खै ! कस्ले पो हो, कोराेनाको आतंकबारे गाउँमा मेरी आमालाई पनि खबर सुनाइदिएछन्। खबर सुन्ने बित्तिक्कै आमाले मोबाईल निकालेर मलाई फोन गरिन् :
संवाद
म: आमा ढोँग गरे ।
आमा: भाग्यमानी छोरा । तँ जतिसक्दो चाँडो घर आइपुग् । त्यहाँ त कुन्नि के कोराेना भाइरसको माहामारी छ रे। मान्छेहरु मर्दैछन् रे। मलाई साह्रै चिन्ता पर्याे।
म: चिन्ता लिनु पर्दैन आमा। म सुरक्षित छु। यहाँ मात्र होइन, त्यहाँ पनि हुनसक्छ।त्यसैले छिमेकीको घर पनि आइजाइ नगर्नु। साबुन पानीले हात धुनु। सफा हुनु । भिडभाडमा नजानु।
आमा: हुन्छ छोरा। मेरो चिन्ता नलिनु। तँ मात्र चाँडो घर फर्के।
म: हुन्छ आमा। अलि नियन्त्रण भएर लकडाउन खुलेपछि आउँछु।
पाँचतले खाली घरको एउटा कोठाबाट धेरै कुरा सम्झँदैछु यतिबेला। आमाले बनाउने मिठा परिकार, गाउँका साथीहरू, गाउँ नजिकैको बनबाट गिज्याइ रहने लालिगुराँस,नजिकै खोलामा गीत गाउने कोइली र न्याउली , बस्तुभाउ आदि आदि। सानो सपना बोकेर भारत छिरेको मलाई यी कुराहरुको सम्झना बाहेक अरु केही छैन।कहिले पुग्नु र खै मेराे गाउँमा !
त्यतिबेला यो सहरमा छिर्दा नयाँ देशको अनुभव मेरा लागि नितान्त नौलो थियो। सानो झुपडीमा हुर्किएर परदेश छिरेको मैले, ठूला-ठूला घर,होटल,कम्पनि अनि बिरानो सहरमा एक्लै काम गर्नुको पीडा राम्ररी बुझेको छु। सायद आशा भनेकै सबैभन्दा ठूलो भाइरस हो।त्यसैले त होला साना आँखामा पनि सपना देख्न चाहिँ छोडेको छैन मैले।
पिडाले अधिकार जमाउदै गरेको बेला, सपनाहरू आँसु बनेर बग्दै गरेका बेला मैले युटुबमा हेर्ने कथासंग भेट भयो । मैले यो लकडाउनको बेला हेर्ने कथाका लगभग धेरै भागसँग भेट गरे। सबै भागबाट जीवनको छोटो परिचय सिकेको छु। खुसी र सन्तुष्ट हुन सिकेको छु। आजकल यस्तै मन छुने, मर्मस्पर्शी भिडियो हेर्न मन लाग्छ। अनि लाग्छ मैले संघर्ष गरेका केही थान तस्बिर बोकेर आफ्नै देशको माटोमा सपना बुन्नेछु।