कक्षा १० को परीक्षामा बिज्ञान बिषयमा एउटा यस्तो प्रश्न आउँथ्यो कि यति सानो सियो पानीमा डुब्छ तर यति ठूलो जहाज किन डुब्दैन भनेर। अनि म सबै भन्दा अगाडि हत्तपत्त उत्तर दिन्थे कि जहाज पानीमा डुब्नको लागि बनाकै हैन त कसरी डुब्छ! ….. त्यसैले होला बिज्ञान विषयमा मेराे नम्बर सधै रातो घेरा भित्र हुन्थ्यो। त्यत्तिका बर्ष घोकेर त जान्न नसकेको नाथे म, यो भाइरसका बारे कसरी के बुझ्न सक्नु र !
जीवनको पहिलो अनुभव हाे याे लकडाउन। संसार रोइरहेको यो समयमा तितो अनुभव बटुल्दै म एउटा ड्राइभर भएको हैसियतले आफ्नो जिम्मेवारी निभाउनु पर्छ भन्ने सोचेर एम्बुलेन्स चलाउने निधो गरेँ।
आफ्नो जिल्ला काभ्रेमा भएको व्यवसाय केही दिनको लागि बन्द गरेर केही विशेष काममा पूर्व जिल्ला मोरङ आइपुगेको तीन दिनपछि लकडाउन सुरु भयो। यसकाे पीडा त आफ्नो ठाउँमा छ जेनतेन म इटहरी पुगे। त्यहाँ गएर आफ्नै दाइकोमा बसेँ।त्यति नै बेला मैले साेचेँः अब मैले देशको लागि केही गर्नु पर्छ । अनि निर्णय गरे अब volunteer गर्छु । के गर्ने भन्दा दाइसँग सल्लाह गरेर volunteer एम्बुलेन्स चलाउने निधो गरेँ। मलाई लाग्छ मेरो त्यो निर्णय सजिलो थिएन चुनौतीपूर्ण थियो।परिवारको एक्लो छोरी, यो कुराले परिवारका सबै सदस्यलाई हैरानी भयाे। उनीहरु डराएः अब छोरी मर्ने भो भनेर। तर मेरो आत्माले हरेस खाएन। एम्बुलेन्स चलाउन सुरु गरे ……
सुरुका दिनहरुमा दिन रात भोक तिर्खा केही नभनि बिरामी ओसारपसार गर्न थालें। सबै हस्पिटलले बेडहरु रित्याउँदै थियो। सवारी साधनको नाममा एम्बुलेन्स मात्र थियो।बिरामीहरु साधन नपाएर अलपत्र थिए। एकै चाेटी २/३ जना बिरामी पनि पुर्याएँ।
कसकाे कर थिएन। मेरो रहर थियाे ‘सेवा नै धर्म हो’ भन्ने लाग्यो। लकडाउनका सुरुका दिनहरुमा त दिन रात एउटै लाग्थ्यो निन्द्रा, भोक, तिर्खा केही भनिन। सबै बजार बन्द। यो दुनियाँमा अब केही रहँदैन जस्तो बिरानो, सबै बन्द …..
कहिलेकाहीँ लाग्थ्यो आफू पनि मरिने हो कि। त्यसैले सेवासँगै सुरक्षाको माग पनि गर्याैं। तर बिडम्बना दिन, हप्ता, महिनौं बित्दा पनि नसुन्ने हाम्रो बहिरो सरकारसँग हार मानेर अहिले बर्सातका बेलामा बाईकमा लगाउने रेनकाेट लगाउन थालेकाे छुँ। त्यसले हुने त केही हैन तर पनि मनको सन्ताेक …..
पूर्वकाे यो तातो घाम, अनि त्यो रेङकोट, मुखमा मास्क, हातमा ग्लोब्स, आँखामा चस्मा, टोपी यो शरीरले कत्ति धानोस्। कहिले कहिले गाह्रो भएको महसुस हुन्छ। हत्केलामा उठेका फोकाहरु फुट्न थाल्याे तर मन फुटेको छैन ……
चाउचाउ र पानीको भरमा पूर्व, पश्चिम, उत्तर, दक्षिण दाैडिरहेका छन् मेरा लकडाउनका दिनहरु। यी दिनहरुमा मैले देखेका दृश्यहरु कयौं गुना पिडा दायक छन्। म देख्नेलाई त यति पीडा हुन्थ्यो भने भोग्नेलाई के होला! आतेस लाग्छ त्यो भन्दा अर्को बिकल्प केही थिएन र छैन मेरो ……!!
पूर्व देखि पश्चिम काठमाडौँसम्मको यात्रामा मैले ५/७ कार्टुन पानी सकाउँथे। त्याे आतेस लाग्दो यात्रामा मरेँ पनि आफ्नै परिवारसँगसँगै मर्छु भनेर कलिला दुधे बालक बोकेर चप्पल फटाउँदै त्यो रापिलो घाममा नचालिएका पाइलाहरु अगाडि बढाउँदै थचक थचक पर्दै अगाडि बढिरहेका यात्रुहरु देख्दा मन रुन्थ्याे। ती यात्रुको सास्ती, बच्चा च्यापेर हिंडेका आमाहरुलाई देख्दा आफ्नो एम्बुलेन्समा राखेर केही दुरी भएपनि छोट्याइदिम् कि जस्ताे पनि लाग्ने। तर म लाचार थिएँ। मैले त्यसाे गर्न मिल्दैनथ्यो। त्यसैले एक बाेतल पानी दिएर आफ्नै रफ्तारमा दाैडिन्थे। मेराे सरकारले समेत गर्न नसकेको काम म कसरी एउटा एम्बुलेन्स volunteer ले के गर्न सक्थे र ……
देश अन्यौलमा पर्दै गर्दा, म पनि अन्यौलमा पर्दै गएकी छु। आजभोलि मलाई मात्र हैन, हामी एम्बुलेन्स चालकलाई हेर्ने दृष्टिकाेण पनि फरक भाको छ। समाज, आफन्त परिवार नै हामीसँग कोरोना भाइरसको पोको छ जस्तै गर्छन्। नजिक हुन र बोल्न त के, हेर्न पनि डराउँछन्। आज भोलि त परिवारले पनि घर नआए हुन्थ्यो, बाहिरै बसे हुन्थ्यो जस्तो गर्छन्। त्यसैले पीडा हुन्छ। कहिलेकाहीँ यस्तो लाग्छ, हाम्रो सरकारले हामीलाई पनि केही व्यवस्था गरिदिएको भए आज यो समस्या भोग्नु पर्दैन थियो। आखिर बिरामी छुनु पर्ने डाक्टरले भन्दा पहिला हामीले नै हो नि हैन र ….
तर म हार मान्ने मान्छे हैन। सास रहुन्जेल सेवा नै गर्छु भन्ने प्रण गरेकाे छु। त्यसैले अगाडि बढिराको छु। अरुलाई गुनासो गर्न नसके पनि हेर्ने कथालाई मनकाे कुरा भन्न पाएकी छु। त्यसमै खुसी छु ……..
यसमा फेरि पीडामात्र हैन कत्ती खुसीहरु पनि लुकेको छ। किनकी म खुलेर बाहिर हिड्न पाएकाे छु। कोही साथीहरुलाई समस्या परे आफै पुगेर सहयोग गर्न पाको छु। गरेको पनि छु।
दुधै दुधले नुहाएको मान्छे त काे नै छ र! तर पनि म पनि बाँच्छु अनि मेरो देशको जनतालाई बचाउँछु भन्ने अठोट छ। कत्ति समाचारहरुमा पढ्छु , एम्बुलेन्स ड्राइभरले बिरामी बोक्न मानेनन् भन्ने। यदि त्यस्तो कहीँ कतै छ वा साँचो हो भने मलाई सम्पर्क गर्नुस्, म जसरी पनि उहाँहरुलाई सहयाेग गर्न तयार छु।
आज भोलि अलिक फुर्सदिलाे भाको छु म पनि। अस्पतालमा बिरामी खासै जान चाहदैनन्। अनि अस्पतालले लिन पनि मान्दैन। त्यसैले आज समय मिलाएर यो डायरी कोर्न मन लाग्यो।
अन्तमा म मेरा एम्बुलेन्स चालक साथीहरूलाई यो भन्छु कि ‘साथी हो, घाम पानी हावा हुरि केहीको प्रवाह नगरी हाम्रो सुरक्षामा खटिएका हाम्रो प्रहरी साथीहरूलाई आफूसँग भएको मास्क, ग्लोब्स र पानी दिने गर्नु होला। हाम्रो भन्दा धेरै पीडा उनीहरूलाई छ। म किन यसो भन्दैछु भने हामी त हरेक अस्पतालमा पुगेर जसरी पनि किन्न सक्छौं। तर उहाँहरुलाई पैसा भएर पनि किन्न गाह्राे छ। सबै भन्दा ठूलो कुरा त हामी एक अर्काको परिपूरक भएर बाँच्न सिकौं। मरेर लाने के नै छ र ! मेरो एम्बुलेन्समै मरेकाहरुले पनि केही लगेनन्। भोगाइ यस्तै छ, धेरै छ ……
बाँचेछु भने अर्को भेटमा धेरै लेखौंला।
No responses yet