गुन्द्रुक र ढिँडो,खेत र गोठ यहीँ जीवन गै जाला!

नारा र प्लेकार्डले मात्र बन्दैन देश  
न माटो र पत्थरले बन्छ 
बन्द र हड्तालले बन्दैन देश 
न शोषण र भाषणले बन्छ  
देश त बरु कृषिमा क्रान्तिले बन्छ 
सम्पूर्ण नेपालीको रोजगार प्राप्तिले बन्छ 
सत्यम्, सुखम्, सुन्दरम् नेपाल चाहनेहरु 
हो , देश अब कृषिमा क्रान्तिले बन्छ ! 

यस्तो समय आउला भन्ने कल्पना सायदै हामी कसैले गरेका थियाैं। समयले गराएको गाउँघरसँगैको भेट अनि समयसँगै बितेका मेरा दिनहरू आज फेरि सम्झना गर्न मन लाग्यो । होस्टेल हुँदा पढ्दा पढ्दै अल्छी लाग्थ्यो , अहिले घरमा यता उता दौडिदा काम गर्दा दिनहरु आरामले जान्छ ।

चैतको ६ गतेबाट मेरो कलेज छुट्टि भयो । कोरोनाको डरले म पोखराबाट भागि हाले पर्वततिर । पहाडि जिल्ला आउँदाको दिन मज्जाले असिना पानी परेको थियो । फाटँ भरि तोरी अनि हरिया पहाडहरूको दृश्य निकै लोभ लाग्दो थियो । बेलुका छ बजेतिर घर पुगेकी म पिडीँ भरिको तोरी देखेर खुसी थिएँ । पोखरा देखि पर्वतसम्मको बाटो, खेती,वनजङ्गल, नेपाली जनजीवन, मेरो कलेज, पोखराका कयौँ यादहरु सम्झना गर्दा गर्दै आँखा चिम्लिएछु ।

चैतको महिना हाम्रो तिर हिउँदे खेती थन्काउनको खुब चटारो , बिहान ६ बजे उठेर हिडियो तोरी उक्काउन । चार दिने मेलोको खेत र दुई दिने मेलोको बारी । धेरै काम थियो । होस्टेल बसेर बाआमाको पैसामा रमाएको ज्यान काम गर्न सजिलै कहाँ मान्थ्यो र! तर पनि गाउँघरको मायाले सबै थकान मेटाइदिन्थ्यो । मुसुरो, तोरी, गहुँ सप्पै काटेर लौराले हानी हानी धुलो पिठो पारियो । यता खेतीको चटारो बेजोड थियाे, उता लकडाउन र कोरोनाको डर उति नै बढ्दाे थियाे। तापनि कृषि गरेर खानुपर्छ भन्ने हाम्राे परिवार अब मकै लगाउने तरखरमा लाग्यौ । मल जल मिलाइ हाेरी ट्याक्टरको गड्गडाहटसँगै चैतको अन्तिममा मकै पनि छरियो । समय र मौसम अनुकूल मकै एकोहोराउने दोहोराउने काम पनि भयो । अब हाम्रो गाउँघर असारको चटारोसँग रमाउँदै छ ।

पछिल्ला महिना हेर्ने हो मने म यहीँ गाउँका पाखामा व्यस्त छु । खेतीपाती वनजङ्गल अनि प्रकृतिमा रमाउँदै छु । जागीर र पढाइमा भएपनि आफूलाई खान पुग्ने कृषि र अर्गानिक तरकारी फलफूल उत्पादन गरेर खान सकिन्छ भन्ने कुरा मलाई महशुस भएको छ । नेपाल कृषिप्रधान देश हो, माटो र पानीको मिलन भएमा सुनसरि अन्न यहीँ उब्जन्छ । आज पनि रोजगारीको सिलसिलामा विदेशीएका कयौँ नेपाली छन्, देशवासी बेरोजगार छन् । भूल सरकारको व्यवस्थापनको हो या नेपालीको अल्छीपना! कुर्सी र सहरमा आएको आधुनिकीकरणले कृषिलाई पनि राम्रै पाठ सिकाएछ क्यारे।

अब साँच्चै अबेर भइसक्यो । अझै पनि कृषिमा लगाव नहुने हो भने देश झनै भयावह अवस्थामा पुग्नेछ । वरपरका हरिया पहाड अनि कोइलीका सुमधुर आवाजहरु हराउने छन् । नेपाल नेपाल रहने छैन । त्यसैले नबुझेकाले बुझ्न जरुरी छ र बुझ्नेले लागु गर्न । सरकारको ध्यान कुर्सीमा भन्दा कृषिमा हुनुपर्छ । गरेर खान्छु भन्नेलाई सरकारले आवश्यक सामग्री तथा तालिम उपलब्ध गराउनु पर्छ । लकडाउनले हामीलाई गरी खाने सुनौलो मौका दिएको छ। विदेशीएका, चार पैसा धन कमाउन सहरिएका कयौँ नेपाली सन्ततीलाई मेराे अपिल। आफ्नै घर फर्कनुहोस्, यहाँ स्वर्ग छ । यिनै पाखा पखेरामा रमाउँला, दुख सुख परिवारसँग रमाउँला। यहीँ उब्जनी गरेर धन पैसा कमाउँला । 

हे देश बासी, नजाउ घर छाडी, देशको हाल के होला
गुन्द्रुक र ढिँडो, खेत र गोठ यहीँ जीवन गै जाला ।

धन्यवाद !!

मनिषा सुवेदी

कुश्मा, पर्वत 

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply