सुरुमा परिचयबाटै सुरु गरौँ है त। म चाहिँ मेडिकल स्टूडेन्ट। एम. बि. बि. एस चौथो बर्षमा अध्ययनरत छात्रा। लकडाउन भएको नि दुईसाता बितिसक्यो।
यस लकडाउनको असर ममा चाहिँ त्यति धेरै परेको छैन भन्दा फरक नपर्ला। मेरो लागि त के लकडाउन के अरु सामान्य दिन। सबै दिनहरु कोठाको एउटा कुनामा, एउटा किताब च्याप्दै बित्ने न हुन्। अहिले मेरा साथीहरु भन्छन्, “आफ्नै घरभित्र कैदी भएर बस्नुपर्या छ।” तिनीहरुको कुरा सुन्दा अनाैठाे लागेर आउँछ। अनि आफैमाथि दया लागेर आउँछ। तिनीहरुलाई के थाहा कि म त कति बर्षदेखि लकडाउन मै छु। त्यो नि घरबाट टाढा, कुनै एउटा अन्जान सहरमा, अन्जान मान्छेहरुका बिचमा। साथीहरु भन्छन्, “यो लकडाउन सक्योस् न मात्र, यहाँ-उहाँ घुम्न जाने हो।” आफू त सदाबहार एउटै कोठामा बसेर कहिले ‘डेविडसन’ त कहिले ‘बेली एन्ड लब’ को पानाहरुमा घुम्दै, आफ्नो सपनाको संसारमा डुब्दै, भोलिको प्रतिक्षामा बस्ने हो।
कोरोना भाईरसको डर सबैमा भएझैँ म मा पनि छ। के थाहा? सपना पूरा हुनु अघि नै यो संसारबाट बिदा लिनुपर्ने पो हो कि! तर, सकरात्मक सोच लिएर अघि बढ्ने मान्छे म। मलाई त यो लकडाउनले एक हिसाबले खुशी नै ल्याएको छ। दिन त कोठाको एउटै कुनामा उसैगरि बित्दैछन् अहिले पनि। तर धेरै पछि यतिबेला आफ्नै घरमा, आफ्नै मान्छेहरुको माझमा दिन बितिरहेको छ। त्यसैले म खुशी पनि छु। अनि अर्को कुरा, डाक्टर बन्न गरिएका यी त्यागहरु, अनि सधैँकाे हाम्राे लकडाउन जिन्दगी अहिले अरुले पनि केही अनुभव गर्दैछन्। अरूहरुलाई पनि महसुस होस् न हाम्रो त्यागहरु, हाम्रो मनभित्रको सधैंको लकडाउन।
अहिले भइरहेको यो लकडाउन त भौतिक हो। एकदिन टरेर जान्छ । तर खै! कस्ले बुझ्ला र! आफैले सिर्जना गरिएको यो मन भित्रको लकडाउन। त्यहीपनि जगतको भलो चिताउने म, यो कोरोनाको त्रास र लकडाउन अन्त्य होस् भनि दिनदिनै भगवानसंग प्रार्थना पनि गर्दैछु।
No responses yet