लकडाउन सुन्दा पनि मनै चिसो भएर आउँछ मलाई। तर बिडम्वना आज लगभग डेढ महिना भै सक्यो लकडाउनमा लक्ड भएको। देशले लकडाउन सुरु गर्नु भन्दा दुई दिन अघि नै घरैबाट अफिसको काम गर्ने सुरु गरेका थियाैं। त्यसैले कामको हिसाबमा लकडाउन खासै लागेन भन्नु पर्छ। बरु केही रमाइला र राम्रा कामहरु गरियाे। हुन त दिनभरि काम नै हुन्छ र मन भुल्छ। तर म भने अलि अस्थिर स्वभावको,एकै ठाउँमा धेरै समय बाँधिएर बस्न नसक्ने । सायद त्यसैले मलाई सुरुका केही दिनहरु एकदम गाह्रो भयो। उकुसमुकुस हुन्थेँ। अनि छट्पटिन्थे र कहाँ जाऊँ र के गरूम् जस्तो हुन्थेँ। लकडाउनका सुरुवाति दिनहरुमा साँझ ५ बजेपछि तरकारी किनमेल गर्न जान लकडाउनको असर अलि खुकुलो हुन्थ्यो । म पनि हिँडि हाल्थेँ । छटपटि कहाँसम्म भने एकदिन एकजना प्रहरी अंकललाई, “तपाईंको फिल्डमा राउण्ड अथवा अनुगमनमा जानु परो भने मलाई पनि लानु न है। बरु हत्कडी लगाएर लगेपनि हुन्छ।”समेत भनेँ।
त्यो दिन साँझ म बजार जाँदा खुला हिँड्ने मात्र नभएर केही कुराहरु याद पनि गरेँ। म केही छिमेकि आण्टिहरुसँग तरकारी किन्न बजार गएकी थिएँ। बाटोमा ठाउँ ठाउँमा केही पुरुषहरुको जमात देखिन्थ्यो जिउ तन्काउदै गरेको। अनि केही महिलाहरु, “ओहो! सामानको कस्तो मोल बढेको ? कसरी धान्नु हौ ?” भन्दै थिए। सोचेँ किन कोही महिला छैनन् जिउ तन्काउनेमा चैँ ?
साँझ चाडै खाना खान्छौ हामी । लगभगभ सात बजेको थियो। हामी खाना खाएर टीभी हेर्दै थियौं। म चाहिँ सामाजिक संजालमा पनि अपडेट हुँदै थिएँ। टीभीको आवाज ठूलै थियो। बाहिरको हल्ला सुनिएको थिएन। करिब ७:३० तिर के सुर चलेर बाहिर हेरेको मानिसहरुको भीड थियो । के भयो भनेर बाहिर निस्किए। दुईजना महिलाहरु एक अर्कासँग झगडा गर्दै थिए। अनि पुलिस चाहिँ सबैलाई भित्र जानु, हुल गर्न हुदैन भन्दै थिए। रक्सी पिएर नानाभाँती गाली गरेको कारणले झगडा भएको रहेछ । सबै सकेसम्म झगडा मिलाउन प्रयास गर्दैथे। त्यही बिचमा, “अब यस्तालाई निकाल्नु पर्छ यिनको घरबेटीलाई भनेर।” पनि भन्दै थिए। थपौनीमा कसैले भन्याे “यस्ता बास्ने पोथीहरुलाई राख्नु हुँदैन ।” मैले यस्ता शब्द कहिल्यै पनि कुनै पुरुषको गल्तीमा आएको सुनेकाे थिएन। उनले त्यो कुरा भनिरहँदा आफूलाई बढो सही ठानिरहेका थिए।तर मेरा कानले यी कुरा सहन सकेन। हत्त न पत्त भनेँ “के कसलाई भन्नु भाको दाजु? विचार पुर्याएर बोल्नुहोस् है।” उसलाई ‘मैले गलत बोले’ कि भन्ने कुनै अनुभूती नै थिएन। होस् पनि किन, उनीहरुलाई यस्ता कुराहरु भन्न छुट जो छ। त्यत्तिकैमा प्रहरीले सबैलाई घर पठाए र झगडा गर्नेहरुलाई पनि आफ्नो आफ्नो कामगर्नु,हल्ला नगर्नु भनी पठाए। भोलिपल्ट हिजोका झगडा गर्ने अण्टिहरुसँग कुरा भयो। एकजनाको रिस उत्रेको थिएन तर अर्को अण्टि भने डराउनु भाको थियो, “अब घरवेटीले कोठा सरेर जाँउ भन्यो भने यो सानो छोरी बोकेर कहाँ जानु यस्तो अवस्थामा?”
त्यहीँ साँझ कामको सिलसिलामा चिनेको एकजना दिदी पनि भन्दै थिईन्, “श्रीमानले रक्सि खाएर मलाई र छोराहरुलाई कुटपिट गरे। मेरो निधार र हातमा ठूलो चोट लागेको छ। आँखामा रगत जमेको छ।” झगडा साम्य पर्न प्रहरी बोलाइएको रहेछ। तर प्रहरी “हामीले लकडाउनको बेलामा केही गर्न मिल्दैन। तपाईहरु मिलेर बस्नुस” भनेर गएछन् । उनी र छोराहरु अब के गर्ने भनेर डर र तनावमा छन्।
एक दिन बिहान एउटा अधबैसे मान्छे बाटैमा एउटा केटालाई थर्काउँदै भन्दै थियो, “हो, तेरी आमा बाइफाला हो । जान्छे दशजना केटासँग।” कत्ति सहजै निस्किएको त्यस्ताे वाक्य। कसरी भन्न सकेकाे हाेला!
यी सबै घटना मेरा लागि लकडाउनको छटपटी भन्दा पनि असह्य भएका छन्। मलाई पक्का छ यी मात्र प्रतिनीधि घटना हुन् । गाली गलाैच, डर धम्की, बलात्कार, यौन दुर्व्यवहार जस्ता घटना त कति हो कति। हिसाब गरेर साध्य छैन।
एकातिर कोरोना संक्रमित व्यक्तिहरु, विदेशबाट फर्केका, निश्चित धर्म, पेशा, समुदायहरुका मानिसहरुप्रति सामाजिक संजाल, घर समाजमा अपहेलना, ज्यान मर्ने, बलात्कारका धम्कीहरु आको आएकै छन्। अर्कोतिर आर्थिक तथा भौतिक अभाव, त्यसले निम्त्याउने मानसिक तनाव, सामाजिक अपहेलना, अनिश्चितता आदिले गर्दा यस्ता घटनाले प्रश्रय पाएको देखिन्छ । आखिर लकडाउन नै कहाँ हो र समस्याको जड। जबसम्म समाजमा व्याप्त पितृसत्तामक सोचले ग्रसित मानसिकता वाहवाही हुन्छ, जबसम्म आडम्बरी पुरुषार्थले भरिएको सामाजिक संरचना र महिलाद्धेषी आचरणले यस्ता कार्यलाई ढाडस प्रदान गरिरहन्छ, समस्या यथावत रहने छ।
दैनिक जीवनका यस्ता घटनाले मन आक्रान्त छ। प्रहरी प्रशासन पनि हामीले यो लकडाउनको बेला केहि गर्न मिल्दैन भन्दै लाचारी देखाउछ। हिंसाका घटना विरुद्ध वभिन्न हेल्पलाईन, आकस्मिक सेवाहरु छन्, तर उनीहरुले दिने सुविधा पनि सीमित छ। पीडितहरु झनझन चपेटामा परेका छन्। असीमित त केवल अपराध छ र भै रहनेछ सायद। यो श्रृंखला अन्नत छ। यस्तै छ हजुर लकडाउन।
No responses yet