वरुप र बासस्थानमा बाँच्न दियो। यी सबैलाई मिचमाच गरेर सबै प्राकृतिक गुणहरु नाश गरिदियो। र प्रकृतिलाई समेत मान्छेले आफ्नै रिमोट कन्ट्रोलमा चलाउन खोज्यो। सायद यस्तै बेहुदा हर्कतका कारण हामी यो समय भोग्दैछाैं । 

म बसिरहेको कोठाको झ्यालबाट बाहिर चिहाउँछु, सडक किनारामा उभिएर फुलिरहेका मनमोहक शाकुराका बोटहरु। अस्तितिर हिउँ र तुषारोले खाएर झिक्रा मात्रै बाँकी राखेको अलि माथिको जंगलका रुखहरुमा पलाइरहेका नयाँ पालुवाहरु। झ्याल नजिकै रहेको रेड लिफको रुख नै ढाक्नेगरी बस्दै-उड्दै रमाइरहेका भंगेराका हुलहरु। अनि सम्झिन्छु देश, सम्झिन्छु गाउँ जहाँ मैले जिन्दगीको स्वर्णिम क्षण समेटेको थिएँ। सायद आरु-बखडाहरु यताका शाकुरा जस्तै पात पलाउनु अघि नै बोटै नदेखिने गरि फुलिरहेका होलान्, अलि मा…..थी लेकतिर सेतो, बैजनी रंगमा पैँयुँहरु फुलेका होलान्। दैनिक घाँस काट्न जाने पारिपट्टिको जंगलमा कटुस फुलेर जंगलै मगमगाइरहेको होला।  भिर पाखातिर काट्न छुटेका खरका बुच्काहरु तिलचामले भएर पलाउँदै होलान्। घरको खट्पलहरुमा भंगेराहरुका नयाँ बचेराहरु उड्न ठिक्क पर्दै होलान्। घुर्‍यानको डिलमा भएको बकाईनोको रुखमा राखिदिएको टोड्कोमा रुपीका बच्चाहरु हुर्किरहेका होलान्। 

चार महिना अघिको समय सहज र सरल ढंगले चलिरहेको भए यतिखेर यिनीहरूसँग यथार्थमै मेरो भेट हुने थियाे । तर 

यतिखेर म, आफू काम गर्ने कम्पनीभन्दा बाहिर जान पाउँदिन। आवस्यक सामग्रीहरु अनलाईनबाट मगाउनुपर्छ। सामान आइपुगेपछी त्यसलाई सावधानीपूर्वक सफाइ गरेर मात्रै प्रयोग गर्नुपर्छ। यहाँको सरकारले यात्रामा लगभग प्रतिबन्ध नै लगाएको छ। यहाँका मान्छेहरु आफै सचेत छन्, अनुशासित छन्। सरकार पनि जवाफदेही छ। चीनपछि सबैभन्दा उच्च दरमा भाइरस फैलिएको कोरियाले त्यसलाई आफ्नो नियन्त्रणमा लिन दुई हप्ता पनि लागेन। अहिले संक्रमण दर न्यून छ। 

बितेका शतकमा दुई वटा बिश्वयुद्ध लडेको आजको मानव सभ्यता विश्वब्यापी रुपमा यति निरीह भएको सायद यो पहिलो पटक होला। विश्वयुद्धहरुमा पनि यति धेरै मानिसहरु एकै साथ एउटै भयमा बाँचेनन् सायद। युद्धमा प्रत्यक्ष सहभागी देश र तिनका सहायक बाहेक अन्य देशका सर्वसाधारण मान्छेहरुलाई त्यो युद्ध आउँदो न जाँदोको थियो। तर आज कोरोना भाइरसको बारेमा नसुन्ने र त्यसबाट त्रसित नहुने मान्छे भेटिन्छ भन्ने तर्क गर्नु युक्तिसंगत नहोला। 

धेरै मान्छेहरु सम्भावित खतराको महसुस गरेर बेलैमा राजधानी र शहरहरुबाट गाउँतिर फर्किए रे । सम्झिन्छु यतिखेर, गाउँ अलि अस्तिभन्दा गुल्जार भएको होला । कुनै समय आफ्ना खेतबारी मात्रै नभएर निक्कै पर परसम्मका खोरियाहरुमा भस्मे फाँडेर खेतीपाती गर्थे मानिसहरु। बढ्दो बैदेशिक रोजगार, बजारको दबदबा अनि विकसित प्रविधिले मान्छेमा निर्माण गरिदिएको मनोदशाका कारण मान्छेहरु गाउँ छोडेर पिच सडकको लम्बाई नाप्दै शहर छिर्न थाले। अनि त खेतबारी, प्रसस्तै फराकिलो घर आँगनलाई झोर जंगल र झाडी बन्न छोडिदिएर १०/१० को एउटा साँघुरो कोठामा खुसी खोज्न थाले। कङ्क्रीटको जंगलले पुरै जमिन ढाक्न लाग्यो। प्रकृतिको संरक्षण गर्दै उत्पादनमा वृद्धि गर्ने परम्परागत प्रणालीहरु भत्किए। 

अहिले बिश्वभरिका मानिसहरुलाई आफ्नो घरभित्र बसेर यो बारेमा सोँच्न बाध्य बनाएको छ। सबैसंग फुर्सद छ यतिखेर। कतै जानु छैन, कतै पुग्नु छैन। कसैलाई भेट्नु छैन र केही गरिहाल्नु नि छैन। तर यो संकटबाट बाहिरिए पछि भने उल्लेखित बिषयहरुमा बिश्वब्यापी छलफल हुन जरुरी छ।

अहिलेको परिवेश नै यस्तो बनिदियो कि एउटा कुरामा सरल रेखिय कुरा लेख्न खोज्दा कैयौं आयामहरु आफै तन्किन पुग्छन्। त्यस्तै भयो यहाँ पनि। 

धन्यबाद ।

दिलिप बान्तावा

हतुवागढी – २ लुङ्गिन, भोजपुर हाल : दक्षिण कोरिया