लेख्न भन्दा पढ्न सजिलो मान्ने मान्छे म । लेखक बन्न शब्दसँग खेल्ने क्षमता हुनुपर्छ । हुन त विद्या दिदिले लेखक नै हुनु नपर्ने ढाडस दिनुभएको छ । म चाहिँ खेलाडी बन्न मैदानमा प्रवेश गर्न लागेको सिकारू परेँ । नयाँमा खेलका धेरै नियमहरु मिचिन सक्छन्, नजानी नजानी नियम तोडिन पनि सक्छन् । यसको लागि अहिले नै माफी मागे ।
लेख लेख्ने खासै ढंग नभएका हामीहरुलाई प्रोत्साहन गर्न हेर्ने कथाको टिमले प्रयास नगरेको भए म पनि कोरोनासँगको लडाइँमा सरकारलाई खाटमा सुतेर सहयोग गरिरहेको हुन्थेँ अरु दिन जस्तै । या यतिबेला सामसुङ मोबाईलमा बुढी औँलाले स्क्रीन तलमाथि गर्दै हुन्थे। साथीको पुरानो फोटोमा ट्रेन्डिङमा चलेको ‘कमेण्ट पेष्ट’ गर्दै हुन्थेँ ।
बिहान टाउकोमा घामको झुल्को नपरेसम्म आँखाको ढकनी खुल्न छोडेको पनि लगभग दुई हप्ता भयो । ‘लकडाउन’ को एघारौँ दिनसम्म आउँदा आरामको उच्चतम बिन्दुमा पुग्नै लागिसकेँ । अब बस् आराम स्वयंले बेआराम महसुस गर्दैहोला भन्ने लाग्छ ।
‘अफिस’ जान नपर्ने भएपछि निन्द्राको मिठास पनि पहिले भन्दा मिठो लाग्ने रहेछ । आलार्मको घण्टीले पनि आराम गर्दियोस् झैँ लाग्ने । तर भोली पेटको बोसो पगाल्न कसरत गर्नुभन्दा अहिले समयको नियम अंगाल्न नै जाती । उठेर पहिला झ्यालको पर्दा थोरै उघारेर बाहिर नियाल्न मन लाग्छ । मानिसको चहलपहल जाँच्ने यो उपाय दिनको तीस चालिस पटक जति गरिन्छ ।
दुबै हातलाई तनक्क तन्काउँदै पाइखाना गैसकेपछि नाक मुख नछोइने गरी गम्साले मुख पुछ्ने गर्छु । एक माना पानी डिक्चिमा उमाल्नै लाग्दा पहिला अदुवा, बेसार र थोरै नुन हालेर प्रतिरक्षा प्रणालीलाई थप हौसला दिने काम पनि बिहानकै तालिकामा पर्छ । फेरि स्मरण रहोस् कि यसमा बिच-बिचमा साबुन पानीले मिचि-मिची हात धुने काम प्रत्येक १० मिनेटको अन्तरमा गर्नु त हामी सबैको साझा तालिकामै पार्नुपर्छ ।
आजभोलि खाना पकाउने काम भने साधारण दिन भन्दा चुनौतीपूर्ण छ । एक त सामान फारु गर्नु पर्ने अर्को बिहान पकाएको खानाले दिउँसो लन्च पनि गर्नुपर्ने । त्यही खानाबाट थोरै बचाएर चरा चुरुङ्गीलाई छतमा बोलाएर दिनु पनि पर्याे । छैन त चुनौती ?
अब तरकारीको कुरै छोडौँ । कुरा छोडौँ भन्दा पनि कुरा गर्नै पर्ने विषय हो यो फेरि । के पकाउने ? सोच्नु त खासै पर्दैन । आमाले घर जाँदा पोका पारेर झोलामा राख्दिएको गुन्द्रुकले आजसम्म धानेको छ । ‘लकडाउन’ लम्बियो भने चाहिँ सोच्न बाध्य बनाउने छ । पकाउन सजिलो । भिजाएर थोरै नुन, थोरै अदुवा लसुन र दुइ मुठी पानी हाल्दिएपछि भइ त गयाे । फेरि साथी नै बनाउन मन लागे, आलु मिसाए भैगो । गेडागुडी मिसाए पनि ठिकै छ । परिकार नै बनाउन मन लागे, अचार बनाए पनि भो, ग्रेभी बनाए पनि भो, रोस्ट बनाए पनि ठिकै । त्यसैले त बेला-बेलामा शाकाहारी हुनुमा गर्व लाग्छ ।
म त भन्छु यस्तो बहु-उपायोगी तरकारी बनाउने उपाय र प्रविधि नेपालले विश्व जगतलाई सिकाएर गुन लगाउनै पर्छ । अझैँ जोड दिएर भन्छु, हामीले हाम्रो पुर्खालाई गुन्द्रुक उत्पादनको प्रयोग र उपयोगिताको लागी सलाम गर्नै पर्छ । सलाम!
खाना खाएपछि दिनभरी के गर्ने ? भनी एकछिन अन्यौल हुन्छ । बरण्डाबाट छिमेकीको बरण्डाको चहलपहल हेर्नु र भर्याङ दिनको पाँच-छ पटक तलमाथी गर्नु। फेरि छिमेकिको बरण्डामा केटिमान्छे देखे भने त्यो बरण्डा बसाइ पनि संसदमा संसदलाई मानानीय सदस्य भन्दै सभामुखले छुट्याएको दुइ मिनेट भन्दा कम हुन्छ । लजालु जो परे! र त्यतिले पनि दिन काट्न गाह्रो भएमा कान्तिपुर एफ एम जस्तै हरपलको साथी छँदै छ । सामसुङ मोबाइल । फेसबुक खोल्यो । ‘नोटिफिकेशन’ ले निमन्त्रणा दिन्छ । खोल्यो, त्यही दश वर्ष अघिको फोटोमा ‘ट्रेन्डिङ कमेण्ट’ को बिग्बिगी ।अझ गजब त गाउँको साथीले गरेको ‘कमेन्ट’ र अमेरिका बस्ने साथीको ‘कमेन्ट’ एउटै । फेरि अर्को साथीको ‘फेसबुक वाल’ मा गएर उसले अर्कै साथीलाई गरेको ‘कमेन्ट’ चोरेर जवाफ दिनु पर्छ । गाह्रो छ । गाह्राव छ । मानिसको जातलाई दु:ख यसै भएको त कहाँ हो र हनुमान जी !
बिहान एकमुठी बढी बनाएको भातलाई भुट्यो । खायो । अनि फेरी ट्विटर छिर्यो । विचारको लडाइँ त यहाँ पो छ गाँठे! तेस्रो विश्व युद्द हेर्न अन्त कहीँ जानु नपर्ने गरी ट्विटर निर्माण गरिदिनु भएकोमा ज्याक दोर्से, विज स्टोन्, नोह ग्लास र इभान विलियम्सलाई पनि सलाम! मन्त्री देखि सचिव सम्म, इन्जिनियर देखि डाक्टर सम्म लडाइँमा सामेल । कोही चिया खादैँ लडाइँमा भने कोही घुस खादैँ । कोही तरकारी गोड्दै लडाइँमा भने कोही सरकारी जागिर खाँदै । आज यो लडाइँमा कोरोना पनि मिसिएको छ । फरक यति मात्र हो ।
ओहो! तपाईले हात त धुनुभयो ? यत्तिकै होइन । साबुन पानीले । मेरो साबुन पानीले हात धुने बेला हो यो । त्यो पनि मिचि-मिची । कम्तिमा बिस सेकेण्ड ।
यसरी साबुन पानीले हात धोएपछि, कोरोनाको विश्व महामारी र यसको संक्रमणको ताजा जानकारी लिने गर्छु । घरमा फोन गर्छु । आमा भन्नुहुन्छ; के छ बाबु ?
मेरो जवाफ हुन्छ: आराम छ ।
घर बाहिर ननिस्किनु है!
म हुन्छ भन्दै गर्दा आमा खाना र यहाँको तरकारीको चिन्ता फोनमै पोख्नु हुन्छ ।
हजुरले झोलामा राख्दिएको गुन्द्रुक छ भन्छु । सबैलाई सावधान रहन आग्रह पनि । परिवारका सबै सदस्यलाई अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन भन्छु । यो लडाइ सावधानीले मात्र जित्न सकिन्छ ।