अत्यासका बिच अक्षरहरुको खेती…

साँच्चै आश्चर्य लाग्दो छैन त वर्तमान ?
सायदै कसैले सोचेको थियो, विज्ञान प्रविधिको युगमा एउटा रोगको औषधीको अभावले लाखौँ मानिस निरीह भएर मृत्युवरण गर्नुपर्छ र सन्त्रासपूर्ण समय बाँच्दै आफ्नै कोठामा कैद हुनुपर्छ।

विश्व अहिले ठप्प छ, मौन छ तर भित्र कतै सर्वज्ञानी मानिस चित्कार छोडिरहेको छ। क्रन्दन अलापिरहेको छ र जीवनको भिख मागिरहेको छ। ती मानिसहरु मध्य एउटा म कसरी हैन भनुँ ?

म दाङको घोराहीमा बस्छु। बजार भन्दा पाँच किलोमिटर पूर्वमा छ घर। तर बजारमै मेरो डेरा छ। मैले घोराहीमा पत्रकारिता गर्न थालेको १० वर्ष नाघ्यो। हाल गणतन्त्र दैनिकको कार्यकारी सम्पादक र राजमार्ग न्युज पोर्टलमा काम गर्छु। यो बाहेक कविताहरु लेख्न मन पराउँछु। पुस्तकहरु पढ्छु।

मान्छे कति कमजोर छ, महसुस गरिरहेको छु। पृथ्वीको धरातलका किटपतंगदेखि भुगर्भका अनेक रहस्यहरु, ब्रमाण्डका सम्पूर्ण शक्तिको अवयवहरुमा खेलेको, खोजेको मानिसलाई आज एउटा भाइरसले कमजोर तुल्याइएको छ ।

नक्सा र अभाव

नेपाल सरकारले लकडाउन घोषणा गरेको ५८ औँ दिनमा मैले यो डायरी लेखिरहेको छु। नेपाल सरकारले औपचारिक रुपमा लिपुलेख र लिम्पीयाधुरा सहितको नक्सा जारी गरेको छ। भारतले अस्वीकार गरेको छ। दुई देशको बिच एउटा नमिठो तुष मौलाएको छ ।

देशमा कोरोना संक्रमित भेटिएकादेखि क्वारेन्टाईनबाट भागेका समाचारहरु चर्चित छन् ।

बजार बन्द छन्, यातायातका साधन खासै चलेको छैनन् । अभाव मौलाउँदो छ। मान्छेहरुमा छटपटि थेग्न नसक्ने अवस्थामा पुगेको। अनुहारमा निराशा बोकेर आमाहरु नपाकेको केराहरु बेच्न बसेका छन् सुनसान चौकमा। साँच्चै दृश्य हृदयविदारक छ।

सामाजिक सञ्जालमा युवाहरु देशको नक्सा बारे व्याख्या गरिरहेका छन्।

लकडाउन सुरु भएको केही दिनमा घोराही आसपासका केही बस्तीहरुमा पुगेर भोकका समाचारहरु लेखेँ। समाचार लेखेर मात्र मात्र के हुन्छ? लकडाउनले दलित समुदाय र मजदुर वर्ग सबै भन्दा बढी मारमा छन्।

घोराही सौडीकुलाको कोरी समुदायको बस्ती, सेवार खोलाका बादी समुदाय, कपासी बगियाका भुमिहिन सुकुम्बासीहरु सहित धेरै बस्ती र समुदायले राहतका लागि बाधा र झञ्जट खेप्नु पर्यो ।

पत्रकारिता सधैँको नौलो अनुभव हो।

विपद् र जोखिमको समयमा पत्रकारको भूमिका कति बलियो हुन्छ? झन नजिकबाट महसुस गर्ने अवसर लिइरहेको छु। जोखिममा परेकाहरुको उद्धार, अभावमा आपुर्ती, सहयोग, समझदारी र समन्वयका लागि कलम चलाइरहेको छु । राहत वितरणमा सहभागी छु, विवादलाई समाधान गर्न र विकृतिका विरुद्ध पनि उभिनु परेको छ।

राहत वितरणमा देखिएको राजनीति र विभेद होस्, या लकडाउनको समयमा हुने चोरी सिकारी । क्वारेन्टाईन निर्माणमा देखिएको विरोधको समाधान होस् या भारत जान नपाएका सयौं भारतीय मजदुरहरुको क्रन्दनपूर्ण आँसु।

यी सम्पूर्ण समस्या समाधानका लागि हामी पत्रकारहरु एकजुट भएर काम गर्दैछाैं।

आमा र सन्त्रास
झोलामा स्यानीटाइजर छ। मास्क र ग्लोब्सहरु छन्। हिँड्नै पर्ने ठाउँमा हिँड्ने गरेको छु। नत्र कार्यालयबाटै सूचना संकलन नै प्राथमिकतामा पर्छ।

घरमा आमा एक्लै हुनुहुन्छ।
दुई/तीन दिनको बिचमा म घर जान्छु। घर नगएको दिन आमाले फोन गर्नुहुन्छ। आमा खुसी भएको, दुखी भएको, अत्यास लागेको या कुनै भवितव्य भैपरेको, सबै थाहा हुन्छ — आमाको आवाजमा। आमाले सधैँ फोनमा ‘घर आएर बसे हुन्थ्यो’ भन्न छुटाउनु हुन्न।

टेलिभिजनमा देखे सुनेका समाचारहरु मलाई सुनाउनु हुन्छ। पत्रकार, नर्स र पुलिसलाई समेत कोरोना लागेको बताउनुहुन्छ।

आमालाई गाउँमै कसैले सुनाइदिन्छ,
बृद्धबृद्धाहरुलाई कोरोनाले छिटो आक्रमण गर्छ भनेर। कसैले भनिदिन्छ, भारतबाट थामिनसक्नु मानिसको भिड आउँदैछ भनेर। आमालाई बुढी भएँ भन्ने महसुस भएको छ। एक्लै छु भन्ने लाग्छ।

एक दिन आमाले फोन गरेर भन्नु भयो, ‘कोरोनाको औषधी बन्यो रे त अमेरिका हो कि कहाँ, थाहा पाइस् ?’ आमाका यस्ता प्रश्नले पीडा दिन्छ।

पाँच कोठाको घर छ, आमा एक्लै बस्नुहुन्छ। मलाई थाहा छ, एक्लै बस्दा कति डर लाग्छ। मैले बच्चा हुँदा भोगेको छु।

कविता र किताब
केही वर्ष पहिल्यै सोचेको थिएँ, कविताको संग्रह प्रकाशन गर्छु ।
‘ईश्वरको अस्थीपञ्जर’ कविता संग्रह २०७१ र ‘एकात्म’ कविता संग्रह पछि पनि कविता संग्रहकै तयारी गरेको छु। पाण्डुलिपी ‘फाइनल’ भएको छ।

फुर्सद् छ, केही नयाँ कविताहरु लेखेको छु, पुराना अपुरा कवितालाई पूर्णता दिएको छु। धेरै भन्दा धेरै कविहरुसँग सम्पर्क गरीरहेको छु।

करिव दुई महिनाको बिचमा केही नयाँ किताब पढेँ, केही पढिसकेका किताबहरुलाई दोहोर्याएर पढेँ। घनश्याम खड्काको निर्वाण, रमेश सायनको छुटेका अनुहार, विजयकुमारको खुशी, महेश पौड्यालको त्यसपछि फुलेन गोदावरी किताबहरु दोहोर्याएँ ।

नयाँ किताबमा डा. प्रतिभा रायको द्राैपदी र राजेन्द्र थापाको शकुनी पढेर भर्खर सिध्याएको छु। अरु नयाँ किताब बारे सोचेको छैन। केही फुटकर लेखहरु पनि पढेँ।

अन्त्य !
जीवनको २७/२८ वर्षको आयुमा मैले मानिस यति भयवित, त्रसित र हतास कहिल्यै देखेको थिइन।
मानिसले नै यति सुन्दर बनाएको हो यो संसार । किनकि सुन्दरताको परिभाषा नै मान्छेसँग मात्र छ। नत्र त चरालाई आफ्नै आवाजको मधुरताबारे के थाहा?

त्यसैले संसारका सबै मानिसको अनुहारमा हाँसो फर्किने छ।
धन्यबाद।

नवीन अभिलाषी

घोराही, दाङ

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply