लकडाउनमा अप्रिय घटनाको परिणामबाट बचियो। यो मानेमा लकडाउनको अनुभव अक्षरमा उतारीरहँदा एकप्रकारले खुसी छु।यो लकडाउनमा घरबेटीको कोठामै लक्ड भएर बस्दा ‘घर जाने हो ? पास बनाएर जाउन/आउन’ भन्ने मेरा मित्रहरु धेरै थिए। मन त किन नहुनु! एक्लै बस्नु भन्दा परिवारसँग बस्नुको आनन्द नै मिठो हुन्छ, हर तरहले। जागिरको सिलसिलाले आफन्तदेखि करिब ५०० किलोमिटर दुर नेपालको पूर्वि भेगमा छु, मोरङ्गको सुन्दरहरैँचा नगरपालिका। परिवारसँगै बस्नेहरुलाई लाग्दो हो ‘कस्तो मन, आफन्तसँग बस्न पनि मन नहुने’ तर घर परिवारबाट टाढा बसेकालाई मात्र महसुस हुन्छ, कस्तो हुन्छ मन। थाकेर कोठामा साँझपख आउँदा आमाले पकाएर दिनु भएको तातो चिया याद आउँछ। बिरामी भएर उठ्न नसक्ने हुदाँ आमाको मायालु हातको स्पर्षकाे तिर्सना लाग्छ । खुसीकाे खबर फोनबाट सुनाए पछि भाइबहिनीहरुको त्यो उत्साह याद आउँछ। काँधमा बाबाको स्याबासी धाप याद आउँछ। यो मनको कुरा गर्न थाल्दा धेरै भावुक भइने, भैगो नगरौँ।
अहिले चै लकडाउनकै अनुभवबारे कुरा गराैं। २०७६ सालको चैत्र १० सम्म सुन्दरहरैँचा नगरपालिकाको समुदायहरुमा नोभल कोरोना भाईरसको बारे जनचेतनामुलक क्रियाकलाप गर्नु पर्ने भएकाले घर (काठमाण्डौँ) फर्कन मिलेन। चैत्र ११ बाट लकडाउन सुरु भै गयो। लक्ड हुनु पर्ने समाचार पाउन बित्तिकै यो समय के गरेर बिताउने योजना बनाइयो। तर कुनै काम सक्नै पर्छ, भन्ने नभएपछि घरमा बस्दा योजना अनुसार कहाँ काम गरिँदो रै छ ! सुरुका दिनमा मस्त सुतियो। केही दिन घरबेटीका केटाकेटीहरुसँगै डन्डीबियो, स्किपिङ्ग, गट्टी खेलियो। २० थान जति मिश्रित प्रकृतिका फिल्म हेरियो। ती मध्ये अधिकांश सस्पेन्स थ्रिलर थिए। केही थान राजनैतिक विमर्सका अनलाईन अन्तरवार्ता पनि हेरियो। एक हप्ता जति त अनलाईन गेम नै खेलियो। गेम खेल्दा रमाइलो भई नै हाल्छ तर अनलाइन गेम अझ रमाइलो। समय वितेको पत्तै नहुने।अहो ! अनलाईन गेमले त दैनिकी नै परिवर्तन गरिदियो नि। लकडाउनका क्रममा हिजोको दैनिकी फेरिन थाल्यो। ढिलो सुताइ, गेमका कारण एकै ठाउँको एकै प्रकारको बसाइले शरीरकाे दुखाइ। रमाइलो त भयो तर गर्छु र पढ्छु भनेका धेरै कुरा छुटे। धत् भएन भनेर योजना अनुरुपका काम शुरु गर्न थालियो ।
फागुन चैत्र तिर मुसुरीको दाल भित्र्याउँछन् किसानहरु। हामी खेती नहुनेहरु किसानको मिहिनेतमै भर गर्छौ। बजारमा भर्खर थ्रेसर लगाएको नयाँ दाल आएको थियो। तर लकडाउनका कारण सबै जसो दाल चाडै बिक्री भएको थियो। त्यसैले मैले काम गर्ने समुदायको एक जना दिदीले मेरो लागि दाल खोजिदिनु भएको थियो। दाल त लकडाउन खोले पछि ल्याउँदा नि हुने थियो, तर चाँजोपाँजो मिले काठमाडाैँ हिड्ने योजनाले लिन जाने विचार गरे। लकडाउनमा सरकारले अत्यावश्यक खाद्यान्न खरिदका लागि बाहिर निस्कन अनुमति दिएको समय साँझ ४ बजे पछि त्यता जाने निधों गरे। एकमन (४० के.जी.)दाल थियो। बोकेर ल्याउने ह्याउ भएन, त्यसैले स्कुटीमा गए।
लकडाउनका कारण कमै सवारी साधन चल्न दिइएको थियो। एम्बुलेन्सहरु चै अलि बढी नै गुडिरहेका थिए। अरु सवारी साधनको दाँजोमा। सडक खाली थियो। पूर्व दिशाबाट पश्चिम ईटहरी तर्फ जाँदै गर्दा मेरो स्कुटरको स्पिड २० थियो। दुई पाङ्ग्रे सवारी साधन चलाउन लाईसेन्स पाएपछि सुरु सुरुमा खुब हुइँकाइन्थ्यो। केही वर्षको अनुभवले त्यो गति ईकोनोमि स्पिडमा सिमित गरिदिएको छ। यसो भनौ सवारी साधन जोसले हैन होसले चलाउने बानी बसेको छ। जोसमा सवारी साधन चलाएकहरु धेरैले ज्यान गुमाएको थाहा पाएको छु।
कोभिड-१९ को संक्रमित भटाभट देखिन थालेपछि सुन्दरहरैँचा नगर क्षेत्र भित्रका गाँउ/टोल छिर्ने बाटाहरु बन्द गर्न सुरु गरिएको थियो । “..यो बाटो खुल्ला छ कि..” भनेर आफ्नो बाँयातिरको बाटो हेर्दै थिए। त्यतिबेला मेरो स्कुटरको स्पिड ५ मा पुग्न लागिरहेको थियो। झन्डै स्कुटर रोकिने अवस्थामा। त्यत्ति नै बेला पछाडिबाट ढ्याम्म मेरो स्कुटीको दाँयातिरको छेउमा ठोक्कियो। छिन मै मेरो स्कुटिलाई हान्ने बाईक एक मिटर दुरीमा लड्यो, गर्ल्याम्म।
चालक करिब ५० देखि ६० वर्ष उमेरका देखिन्थे। पछाडि अर्का मानिस पनि थिए। उनी भन्दा कम उमेरको हुनुपर्छ। पछाडि बसेका मानिसले दुईवटा ग्यालिन बोकेका थिए। पेट्रोल किन्न निस्केका थिए, सायद। चालक बाईकबाट उछिटिएर बाँया तर्फ पछारिए। अर्का मानिस बाईकसँगै लडे। उनको खुट्टा बाईकले किचेछ। उनी उठिहाल्न सकेनन्। एकै छिनमा मानिसको भिड नेपाल सरकारले तोके भन्दा बढी संख्याको हुन लाग्दै थियो। मैले स्कुटी ठोक्किएकै स्थानमा अड्याए। मेरो स्कुटी सडकको बाँया सिमानाको छेउको एक बित्ता मात्र पर थियो। म उनीहरुलाई हेर्न अगाडि बढे। बाईकसँगै लडिरहेका मानिसलाई उठाउन सहयोग गर्न भिडलाई भने। उनीहरुलाई देख्दा म आफैलाई दुखिरहेको थियो। अझै पनि उनीहरुको घाउ सम्झदा जिरिङ् हुन्छु।
वरपर मेडिकल कमै खुलेका थिए। कोभिड-१९ को डरले अन्य सामान्य रोगीहरुको उपचार नभएकाे खबर आइरहेको थियो। हड्डी भाचिएको रैछ भने, अस्पतालले हेरेन भने दु:ख पाउने भए मनमा अनेक कुरा आयाे।धन्न ठूलो घाउ चोट भएन। एकछिन बहस चल्यो कसको दोष भन्ने विषयमा। गल्ती बाईक चालककै भएको महसुस भएपछि सहमतिमा छुट्यौ।
घटनाको १ घण्टा पछि पो दिदीले “..धन्न बच्नु भयो” भनेपछि चैं मुटुले डरको ढ्याङ्ग्रो बजायो, ढ्वाङ्… ढ्वाङ् ….ढ्वाङ्.. । कसरी चलाएको थियो होला त्यो मान्छेले बाईक!
सहकर्मी बैनीले केही दिन अघि मात्र सुनाउँदै थिइन् । भर्खरै लकडाउनकै दौरान ईनरुवाको एकजना जनप्रिय स्वास्थ्यकर्मीकाे सडक पार गर्ने क्रममा एम्बुलेन्सकाे ठक्करले ज्यान गएको कुरा।
आफू दुर्घटना परेको अनुभव गरेपछि भने अचेल म झन् सचेत भएको छु।हिड्दा होस् या सावारी साधन चलाउँदा, तपाईंहरु पनि सचेत रहनुहाेला। नत्र दुर्घटनाको सरकारी डाँटामा तपाईंको पनि नाम आउन सक्छ। धन्न मेरो दिन बलियो परेछ र मलाई केही भएन।
No responses yet