न मरिजानु न गरिखानु !

म दिउँसोको खाजा लिएर पल्लो कोठामा पस्दै गर्दा हातमा पैसा बोकेर आमा छोरा बिच यस्ताे गन्थन चल्दै थियाे।

छोरा: हेर्नुस त मम्मी मैले घरभाडा अनि सागसब्जी किन्न पुग्ने गरि पैसा ल्याएको छु ।

मम्मी: खै खै हेरु त। तलब दियाे कि कसो ? 

म: ए ! ATM जाने काम छ भन्दै हुनुहुन्थ्यो। त्यति भको नि निकाल्नु भो अब त ?

३ महिना भन्दा बढी हुन लागेछ कोठामा खाँदै बस्दै गरेको पनि । हाम्रो ३ जनाको सानाे परिवार छ काठमाडौंमा। परिवार सुखी नभए पनि खुसी चाहिँ पक्कै छ। मम्मी घरमै (कोठामै) बस्नु हुन्थ्यो। यताउता सरसफाई,घरायसी काम गरेर दिन बिताउनु हुन्थ्यो। हामी छोरा बुहारी बिहानै अफिस जान्थ्याै।

म एउटा कलेजको प्रशाशन फाँटमा काम गर्छु। अफिस अलि टाढा भएकाले धेरै काम हुने सिजन होस् वा काम नभएको सिजन गाडीमा उँदा-जाँदा नै थाकिने। श्रीमानको थकाइ त झन म शब्दमा व्यक्त गर्न पनि सक्दिन। पेशाले उहाँ शिक्षक हुनुहुन्छ। बिहान म नबिउँझदै कलेज जानु हुन्छ। कलेजकाे पढाइ सक्दा नसक्दै तालु चर्किने तातो घाममा हिडेर फेरि अर्को स्कुल पढाउन गइहाल्नु पर्ने। त्यो स्कुल पढाएर बिचमा समय उब्रिए केही ताजा खायो। नत्र चाउचाउ र बिस्कुटको फाँको मार्दै हत्तपत्त ट्युसन पढाउन कुदिहाल्यो। ‘भयो कति दु:ख गर्नु हुन्छ, आफ्नो पनि ख्याल गर्नुहोस् न’ भनेर सम्झाउन पनि मुख लाग्दैन । यत्ति नगरे बिहेको ऋण तिरिने थिएन ।

श्रीमानजी बेला-बेलामा भन्ने गर्नुहुथ्यो – ‘मलाई एक दुई महिनाको रेस्ट चाहिएको छ मुना, हैरान भइसके। याे दिन दिनको भागदाैड अनि अस्तव्यस्त जिन्दगीबाट।’ म ठण्डा पानीको गिलास हातमा थमाउँदै सम्झाउँथे – ‘उमेरमा त गर्नु परिहाल्यो नि बुढाे! अझ कति गर्नु छ जिन्दगीमा हजुर । अहिले नै दुःख गर्न डरायाैं भने भोलिको दिन कस्तो आउँला कल्पना गर्नुभएको छ कहिले?’

आज कोरोना भाइरस (covid -19) ले यत्रतत्र तहल्का मच्चाएको छ। एउटा सुक्ष्म भाइरसले विश्वभरका नामी डाक्टर , वैज्ञानिक, अर्थशास्त्री, लगायतका विज्ञहरुलाई बेकम्मा तुल्याइदिएको छ। यसले असर नगरेको कुनै राष्ट्र रहेन। कुनै क्षेत्र रहेन। अर्थतन्त्रको त झन् के कुरा गर्ने ? रेमिटेन्सले धानिरहेको मेरो जस्तो सानो र गरिब देशले त झन् बलियो खुट्टा कहिले टेक्ला कुनै अड्कल नै भएन।

हामीलाई भने प्रकृतिसँग रमाउने आफू, आफ्नो परिवार, वरपरका जीवजन्तुसँग समय व्यतित गर्ने फुर्सद दिलाएको छ यो लकडाउनले। बगैँचामा कुन कुन मौसम आएर जान्थे, खासै निधाे पाएका थिएनन् यी आँखाहरुले। करेसाबारीले के के उब्जनी गर्ने उर्वर शक्ति राख्दथ्यो, अह ! त्यो सब नियाल्ने फुर्सद नै कहाँ थियो र ? कोइलीले के-कस्तो भाका गाएर जान्थ्यो, कुन कुन रंगका फूलहरुमा कस्ता-कस्ता पुतलीहरु झ्याम्मिन्थे । यी सब परका कुरा थिए एक समय । तर याे सबै अनुभव सँगाल्ने अवसर जुराइदियाे लकडाउनले। साथमा अरु कति पीडा थप्दैछ हामी जस्तो मध्यमवर्गीय अनि निम्न वर्गका परिवारहरुलाई । महसुस गर्न त सबैले सक्छन् , तर सबैले भोगेको पीडा म भन्न सक्दिन। म यहाँ आफू प्रत्यक्ष पात्र बनेकाे मेराे सानाे परिवारकाे पीडा चाहिँ पोख्न सक्छु।

म र मेरो श्रीमान जस्तै कुनै प्राइभेट संस्थामा महिना दिनसम्म श्रम बेचेर आएको कमाइ (तलब) हेर्दै केही दिन भए पनि रमाउने कैयौं परिवार छन् नेपालमा अनि यो काठमाडौंमा। महिना दिनमा श्रीमान श्रीमतीको गरेर ४० -४५ हजार जति तलब भित्र्याउँथ्याै। खर्चका भ्वाङहरु पनि कति हुन् कति… तिनलाई टाल्दा टाल्दै बचतको थोपाले समुन्द्र बनाउँला अनि त्यसैबाट उभाएर एउटा सानै भएपनि आफ्नै झुप्रोकाे आफ्नै संसारमा रमाउँला भन्ने हामी दम्पतीको सपना सपनामै सिमित छ। बाह्र-पन्ध्र हजार  कोठाभाडा छुट्याउनै पर्यो । दश-पन्ध्र हजार रासन पानी घरखर्च भनेर छुट्याउनै पर्यो। दुई-चार हजार त भै परि आउने खर्चका लागि भनेर पनि राख्नु पर्यो । साथीभाइसँग बसेर चिया खायो अनि पैसा तिर्ने बेलामा ‘ओहो ! आज त पर्स नै ल्याउन भुलेछु’ भनेर उठ्न पनि मिलेन। यति गरिसक्दासम्ममा जोगियो केही कतै भने, हत्तपत्त बैंक दौडियो डिपोजिट गर्न। नत्र जसोतसो तानतुन गरेर महिना दिन बितायो। अर्को महिनालाई त अर्को महिनाकै तलब आउँला नि …

यस्तै यस्तै बितिरहेका थिए दिनहरु। अब त lockdown भएको पनि तीन महिनाभन्दा बढी भैसकेछ । कमाइ गर्न जाने दुबै छोराबुहारी घरमै थन्किएका छौं । सासुआमा बर्बराउन थाल्नुहुन्छ – ‘हेर त दुईजनाले नै कमाइ गर्थ्याै र पो सजिलो थियो । घर चलाउन अब त के गर्ने होला खै?’ नाता गोताका एक दुई जनाले दिदीहरुले लकडाउन त झन थपिँदै छ रे नि! झन् कडा बनाउन लाग्या छ रे ! रासन पानी थप्नु है भनेर सुनाइ दिने रैछन्। आमा घरिघरि भन्नुहुन्छ- ‘लकडाउन फेरि थपिँदै छ रे । सबै कहाँ रासन पानी लिइसकेछन् हाम्रो पो के गर्ने होला ? छोराले बैंकमा राखेको पैसा पनि कुटु-कुटु एटिएमबाट निकालि सक्यो। बुहारीको खातामा त झन् के बाँकी होला र! सबै ल्याएर घरमै दिन्छिन् । तिमी दुवैको तलब नआएको पनि दुई तीन महिना हुन लागिसक्यो। लकडाउन भरिमा कातेका यी चालिस पचास हजार बत्ति छन्। कोही ग्राहक भेटे पनि बेचिदिने थिएँ। यसो घर खर्चमा सहयाेग त हुन्थ्याे।’ मम्मीले सुस्केरा हाल्दै यसो भन्दा छाेराको मनमा खै के बित्दो हो ! उहाँ आमालाई सम्झनाउनुहुन्छ- ‘नचाहिने कुरा नगर्नु न हामी छाेरा बुहारी मरेका छौं र ! फेरि स्कूल कलेज खुल्न थालेपछि कमाइ हाल्छाै नि! देशको अवस्था पनि त सधैँ यस्तै नरहला?’ यता मेराे भने मन कुँडिएर अमिलो हुन्छ अनि रसाएका आँखा  यता-उता डुलाए जस्तो गरि श्रीमानजी कै कुरामा ‘हो मा हो’  मिलाउँछु ‘त्यही त अनि मम्मी हामी कमाइहाल्छाै नि, किन चिन्ता लिन पर्यो हजुरले ?’

साथीभाइ शुभ-चिन्तकहरु कल, भिडियो कलमार्फत खबरहरु बुझ्न खोज्छन्। नयाँ खबर नसुनाउने हामीलाई भनेर जिस्क्याउँछन् । म जवाफमा बोल्दछु, ‘अब सोच्नु पर्ला…..’ उनीहरूको भनाइको तात्पर्य दुई जनाबाट तीनजना अर्थात ‘बेबी प्लानिङ्ग कहिले गर्ने’ भन्ने नै हाे । कुरा पनि ठिकै हो आखिर यत्रो लामो बिदा जो मिलेको छ । रहर मात्र हैन, अब त बाध्यता पनि हुन लागिसक्यो। आखिर उमेर पुगिसक्यो । विवाह भएको पनि साढे दुई वर्ष हुन लागिसक्यो। मम्मी, म र श्रीमानले त जसो तसो जिविका टार्दै गरेको हाम्राे परिवारमा लकडाउनले थप चुनौती र समस्याहरु थमाइदिएको छ। दिनदिनै घरको चुलो बल्न कठिन बन्दैछ। यस्ताे समयमा परिवारमा नयाँ सदस्यलाई (सन्तान) स्वागत गर्न तिर लागियो भने थाहा छैन जिन्दगी कति कष्टकर बन्ने हो? 

म र मेरो परिवार जस्तै काठमाडौँ लगायतका ठाउँहरूमा यस्तै-यस्तै समय परिस्थिति र मनस्थितिका साथमा गुज्रिदै आउनुभएका कैयौं परिवारहरु हुनुहुन्छ हाेला। हामी त खास एउटा पात्र मात्र हाै। न मरिजानु न गरिखानु जस्तो परिस्थिति सृजना भएको छ। यस्तो परिस्थितिसँग जुध्नका लागि न त आफू को हो भन्ने कुरा बिर्सिएर गुजाराका लागि घरघरमा सहायता माग्दै हिड्न सक्छौं? न त लकडाउनले बन्द अफिसमा तलब दिनुहोस् न हाकिम साहेब भनेर आवाज निकाल्न सक्छौं ? न त कुनै दैविक चमत्कार गरेर आफ्नो लेभल परिवर्तन गरि रातारात आर्थिकरूपले सम्पन्न बन्न सक्छौं ? सक्छौं त केवल लकडाउनको पीडाले भित्रभित्रै पिल्सिन अनि चाँडै लकडाउन खुलोस् भनेर प्रार्थना गर्न मात्रै।

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply