धेरै साथीहरूले लेख्नु भएको दैनिकी देख्दा मलाई पनि नलेखी रहन मनले दिएन । त्यसैले लेख्दैछु । मध्यपूर्वका खाडी देशमा समय बिताएका लगभग डेढ दशक हुन लाग्यो। कुनै दिन हातको छेको लगाउदै ,आकाशबाट आएको आवाज पच्छाउदै हवाईजहाज हेर्ने म, यिनै हवाईजहाजहरु को सामिप्यतामा काम गर्न लागेको यत्रो समय सम्म मेरो मनको कुनै पनि कुनामा यी कुरा थिएनन् जो आज मैले केही दिन देखि अनुभव गरिरहेछु ।
मैले अमेरिकी इराक युद्ध,अफगानिस्तान माथि भएको आक्रमणहरुका बारेमा थाहा पाएको थिए ।आपसी अन्तरद्वन्दका कारण २४ घन्टा भित्रमा नै मध्यपूर्वको देशहरूले कतारी नागरिकहरुलाई देश निकाला गरेको र साउदी सरकारले अवैध रूपमा बसिरहेका लाखौं इथीयोपियन र बङ्गलादेशी नागरिकहरुलाई आफ्नै खर्चमा उनीहरुकै देश पठाएको पनि नजिकबाट देखेकै हो । तर त्यतिबेला पनि मानिसहरुमा अहिलेको जस्ताे त्रास र भय देखेको थिइन ।
साउदी सरकारले कोरोना सङ्क्रमणको कारण सार्वजनिक यातायातका साथ साथै हवाई उडान पनि प्रतिबन्ध लगाएपछि यति व्यस्त रियाद अन्तर्राष्ट्रिय हवाई अड्डा दिउँसै रात परे जस्तै चकमन्न छ । न यहाँ हवाईजहाजको कर्कश ध्वनि छ, न कसैलाई आफ्नो उडान छुट्ने चिन्ता । न कसैको फ्लाइट ढिला भयो भन्ने गुनासो नै छ। हिजोसम्म म आफ्नै अगाडि कोही साथी लडिहाल्यो भने एकछिन लडिबस् म पछि आएर उठाउला भन्दै सेकेन्ड र मिनेटको गन्तीमा हिड्ने मान्छे, आज आफ्नो कार्यालय बाहिर घाम ताप्दै बसेका सयौं विमानहरुलाई एक तमासले हेर्दै छु। र सोच्दै छु समय कति बलवान छ । मान्छेलाई छिन भरमा नै पङ्गु बनाइदिन सक्छ। हैन भने यी विमानहरु यतिबेला आकाशमा कावा खाइरहेका हुन्थे । मान्छे आ-आफ्नो गन्तव्यमा पुग्न तँछाडमछाड गरिरहेका हुन्थे। कोही आफ्नो व्यवसायिक प्रयोजनमा हुन्थे । कोही आफन्त र प्रियजन भेट्न दौडिरहेको हुन्थे । तर आज सबैको पखेटा काटिएको छ। सबैको खुट्टा बाँधिएको छ कारण एउटै छ विश्वलाई नै आतंकित बनाउने कोरोना भाइरस ।
अब यसको प्रत्यक्ष असर हामी जस्तै हवाई उड्डयनको क्षेत्रमा काम गर्नेहरुमा पर्दैछ। मलाई आजकल आजको भन्दा पनि भोलिको चिन्ता लाग्दैछ।यस बाट बच्नको लागि एउटामात्र सर्त छ त्यो हो कोरोनाको कहर शान्त हुनुपर्यो। त्यसमा तपाईंको मेरो र हाम्रो सबैको समान सहभागिता जरुरी छ।आफू बचौ,आफ्नालाई बचाऊ। अरुलाई पनि बाँच्ने वातावरण तयार गरौं ।
केदार रेग्मी
इन्फ्लाइट क्याटरिङ अफिसर
साउदी एयरलाइन्स
रियाद एयरपोर्ट, साउदी अरब ।
One response
WOW ! Kedar Sir WOW !! Congratulations navani basna sakina Salam for your feelings and heart touching reality !!!