चैत १० ।
नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरस पुष्टी भएको समाचार सार्वजनिक भयो । खाजाका लागि कोठा पुग्दा साङ्केनले पनि सचेत गराइन् । अलि आत्तियो मन । अर्को दिनदेखि घरैबाट काम गर्ने निधो गरेँ ।
बेलुकी सरकारले आकस्मिक एक हप्ते ‘लकडाउन’ को घोषणा गर्यो । अन्योल र त्रासद वातावरण बन्यो । ‘लकडाउन’ को अर्थसम्म थाहा नपाएका जनताहरु एकैचोटी लकडाउन भोग्न बाध्य भए । तुम्मा (ठूलीआमा)कोमा गएकी छोरी आयुस्ना उतै अड्किइन् ।
अर्को बिहान अति आवश्यकीय सामग्रीहरु खरिद गर्न निस्किएँ । केही खाद्यान्न अगाडि नै जोहो गरिसकेका थियौं । ताल्छिखेल पिपलबोटमा स्वप्निल दाइसँग भेट भयो । त्रासदीका बिच चियाको चुस्की लियौं । त्यसयता अति आवश्यक काममा मात्र निस्कने गरेको छु । नजिकै निस्किए हात धुने र अलि टाढा जानु परे सेनिटाइजर प्रयोग गर्ने गरेको छु ।
गिटार बजाएर, पुस्तक पढेर, गीतकविता लेखेर, भ्लग बनाएर र घरबाटै अफिसको केही काम गर्दै लकडाउनको सदुपयोग गर्ने योजना बनाएँ । दिनहरु त्यसरी नै बितिरहेका छन् । पुस्तकमा झलक सुबेदीको ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’, स्वप्निल स्मृतिको ‘रङ्गै रङ्गको भीर’ र पाब्लो नेरुदाको ‘ट्वेन्टी लभ पोइम्स्’ हेरिरहेको छु । गिटारमा अलग अभियानका गीतहरुको साथमा अन्य केही गीतहरु बजाइरहेको छु । केही ‘पेन्डिङ भ्लग’हरु पनि सम्पादन गरी अपलोड गरेँ । गीतकविताहरु चाहिँ सोच्दैछु । बिचबिचमा अफिसको काम पनि गरिरहेकै छु ।
सरसफाइ र पकाइमा पनि साङ्केनलाई सघाइरहेको छु । हुन त अरु बेला पनि किचनमा भेटिन्छु म। तर यो पटक भने केही नयाँ परिकार पनि पकाउने प्रयास गरेँ । साङ्केनले पनि हौस्याइहाल्छिन् – ‘बुढाले पकाएको मिठ्ठो !’
ताल्छिखेलबाट सातदोबाटो सरेको महिना दिन मात्रै हुँदैछ । हरेक दिउँसो अगाडिको खाली जग्गामा घाम ताप्न निस्कनु यो घरमा बस्ने सबैको ‘लकडाउन दैनिकी’ हो । सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता बिच पनि फुर्सदीले घुलमिल गराएको छ । ७२ सालको महाभूकम्पमा पनि परिस्थिति यस्तै थियो । सङ्कटले मान्छेमान्छे बिचको दुरी पनि घटाउँदो रहेछ।
सुरुसुरुमा घरबन्दी भएर बस्न सकस नै पर्यो । बाहिरको वातावरण त्रासमय थियो । अहिले त एक किसिमले अभ्यस्त भइसकियो ।परिस्थिति झन् कठिन बन्दैछ । रोग लाग्नेहरुलाई रोगले र बाँकीलाई भोकले लैजाने सम्भावना बढ्दो छ । सरकारको पहलकदमी र जनताको सजगता चित्तबुझ्दो छैन । घरबन्दी कहिलेसम्म बन्नु पर्ने हो, अनिश्चित छ । विश्वव्यापी फैलिएको महामारीले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रुपमा कस्तो असर पुग्ने हो, अकल्पनीय छ ।
२५ चैत । हेर्ने कथाको फेसबुक पेज र वेबसाइट चाहार्दै थिएँ । पछिल्लो समय वेबपेजमा ‘लकडाउन डायरी’ हरु प्रकाशित गरिदै आएको रहेछ। ठिक त्यही बेला म्यासेन्जरमा इनुमाको मेसेज आयो – ‘दाइ लकडाउन डायरी लेख्नुपर्यो ।’