विहानैदेखि विभिन्न शैक्षिक, सामाजिक र पेसागत कर्ममा साँझसम्म सल्बलाउने, यी पाइलाहरु अहिले अदृष्य बन्धनमा बाँधिएका छन् । प्राय यी दिनहरु सामाजिक संजालमा विभिन्न सकारात्मक सन्देशहरु लेख्दै, प्रेरणादायी कुराहरु सुन्दै र केही हेर्ने कथाका भागहरु दोहोर्याउँदै बिताइरहेको छु ।
सामाजिक कार्यमा रुची राख्ने भएकाले बितेका दुई तीन दिन म जिल्ला प्रशासन कार्यालयको समन्वयमा विशेष सावधानी अपनाएर केही टोलहरुमा गए । हामीले केही सहयोग गर्ने सोचले त्यहाँ पुगेका थियौँ । हामीले कल्पना गरेको नेपाल भन्दा वास्तविक नेपाल धेरै तल रहेछ । धेरै मानिसहरुलाई छाक टार्न नै गाह्रो रहेछ । देख्दा आँखा नै रसाउने हेर्ने कथाका केही अंश जस्तै । सुनसान बजारका बस्तीबाट निस्केर डाँडाकाँडा पुग्दै गर्दा भोको पेटले चामलको खोजीमा हिँडेकी आमा र आमाले खानेकुरा ल्याउने आशमा बाटो हेरिरहेका ती कलिला आँखाहरु । आखिर कसको हृदयमा चोट नपुग्ला र त्यो कारुणिक दृष्यबाट । त्यहीँबाट पनि मैले थप सहयोग र राहत आवश्यक छ भनेर सामाजिक संजाल मार्फत सूचना दिने निधाे गरेको हुँ ।
सोही यात्राको क्रममा बाहिरी संसार एकैछिन नियाल्दा लकडाउनले छोएको त केवल सहर मात्रै छ जस्ताे लाग्याे । खेतीपातीमा रमाएका किसानहरुलाई लकडाउनमा घर बस्ने फुर्सद कहाँ । कोेही मकै छर्दै थिए । कोही गोठाला हिँडेका । कोही रुखबाट घाँस खसाल्दै गरेका देखिन्थे त कोही पिठ्यूमा मलका डोका बोक्दै गरेका । नत उनीहरुमा कुनै डर थियो न त डरको बारेमा सोच्ने फुर्सद नै । डर त केवल खेतीबाली उब्जनी र बस्तुभाउको पेटको पो रहेछ ।
एउटा सानो देश भित्रको, सानो ठाउँको, सानो गाउँ टोललाई मात्रै हेर्ने हो भने पनि कति फरक छ,यहाँ जिउने जिन्दगी । यसो कोठामा बसेर सोन्दैछु, ती मानिसहरुमा चेतनाको कमी होला कि साँच्चै नै कोरोनासँग लड्ने आत्मबल र हिम्मत । के ले उनीहरूलाई त्यति जाँगरिलो बनाएको होला ! बेफुर्सदी बनाएको होला ।
खैर, बाँकी दिनहरुलाई हेर्दा विभिन्न काममा व्यस्त भइरहने जीवन एउटा कोठा र घरमा बन्दक बनाएर राख्न निकै कठिन हुने देख्छु । न त निन्द्रा लाग्ने, न त भोक, के हो के नपुगेको जस्तो । केही विर्सेजस्तो । त्यसै अत्तालिँदो रहेछ । मनमा अनेक डरहरु साँचेर पनि कोरोनाको बारेमा एकछिन बिर्सने हो भने यस लकडाउनले मलाई धेरै आफन्तसँग कुरा गर्ने र जोडिने फुर्सद मिलाइदिएको छ । जीवनमा काम बाहेक सधै कम समय दिएको परिवारिक सम्बन्धको महत्व बुझाइदिएको छ ।
ए ! आज त एकै चोटी ३ जनामा संक्रमण भेटियो रे ! ममी उताबाट भन्दै हुनुहुन्छ । तपाईँहरु पनि थप सजग हुनुहोस है !!
No responses yet