पेशाले म सरकारी जागिरे हुँ । जिन्दगीमा यति फुर्सद कहिल्यै भएन । केटाकेटीमा खेल्न पढ्नका र घरको कामधन्दाले फुर्सद भएन । अहिले जागिरे छु । धेरै सेवाग्राहीको चाप हुने कार्यालय भएकाले यहाँ पनि सधै व्यस्त हुन्छु ।
अहिले यी सबै कुरादेखि टाढा भए पछि जिन्दगीमा नयाँ अनुभव भइ रहेको छ । आफूलाई एक्लो महसुस गरेको छु । सुतेर उठेदेखी पुनः नसुत्दासम्म पनि कोठामै भएको सायद यो जीवनकै पहिलो अनुभव हो ।
जागिर खान थालेपछि कामको व्यस्तताले साथीभाइ र आफन्तसंग नियमित सम्पर्कमा रहन सकेको थिएन । अहिले फेरिएको छ । फोनबाटै भएपनि कुरा गर्दा अहिले नजिकै भएकाे महसुस गर्नु भएको होला । तर आफन्तहरूसंग छुट्टिएर बस्नु पर्दा भने न्यास्रो लाग्दो रहेछ ।आमा गाउँमा, दिदी पुलिसमा, दाजु अर्को देशमा, म फरक सहरमा बस्दा आफन्तदेखि छुट्टिएको महसुस गरेको छु । तर सामाजिक संजाल र फोनले नजिक्याएको त छ ।
जब एकै छिन सोच्छु , गाउँमा आमा के गर्दै हुनुहुन्छ होला ? खाना खानु भयो कि नाई ? दिदि ड्युटीमा हुनु होला, खाना समयमा खान पाउनु हुन्छ हुन्न ? विदेशमा दाइको समय कसरी बित्छ ? यस्ता प्रश्नले क्षण भरमै सताउँछन, र फोन गरेर समय समयमा बुझ्दछु । मेरो परिवार जस्तै कतिको परिवार लक डाउनमा टाढिएर बस्नु परेको होला ? सबैले यसरी नै सम्पर्क गरि रहनु हुन्छ होला ! गाउँतिर त फोनको घण्टी बज्न डाँडोमा नै जानु पर्ने बाध्यता छ । यस्ता मान्छेका आफन्तलाई कति चिन्ताले पिरोल्छ होला ? यसको मतलब लक डाउनले हामीलाई दुख दियो भन्न खोजेको हैन, यो हाम्रो लागि हो, हाम्रै सुरक्षाको लागि हो । तैपनी त्यस्तो विषम परिस्थितिमा सबै आफन्तसङ्ग सम्पर्कमा रहेको राम्रो हुन्छ ।
जिवनमा सधै धेरै व्यस्त भइरहे । कुनै नयाँ काम गरौ भन्दा फुर्सद छैन भन्ने म आज यति फुर्सद हुँदा नि किन केही गर्न सकिरहेकाे छैन । कहिले समाचार हेर्यो, सामाजिक संजाल चलाएर बस्यो, आफन्तलाई फोन गर्यो , यसरी नै दिन बित्दै छ । कुनै पनि काम गर्न फुर्सद हैन व्यस्तता नै आवश्यक पर्दो रहेछ कि जस्तो लाग्न थालेको छ । इच्छा शक्ति भएमा समय जति थोरै भए नि मिलाएर काम गर्न सकिने रहेछ । तर म लकडाउनको सही सदुपयोग गर्न नसक्ने मान्छेमा परे जस्ताे लागेको छ ।
म एक पत्रकारको घरमा कोठाभाडामा बस्छु । कसैले मलाई फ्याट्ट हेर्ने कथा कार्यक्रमको बारेमा सुनाइदियाे । अनि मैले सुरु गरे पहिलो शृङ्खलादेखि हेर्न । ग्रामीण परिवेश र पिछडिएको क्षेत्रका मान्छेको जनजीवनमा आधारित कार्यक्रम रहेछ । कतिपय शृङ्खला हेर्दा मेरो आखाबाट आँसु नै रोकिएनन् । त्यो कथाको प्रमुख पात्र म आफै हुँ जस्तो लाग्यो ।
यसबाहेक कहिले आफन्तलाई सम्झेर, कहिले सरसफाइ गरेर, कहिले हेर्ने कथा हेरेर, कहिले किताव पढेर, यसरी नै लक डाउनको समय बितिरहेको छ ।
तपाई आफू पनि सुरक्षित हुनुहोस् र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नुस् ।