मन चङ्गा

बाहिरी दुनियाँमा पाे लकडाउन छ त ! मन,ज्यान र ध्यान त झन व्यस्त हुँदाे रैछ। प्रकृतिसँग खेल्न र  फाेटाेहरू कैद गर्न। गाउँको बसाइँ यति रमणीय बन्दै छ कि चैतमा घर आएकी म हिउँदे धान राेप्न भ्याएँ। अहिले त्यो धानका बाला लहलह झुल्न थालेका छन्। समय यति मज्जाले छिट्टै बित्दै छ कि, म शब्दमा व्यक्त गर्नै सक्दिन।

आज गाउँ आएकाे लगभग तीन महिना बित्न लाग्याे ।  याे तीन महिनाकाे समय कति छिटो गएछ ।अफिसकाे काम  र फेसबुकका भित्ताहरू हेर्दै बित्ने मेरा दिनहरू पहाडकाे उकाली ओराली गर्दै बित्दै छन्। २०७२ सालकाे भूकम्प पछि काठमाडौँ पसेकी म पढाइ र कामले यति लामो समय आफ्नाे ममी बाबासँग बसेर काम गर्न पाउँदा अत्यन्तै खुसी छु।  लकडाउनकाे बाहाना भनु कि बाध्यताले, गाउँमा बस्न पाएकाे छु । गाउँमा लकडाउनकाे खासै प्रभाव परेकाे छैन । सबै मानिसहरू आ- आफ्नाे काममा व्यस्त छन् । काेराेनाकाे त्रास त छदै छ ।

आज भाेलि  बाबा ममी खेतमा धानको बीउ राख्ने काममा व्यस्त  हुनुहुन्छ । बिहान बेलुका खाना बनाउँछु । आज भाेलि दिउँसोको समय मेराे काम बाख्रा गाेठालाे जाने  हुन्छ। फाेटाेग्राफीमा अत्यन्तै धेरै साैखिन म  गाेठालाे जाँदा  म आफ्नाे फाेन पनि सँगै लिएर जान्छु । मलाई प्रकृति सँगै रमाउन र तिनका विभिन्न खालको फाेटाेहरू खिच्न असाध्यै रमाइलाे लाग्छ। जङ्गलमा  रहेका ती बाेटबिरूवा, चराचुरुङ्गी ,खाेलानाला  र बाख्राका मुनीहरू नै मेरा साथीहरू भएका छन्। लाग्दैछ यिनिहरूले मैले बाेलेका कुरा सबै बुझ्दछन् । यिनै पशुपंक्षी र प्रकृतिसँग खेल्दा मलाई दिन कटेकाे ख्याल नै हुन्न । 

प्रकृतिसँग समय बिताउँदा मन चङ्गा जस्तै हलुँगो भएर आउँछ । गाउँमा खाने कुराकाे अभाव  छैन । करेसाबारीमा तरकारी र फलफूल लटरम्म  फलेका छन्। भकारी टन्न धान छ ।  त्यो धानकाे भकारी रित्तिन अझै  ८/९ महिना लाग्छ । केराकाे घरी पनि बारीमा प्रशस्तै छन् । बारीभरि ताेरी र रायाेको साग खाने बेला भएका छन् । 

गाउँमा काेराेनाकाे त्रास त छदै छ । तर लकडाउनले खासै प्रभाव भने पारेकाे छैन। गाउँमा मानिसहरू यताउता गरि रहेकै हुन्छन् ।  मैले राेपेकाे सिमि ,घिराैला ,फर्सी काक्रो उम्रेर  ठू- ठूला  भै सकेकाे छन् ।  बुबा त्यसमा थाक्राे हाल्दै हुनुहुन्छ ।  गाउँमा डुल्ने खासै बानि छैन । फूलको तस्बिर लिन र फूल असाध्यै मन पर्ने म फुर्सदमा बगैंचामा विभिन्न प्रकारकाे फूलहरू राेपेर नै प्राय समय  बिताउँछु । आँगनका डिलभरि फूल फूल्न लागेका छन्। बगैंचामा मुस्कुराएका केही थान फूलहरूले मन नै आनन्दित बनाउँछ। गाउँको बसाइँ अत्यन्तै रमाइलो र शान्त छ । हात काटेर टाँका लगाएकाे घाउ बिस्तारै निकाे हुँदैछ  । घरमा टिभी भए पनि गाउँमा अहिले  रिचार्ज नपाएकाेले टिभीलाई थन्क्याएर राखेकाे जस्तै भएकाे छ  । 

भूकम्प र अहिलेकाे परिस्थितिलाई हेर्दा लाग्दैछ कि मानिसहरूको सबैभन्दा ठूलाे सपना त बाँच्नु पाे रहेछ….!!

आशा गराै काराेनाकाे त्रासबाट छिट्टै  आ- आफ्नाे कर्मथलाेमा जान पाइयाेस् । 

 सविना के सी   

सिन्धुपाल्चोक

             

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply