आमाको पढाइ

 लक डाउनको समयमा अरुबेला समय नै भएन भन्नेहरुको लागि फिल्म,सिरिज हेर्न ‍र पुस्तक पढ्न उत्तम साइत जुरेको छ। मैले भर्खर ‘मनी हाइस्ट’ हेरि सकेर जर्ज अर्वेलको १९८४ पढ्दै छु । पढ्दा र हेर्दा बाेर लागेपछि  खुल्ला ठाउँमा गएर बस्न मन लाग्छ। यो समय बजारमा खुल्ला ठाउँ भनेको छत मात्रै हो।हाम्रो घरको ठिक पछाडि केही बारी छ। त्यहाँ मकै उम्रदै छन् । 

नजिकै एउटा सानो जंगल छ। जंगल जसले म लगायत मेरा साथीहरुको बालापन सुन्दर बनाउन सघायाे।जंगलमा अहिले किम्मु र काफल फलेका छन् । विरुवामा नयाँ पालुवाहरु पलाउँदै छन् । जंगल हरियो देखिएको छ। यो जंगलमा यत्तिका वर्षसम्म कोइलीको मिठो आवाज सुनेको थिइन मैले ।अहिले यो लेखिरहँदा पनि सुन्दैछु, कुहु कुहु…….। चराहरु चिरबिर चिरबिर गर्दै उठेका छन्। अहिले यो सुनसान बजारमा आवज सुनिन्छ त केवल चराहरुको । रुखहरु पनि स्वच्छ वायु खाइ रहेछन र हामीलाई पनि स्वच्छ वायु दिइरहेका छन् ।

छतमा केही समय बिताएर आफ्नो कोठामा आउँछु र कोरोना संक्रमितकोहरुको संख्या हेर्छु। निराशा मात्रै बढेर आउँछ। अचम्म लाग्छ केही महिना अघिको संसार र अहिलेको संसारमा कति भिन्नता !!

हाम्रो घरमा अहिले बुबा,आमा, दाइ म र बहिनी छौ । आमाको घरायसी काम सकाएपछिको काम युट्युवमा  अफलाइन भिडियो हेर्ने हुन्छ ।आमा हेर्ने कथा खुब हेर्नुहुन्छ ।आमाको मनपर्ने श्रङखला चैं उज्यालो र दुर्गा बज्यै हो । आमालाइ यो आफ्नै कथा झै लाग्छ रे! किनकि मेरी आमाले कहिल्यै स्कुल देख्नु भएन। २० वर्ष क्यान्टिन चलाएकी मेरी आमाले विवाह पछि रहर हुँदा हुँदै पनि पढ्न पाउनु भएन। कुनै बिलमा हस्ताक्षर गर्न नजान्दा हिनताबोधले मेरी आमाले हस्ताक्षर गर्न सिकेको अस्ति जस्तो लाग्छ । आमाको पढ्ने इच्छालाई ध्यानमा राखेर आजकाल हामी दुई दाजुभाइले पालैपालो आमालाई पढाउँछौ।पहिले आमाले हाम्रो पढाइमा ध्यान दिनुभयाे । अब आमाको पढाइमा ध्यान दिने पालो हाम्राे। यो लकडाउनमा आमालाई खुशी बनाउन पाएकोमा खुशी लागेकाे छ। आमालाई यो उमेरमा पनि पढ्न हौसला दिने हेर्ने कथाका उज्यालो र दुर्गा बज्यैका पात्रहरुलाई विशेष धन्यवाद भन्न चाहान्छु ।

सिमितता भित्र असिमित खुशी हुन सक्ने मान्छे हरेक परिस्थितीमा रमाउन सक्छ। त्यसैले यो समय घर बाहिर ननिस्की यही भित्रै खुशी खोज्दैछु । मेरो दिन त  यसरी नै बितिरहेको छ, तपाइको नि!

अनन्त रेग्मी

दु:खमा हाँस्न सिकेँ !

आज लकडाउनको पन्ध्रौं दिन पुगिसकेको छ र सरकारले अझ लकडाउन बढाउने निर्णय गरेको छ।कलेज बिदा भएको  एक महिना भइसक्याे ।मेरा केही साथी र छिमेकीहरु पनि गाउँ गइसकेका छन। तर हामी भने यही(पोखरा) शहरमा नै छौ। बुबाआमा पनि लकडाउनको कारणले यही घरमै हुनुहुन्छ। दिनभर आमाबुबा अनि अंकल आन्टीहरु मिलेर घरकै काम गर्छाैं। अनि हामी सानो छँदाको कुराहरु सम्झन्छाैं। सानाे बेलाकाे कुरा गर्दा एकदम मज्जा हुने रहेछ। बेलाबेलामा उहाँहरू रेडियो नत्र मोबाईलमा समाचार सुन्ने अनि हेर्ने गर्नुहुन्छ। सबै जना भेला भएकाले यही पनि रमाइलो भइरहेको छ ।हाँस्ने हसाँउने चलिरहन्छ । परिवारसंगै हुँदा दुखमा पनि खुसी हुन सकिँदोरहेछ जस्ताे लाग्दैछ ।

हुन त सबै जना घरमै बसिरहनु भएको छ । म भने संचारकर्मी भएको कारण लकडाउनको समयमा पनि बाध्यताको कारण आफ्नो काममा जान्छु। म रेडियोमा काम गर्छु। लकडाउनको पहिलो दिन म बाईक लिएर रेडियो जान भनि निस्केको थिए। चोकमा पुग्दा केही प्रहरी र सशस्त्र प्रहरीका दाजुहरू लकडाउन कडाइमा गर्न लगि परिरहनु भएको थियो। एकजना प्रहरी दाजुले मलाई पनि रोक्नुभयो र ‘कहाँ जान लगेको’ भनी सोध्नु भयो।’उहाँलाई रेडियो जान लागेको दाजु’ भनी पास देखाएर म हिंडे।यस्ताे चेकिङमा परिराखिन्छ ।

घरदेखि कार्यालयसम्म पुग्दा पोखरा जस्ताे त्यति धेरै व्यस्त हुने सहरमा अचम्मको सन्नाटा थियाे। कति कति बेला त रोकिएर सुनसान बाटोका तस्बिरहरु खिचेर फेसबुकमा पनि अपलोड गरे।गाउँ पुगेका केही साथीहरुले पनि बेलाबेलामा भिडियोकल मार्फत गाउँको खबर बताउँछन्।धेरै उतै फर्केकाले गाउँमा खुसीयाली छ रे अहिले! 

वरपर हेर्दा मलाई एकातर्फ कोरोनाको त्रास त छ।तर संगसंगै लकडाउनले गर्दा परिवार र आफन्तजनमा एकता र खुसियाली पनि छाएको जस्ताे लाग्दैछ। काम गर्दा गर्दै फुर्सदको समयमा “हेर्ने कथा”का कत्ति भागहरू पनि हेर्न भ्याइसके । 

मिलन सुनार

पोखरा

म पछि हट्दिन..

म पनि परिवारसंग अहिले घर भित्रै बसेको छु । बिहानदेखि बेलुका सम्मको समयलाई कसरी मिलाउने भनेर सुरुसुरुमा त अन्यौल नै रह्योे ।  एक दुई दिन पछि एउटा सामान्य खाका बन्यो । बिहानको समयमा करेसा बारीमा काम गर्ने । विहानको समयमा काम गर्दा घामले असर नगर्ने र काम सकेर नुहाएर माम खान पाइने । हाम्रो साथमा आठ कक्षाको जाँच सकेर खाली भएको छोरा पनि छ । हामी करेसा बारीमा काम गर्न जाँदा उसलाई पनि साथै लैजान्छाै ।उसलाई तरकारी रोप्न र गोडमेल गर्न सिकाउने उद्देश्य पनि हो । 

घरमा वस्दा साबुन पानिले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने गरेको छु । दिउँसोको समयमा पहिले पढ्न नभ्याएको अमर न्यैपानेको ‘करोडौ कस्तुरी’ पुस्तक रोजेको छु । पढ्ने, लेख्ने र बेलुकाको समयमा खेल्ने । खेल्ने सामाग्री पहिले नै घरमा थियो चेस, लुडो, क्यारमवोर्ड । बेलुका घरको आँगनमा ब्याटमिन्टन पनि खेल्छाैं । यी सबै खेलमा म सहभागी हुन थालेको छु । खेलले उर्जा मिल्दो रैछ ।  समय कटाउने र परिवारसंग रमाइलो गर्ने वाहाना पनि हो । महिला भएर यो गर्नु हुदैन त्यो गर्नु हुदैन वा जान्दैन की भनेर म कहिल्यै पछाडि हट्दिन । मलाई जे पनि गर्न सक्छु जस्तो लाग्छ । चेस, क्यारम, लुडो र ब्याटमिन्टन सबैमा म अगाडि नै छु।

परिवारसंग रमाइलो गर्दागदै समय गएको पत्तो नहुने भयो । घरको काम बाँडफाँड गरेर गर्दा झनै राम्रो भएको छ । परिवारमा कामको बाँडेर गर्दा एउटालाई मात्र भार पदैन ।  सधै हतार र दौडधुपमा रहेको मेरो परिवारले लकडाउनलाई एक अर्कोसंग मन खोलेर रमाइलो गर्ने अवसरको रुपमा लिएका छाैं । असल नागरिक भएर आफू र आफ्ना परिवारलाई बचाउनु सवैको दायित्व हो । 

तर मेरो घर अगाडिको बाटोमा मानिसहरु बेलुका पाँच बजे पछि सडक भरि हिँडेको देख्छु । आफ्नो सुरक्षाको लागि मानिस संवेदनशील भए हुने भन्ने पनि लाग्छ । 

रञ्जिता शर्मा

म पनि अरू जस्तै…

मोफसलको पत्रकारिता भन्ने वित्तिकै कहिलेकाँही त दु:खको एक हिस्सा हो जस्तो लाग्छ । केन्द्रमा बसेर पत्रकारिता गरेको भए एउटा बिट हुन्थ्यो, त्यसमै अध्ययन हुन्थ्यो, त्यसमै खोज अनुसन्धान । तर, मोफसलमा सबैतिर भ्याइनभ्याइ हुन्छ । त्यही माथि अहिलेको ‘लक डाउन’ को कुरै बेग्लै । 

म लमजुङ जिल्लामा बसेर पत्रकारिता गर्छु। ४ गाउँपालिका र ४ नागरपालिका रहेको यस जिल्ला भौगोलिक रुपले निकै विकट छ। जिल्लाका कुनै–कुनै भेग पुग्न त पूरा दिनै लाग्छ। हुन त म सदरमुकाममै बस्छु । परिवारसित बसेकाले एउटा फ्ल्याट भाडामा लिएका छौँ । जब नेपालमा पनि कोरोना संक्रमणको अवस्थालाई हेरेर ‘लक डाउन’ गरियाे। तब सदरमुकाम बस्ने धेरैजसो गाउँ फर्किए।अधिकांश बजारमै छन्। म पनि बजारमै छु । दैनिक रिपोटिङमा निस्कनु जो पर्छ ।

घरमा बस्नेलाई पनि लाग्दो हो, ‘यसलाई त डुलिराख्नु पर्ने । कतै रोग लिएर आयो भने सबलाई सार्ने भो।’ डेरामा बस्ने अरूलाई लागे जस्तै घरका आफनै बा आमालाई पनि म बाहिर डुलेको मन पर्दैन।तर यस्तो संकटको बेला काम छाेड्न पनि भएन । त्यसमाथि म टेलिभिजनमा काम गर्छु । 

अनलाईन वा पेपरमा काम गर्ने भएको भए, घरमा बसेरै पनि फोनबाट सूचनाहरु लिन र पठाउन सहज हुन्थ्यो।  तर, टेलिभिजनलाई त हरेक गतिविधिका फुटेज नै चाहिने। घरमै बसेर यो काम सम्भव पनि नहुने। जस्ले गर्दा पनि म दिनहुँ बाहिर निस्कनु पर्छ। 

प्राय दिनहरु बाहिर फिल्डतिरै बित्छ। फरक–फरक ठाउँ र फरक विषयबस्तुले यस्तो बेलामा धेरै सर्वसाधारणसँग ठोक्कीनु पर्दा धेरै असहज र मनमा डर त हुन्छ, पक्कै नै । तरपनि आफू निकै सुरक्षित भएर सावधानीपूर्वक रिपोटिङ गर्ने प्रयास गर्छु । 

लमजुङलाई ‘हाइड्रो हव’ को जिल्लाको भनेर पनि चिनिन्छ । यहाँका हाइड्रोपावरमा चिनियाँ र भारतीय कामदार धेरै छन् । जसले गर्दा मान्छेहरुले त्यसै त्यसै असुरक्षा महसुस गरेका छन् ।यस्तै सदरमुकामतिर अधिकांश भारतीय मूलका नागरिकहरु काम गर्छन् ।भर्खरै होली मनाएर फर्किएकाहरुको व्यवस्थापनका विषयमा रिपोटिङ गर्न उनीहरुसंगको सम्पर्कमा गइराख्नुपर्ने हुन्छ ।मनमा कता कता डर भने लाग्दोरहेछ ।

‘लक डाउन’ पछिका अवस्थामा जिल्लामा भएका प्रयासहरुका बारेमा रिपोर्टङ गर्नु, फितलो व्यवस्थापन माथि प्रश्न गर्नु, बजारमा लकडाउनको बेलामा हुन सक्ने कालो बजारी र मेडिकलहरुमा महंगिएका स्वास्थ्य सामाग्रीका बारेमा पटक–पटक रिपोर्ट निकाल्नु मेरो दैनिकी बनेको छ। एक हिसाबले मेराे रिपोर्टिङको विषय पनि खुम्चिएको छ।तर यस्तो बेलामा अस्पताल, स्वास्थ्यकर्मीका समस्या, स्थानीयका दैनिकी, मजदुरका पिडाहरुलाई पनि स्थालगत रुपमै पुगेर रिपोटिङ गर्दाको यो मनको डर तपाईं आफै अनुमान गर्नुस् त ।

हुन त म पनि अरू जस्तै हो। रोगले अरुलाई छुने मलाई नछुने भन्ने होइन।मेराे मनमा पनि डर छ। तर के गर्नु पेशै त्यस्तै छ। यस्तो घडीमा जनतालाई सही सूचना दिने कर्तव्य पनि महत्वपूर्ण छ।स्थानीय निकायहरुलाई झकझकाइरहन यस्तै बेलामा त हामी पत्रकारको भूमिका बलियो हुने रहेछ । त्यसैले जसो तसो यो ‘लक डाउनको बेला भोको पेटको भरमा आफनो पेशाको धर्म निभाइहेकाे छु ।

निरज अधिकारी 

पत्रकार, लमजुङ

प्रिय देश

प्रिय देश,

अथाह प्रेम सागर तिमीलाई !

ठिक यतिखेर म अरवको दुबईमा छु । यो लेख्दै गर्दा मध्यरातको बार्‍ह बजेको छ। खुला आकाशबाट बथानका बथान ताराहरु कोरोनाले भयभित पारेको यो संसारलाई दयालु दृष्टिले हेरिरहेका छन् र चकमन्न र विरक्तलाग्दो रातमा खजुरको फेद मुनि बसेर एक चित्तले तिमीलाई सम्झिरहेको छु।

प्रिय देश,

परदेशमा यो अरब अति कारुणिक छ। साईप्रस हाहाकार छ, सगोल युरोप शोक सन्तापमा छ, विश्वका शक्तिशाली र सम्पन्न देश ईटाली, स्पेन, फ्रान्स, जर्मन, ग्रेट ब्रिटेन र अमेरिका जस्ता देशहरुमा कोरोनाले आफ्नो युद्ध जितेर इतिहास लेखिसकेको छ। 

मेरो प्रिय देश, म आफ्नो देश नहारोस् भन्ने आलाप गाइरहेको छु। जसरी साँझ साँझ समुन्द्रका किनारछेउ झुरुम्म भएर इरानी चराहरु देशको सम्झनामा वियोगका गीत गाउँछन।

परदेश यतिखेर परदेश जस्तो ठ्याक्कै छैन, यहाँ गमागम भरिने विश्वका अग्लो बुर्ज खलिफा र विश्वका ठूला दुबई मलहरु रित्तै रित्तै र बन्द बन्द छन्!

आजकल मेरा सपनाहरु पनि कोरोना लागेर सिकिस्त छन्। काला सागरले अङ्गालो हालेको पृथ्विमा मेरो उज्यालो जून खसेर चुर्लुम्मै डुबिजान्छ र एक कुपित समुन्द्र उचालेर सुनामीले मलाई बेस्सरी लखेटिरहन्छ । देश छिर्न छिर्न लाग्दा मलाई आफ्नै सरकारले निषेधित बोर्ड देखाएर रोकिदिए पछि म झल्यास्स ब्युँझन्छु ।

हे आमा ! म पुकार्छु ।

प्रिय देश !

किनकी, तिमी मेरो साखै आमा हौ।

कोठा बाहिरको बार्दलीमा जब एउटा पुस्तक लिएर बस्छु। त्यो बेला म सुन्छु, छेउकै निमका रुखमा बसेर सँधै झैँ एक युगल ढुकुरहरु मिलनका सुमधुर गीतहरु गाइदिन्छन।म भावविह्वल हुन्छु, कस्तो विन्दास जीवन! भगवान यो जोडीलाई कहिल्यै कोरोना नलागिदियोस !

यतिखेर म उभेको अरब पटक्कै सुरक्षित छैन। हरेक दिन तीन सय भन्दा धेरै मानिसहरु कोरोना संक्रमणले पिडित भएर अस्पताल पसेका खबरहरु म पढिरहेको हुन्छु। यस्को मतलब म आफू पनि सुरक्षित छुइन, किनकी –

म रातभर काम गरिरहनु पर्छ, यही भाईरस संक्रमित मुलुकहरुबाट ल्याइएका सामानहरु चेक गर्छु । भने जस्तो सुरक्षाका कवचहरु दिईएको छैन। म मात्र पञ्जा र मास्कको भरमा यी सब काम गरिरहेछु।

प्रिय देश, 

आफ्नो जीवनको कहिलेकाँही यति धेरै माया लागेर आउँछ नि ! तिम्रो माया पनि अथाह रैछ मनमा । त्यसैले त तिम्रै काखमा आफूलाई अवसान गर्ने साैभाग्यको लोभले म हुरुक्कै हुने गर्छु। त्यो मेरो अधिकार यो कोरोनाले त के संसारका कुनै परम शक्तिले हनन गर्न सक्तैन।

तर फेरि यस्तो पनि लाग्छ, संक्रमणको आफ्नै गन्धा लास बोकेर तिमीलाई किन जुठो बनाउँ। बरु यतै बसेर म तिम्रो सेवा गरिरहन पाउँ, बेला बेला आफ्नो पसिनालाई रेमिट्यान्स गरिरहुँ । तर त्यतिबेला दुख लाग्छ, जतिबेला बुढा गिद्धहरु तिम्रा हाँगाभरी अवैधानिक गुँड लाएर बसेकाे देख्छु। तिमीलाई ‘तिमी’ हुन नदिन ती बुढा गिद्धहरु यस्ता महाविपत्तिमा पनि तिमीलाई ठुँगिरहन्छन् ।

प्रिय देश,

मेरा घरमा अशक्त वृद्ध बाबा छन । सानो सुन्दर परिवार छ ।उषासँगै भित्ताका रुस्टरहरु बाँस्दै गर्दा हरेक प्रभात हेल्लो बाबा भन्ने एक प्यारी छोरीले मलाई घर आँगनका याद गराइरहन्छे। घर वरिपरि मेरी आमा र बाबाले प्रेम-प्रीतिले रोप्नु भएका आँप, लिचि, कटहर, सुपारी, नरिवल र आरुका रुखहरु छन्। आमाले छोडी जानु भएका यी सब मेरा जीवनका खास चिजहरु हुन, जसलाई हेरेर म पल पल अल्हादित र हर्षले पुलकित हुने गर्छु।

लेख्दा लेख्दै यी अभागी रातहरु बिरानु बटुवा जस्तै हिँडेर निक्कैनै पर पुगिसकेछ ।म रात र प्रभातको बिच सिमानामा ठिक यतिखेर उभिएको छु, खासमा आजभोलि त मलाई विहान भन्दा रातहरु नै प्रिय लाग्न थालेको छ। किनकी संसार स्तब्ध बनाउने शोक र सन्त्रासका खबर लिएर कहालिलाग्दो विहान, मेरो कम्प्युटरको स्कृनमा आफ्नो राज मच्चाइरहन्छ।

प्रिय देश,

मेरो खातिर नगर्नु, तिमी सुरक्षित हुनु । यो यति बलिष्ठ संसारलाई आत्मसमर्पण गराउने कोरोनाभाइरसले तिमीलाई झुकाउन कहिल्यै नसकाेस्। तिमीलाई अजेय बनाउन हामी यतै सकिन पर्छ भने पनि ढुक्क हौं, त्यस्लाई हामी आफ्नो कर्तव्य या उत्तरदायित्व बोध गर्नेछौँ। यो बेला कोरोनाले मरनासन्न भएका भुगोल भित्र तिमीलाई सम्झेर नबाँच्ने नेपालीहरु कोही कतै छैनन्। 

अन्तमा,

तिमी दीर्घायु हुनु।तिमी अजेय र अजम्बरी हुनु। यो विपत्तिमा तिम्रो साथ दिन नसके पनि मेरा विशुद्ध प्रार्थनाहरु तिम्रा लागि अहोरात्र पुकारिरहन्छु । तिमी स्वस्थ र सुन्दर छाैं । यस्तै रहनु भन्ने कामना गर्दै म खजुरको बोट मुनिनै यो डायरी बन्द गरिदिन्छु,

उहीँ तिम्रो सदावहार शुभेच्छुक,

देविन बाबू राई

दुबई

अब बसिन्न याे परदेशमा !

…….र उसले भन्याे , “अब बसिन्न याे परदेशमा !”

Covid19 ले विश्वव्यापी महामारीकाे रुप लिइरहेको छ। यस बिचमा जाे आफ्नाे घर-देश देखि टाढा छन् उनीहरुकाे मनमा सायद एउटै कुरा खेलिरहेको हुनुपर्छ! 

त्यो हाे “म यस्तो विपतकाे बेलामा पनि घर देखि टाढा छु।”

हिजोआज प्राय विश्वका धेरै देश lockdown मा छन! हिजोआज विदेश भएका आफन्त र साथीहरुसंग कुरा गर्दा सबैले गर्ने कुरा एकै छन्: “जति दु:ख गरेपनि याे विदेशमा नहुँदाे रहेछ। आपत विपत पर्दा आफ्नै घर(देश) चाहिदाे रहेछ । यता १२/१४ घण्टा काम गर्नु पर्छ। यति मेहनत नेपाल मै खटेर गर्न सक्ने हाे भने यहाँ कमाउने पैसा कसाे नकमाइएला! अब यहाँ बसिन्न।”

‘हाे-मा हाे’ थप्छ मेरो मन पनि ।

००००

हुन त यहाँ(विदेश)रहरले काे आउँछ र! बाध्यता परिस्थितिले न हाे आउने। सब ठिकठाक हुँदा त ठिकै छ । जब बाँच्नु नै ठूलो कुरा भैदिन्छ। तब सब फिक्का लाग्दाे रहेछ!

००००

यता कामले आफ्ना भएकाहरु छन । उता मनका आफ्नै-आफ्ना छन! 

काम नहुँदा त यहाँका आफ्ना पनि टाढा भैइदिँदा रहेछन्। 

उता बस्नेलाई भने रातदिनकाे पिरलाे। बा-आमा चिन्ता लिराख्नुहुन्छ । ‘बाबु मिल्छ भने आऊ! जसाेतसाे यतै गरेर खाउँला । हामी त यहाँ आफ्नै घरमा छम्। तिमीहरू(दाइ र म) नहुँदा साह्रै नरमाइलो लाग्छ। विदेशतिर दिनका-दिन संक्रमण फैलिएको खबर सुन्दा कतै हाम्रै छाेराहरु त परेनन् भनेर मन डराउँछ। जमाना पनि कस्ता आए-आए खै! याे के जाति राेग हाे, कुन्नि? चाडैं हराए हुन्थ्यो नि !’ आमा उताबाट भन्नुहुन्छ।

आमा म यहाँ ठिक छु। बुद्धि विवेकले भ्याएसम्म सक्दाे सावधानी अपनाएको छु। Covid19 खाेज्दै झम्टिन आउदैन भन्ने पनि थाहा छ। त्यसैले सक्दाे काेठामै बस्ने काेसिस गरिरहेकाे छु।

लकडाउनकाे आज यहाँ मलेसियामा २० अाै दिन भाे। कम्पनिकाे गेट छाडेर बाहिर नगएको त झन्डै महिना दिन हुन लाग्याे! तर पनि घरमा बुझाउनै गार्‍हो! हुन त अघि-पछि हामी नहुँदाकाे अभाव बा,आमा आफन्तलाई खट्किन्छ । अझ याे बेला त साँच्चै मन कसरी बुझ्दाे हाे र!

००००

यसबिचमा आफूलाई सक्दाे सन्तुलनमा राख्ने काेसिस गरिरहेको छु।सकभर नराम्रा खबर सुन्न नपरे हुन्थ्यो भनेर हर क्षण साेचिरहन्छु। तर खबर त सबैलाई थाहाै छ! चैतमासकाे डढेलाे झै covid19काे संक्रमण विश्वभर बढेको बढेकै छ।कामना गर्छु,याे अब यही राेकियाेस्।

छिट्टै पहिलेकै जस्तै हाेस्। सबैतिर उस्तै चहलपहल हाेस्!सबले ढुक्कसँग शान्तिकाे सास फेर्न पाउन्।

मीन राज विश्वकर्मा

अर्घाखाँची

हाल मलेसिया

आफ्नै गाउँ फर्की आएँ !

विगत फर्कन्छु । सर्लक्कै कुनै पनि अतितलाई भुल्न सजिलो छैन । कारण त्यसले दिएको चोट, पीडा र त्रास । हो, वि.सं. २०७२ बैशाखको प्रलयकारी भूकम्प । त्यतिबेला ज्यान बचाउन म जस्ता थुप्रैले काठमाण्डौं खाल्डोमा अब फर्कनै नपरोस् भनी छाड्यौं । विपत्तिको आयु नहुने रैछ । केही महिनापछि म उही काठमाण्डौंलाई स्पर्श गर्न पुगें। कसैले कुनै पनि कुरा चाडै भुल्छ भने त्यो मानवजाती नै हो। म आफैंले  भोगेको भूकम्पको आर्तनाद केही कालमै बिर्सिएँ ।

………….

“आहा ! गाउँ कति प्रिय छ है ! विपत्तिको क्षणमा आफनो गाउँठाउँको मूल्य अनमोल हुन्छ । दुःख कोरोनाले गर्दा छ तर सुखी हुने कारण कति धेरै ! प्राणप्रिय बुबाआमाको साथ, खेल्दै हुर्केका पाखाबारी, गाईबाख्रा चराउँदा मितेरी लगाएका वनपाखा, स्वच्छ देउराली डाँडाको हावा, कलकल बगिरहने पधेंरोको पानी, बालसखाका दौंतरी साथीभाइ र अरु कत्ति धेरै…… । ”

दिनहरु ठिकै बितिरहेका थिए । आफ्नै कर्म गर्दै म काठमाण्डौंको धुलो, धुवाँमा दिन काट्दै थिएँ । बुढ्यौंलीले समातेका बुबाआमा गाउँघरमा कुटो कोदालोमै व्यस्त । घरमा समय दिन सकिरहेको थिईंन ।फोनमा कुराकानी भने भइरहन्थ्यो । बुबाआमा घरमा केही मिठो मसिनो पकाए मेरै सम्झना गर्दै फोन बजाउनुहुन्थ्याे । मैले शहरमा जस्तो खाएपनि चिन्ता नगर्नुस्, मलाई खानाको कुनै पिर छैन भनेर आवाज दह्रो बनाउँथे । यहाँको गरिबीको चित्र त्यहाँ नदेखियोस् भनेर सकेसम्म प्रयास गर्थे । 

एउटा नयाँ भाइरस । २०१८ को डिसेम्बर अन्तिमतिर संसारै हल्लाउने गरि मान्छेहरुलाई तर्साउन आइपुग्यो । अझै भनौं चिकित्सा विज्ञानलाई चुनौती दिन।नेपालको शहर मात्रै हैन गाउँघरमा पनि यो खबर विकसित संचारले सजिलै पुगिरहेको थियोे । घरबाट मलाई सचेत हुन बुबाआमाको फोन आइरहन्थ्यो । घरबाट फोन गर्दा ‘गाउँ खुसी छ’ भन्नुहुन्थ्यो आमा । म कारण सोध्थे । उहाँ भन्नुहुन्थ्यो – वर्षाैदेखी टाढा भएका गाउँलेहरुको जमघटले ।

हाम्रो पालाको एसएलसी सायद यसको नाम अहिले एसईई हो । एसईई स्थगित भएको खबरले कोरोना भाइरसको शक्ति बल्ल थाहा भयो । कानुनको विधार्थी मैले पनि जाँच दिन पाइनँ । 

यति भएपछि सन्त्रास बढेर गयो। शहरबाट विस्तारै गाउँतिर मान्छे हिँड्न थाले। बसको टिकट पाउन हम्मेहम्मे । म पनि उकुसमुकुस सहित अर्घाखाँची फर्किएँ। लगत्तै लकडाउन भयो। तैपनी मान्छे हिँडेरै गन्तव्यतिर लागे । यसपटक पनि मान्छेले आफ्ना सबै कर्मलाई थाँती राख्दै गाउँ फर्कने निधो गरे। त्यसैगरी फर्के , जसरी भुइँचालोको बेलामा फर्किएका थिए।

यो लकडाउनमा म घरायसी कामसँगै मेलापातमा बुबाआमालाई सघाइरहेको छु। र हामीमा रोगको डर बाहेक बेखुसी हुनुपर्ने अरु केही छैन ।

प्रिय गाउँ , म तिम्रै समिपमा छु । मलाई जस्तै सबैलाई गाउँको महत्वले स्पर्श गरिरहोस् । धित् मरुन्जेल खुसीसाथ यो जुनीमा गाउँमै बस्न पाइयोस् ।

 

दिपक महत

अर्घाखाँची

छुट्टी डायरी

एक हप्ता बिहानको सिफ्ट अर्को हप्ता बेलुकाको सिफ्ट।बेलुकाको सिफ्ट ड्युटी जाॅंदै गर्दा,गल्फबाट साथीहरूको मेसेज आउँछ,’हाम्रो त अप्रिल २० सम्म छुट्टी छ। बसीबसी तलब आउँछ यसपालि!’ मनको डर र पिडा लुकाउँदै म मुस्कुराएर भन्छु,’मोज गर् तिमारु!

म हाल काम गरिरहेको देशमा आजको अपडेट अनुसार ३,३८३ संक्रमित भइसकेका छन्। यहाॅं पनि लकडाउन नभएको त होइन। लकडाऊन छ। तर हाम्रो कम्पनि चलिरहेको छ। सुरुवाती दिनहरूमा डरले होला कहिले मनमनै त कहिले ठूलै आवाजमा गाली पनि गरे कम्पनिलाई। फेसबुकमा देखिने डरलाग्दा न्यूजहरूले त झन् रिसको ऊचाइँ आकासिन्छ। 

न्यूज फिडका दुई चारवटा भिडियोहरूमा हामी जित्नेछौ कोरोनालाई भन्दै गरेको सुन्छु। कतै हामी कोरोना सर्भाइवर भन्दै बोलेका मानिसहरू देख्छु।साह्रा संसार लडिरहेकाे देख्छु। अनि आफ्ना सोचहरूलाई पाेजेटिभ बनाउँदै काममा जान्छु,”खाद्य कम्पनी न हो चल्नैपर्यो” मनमनै भन्छु। हामीले काम नगरे लकडाउनमा बसेकाहरूले के खान्छन् फेरि!

ड्युटि जाँदा बसको सट्टा पैदल जाने गर्छु।ड्युटिबाट रूम फर्केपछि २० सेकेन्ड मिचिमिची हात धुन्छु ।

लकडाउनले  दिक्क भएका साथीहरू दिक्क नमानी घर बस्नुहोस्। ‘म त जित्ने हो जसरी भएपनि’ भन्दै तपाईंहरूको सेवामा हाजिर छु। तपाईहरू त मभन्दा कयौं गुणा सुरक्षित हुनुहुन्छ घरमै बस्न पाएर। Stay Positive COVID-19 बाहेक। 

छुट्टीको दिन लेखेको भएर मेरो चाॅंहि छुट्टि डायरी भयाे।

विवेक राई

न्युयोर्कमा १८ दिन

‘कोरोना’ शब्दले नै अहिले मन जिरिङ्ग हुन्छ । एकदिन साथीले चीनमा त नयाँ रोग आएछ भन्दा खासै वास्ता भएन । कोरियामा लाग्यो । फेरि पनि सुनेको नसुनै  गरे। अनि इटाली हुँदै अमेरिका छिरेपछि बल्ल झस्किए । तैपनि संसारको शक्तिशाली मध्यको एक देश, कोरोनासंग त लडिहाल्छ नि भन्ने ठानेर सँधैझैँ काममा गइयाे ।  तर के थाहा आजको दिन विश्वकै एक नम्बर देश अमेरिका कोरोनामा पनि एक नम्बरमै पर्ला भन्ने ! म बस्ने न्युयोर्क सहर त झनै सबैभन्दा धेरै संक्रमित भएको ठाउँ ।

बिहान उठ्यो, काम गयो,घर आयो । दिनहुँ उही दिनचर्या । अनि हप्ताको अन्तिममा पैसा लिँदा आफू अलि धनी भइएछ भन्ने लाग्ने । बेला बखत छुट्टीमा नेपाली साथीभाइको समूह बनाएर घुम्न गइहाल्ने । जिन्दगी खास चल्दै थियो । खुसी खुसी मै बित्दै थिए दिनहरू । 

न्युयोर्कमा कोरोनाको लक्षण देखियो र दिनहुँ बढ्दै गयो । अनि हामी सबै त्रसित भयौ । काममा हुँदा कोरोना लाग्ला भन्ने डरले त्रसित हामी ४ जनाले कामै छोडेर घर बस्ने निर्णय गर्यौ। त्यसपछि न्युयोर्कमा Non-essential  बाहेक अरु सबै बन्द भनियाे ।अरू मान्छेहरु पनि प्राय काम छोडेर घर बस्न थाले ।

२-४ दिन त साथीभाइसंग तास खेलेर , गफ गर्दै बितायौ । तर न्युयोर्कमा बिरामी बढ्दै जान थाले । अनि हामीले साथीभाइबीचको भेटघाट पनि बन्द गर्ने निर्णय गर्यौ। चाहिने खाद्यान्न किनेर राख्यौ । अनि घर भित्रै बस्न थाल्यौ । आज काम छोडेर बसेको १८ दिन भयो । खान पकाउन कहिल्यै मन नगर्ने म अहिले झन्नै-झन्नै मिठो पकाउने भैसके । साथीको बाँसुरीमा मैले सा – रे – ग – म – प बजाउन थालिसके । उसले हाँस्दै भन्छ ” दिपेन  हामी १ महिना अझै यसरी बस्याैं भने तैले एउटा गीत चाहिँ पक्कै बजाउँछस् । हाँसो ठट्टा चलिरहँदा मन भने सँधै भारी नै रहन्छ । 

फेरि घरबाट आमाले भाइबरमा फोन गरेर गहभरि आँसु बोकी – ‘बाबु त्यहाँ त बिरामी लगातार बढिरहेका छन्, आफ्नो ख्याल गरेस्, खाने सामान कत्तिको छ? बाहिरफेर नानिस्किनु’  भनिरहँदा म मुस्कुराउँदै – ‘ममी यहाँ ठिकै छ, आजबाट कम भैसक्यो’ भन्दै सम्झाउँछु । तर वास्तविकता अर्कै छ । थाहा छैन कति दिन, कहिलेसम्म, बिरामीको संख्या बढ्दै जाने छ ।

आमालाई त झुट बोले तर वास्तविकतासँग भाग्न सक्दिनँ म । काम छैन । दिनभरी कोठामा बस्छु । अर्को अपार्टमेन्टमा कोही छन्, छैनन् त्यो पनि थाहा हुँदैन ।  मेरै रूमको पनि हामी ४ जना , ४ कुनाे च्यापेर फोनमै झुन्डेर बस्छौ । घर परिवारको याद आउँदा मन दबाएर राख्नु पर्ने । न भन्नलाई कोही छ , न सुन्ने नै कोही । यसरी नै १८ दिनहरु बिते ।अब अझै कति दिन हो थाहा छैन । गाह्राे छ , मुस्किल छ । तर आमा तिमीले फोन गर्दा अझै हाँसेर ‘यहाँ सबै ठिक छ । तपाई आफ्नो ख्याल गर्नुस्’ भन्ने आत्माविश्वास पनि मसँग छ ।

दीपेन्द्र लुइँटेल

न्युयोर्क

अष्ट्रेलियाबाट

प्रिय हेर्ने कथा,

यो डायरी केबल तिम्रै लागी।

लेखक त म होइन आजकल। लेख्ने त म त्यतिबेला गर्थें, जतिबेला जिन्दगी सिधा बाटोमा थियो। जिन्दगीको व्याकरणमा ह्रस्व दिर्घ बिग्रिएरै जिन्दगीले यो बाटो तय गर्यो। हुनत अस्ट्रेलिया सपनाको देश हो। नेपालमा कतिका बा-आमा छोराछोरीलाइ यता पठाएरै ठूलो नाक बनाइरहेका हुन्छन्। कोभिड-१९ ले बिश्व तर्सिरहँदा अष्ट्रेलियालाई नि आच्छुआच्छु बनाइरहेको छ।

यहाँका प्रधानमन्त्री दिनहुँ जसो लाइभ आइरहन्छन् । सामाजिक संजालमा, सन्देश प्रवाह गरिरहन्छन्, नागरिकलाइ धन्यवाद दिईरहन्छन्। मैले यो डायरी लेखिरहँदा प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई समस्या भए आफ्नै देश फर्कन आव्हान गरिसकेका छन्। यद्यपि, यहाँका नागरिक तथा स्थायी वासिन्दाहरुको लागि सरकारले बिशेष प्याकेज घोषणा गरिसकेको छ। देश पुर्ण लकडाउनमा छ। राज्यहरुको छुट्टाछुट्टै पोलिसी छ।

म बसेको न्यु साउथ वेल्स् राज्यले लकडाउनको समयसिमा जुन २७ सम्म पुर्याएको छ। अनावश्यक आवतजावत लाइ पुर्ण बन्देज लगाएकोछ। यद्यपी कामकाज, अध्ययन तथा आवश्यक सामान किनमेलको लागी भने बन्देज छैन। २ जना भन्दा बढी भेला हुन दिएको छैन। सबै राज्य हरुले सामाजिक दूरि घटिमा १.५ मिटर राख्न, हात धुन, स्यानिटाइजरको प्रयोग गर्न अपिल गरिरहेका छन्। व्यवसायहरुलाई राज्यले उच्च प्राथमिकतामा राखेको छ। कम्तिमा ६ महिनाको लागी विशेष प्याकेजहरुल्याएको छ।

तन भुगोलको यो भिन्न धरातलमा भएनि मनले नेपाल मात्रै देखिरहन्छ। काठमाडौंमा ४ बर्षको छोरी संगै लकडाउनको सरकारी आदेश पालन गरिरहेकी मेरि प्राणप्यारीसँग दिनहुँ घण्टौं कुरा भैरहन्छ। लकडाउन दोस्रो हप्तामा चलिरहँदा छोरी नै पो मामुलाई हात धोइरहन र स्यानिटाइजर प्रयोग गरिरहन सुझाइरहन्छिन्। गेटको ताल्चामा खिया लागिसक्यो होला । फेरी खोलिन पाको छैन। काठमाडौंको आकाश आजकल सफा भको रैछ। माथि छतबाटै म्यासेन्जरमा कुरा भाथ्यो उनिसँग ।

गाउँतिर पानी परेर खनजोत गर्ने बेला भको रैछ । लकडाउन भएनि खेतबारिको कामहरु सबैले मजाले गरिराको रैछन्। शहरिया तन्नेरी पुस्ताको खेतिपाती र घरगाउँको मोह फेसबुकभरि मज्जाले देख्छु, पढ्छु। गाउँमा आमा बा नि आजकाल त घरी-घरी साबुन लगाई हात धुने गरिरहनु हुँदोरैछ। छोरीले उता पनि सिकाउन भ्याइसकिछिन्। स्कुल बन्द, पसल बन्द, बाटो बन्द, घरको गेट बन्द, सायद उनलाइ लाग्दो हो कोरोना अब आउन सक्दैन।

नेपालबाट २५० जना अष्ट्रेलियन बोकेर नेपाल एयरलाइन्स को विमान अष्ट्रेलिया आइपुग्यो । यताबाट नेपाल जान चाहने नेपाली कति छन् । लैजाने कस्ले ? कहिले? बोर्डरमै आएर ढोका खोल्देउ म मेरो देशभित्र आउँछु भन्दा त मेरो देशले आफ्नो नागरिकलाई ढोका खोलिदिन सकेन । नेपाली दाजुभाइ दिदीबहिनीको त्यो बिजोग मेरो सरकारले देख्ने कहिले? ज्यान को बाजी लगाएर महाकाली मा हेलिएका युवाले नाङ्गै खुट्टा नाङ्गै शरिर गल्ली गल्ली डुल्नुपर्यो बर्दिवालासँगै ।

यता अष्ट्रेलियमा बिरामी भको जस्तो लाग्नासाथ फोन गर, हामी तिम्लाई हेर्न भेट्न, स्वास्थ जाँच्न तिम्रो घरमै आउछौं भन्छ । र त्यसै गर्छ। उता बल्लतल्ल हस्पिटल पुग्दा नि हस्पिटलले बिरामी लिन मान्दैनन् यताबाट उता, उता बाट उता रिफर गर्दैमा बिरामीको ज्यान जान्छ ।

प्रिय हेर्ने कथा, तिमीसँगै कहिले म पूर्व डुलें, कहिले पश्चिम, कहिले पहाड डुलें त कहिले तराई। कहिले तराईमा गाइ चराएँ त कहिले पहाडमा भेडिगोठाला भएँ। कहिले रुकुमको पन्चेबाजा बजाइरहेका आमा दिदिबहिनी सम्म पुगेँ त कहिले खोटाङको दु:ख गर्न सिकाउने स्कुलमा। म त्यो यात्रा बाट छुट्टिन चाहन्न र त लेखिराछु डायरी।

रामहरि तिमल्सिना

आरुघाट गोर्खा, हाल: सिड्नी, अष्ट्रेलिया

केही सम्झना, केही सपना


खै ! कस्ले पो हो, कोराेनाको आतंकबारे गाउँमा मेरी आमालाई पनि खबर सुनाइदिएछन्। खबर सुन्ने बित्तिक्कै आमाले मोबाईल निकालेर मलाई फोन गरिन् :

संवाद

: आमा ढोँग गरे ।

आमा: भाग्यमानी छोरा । तँ जतिसक्दो चाँडो घर आइपुग् । त्यहाँ त कुन्नि के कोराेना भाइरसको माहामारी छ रे। मान्छेहरु मर्दैछन् रे। मलाई साह्रै चिन्ता पर्याे। 

: चिन्ता लिनु पर्दैन आमा। म सुरक्षित छु। यहाँ मात्र होइन, त्यहाँ पनि हुनसक्छ।त्यसैले छिमेकीको घर पनि आइजाइ नगर्नु। साबुन पानीले हात धुनु। सफा हुनु । भिडभाडमा नजानु।

आमा: हुन्छ छोरा। मेरो चिन्ता नलिनु। तँ मात्र चाँडो घर फर्के।

: हुन्छ आमा। अलि नियन्त्रण भएर लकडाउन खुलेपछि आउँछु।

पाँचतले खाली घरको एउटा कोठाबाट धेरै कुरा सम्झँदैछु यतिबेला। आमाले बनाउने मिठा परिकार, गाउँका साथीहरू, गाउँ नजिकैको बनबाट गिज्याइ रहने लालिगुराँस,नजिकै खोलामा गीत गाउने कोइली र न्याउली , बस्तुभाउ आदि आदि। सानो सपना बोकेर भारत छिरेको मलाई यी कुराहरुको सम्झना बाहेक अरु केही छैन।कहिले पुग्नु र खै मेराे गाउँमा ! 

त्यतिबेला यो सहरमा छिर्दा नयाँ देशको अनुभव मेरा लागि नितान्त नौलो थियो। सानो झुपडीमा हुर्किएर परदेश छिरेको मैले, ठूला-ठूला घर,होटल,कम्पनि अनि बिरानो सहरमा एक्लै काम गर्नुको पीडा राम्ररी बुझेको छु। सायद आशा भनेकै सबैभन्दा ठूलो भाइरस हो।त्यसैले त होला साना आँखामा पनि सपना देख्न चाहिँ छोडेको छैन मैले।

पिडाले अधिकार जमाउदै गरेको बेला, सपनाहरू आँसु बनेर बग्दै गरेका बेला मैले युटुबमा हेर्ने कथासंग भेट भयो । मैले यो लकडाउनको बेला हेर्ने कथाका लगभग धेरै भागसँग भेट गरे। सबै भागबाट जीवनको छोटो परिचय सिकेको छु। खुसी र सन्तुष्ट हुन सिकेको छु। आजकल यस्तै मन छुने, मर्मस्पर्शी भिडियो हेर्न मन लाग्छ। अनि लाग्छ मैले संघर्ष गरेका केही थान तस्बिर बोकेर आफ्नै देशको माटोमा सपना बुन्नेछु।

जय रोकाया

केरला, भारत

कोठाभित्रै बिहानी र साँझ

जिन्दगी एकदम व्यस्त थियो । आफन्त अनि साथीभाइहरुको सधै एकै गुनासो थियाे – ‘तँ बिजी का बिजी नै हुन्छेस् । न तँलाई हाम्रो फोन उठाउने फुर्सद हुन्छ न त कल व्याक गर्ने नै । हुन त पैसा कमाउन लागेको मान्छे न परिस्, त्यस्तै हो ।’ मेराे समय र व्यस्तताका कारण मेरा आफन्त र साथीभाइबाट मैले प्राय सुनिरहने शब्दहरु हुन् यी । 

कहिले अफिस जाने हतारो त कहिले मिटिङ भ्याउनुपर्ने बाध्यता । आएका फोनहरू काट्दै  म भन्थे ‘अहिले राख्नुस् न, म पछि गर्छु ।’ तर पछि फेरि म त्यही दिनचर्यामा हराउँदा फोन गर्न भुसुक्कै बिर्सिन्थे । यही कारण म प्राय साथीभाइ र आफन्तबाट टाढिदै थिए । तर आज विश्वभरी चलिरहेको बिषम परिस्थितीका कारण म सेल्फ क्वारेन्टाइनमा छु । यही मौकामा म सबै साथी र आफन्तलाई दैनिक फोन गर्छु । सम्पर्कमा रहन्छु । म मेरो घरबाट नितान्त टाढा छु । तर मलाई यो फोन र ईन्टरनेटले सबैसंग बिल्कुलै नजिक बनाएको छ । लकडाउनको सुरुवाती दिनहरुमा अत्यास लाग्यो, कसरी समय काट्ने होला भनेर । तर अब आदत बन्दैछ। 

अहिले धेरैसंग समय छ । फुर्सद छ, तर कसैलाई कतै पुग्ने हतारो छैन । कसैलाई भेट्नु छैन । कति सयंम भएर हामी नेपाली जनताले सरकारलाई सघाइरहेका छौ । हामी बन्द कोठामै छाै तर सबै एक जुट छाै । 

मलाई अहिले जिन्दगीका ठूल्ठूला योजना बनाउनु छैन । कसरी सफलता हात पारौ भन्ने छैन । त्यो बिदेशी यो स्वदेशी म ठूलो त्यो सानाे भन्ने भावना पनि छैन । मन मष्तिस्कमा केबल छ ‘बच्चादेखी वृद्धसम्म सबैलाई कसरी कोरोना भाइरसबाट सुरक्षित बनाउने’  

मेरो बिहानी यही कोठाको मिरमिरेबाट सुरु हुन्छ र यही कोठामै हरेक दिनको अन्त्य हुन्छ ।  मेरा प्यारा आफन्तसंग यही कोठामै बसेर कुरा गर्छु । रमाउँछु । बरू हरेक दिन नुनमा पानी मिसाएर पिउने छु तर बाहिर निस्केर सरकारलाई दु:ख दिने छैन । 

अनुपा कोइराला

धनकुटा 

शान्त रियाद एयरपोर्ट

धेरै साथीहरूले लेख्नु भएको दैनिकी देख्दा मलाई पनि नलेखी रहन मनले दिएन । त्यसैले लेख्दैछु । मध्यपूर्वका खाडी देशमा समय बिताएका लगभग डेढ दशक हुन लाग्यो। कुनै दिन हातको  छेको लगाउदै ,आकाशबाट आएको आवाज पच्छाउदै हवाईजहाज हेर्ने म, यिनै हवाईजहाजहरु को सामिप्यतामा काम गर्न लागेको यत्रो समय सम्म मेरो मनको कुनै पनि कुनामा यी कुरा थिएनन् जो आज मैले केही दिन देखि अनुभव गरिरहेछु ।

मैले अमेरिकी इराक युद्ध,अफगानिस्तान माथि भएको आक्रमणहरुका बारेमा थाहा पाएको थिए ।आपसी अन्तरद्वन्दका कारण २४ घन्टा भित्रमा नै मध्यपूर्वको देशहरूले कतारी नागरिकहरुलाई देश निकाला गरेको र साउदी सरकारले अवैध रूपमा बसिरहेका लाखौं  इथीयोपियन र बङ्गलादेशी नागरिकहरुलाई आफ्नै खर्चमा उनीहरुकै देश पठाएको पनि नजिकबाट देखेकै हो । तर त्यतिबेला पनि मानिसहरुमा अहिलेको जस्ताे त्रास र भय देखेको थिइन ।

साउदी सरकारले कोरोना सङ्क्रमणको कारण सार्वजनिक यातायातका साथ साथै हवाई उडान पनि प्रतिबन्ध लगाएपछि यति व्यस्त रियाद अन्तर्राष्ट्रिय हवाई अड्डा दिउँसै रात परे जस्तै चकमन्न छ । न यहाँ हवाईजहाजको कर्कश ध्वनि छ, न कसैलाई आफ्नो उडान छुट्ने चिन्ता ।  न कसैको फ्लाइट ढिला भयो भन्ने गुनासो नै छ। हिजोसम्म म आफ्नै अगाडि कोही साथी लडिहाल्यो भने एकछिन लडिबस् म पछि आएर उठाउला भन्दै सेकेन्ड र मिनेटको गन्तीमा हिड्ने मान्छे, आज आफ्नो कार्यालय बाहिर घाम ताप्दै बसेका सयौं विमानहरुलाई एक तमासले हेर्दै छु। र सोच्दै छु समय कति बलवान छ । मान्छेलाई छिन भरमा नै पङ्गु बनाइदिन सक्छ। हैन भने यी विमानहरु यतिबेला आकाशमा कावा खाइरहेका हुन्थे । मान्छे आ-आफ्नो गन्तव्यमा पुग्न तँछाडमछाड गरिरहेका हुन्थे। कोही आफ्नो व्यवसायिक प्रयोजनमा हुन्थे । कोही आफन्त र प्रियजन भेट्न दौडिरहेको हुन्थे । तर आज सबैको पखेटा काटिएको छ। सबैको खुट्टा बाँधिएको छ कारण एउटै छ विश्वलाई नै आतंकित बनाउने कोरोना भाइरस ।

अब यसको प्रत्यक्ष असर हामी जस्तै हवाई उड्डयनको क्षेत्रमा काम गर्नेहरुमा पर्दैछ। मलाई आजकल आजको भन्दा पनि भोलिको चिन्ता लाग्दैछ।यस बाट बच्नको लागि एउटामात्र सर्त छ त्यो हो कोरोनाको कहर शान्त हुनुपर्यो। त्यसमा तपाईंको मेरो र हाम्रो सबैको समान सहभागिता जरुरी छ।आफू बचौ,आफ्नालाई बचाऊ। अरुलाई पनि बाँच्ने वातावरण तयार गरौं ।

 केदार रेग्मी

इन्फ्लाइट क्याटरिङ अफिसर

साउदी एयरलाइन्स
रियाद एयरपोर्ट, साउदी अरब ।

अत्यास लगाउने झुटा खबर

हुन त  म नेपालको लकडाउनमा छुइनँ । तर यो कतारमा पनि बस्न साह्रै गाह्राे भइसक्यो । दिनका दिन ५० जना भन्दा धेरैलाई पोजेटिभ देखिन्छ । दिनभरि ८ घण्टा काम गरेर आयो अनि मोबाईलमा खवर हेर्दा मनै दुख्छ । महिनाभरि दुःख गरेर कमाएको पैसा पठायो, नेपालमा रिसिभ गर्ने वातावरण छैन । अनि अहिले त कत्ति झुटा खबर पनि अउँछन् । यस्ता झुट्टा नेपाली फेस्बुके खबरले झनै अत्ताइदिन्छ । कहिलेकाँही चैं त्याे झुट्टाे खबर हेर्नु भन्दा पहिल्यै हेरेको “हेर्ने कथा ” ३ पटक हेरिन्छ । र सुतिन्छ फलामको २ तले खाटमा ।

कोरोना भाइरस (covid 19) को आतंकले आफ्ना परिवारलाई समेत विच्छेद गराएर एकै ठाउँ गुम्सिएर बस्न बाध्य पारेको छ  । यहाँ कोही बल्ल बल्ल बिदा पाएर घर जान लागेकाहरू पनि रोकिएर बसेका छन् ।    

रोजीरोटीको लागि विदेशमा भएका हामी जस्ताको पीडा भयावह छ । हामी परदेशी मजदुरहरू एउटै साँघुरो कोठामा कोचिन बाध्य छौं। मानाै हामी एउटा अघोषित जेलमा छाैं । सरकारले लकडाउनमा बाहिर ननिस्कन उर्दी जारी गरेको छ । उल्लङ्घन गरेमा सजाय पाइन्छ ।

बजारहरू आंशिक मात्र खुलेका छन् कतारमा । त्याे पनि सीमित खाद्यान्न पाइने पसलहरू मात्रै । महंगीको कुरा गरि साध्यै छैन ।   २ पोटी लसुनको मुल्य ४ रियाल । एक पाउ अदुवाको ५ रियाल । खाद्यान्न किन्न जान पनि साह्रै गाह्रो छ । हरेक ठाउँमा शरिरको तापक्रम नाप्छन् । जताततै प्रहरीको गस्ती छ । कतै निस्किए पुलिसले समातिहाल्छ । कतै जानु परिहाल्यो भने कम्पनीको ड्रेस लगाएर मात्र जानु पर्छ । शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि रसिलो पोसिलो खाना खाने भन्छन्। तर यहाँ पैसा भएर पनि खान नपाउने अवस्था छ । के गर्नु यहाँ यस्तै छ ।  

झुटा खबरले अत्यास लाग्छ । यो दुःखी मनलाई झनै दुःखी बनाउँछ । त्यसैले सबैलाई मेरो बिनम्र अनुरोध छ कि कृपया झुटा खवर पोस्ट नगरी दिनु होला । सबैलाइ हौसला दिनु होला । साबुन पानी ले २० सेकेन्ड हात धुनु होला । मेरो आजको डायरी यत्ति नै । 

जय नेपाल !!

सुमन तिवारी

काभ्रेपलाञ्चोक, हाल: दोहा कतार

बिथोलिएको प्रवासी मन

कतार , मध्यपूर्वी खाडी मुलुक समृद्धी र बिकासमा धेरै अघि बढिसकेको, अनि लाखाैं नेपालीहरुको रोजगारीको गन्तव्य पनि कोरोनाबाट प्रताडित छ । यहाँ म जस्ता लाखाै युवाहरु घरपरिवार, आफन्त र आफ्नै चिन्ताले ग्रसित छाैं । नेपालमा कस्तो होला? यहाँ कस्तो हुनेहोला भन्ने दोहोरो चिन्तामा छाैं । धेरै प्रवासीहरु सावधानी र चिन्तामै आफ्नो नियमित काममा जान बाध्य छाैं। कम्पनिले बिदा नदिएसम्म आफूखुशी काम छोड्न मिल्दैन। कम्पनिले पनि माथिको आदेश (कतार सरकार)बिना काम बन्द गर्न मिल्दैन। समग्रमा जसोतसो काम चलिरहेको छ।

कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ। मृत्यु हुनेहरुको संख्या पनि बढ्दै छ। अहिलेसम्म हामी प्रवासी नेपालीहरुमा यो भाइरसले प्रवेश गरेको छैन। हालसम्म तयार नभएको यसको ओैषधि र खोपको काम के बर्षैपिच्छे दशैंमा पाइने आशिर्वाद र बिदाइमा प्राप्त कामनाले गर्ला त ! म सोचमग्न हुन्छु । तर जे भने पनि यसबाट बच्न हामी आफैले उच्च सावधानी अपनाउनु र जोगिने उपायहरुतिर लाग्नु नै एकमात्र बिकल्प रहेको छ।

बिहान चारबजे बाट शुरु हुने मेरो दैनिकीमा परिवार, आफन्त र पुरै कोरोना संक्रमित दुनियाँको चिन्ताले ठाँउ लिएको छ। नेपालमा Lock Down ले रोजिरोटी गुमेकाहरुको पीडा, एम्बुलेन्सले बिरामी बोक्न नमानेको समाचार पढ्दाको पीडा, कति देशमा मलामी बिनाको अन्तिम संस्कारको अवस्थाले दिएको पीडाले यो मन भतभति पोलेको छ। 

मुलुकमा व्याप्त भ्रष्टाचारले कोरोना महामारीको समयलाई समेत बाँकी नराख्दा आगो ओकल्न मन लाग्छ। असह्य पीडा र अति आक्रोशले मेरोजस्तै धेरै प्रवासी मनहरु बिथोलिएका छन् जसको सुरक्षित अवतरण राज्य संचालकहरुको काम गराइ र संवेदनशीलतामा मात्रै निर्भर छ। धेरैको मन काममा छैन, मनमा त्रास र भयले बास गरेको छ । काममा ध्यान नहुँदा दुर्घटना हुने सम्भावना बढ्छ। यो बिषयमा स्वयं हामी र काम लगाउने कम्पनिले पनि सोच्नु पर्छ । 

पहिले धेरैले धेरैलाई सोध्ने प्रश्न र दिइने जवाफ प्राय उस्तैउस्तै हुन्न्थ्यो। बिहानै गयो, बेलुका आयो, अलिअलि खायो, अनि सुत्यो, फेरि बिहान हुन्छ अनि त्यही सिलसिला चल्थ्यो । तर अहिले गफको बिषयबस्तु बदलिएको छ। कोरोना बिशेष गफ हुन्छन्, समाचारमाथि टिप्पणी , बहस हुन्छन् । अब के हुने हो? कम्पनिले कसो गर्ने हो? भोलिका दिन कस्ता आउने हुन्? कोरोना संकट कहिलेसम्म रहला जस्ता प्रश्नहरु बेजवाफ छन् । निन्द्रामा पनि म जवाफ नै खोजिरहेकाे हुन्छु ।  

पदमप्रसाद भट्टराई

गाैरादह, झापा, हाल- कतार

बेफुर्सदी मान्छेहरु

विहानैदेखि विभिन्न शैक्षिक, सामाजिक र पेसागत कर्ममा साँझसम्म सल्बलाउने, यी पाइलाहरु अहिले अदृष्य बन्धनमा बाँधिएका छन् । प्राय यी दिनहरु सामाजिक संजालमा विभिन्न सकारात्मक सन्देशहरु लेख्दै, प्रेरणादायी कुराहरु सुन्दै  र केही हेर्ने कथाका भागहरु दोहोर्याउँदै बिताइरहेको छु ।

सामाजिक कार्यमा रुची राख्ने भएकाले बितेका दुई तीन दिन म जिल्ला प्रशासन कार्यालयको समन्वयमा विशेष सावधानी अपनाएर केही टोलहरुमा गए । हामीले केही सहयोग गर्ने सोचले त्यहाँ पुगेका थियौँ । हामीले कल्पना गरेको नेपाल भन्दा वास्तविक नेपाल धेरै तल रहेछ । धेरै मानिसहरुलाई छाक टार्न नै गाह्रो रहेछ । देख्दा आँखा नै रसाउने हेर्ने कथाका केही अंश जस्तै । सुनसान बजारका बस्तीबाट निस्केर डाँडाकाँडा पुग्दै गर्दा भोको पेटले चामलको खोजीमा हिँडेकी आमा र आमाले खानेकुरा ल्याउने आशमा बाटो हेरिरहेका ती कलिला आँखाहरु । आखिर कसको हृदयमा चोट नपुग्ला र त्यो कारुणिक दृष्यबाट । त्यहीँबाट पनि मैले थप सहयोग र राहत आवश्यक छ भनेर सामाजिक संजाल मार्फत सूचना दिने निधाे गरेको हुँ ।

सोही यात्राको क्रममा बाहिरी संसार एकैछिन नियाल्दा लकडाउनले छोएको त केवल सहर मात्रै छ जस्ताे लाग्याे । खेतीपातीमा रमाएका किसानहरुलाई लकडाउनमा घर बस्ने फुर्सद कहाँ । कोेही मकै छर्दै थिए । कोही गोठाला हिँडेका । कोही रुखबाट  घाँस खसाल्दै गरेका देखिन्थे त कोही पिठ्यूमा मलका डोका बोक्दै गरेका । नत उनीहरुमा कुनै डर थियो न त डरको बारेमा सोच्ने फुर्सद नै । डर त केवल खेतीबाली उब्जनी र बस्तुभाउको पेटको पो रहेछ ।

एउटा सानो देश भित्रको, सानो ठाउँको, सानो गाउँ टोललाई मात्रै हेर्ने हो भने पनि कति फरक छ,यहाँ जिउने जिन्दगी । यसो कोठामा बसेर सोन्दैछु, ती मानिसहरुमा चेतनाको कमी होला कि साँच्चै नै कोरोनासँग लड्ने आत्मबल र हिम्मत । के ले उनीहरूलाई त्यति जाँगरिलो बनाएको होला ! बेफुर्सदी बनाएको होला ।

खैर, बाँकी दिनहरुलाई हेर्दा विभिन्न काममा व्यस्त भइरहने जीवन एउटा कोठा र घरमा बन्दक बनाएर राख्न निकै कठिन हुने देख्छु । न त निन्द्रा लाग्ने, न त भोक, के हो के नपुगेको जस्तो । केही विर्सेजस्तो । त्यसै अत्तालिँदो रहेछ । मनमा अनेक डरहरु साँचेर पनि कोरोनाको बारेमा एकछिन बिर्सने हो भने यस लकडाउनले मलाई धेरै आफन्तसँग कुरा गर्ने र जोडिने फुर्सद मिलाइदिएको छ । जीवनमा काम बाहेक सधै कम समय दिएको परिवारिक सम्बन्धको महत्व बुझाइदिएको छ । 

ए ! आज त एकै चोटी ३ जनामा संक्रमण भेटियो रे ! ममी उताबाट भन्दै हुनुहुन्छ । तपाईँहरु पनि थप सजग हुनुहोस है !!

गाैरब पन्थ

व्यास , तनहुँ

ईन्डियाबाट खबर

आँसुले भरिएका ती कोमल नयनहरु मेरो बाटो हेरि रहेका होलान् । धेरै कमाउने अनि ती तिम्रा सपनाहरु पुरा गर्न एउटा सोच लिएर धेरै टाढा आएको छु ।

जाने मन त कस्को पो हुन्छर आमा बाबाको साथ अनि आफूलाईभन्दा बढी माया गर्ने मायालु लाई छाेडेर । तर बाध्यतामा बाँधिदा आज सबै बाट टाढा छु । परदेशी भएसि ती बिताएका बाल्यकाल अनि परिवारबाट टाढा हुनु पर्ने । मनमा पिडाभए पनि बस्नु पर्ने । पीडा जे जस्तो भए पनि आफ्नो घर परिवारको साथ सम्झँदा मन कुँडिएर आउँछ ।

यस्तै यस्तै काटि रहेको थिएँ जीवन त्यो दिन पनि धेरै सोच मनमा रजाएको थिएँ । जताततै डर लाग्दो कुराहरु मात्र सुनिएको थियो विश्व भरि फैलिएको माहामारि कोरोना covid-19 सबै ठाउँमा फैलिरहेको छ भन्दा बिमारि भेट्न थालेको छन रे भन्ने सुन्दा मन निरास भयो । एउटै मात्र कुरा मनमा खेल्न थाल्यो मेरो घर परिवार अनि आफूलाईभन्दा बढी माया गर्ने मायालुले पनि यो कुरा थाहा पएका होलान् भनि । के हुने हो, के गर्ने हो केही कुरा सोच्न सकेको थिइन मैले  । घर परिवारले के सुनेको होलान ? कति सम्झिएका होलान ?

मन सम्हाल्न सकेको थिइन । रुनु कि हाँस्नु भयो। जस्लाई हेर्यो यस्तै कुरा मात्र गर्छन। केही आँट आएको थिएन । फेरि सोचेँ म जस्ता हाजारौँ पर्देशिको पीडा यस्तै होला उनिहरू पनि आफ्नोे परिवार छोडेर टाढा छन् । उनिहरू पनि यहि सोचेका होलान जसो तसो मनलाई सम्हाल्न कोसिस गरे । यस्तै मनमा अनेकौं कुराहरू सोचिरहेको थिए मोबाइलमा फोन आयो । साहुको फोन रहेछ आज बाट काम बन्द हुदैछ अरु कुरा गर्ने नपाउँदै फोन काटियो । झन छाँगा बाट खसे जस्तो भयो ।

न त हातमा पैसा छ न त बस्ने ठेगान जसो तसो एउटै रुम मा धेरै जना बस्दै आका थियौँ। के खाने के गर्ने चिन्ताले सताउन थाल्यो हरेक दिन जस्तो आज पनि घर बाट फोन आयो अतालिएको मन अनि डराएको स्वर । “सन्चै हुनुन्छ ? ” बोली सुन्दा झन मन आतिन थाल्यो । भन्छन् टाढा हुँदा जति परिवारको मायाले सताउछ त्यति देशको पनि माया लाउछ। कुराहरु यहि माहामारि फैलाएको कोरोनाको नै निस्कन थाल्यो सम्झाउन थाले परिवार अनि देश संकटमा परेको बेला माहामारि बाट बाच्न घरमै बस्ने, सेनिटाइजर अनि साबुनको प्रयोग गरि हात धुने यस्तै यस्तै ।

हुन त गाउँले जीवन कहाँ सम्भब हुन्छ र । कामको बेला तै पनि सतर्कता अपनाउनु पर्छ । उता बाट पनि यस्तै कुरा हरु आयो फोन राखे । न त घर जान नै पाइयो न त बस्ने खाने ठेगान छ। तै पनि बिपत्ति को बेला जसो तसो गरैँला भन्ने आट आयो । सोच्छु म जस्तो हजारौं पर्देसी नेपालीको पिडा यस्तै होला । उनीहरू पनि निरासमै होलान् । पीडा सबैको एउटै हो नि आफ्नो देशमा रोजगारी भएको भए कम्सेकम भोकै बस्नु पर्ने बाध्यता आउने थिएन।

धेरै चिन्ता नलिनु बाबा आमा अनि मायालु छिटै फर्कि आउने छु । सावधानी सङ्गै अगाडि बढ्नु । दुःख सुख भन्ने त जीवनमा हमेसा परेको नै हुन्छ । 

दिपक भण्डारी 

दिल्ली, ईन्डिया

सेताम्य बोटहरु र माहुरीका झुण्ड

चैत महिनाको रापिलो घाम। गाउँ सुनसान  छ। उसै त गाउँका पाताला बस्ती । चैते घामलाई चुनौती दिएर रुखविरुवाहरु अंकुराउँदै छन्। झरेका पातहरु बिस्तारै पलाउँदै छन्, हुर्कने बढ्ने सपना बोकेर । घर वरिपरिका सुन्तला र जुनारका बोटहरु अहिले सेताम्य बनेका छन् । सरर…. हावा चल्दा निस्कने मिठासपूर्ण वासनाले मन थामिनसक्नु पार्छ । अनि ती बोटहरुमा झुम्मिरहने माहुरीका झुण्डहरुको आवाज झनै सुमधुर छ । साँच्चै कति मेहनती छन् यी माहुरीहरु, कति सपना बोकेका होलान् तिनीहरुले, कति रहर पालेका होलान् ? रात दिन नभनी मेहनत गर्छन् । घारमा मह जम्मा पार्छन् । अनि अरुलाई सुम्पन्छन् । 

समयको वहाव पनि कस्तो कस्तो ? न रोकेर रोकिन्छ । न छेकेरै छेक्न सकिन्छ । अहिले भर्खर मसिनो कणजस्ता चिचिला लागेका छन् सुन्तला र जुनारहरु । तर तिनीहरु यति छिटो ठूला ठूला हुन्छन् कि अबको छ महिनापछि हामीलाई टिपेर खान हतारो हुन्छ ।

करिव १६ बर्ष भयो । अध्ययन र अवसरको खोजीमा घरबाट डेरा सरेको । यो १६ बर्षे अवधिपछि फेरि डेरा छोडी घर बसेको सबैभन्दा लामाे इतिहास बनाएको यही पालि हो। कोरोनाको कहर बढ्दै जाँदा कार्यालयले घरबाटै भर्चुअल ढंगले काम गर्ने व्यवस्थापन मिलाए पछि मेरो शहरी बसाइ गाउँ सर्याे ।

गाउँ पनि पहिलेको जस्तो कहाँ रह्यो र ? गाउँमा प्रशस्तै खेतीपानी हुने जमिन बाँझा छन् । कसेरावारी पनि खुम्चिएर ईत्रो सानो बनेको छ । गोठभरि हुने गाई वस्तु, भेडा बाख्रा पनि एक दुई वटामा सिमिति बनेछन् । भान्छामा ढिडो च्याख्ला पाक्न छोडेछ।बजारबाट आउने सेता चामल सबैका प्रिय बनेछन् । विकासको गतिसँगै खेतबारीमा यातायातका साधनहरु उफ्रन थालेपछि शहरतिर पाइने पेय पर्दाथले गाउँ  ढाक्न थालेछ । अनि त के चाहियो र ! गाउँले पनि दुध, दही र मोही जस्ता आर्गानिक पेय छाडेर कोकाकोला पिउन थालेछन् । सायद कमै छाना होलान् डिस होमको छाता नजोडिएको, टेलिभिजनले गर्दा गाउँले जनजीवनमा अर्को तरंग ल्याएछ। अनि स्मार्ट फोनले त गाउँमा अहिले प्रचण्ड क्रान्ति नै ल्याएको रैछ । 

गाउँमा अहिले रेमिट्यान्स मात्र आउँदैन त्याे सँगै अलिअलि समृद्धि अनि अलिकता विकृति पनि आएछ । भकारोको रास जत्रो वियर र अनि के के थरीका अल्कोहोलिक पेय पर्दाथका बोतलहरुको रासबाट यत्ति त अनुमान पनि गर्न सकिन्छ। अरु कुरा आर्गानिक खान नपाए पनि काल्नामुनिको ढुंगे धाराको पानी चाहिँ अहिले पनि आर्गानिक नै रैछ । पानी नै यति मिठो की जति खायो उति खाउँ लाग्ने । सहरको बन्द कोठा भित्रको वाथरुममा नुहाउनु भन्दा त रापिलो चैते घाममा यही ढुंगे धारामा नुहाउँदा ज्यान पनि चंगा बनेको छ यति बेला । 

सुरुका केही दिन कामको चाप थियो । घरबाटै काम गरियो । विस्तारै काम हलुका भए पछि पुस्तक पढ्ने पालो आयो। डेराबाट ल्याएका केही थान किताव सकिए पछि केही अनलाईनबाट डाउनलोड गरेको पुस्तकहरु दिन कटाउने मेलो बनेका छन् । गाउँभरि पनि कोरोनाकै डर छ । मानिसहरु हत्तपत्त भेला भएका छैन् । परिवारमात्र मिलेर खेतवारीको काम गर्छन्। त्यसो त अहिले हाम्रा गाउँ तिर गहिहाल्ने खेतीपातीको काम पनि छैन् । कोरोनाबाट नागरिक जोगाउन मेरो स्थानीय सरकारले केही प्रयास गरे पनि त्यो औपचारिकता मात्र हो । जोगिने त हामीले घरमै बसेर हो । 

शेरबहादुर भुजेल

मेलुङ, दोलखा

जिन्दगीको माया

लकडाउनमा बसेर डिजिटल डिभाईसहरुमा  चर्चित व्यक्ति, साहित्यकारहरुको लकडाउन डायरी पढिरहँदा मलाई पनि यो बसाईको डायरी लेख्न मन लाग्यो तर मैले कहिल्यै डायरी लेखेको छैन।

हुन त यो डायरीमा मैले पनि हाल म बाँचिरहेको समय नै लेख्ने हो।

अहिले म बाँचेको समय र अरुले बाँचेको समयमा त्यति ठूलो फरक छैन। उही त हो कोरोना संक्रमण,लकडाउन उही दिनचर्या। लक डाउनको २/४ दिनसम्म त ठिकै थियो । त्यसपछि भने एकदमै उकुसमुकुस भएकाे छ । कतै कुदिहालाै, सधैं तरकारी किन्न जाने पसले काकासँग भेटेर दुईचार बात गरीहालाैं, त्यही चोकमा चट्पटे र पानीपुरी बेच्नेसँग जिस्केर बसौं, २/४ जना साथीहरुको ग्याङ बनाएर बिन्दास तरिकाले जोक्स सुन्दै र सुनाउँदै उन्मुक्त हाँसो हाँस्दै टि.युको जंगलहरुको फन्को मारीहालाैं ( प्रत्येक दिन हामी बेलुकीपख त्यसरी घुम्थ्याैं)। यो सब एकदम मिस गरीरहेछु।

जब नेपालमा पनि कोरोना संक्रमित बिरामी भेटिएकाे खबर आउन थालेयता दिमाग झस्किन थालेको थियो । लकडाउनमन बसिरहँदा अनेक विचारहरु मनमा आइरहने रहेछ । हरेक दिन संक्रमित बिरामीहरु बढ्दै जाँदा मन झन् झन् अमिलिन थाल्ने रहेछ । यसबेला घर सम्झे, परिवार सम्झे। दुःख पर्दा सबै आफन्तहरुको सम्झना आउँदो रहेछ । सायद सबैलाई यस्तै हुन्छ ।

हाम्रो परिवार धेरैजसो सबै काठमाडौंतिर भएकाले भेटघाट भइरहन्थ्यो । तर मेरा जीवित दुई भगवान गाउँमै हुनुहुन्छ । फोनमा नियमित कुरा हुन्छ । हाम्रो अत्ति चिन्ता गरिरहनुहुन्छ । बुवा आमा भन्नुहुन्छ,  ‘के गरी बस्छाै, अलि जोगिएर बस, खानेकुरा पनि सकियो होला आदि।’ तर फोनमा कुरा गर्दा सुनेको स्वरले प्रत्यक्ष भेट्ने तिर्खा नमेटिँदो रहेछ। गाउँघर आमाबुबा सम्झेर फेरि एकचोटी नोस्टाल्जिक भए । तर जतिसुकै नोस्टाल्जिक र उकुसमुकुस भए पनि विश्वभरी नै डढेलो जसरी कोरोना सल्किरहेको बेला लकडाउनलाई पूर्णरुपमा पालना गरेर आफू जहाँ छु त्यही नै सुरक्षित बस्नुको विकल्पै छैन। सधैं मनमा नयाँ कुराहरु आउँदा ल्यापटप खोलेर लेखिहाल्थेँ अचेल निक्कै भयो ल्यापटप पनि नखोलेकाे । जहिँको तहीँ छ।

दिमागलाई कुनै पनि कुरामा केन्द्रित गर्न सकिरहेको छैन । पढ्न फिटिक्कै मन लाग्दैन। कोर्सको पुस्तक त झन् हेर्नै मन नलाग्ने। पढ्न मन नलाग्दा नलाग्दै मन विचलित हुँदाहुँदै पनि पछिल्लो समय मनलाई केन्द्रित पार्ने कोसिस गर्दै छु। किनकी यो अफ्ठ्यारो अवस्थाको सामना गर्ने म मात्र एक्लो होइन । विश्व नै यसमा परेको छ भनेर मन बुझाउन थालेको छु।

यो लकडाउनको असहज बसाइलाई सहज बनाउनको लागि दाजै मनिष बेला बेला सारङ्गी रेट्नु हुन्छ, सारङ्गी बजाउन सिक्ने उहाँको ठूलो रहर । अनि म बाँसुरी बजाएर दिनलाई सहज बनाउने प्रयास गर्छु । सारङ्गी बाँसुरी र गीतको तालमेल नमिल्दा हामी मज्जाले हाँस्छाै । यसरी दिनहरु थोरै सहज हुन थाले पछि भने बरु कोर्स बाहिरका केही पुस्तकहरु थोरै थोरै पढेँ । मेरो मन पर्ने लेखक मध्यका एक नयनराज पाण्डेको “यार” दोहोर्याएर पढेँ । मेरो प्रिय कविहरु स्वप्निल स्मृति, उपेन्द्र सुब्बा, नवराज पराजुलीका कविताहरु युट्युबमा खोजेर सुन्न थाले । यसरी दिनचर्यालाई सहज बनाउँदा बनाउँदै पनि कोरोना सम्बन्धि घरिघरि आइरहने समाचारले मन झस्काइरहन्छ । यो फेक अनलाईन समाचारतिर आँखा नलगाउ भन्दा पनि पुगी हाल्ने !

यो लकडाउनले एउटै घरमा बस्ने वल्लो कोठा र पल्लो कोठाको ढोकापनि “लक” गरिदिएको छ । मान्छेमान्छेको भरोसा बन्न छाडेको छ। मलाई लाग्थ्यो, मर्नु त एकदिन छँदै छ भने मर्नुदेखि  डर किन? चाहे त्यो क्यान्सर भएर हाेस् वा त्यो भन्दा नि भयङ्कर! जस्तो सुकै अवस्थालाई पनि स्वीकार्न सक्छु जस्तो लाग्थ्यो। तर होइन रहेछ । मलाई मेरो आफ्नै जिन्दगीको पहिलोचोटि माया लागेर आयो । मर्न देखि डर लागेर आयाे । हामी मान्छेहरु सहज मृत्यु नै मर्न चाहने रहेछाैं भन्ने भान भयो। दिनहुँ मान्छे मरिरहेको सुन्दा म पनि कामना गर्दछु कि जिन्दगी जस्तो सुकै बाँचे पनि मर्न चाहिँ सहजै  पाउँ ।

दिलिप राई 

जालपा, खोटाङ्ग

बाँच्नु ठूलो कुरा रहेछ

नेपाल सरकारको नेपालका सबै नाका सहित देश नै लकडाउन गर्ने निर्णयसँगै मैले पनि मेरो दैनिक कार्यक्रममा लकडाउन गरे । 

लकडाउनसंगै मेरो  दैनिकी चार भित्ताको एउटा कोठा भित्र खुम्चियाे। कोठा भित्रकाे मेरा दैनिकी अरु दिनभन्दा फरक थिए।  सुरुको एक दिन त मैले अब के गर्ने,  के नगर्ने भनेर छुट्टाउनै सकिन। त्यो दिन बिताउन साह्रै गाह्राे पनि भयो। सँधै बिहान उठेर कलेज जाने बानी परेकाले  होला यस्ताे भएको।

दोस्रो दिनबाट मैले केही लकडाउन योजना बनाए। जुन योजना मैले मेरा कलेजका साथीहरूलाई पनि मेसेन्जेरमा पठाए। सबै एक चोटी हाँसे र मेरो योजना सबै साथीहरूलाई फाइदाजनक नै लाग्याे। मेरो योजनाको एउटा बुँदा थियाे: सबै पुराना प्रश्नहरूको समाधान प्रस्ताव । हामी ईन्जिनियरिङका विद्यार्थी थियौं र लकडाउनले हाम्रो परीक्षा स्थगित भएको थियाे।सबै साथीहरुले मेरो प्रस्ताव स्वीकार गरे।

यसरी मैले साेचे भन्दा फरक तरिकाले मेरो दैनिकी बित्न थाल्यो। मैले सोचेको थिए कतै निस्किन नपाएपछि त जेल जस्तै होला। तर भएन। किन मैले नयाँ कामको सुरुवात गरे। मैले पुराना पुस्तक निकालेर पढेँ ।  विशेश्वरप्रसाद कोइरालाको तीन घुम्ती, सुशीला कार्कीको न्याय देखी बिजय कुमार पाण्डेको खुशी, यही समयमा पढेँ।

अहिले अब केही समय कलेजका साथीहरू मनोज,गोबिन्द, सुस्मित ,निर्जल र कृस्टिसँग ग्रुप च्याट गर्छु। त्यसपछि भागवत गिता सुन्छु।

यो महामारीमा एउटा अनुभूती भएको छ मलाई : बाँच्नु नै सबैभन्दा ठूलो कुरा रहेछ।

 बिष्णु स्वार 

पुरानो बानेश्वर, काठमाडौ 

लकडाउन बुझाउँदै

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको आज पहिलो दिन हो । म म्याग्दीको स्वयंसेवक समूहमा पनि आवद्ध छु । यसमा प्रहरी र स्थानीय युवा संलग्न छाै । सवेरै नै स्वयंसेवक परिचालन तथा लक डाउनको पालनाबारे सचेतनाकोे लागि हाम्रो टोली बेनी नगरपालिका तथा जिल्लाको सिमानामा गयाै ।आजको मुख्य काम लकडाउन अवेज्ञा गर्नेलाई यसबारे सचेतना दिने र जिल्लामा अति आवश्यक कार्य बाहेक अन्य मानिसहरुको ओहोर दोहोर गर्न नदिनु थियो । साथै कोरोनाकोबाट बच्ने उपायको बारेमा जानकारी पनि दियाैं । 

म र मेरो समूहको साथीहरु म्याग्दीको प्रमुख द्धार कालीपुलको पक्कि पुलमा पुग्यौ । हामी दिन भर नेपाल प्रहरी तथा आर्मीहरुसँग सहकार्य गर्दै काम गरिरहेका थियौ । दिनभरमा धेरै किसिमका मानिसहरुसँग भेट भयो ।कोही आफूलाई आवश्यक सामानको खरिदका लागि, कोही आफनो घर जानका लागि, कोही भने यत्तिकै बरालिदै ओहोर दोहोर गरिरहेका थिए । यतिकै बरालिनेलाई कडा रूपमा सम्झायाैं । एकति जनाले हाम्रा कुरा मनमा लिनु भयो भने कतिले चित्त बुझाउनुभएन । हामीले सम्झाएका मानिसहरु मध्य केहीले नेपालमा केही हुँदैन भन्ने भ्रम दिने खालको अभिव्यक्ति पनि दिनुभयाे । केहीले हाम्रो कामलाई स्वागत गरे ।

मध्य दिनको चर्को घाममा पनि म र मेरा साथीहरु लकडाउनको पालना गर्नुस् भन्दै सबैलाई सचेत गराउने प्रयासमा थियौ । अरुलाई सम्झाउने काम साह्रै गाह्राे हुने रहेछ ! हाम्रै उमेरका कति युवा साथीहरुलाई पनि सम्झाउन गाह्राे भइरहेको थियो । संगैका एक जना आर्मी दाइ भन्दै हुनुहुन्थ्याे,“ हामीले आफ्नो सबै परिवार छोडेर यहाँ जनताको सुरक्षाको लागि रातदिन गरी यसरी खटिरहेका छौ । तर कति मान्छेहरू आफ्नो परवाह त गरेनन् गरेनन् , आफ्नो परिवारलाई पनि जोखिममा राखेर बाहिर खुलेआम हिडिरहेका छन् ।” यो वाक्यले मेरो मन पनि चसक्क भयाे । आफ्नो परिवार छाडेर जोखिम मोल्दै हर बखत सेवामा तयार रहने सुरक्षाकर्मीहरु प्रति सम्मान र आत्मियता जाग्याे ।  

हुन त म पनि मेरो परिवार देखि टाढा रहेर सबैलाई सचेत गराउने अभियानमा लागिरहेको छु । मलाई पनि घर , ममीबुवा, दिदीदाइको औधी याद आइरहेको छ । कस्ताे संयोग थियाे त्याे । ठिक त्यति नै बेला मेरो मोवाइलको घण्टी बज्यो । घरबाट ममीको फोन रहेछ । ममीले मेरो सन्चो बिसन्चो सोधी मेरो घर आउने बाटो कुरिरहेको बताउनुभयो । म मेरो पढाइ र कामले गर्दा घर नगएको पनि धेरै भइसकेको थियो । त्यसैले यो लकडाउनको समयमा छोरी घर आउँछे भन्ने आश लिएर बस्नुभएको रहेछ । एक मन त भर्खरै उडेर घर पुगाैं जस्तो पनि भयो । तर आफ्नो कर्तव्य पनि सम्झे ।  ममीलाई आफूले स्वयंसेवा गर्दै गरेकाले अहिले घर आउन नमिल्ने बताए । ममी केही आत्तिनुभयो । तर मैले यस्तो विपद्को घडीमा म र मेरा साथीहरुको सानो प्रयासले सबै जना आफ्नो परिवारसंग सुरक्षित रहन्छन भने हामीले प्रयास गर्नुपर्छ भनेर सम्झाए । ममीले अलि संकोच मान्दै मलाई आफनो ख्याल राख्न भन्नुभयो । मेरो मनको कुरा पनि बुझ्नुभयाे शायद र अन्तिमममा राम्रो काम गर्न हाैसला दिदै फोन राख्नुभयाे । आफ्नो सन्तानको हरदम खुसी चाहने आमाबुबा मात्रै त हुन् । 

ममीसँगको कुराकानी पछि त्यो चर्को गर्मिमा पनि मनमा केही गनुपर्छ भन्ने भावना आयाे । बेला बेलामा भाउजू, दाइ दिदिको फोन पनि आइरहेको थियो । सबैसँग कुरा गरिरहे र आफनो काममा लागिरहे । 

म पर्वत बेनी तिरको साइडमा काम गरिरहेको थिए । गर्मीले हस्याङ फस्याङ गदै एक जना वृद्ध आमा लकडाउन हो भन्ने थाहा नपाएर पर्वतको मल्लाज भन्ने गाउँ देखि विजुलीको महसुल तिर्न बेनी झर्नुभएको रहेछ । उहाँ निराश हुँदै घर फर्किन लाग्नु भएको थियो । तर हामीले उहाँलाई विजुलीको महसुल तिर्नको लागि सहयोग गर्याै । उहाँको चाउरी परेको गालामा खुसीको लहर देख्दा मनै रमायो । दिनभर हामी खटिरहयौ। बेलुका तिर भने आवत जावत कम भयो र अर्को साथीलाई पालो दिएर म र मेरो समूहका साथीहरु आ–आफनो डेरामा फर्कियौ । दिनभरको  थकान भए पनि मनमा भने एक प्रकारको आनन्दको सञ्चार भइरहेको थियो ।स्वार्थ र अपेक्षा बिनाको कामले मनमा सन्तुष्टि मिल्छ भन्थे, हो रहेछ ! 

सबैले लकडाउनको समयमा आफनो घरपरिवारसँग साथमा रम्न सबैको भागमा हुँदैन । त्यसैले जो आफ्नो परिवारसँग हुनुहुन्छ आफ्नो र परिवारको ख्याल गर्नुहोला । यो समय बाहिर घुमेर होइन घरमै सिर्जनात्मक काम गराैं । एक अर्कोलाई सहयोग गरौं। आफू पनि बचौं अरुलाई पनि बचाऊ । 

रञ्जना श्रेष्ठ

म्याग्दी

भाग्यमानी म

मलाई लकडाउनको शाब्दिक अर्थ थाहा भए पनि मैले महसुस चाहिँ गरेको छैन किनभने म बिद्यार्थी हुँ । घरमै बसेर अध्ययन गर्नै पर्ने स्थिति छ मेरो। मैले लकडाउन महसुस गर्नु परेको छैन, यस अर्थमा म आफैलाई  भाग्यमानी ठान्दछु। म ज्यानको प्रवाह नगरी आफ्नो देश छिर्नका लागि नदिमा हाम फाल्ने नेपाली भन्दा भाग्यमानी रहेछु । अझ दैनिक ज्याला बुझेर छाक टार्ने भन्दा पनि भाग्यमानी रहेछु । आफ्नो घर पुग्नलाई सयौं किलोमिटर पैदल तय गर्न नडराउने नेपाली भन्दा म धेरै भाग्यमानी रहेछु। 

मलाई भित्रभित्रै लाज पनि लाग्छ किनभने म सबैभन्दा काँतर रहेछु ।  कुनैबेला आफूलाई अभागी पनि महसुस गर्छु । कारण म किसान होइन । आपत परेका बेलामा पनि म अरुमै निर्भर छु ।लकडाउन सुरु हुँदै गर्दा मलाई लाग्थ्यो, म गणतान्त्रिक मुलुकको नागरिक, मलाई स्वतन्त्रताको अधिकार संविधानले नै दिएको छ । तर अहिले म गलत रहेछु भन्ने लाग्छ । लकडाउनले मलाई बुझाएको स्वतन्त्रताको अर्थ अर्कै छ। यो महामारीका बेला पसलेले ‘तँलाई सामान दिन्न’ भन्यो भने मैले के खाने ! म कसरी बाँच्ने ! अनि म कसरी स्वतन्त्र भए ? यदि म किसान भएको भए खान पुग्ने गरि उत्पादन गर्न सक्थे ।  पैसाले मान्छेलाई धनी नबनाउँदो रहेछ । उत्पादनले पो बनाउने रहेछ । मेरो दिन यस्तै सोच्दै बित्छ ।  

पाठ्यक्रमबाट पाइने ज्ञान लिन अल्छि गरे भने पछि पर्छु कि जस्तो पनि लाग्छ । त्यसकारण मेरो दैनिकीको धेरै अंश पाठ्यक्रमको विषयबस्तुमै केन्द्रित भएर बित्छ। नयाँदिल्ली जस्तो शहरमा बस्नुपर्दा धेरै नबाँचिने भइयाे झै लाग्थ्यो । तर अचेल अल्लि ढुक्क भएर सास फेर्न थालेको छु। मनको डर त कसरी पो मेटिएला र खै !

दिन ढल्किदै जाँदा अस्ताउँदो सूर्यसंगै आकाश आगो जस्तै बल्छ । प्रकृतिले आफ्नो सुन्दरताको शक्ति उसका बिरोधीहरुसामु प्रस्तुत गर्न कोसिस गरेको हो कि भनेर कल्पना गर्छु । प्रकृतिले नै सिर्जना गरेको मान्छेले प्रकृतिसंगै जोरी खोजेर कहाँ सक्छ र !  आखिरमा घुँडा टेक्नै पर्छ। त्यही प्रकृतिले सफा राख्न खोजेको हावाको लोभ लागेर ब्यायाम गर्छु। टन्न सास फेर्दै मेरो ज्यानलाई आवस्यक अक्सिजन दिन्छु । सामाजिक संजालमा केहीबेर समय बिताउँछु । राम्रा समाचारमा आशाका किरणहरु झल्किदा दंग पर्छु । अरुको खुसी देखेर म पनि रमाउँछु । साथीहरुले मोमो, चट्पट आदि खाएम् भन्दै राखेका स्टोरी देखेर म पनि मुख मिठ्याउछु । कुनै कुरा चित्त नपरे शब्दमै आक्रोश व्यक्त गरि पनि हाल्छु । तर जसले जे भनेपनि देश भन्दा ठूलो केही छैन रैछ । यस्तै सोच्दा सोच्दै रात पर्छ अनि शान्त र सुखी भोलिको कल्पना गर्दै निदाउँछु। 

गणेश कँडेल


बाग्लुङ, हाल नयाँ दिल्ली  

सोचलाई तङ्ग्राउने हो कि?

बिहानै उठ्छु । घरको छतमा रहेको गुलाफसंगै गमलामा अरु फूलहरु पनि ढकमक्क फुलेका छन् । घरसंगै जोडिएको अर्घाखाँची सन्धिखर्क शान्ति बगैचा भित्रका आँपका फूलहरुको बास्ना हावाको झोक्कासंगै म छेउ आइपुग्छ । अनि माथि छतबाट घर पछाडिको अम्बाको बोट नियाल्छु । त्यो पनि गज्जबसंग पलाउँदै छ । नयाँ पालुवा लाग्दैछ ।  घर अगाडि हेर्छु छतबाट नराम्रा देखिने झारहरु पनि आज सुन्दर फूल झै फुलेका छन् । यता, उता, अगाडि पछाडि अनि छिमेकका छत र करेसाबारी, डाँडाकाँडामा जताततै सुन्दर फूल जताततै हरियाली मात्रै देख्छु ।

मेरो चोकमा घरमा जहिले मोटरको आवाज र गाइँगुइँ मात्र सुनिने । आजभोलि  दिनमा १० बटा मात्र गाडी गुडेका छन् । अरु बेला सयाै अझ हजारसम्मै पुग्थ्याे होला । यस्ताे लाग्दैछ म कतै टाढाको गाउँमा आनन्दित छु । र विरामी पृथ्वी तङ्ग्रिदै छ । आहा ! कति रमाइलो ।  

यत्तिकैमा बहिनीको आवाज आयो “दाइ नयाँ भेटियो नि?”  

म झस्याङ्ग भए के कसाे भेटियो भन्ने कुरै भएन । कोरोनाको अर्को केस भेटियो भन्ने मैले बुझिहाले । 

अनि फोनको लक खोल्दै हेर्छु त आज शनिबार पो रहेछ । म आएको पनि १४ दिन भइसकेछ । दुईहप्ता देखि घरमै छु । काठमाडौ छँदा कहिले किर्तिपुरको डेराबाट बागबजार त कतिबेला बानेश्वर । कहिले कता कता ! बिहानै निस्किएको म ८-९ बजे सम्मै डुल्ने ।  साथीभाइ भेट्ने, बहस गर्ने मेरो दैनिकी अचेल फेरिएको छ । 

 यो समय कसरी सदुपयोग गर्ने भनेर कहिले भान्सा त कहिले करेसामा काम गरिराख्छु । केही कितावहरु पनि पढ्दैछु ।  बिहान बेलुका कि योग गर्छु कि नाच्न गाउन सिक्दैछु । घर भित्रै खुसी खोज्दैछु ।

आज विश्व भरिका मजस्तै व्यक्तिहरु लकडाउनमा छन् । यतिबेला काठमाडौका मेरा साथी र बिदेशमा रहेका मित्र, हामी सबैलाई यो रोगले जोडेको छ । हाम्रा चिन्ता एकै छन् ।अब यो लकडाउनपछि निस्कदा प्राकृतिक स्रोत र साधनको उचित प्रयोगको ठूलो अभिभारा म मा छ जस्तो लागेको छ ।

डाक्टर, नर्स, सुरक्षाकर्मी,सन्चारकर्मी जस्तै म पनि जिम्मेवार सिपाही हुँ । घर भित्रै बसेर कोरोनाबाट बच्न मेरो देश, सरकारलाई सहयोग गर्ने ममा पनि जिम्मेवारी छ। र यो महामारी सकिएपछि अहिले लकडाउनमा प्रकृति तङ्ग्रिए जस्तै हाम्रो सोचलाई पनि तङ्ग्र्याउन जरूरी छ ! 

नवीन पन्थी

१० कोठे काेरावास

मलाई प्लेनको यात्रा खुब मन पर्ने हो । प्लेनमा कुन समयमा उड्दैछु भन्ने कुराले मलाई कहिल्यै फरक परेन । प्लेनमा दिनको समयमा उड्दा पनि रमाइलो हुन्छ । रातमा उड्दा पनि उत्तिकै रमाइलो हुन्छ । 

दिनमा उड्दा बादलमाथिबाट बादल हेर्दा लाग्छ, प्लेनको त्यो सानो झ्यालबाट फुत्त फाल हान्दा पनि बादलमा तैरिन सकिन्छ । त्यो कपासको रुवा जस्तो बादलमा संसार भरको थकान मेट्न सकिन्छ । मानौँ, परीको देश त्यही हो । त्यही बादलको आँगन बनाएर सुन्दर सुन्दर परीहरु केटाकेटीलाई छक्कै पार्ने तिलस्मी जादुहरु गर्छन् । म परीको देशमा पुग्छु । 

रातमा उड्दा माथिबाट हेर्दा तल घरहरुमा बलेका बत्तिहरु कतै तारा जस्ता लाग्छन् र महसुस गराउँछन् कि म अन्तै कुनै अन्तरिक्ष सयर गर्दैछु । बेला बेला देखिने शहरहरुको एकमुस्ट उज्यालोले मान्छेको उज्यालोपना देखाउँछन् । मान्छेले चाह्यो भने रातलाई उज्यालो बनाउँछ, चरा जस्तै आकाशमा घुमाउँछ । म मान्छे भएकोमा गौरव गर्छु ।

तर सँधै यस्तो नहुँदो रहेछ । यस पटक अमेरिकाबाट फर्किदा मैले बादलहरु हेरिन । मैले तल ताराहरु झै कसैको घरमा बलेको बत्ति हेरिन । मैले कुनै अन्तरिक्षमा सयर गरेको मानिन । बरु मैले प्लेन भित्रका धेरै मानिसहरुको अनुहारमा टुकुटुकु हेरिरहे । ती अनुहारहरुमा कुनै चिनेको अनुहार भेटिन्छ भनेर खोजिरहेँ । मलाई साथ चाहिएको थियो । ‘तेरा सबै समस्याहरु चुट्कीका भरमा ठिक हुन्छन्’ भनेर आश्वासन दिने मान्छे चाहिएको थियो । मान्छे आत्तिए पछि मान्छेकै साथ चाहिंदो रहेछ । अडेस लाग्न सक्ने साथ भए पछि पो चम्किदो रहेछ प्रकृति पनि । आनन्दमा पो रंग्याउने रहेछ प्रकृतिले संसारमाअनेक रंगहरु । 

बल्ल बल्ल टर्मिनलमा प्लेन ओर्लियो । म ह्यान्डक्यारीको ह्यान्डिल समाएर एकतमासले अर्को प्लेन चढ्ने गेटतिर बढ्दैछु । टर्मिनलमा मान्छेको कल्याङमल्याङ छ । पसलमा मानिसहरुको भिड सँधै जस्तो छ । मान्छेहरु उसै गरि झुत्तिएका छन् । बेला बेला कुनै प्लेन ओर्लिदै गरेको र कुनै प्लेन उड्न लाग्दै गरेको सूचना कानमा ठोक्किन्छन् तर अवचेतन दिमागको पर्दा भन्दा पारी ती पुग्न सक्दैनन् । चेतन दिमाग मेरो अन्तै छ । त्यहाँ ममीले आत्तिदै फोन गरेको आवाज मात्रै छ । त्यहाँ कति खेर नेपाल पुग्छु भन्ने हुटहुटी मात्रै छ । बिरामी भएर आइसियुको कुनै बेडमा सुतिरहनु भएको बाबाको अनुहार मात्रै टाँसिएको छ । बेला बेला गालामा पानी बगेको थाहा पाउँछु । पुस्छु । मेरा आँसुहरु हुन्छन् । छेउका मान्छेहरु मेरो रुन्चे अनुहार र खस्दै गरेका आँखामा जीवनको विडम्बना पढ्छन् । म उनीहरुका आँखामा दया पढ्छु ।

म जति हतारिएको थिएँ, मेरो बाबाको लागि समय त्यो भन्दा रफ्तारमा थियो । म बाबाको समयको रफ्तार समात्न चाहन्थेँ तर मेरो मनको समय, बाबाको समय र प्लेनको समयमा सामञ्जस्यता थिएन । ८ घण्टाको ट्रान्जिट जीवनकै लामो ट्रान्जिट जस्तो भयो । म आफ्नो घर र देशबाट कति टाढा रहेछु भन्ने बल्ल थाहा पाउँदैछु । मैले पल पल सबै अनुभव गरेँ ।

रातको १ बजे प्लेन नेपालमा ओर्लियो । घर पुगियो । घरको माहौल फिक्का थियो तर सबैले त्यो फिक्कापन जित्न कोसिस गरिरहेका थिए । उनीहरु सकेसम्म मेरो स्वागत न्यानो बनाउन चाहन्थे तर भावनालाई जित्न सक्ने हामी को थियौ र ? ममीले अंगालो हालेर रुन थाल्नु भयो । तुरुन्तै अस्पताल जान खोजेँ तर आइ सि युको बिरामीलाई हाम्रो इच्छाले भेट्न नपाइने रहेछ । डाक्टरले भेट्न दिने समय भोलि बिहानको मात्रै रहेछ । सबैको अनुहारमा तनाव र कुनै नराम्रो घटना भोग्नु पर्ने हो कि भन्ने चिन्ता प्रस्टै देखिन्थ्यो । 

मान्छे कहिलेकाँही मेसिन जस्तो बन्छ । बन्नु पर्दो रहेछ । मेसिन जस्तै आफ्नो नियमित काममा लाग्नु पर्ने रहेछ । सधैँ जस्तो घरमा मेरो मन पर्ने खानेकुराहरु तयार भए । टेबुलमा सजिए । अमेरिकाबाट हिडेपछि नै पानी बाहेक केही छिरेको थिएन शरिरमा । एकदमै भोकाएको थिए । खान बसे । मान्छेहरु भोजन भन्दा भोक मिठो भन्छन् । तर सबै भन्दा मनको सन्तुष्टी मिठो रहेछ, आज बल्ल बुझे । खाना खानै सकिन ।

म अमेरिकामा मन अशान्त हुँदा आफ्नो घर सम्झिन्छु । आफू नेपालमा हुँदा बस्ने कोठाको कल्पना गर्छु । कल्पना मै त्यही ओछ्यानमा पल्टिन्छु । मनमा अचम्मको शान्ति आउँछ । आज म त्यही कल्पना गर्ने घर, त्यही घरको मेरो कोठा र मेरो ओछ्यानमा छु तर मनमा शान्ति छैन । घरभरिका बत्तिहरु बलेका छन् तर घर उज्यालो छैन । नहोस् पनि किन ? घरको बत्ती र शान्ती नै अस्पतालको आइसियुको बेडमा पछारिएको जो थियो । 

भोलिपल्ट बिहानै अस्पताल पुगेँ । बाबाको स्थिती सजिलो थिएन । त्यसमाथि भेट्न आउने मानिसहरुका अनेक किसिमका तर्क विर्तकले ममीलाई पनि अत्याउँथ्यो । बल्लतल्ल ममीलाई फकाउन सकिन्थ्यो । केही आफन्तहरु मात्रै हौसलाका कुरा गर्थे । त्यसले पोलेको मनमा अपार शान्ति हुन्थ्यो, केही बेर नै भए पनि । 

१२ दिन अस्पताल र घर गर्दा गर्दै बित्यो । त्यो बिचमा म घरमा भन्दा अस्पतालमा नै बसे । एकदिन ममी र म घरमा थियौ । भोलीपल्ट हजुरबुबाको सराद्ध भएर हामी त्यसको तयारीमा थियौँ । ममीले नुहाइधुहाइ गरेर रातोरंगको कुर्ता लगाउनु भएको थियो । मेरो ममीलाई रातो रंगले साह्रै खुल्छ । त्यो दिन मैले ममीलाई रातो कुर्तामा पहिले भन्दा खुलेको देखे । सुत्न हामी ओछ्यानमा पल्टिएका थियौ । तर निदाउन सकेका थिएनौ। रातीको १२:०५ तर फोनको घण्टी बज्यो । अस्पतालको आइसियुमा रहेको बिरामीको घरमा बज्ने हरेक फोनको घण्टीले अत्याउँछ । कुनै आपद सुन्न पर्ने हो कि भन्ने मनले संसारभरको बोझ त्यही फोनले बोक्छ । भारी मन गरेर फोन उठाए । बुबाको स्वर्गारोहण भइसकेको रहेछ । म चल्न सकिन । मेरा हात खुट्टाहरुले साथ छोडे ।मैले आफूलाई सम्हाल्न खोजे।परिवारमा पहिले कहिलै नदेखिएको कोलाहल देखियो ।

जिन्दगीमा पाएको अनगिन्ती घाउहरुमा सबै भन्दा गहिरो घाउ यही थियो । याे घाउ अनि यसको दुखाइ असहय छ । यसकाे कुनै औषधि छैन। जिन्दगीले सकेसम्म आफ्नो बल लगाएर प्रहार गरेको थियो।कहानीमा भएका तितामिठा कथाहरु आज मेरो जीवनमा यथार्थ भएका छन् । तर ढिलो होस् या चाँडो, वास्तविकता स्विकार्नुको विकल्प हुँदैन । १३ दिने काम सकाइयो । 

त्यो सकिने बित्तिकै अहिले विश्वमाथि नै यो वज्रपात परेको छ – कोरोनाभाइरसको । संसारभर मरेका मानिसहरुको गिन्ती बढ्दैछ । म उनीहरुको घरमा भएको कोलाहलको अनुभव गर्न सक्छु । ती हरेक मृत्युले मलाई बाबाको मृत्युको सम्झना गराउँछन् । यता फर्किदा बाबाको फोटो , उता फर्किदा बाबाको याद ।  यसो बहकिन बाहिर निस्किउ, कोरोनाको त्राश । निसासिन्छ जिन्दगी आजभोली आफै भित्र । यो यादहरु थुप्रिएको कोठाभित्र । त्यो ममी अनि भाइहरु बसेको १३ दिने कोरा अनि अहिले १० कोठे कोरावास उस्तै भएको छ। हरेक दिन कोरावास बसे झै लाग्छ । दिन बिताउन हम्मेहम्मे परेको छ। घरबाहिर निस्किने वातावरण छैन अनि घर भित्र बस्न चैन छैन ।

बाबाको मृत्यु पछि मैले केही कुराहरु अनुभव गरेको छु । जिन्दगीमा जति नै प्यारो र महत्वपूर्ण मान्छे नभए पनि जिन्दगीले आफ्नो यात्रा बन्द गर्दैन रहेछ । ती परिस्थितिहरुले दिने दु:ख, पिडा र चिन्ता पनि अस्थायी रहेछन् । जीवनले केही न केही गरेर आफ्नो बाटो पकड्ने रहेछ । मलाई विश्वास छ, अहिलेको समय जतिसुकै खराब होस् वा आउन लागेको समय जति सुकै डरलाग्दो किन नहोस् तर ती पनि अस्थायी हुन् । त्यसपछि फेरि खुसी आउनेछ । रात परे पछि उज्यालो हुन्छ हुन्छ । रात कति लामो हुन्छ भन्ने कुरा आफ्नो परिस्थितिले फरक पार्ने हो । दिनलाई पर्खौ । उज्यालो पर्खौ ।

मनिषा खतिवडा