Day – zero
एउटा शून्य दिन
प्यारो डायरी ,
धेरै भयो तिमीसँग नभेटेको ।दिनको के कुरा,वर्षाै वर्ष भयो । न्यास्रो नलागेको हैन । तर खै , के ले रोक्यो, रोक्यो !
केही त पक्कै थिए भन्ने कुरा तिमीलाई । केही त पक्कै थिए सुनाउने कुरा तिमीलाई ।
कहाँबाट सुरु गराैं ?
सम्झना पनि हराउँदो रहेछ हेर न । तिमीसँग छुटे यता धेरै कुरा छुटेका छन् ।
गाउँ छुट्यो । आँगन छुट्यो । पैयुँका फूलहरु छुटे । घर छुट्यो । साथीभाई छुटे । आफन्त छुटे । ठूल्धारोको शनिबारको भीड छुट्यो । अरु त अरु, शनिबार सवा दुई बजेको फिल्म पनि छुट्यो ।
हाम्रो आँगनबाट पर महान्टारसम्म देखिने त्यो फराकिलो ‘महान टार’ छुट्यो । धानका बाला छुटे । गहुँका गर्हा छुटे । मलका डोका छुटे । परालका बिटा छुटे । अनि छुटे आमाका दु:खहरु ।
छुटेका कुरा भनि साध्य छैन । समग्रमा धेरै यादहरु छुटे । जुत्ता छुटे । खुट्टा छुटे ।
छुटेका खुट्टाहरु कहाँ कहाँ पुगे । म पनि त कहीँ पुगे ।
………………
आज धेरै वर्षपछि छुटेका केही कुराहरु भेटिएका छन् ।
उतिबेला मेरो आँगनबाट देखिने क्षितिज कति साँघुरो रहेछ। पर एयरपोर्टमा राति बलेको बत्ति देख्दा मलाई मेरो क्षितिज कति उज्यालो लाग्थ्यो । आजकाल त्यहाँ केही थान बिजुलीहरु थपिएका छन् । केही थान जहाजहरु थपिएका छन् ।
साँझको सुन्तले आकाशमा सेतो हवाईजहाज कस्तो खुल्थ्याे । मेरो सम्झनाको ग्यालरीमा भएको सबैभन्दा प्रिय तस्वीर ।
अहिलेको मेरो क्षितिजमा एयरपोर्ट छैन । आकाश त उही छ । उही छ, कि फेरियो ? जवान छ कि बुढो भयो ?
खै !
सबै जटिल प्रश्नहरूकाे कति सजिलो उत्तर – खै !
उबेला यो आकाशमा कत्तिबेला हवाईजहाज उड्ला भनि हेरी बस्थ्याै । हेर्दा हेर्दै जहाज छुटिजान्थ्यो । हामी जिल्ल पर्थ्याै र कल्पन्थ्याै । जहाजमा के उड्ला ? सपना कि सम्झना ! को उड्ला ? मिलन कि विछोड ! हाम्रा चिनजानका कसैले जहाज चढेको थाहा थिएन ।
त्यतिखेर छुटेको आकाशको त्यो दृष्य अहिले यतिबेला फेला पारेको छु ।आज दिनभरिमा जम्मा दुईवटा ठूला जहाज उडे । एउटा आैषधी र उपचार सामग्री लिन चीन गएको हवाईजहाज र नेपालमा बसेका विदेशीहरु लिन आएको कतार एयरवेज । आखाँबाट आेझेल नपरुन्जेल जहाज पछ्याए । थाहा छैन पर क्षितिजमा बादलभित्र हराउँदै गरेको त्यो जहाज यो मेरो सम्झनाको प्रिय तस्वीर बन्छ बन्दैन !
……………
धेरै धेरै वर्षपछि हिजै साँझ घरको छतमा उभिएर धेरैबेर आकाश हेरे । साँझको काखमा दिन, उसैगरी आरामसँग निदायो । साँझ, रातको न्यानोमा मस्त भयो । जिन्दगीको भागदाैडमा मैले मेराे आकाशै बिर्सेको रहेछु । ताराहरू उस्तै थिए । सानआख्ले तारा, तीनआँख्ले तारा । प्रश्नको तारा । सबै उस्तै थिए । चम्किला, धमिला, उज्याला, अध्यारा सबै सबै आकाशमै भेटिए । जून पनि उस्तै थियो ।
नभेटीएको त म पो रहेछु । फेरिएको त मेरो आँगन पो रहेछ ।
………………….
दिउँसोको आकाश पनि उबेला झै देखे । निलो । निख्खर । घाम उसैगरी लागेको थियो । उत्तरतिर टल्केका हिमाल उस्तै थिए । चन्द्रागिरी र फुल्चोकी पनि कत्ति नजिकै । फुत्तै पुगिएला जस्तो ।
अब यति नै बेला पूर्वतिर हेर्दा चाँगुनारायणको डाँडो अघिल्तिर हेलिकप्टरबाट हरियो छाता (प्यारासुट)समातेर आर्मीहरु झरेको देखिए ठ्याक्कै हाम्रो पुरानै आकाशमा फर्कने थियाै ।
तर एक , दुई , तीन भन्दै सिपाहीहरु झरेका गन्ने नानीहरु भेटीएलान् त अब ।
हरिया लुगा लगाएर , हरियै झोला , हरियै तुम्लिनको भाँडो बोकेर हाम्रो घर छेउको बाटो हुँदै आउने ती सिपाहीहरु किन त्यसरी हेलिकप्टरबाट झर्थे कुन्नी ! तिनीहरु उबेला झै हाम्रै आँगनको बाटो हुँदै आए भने ! तिनीहरु फर्कदा घर भित्र लुकेर खोपा खोपाबाट चिहाउने स-साना आखाँहरु के गाउँमा होलान् त अब!
टेलि ईट्टा छापेको आँगनको बाटो अब कहाँ बाँकी छ र गाउँमा ! गाउँका हरेक आँगन अहिले गेटभित्र सरेको छ । पर्खाल लागेको छ शारदा आमाको आँगनमा र चिसै छ आगोको भुङग्रो लिन जाने फलामे डाडुहरू । पर्खाल लागेको छ सबिताको आँगनमा र रित्तै छन् तरकारी माग्न जाने कचाैराहरु । पर्खाल लागेको छ सरिता भाउजूको भान्छाबाट आउने बास्नामा अनि पर्खाल लागेको छ चाडबाडमा सुनिने दिदिबहिनीका उन्मुक्त हाँसोमा । र हराएछन् आँगनमा आँखाछोपी खेल्ने सानीहरू ।
आजकाल गाउँमा पर्खाल लागेको छ । रंगीन पर्खाल सेता, नीला, पहेला, हरिया, राता पर्खाल । पहिले कति सजिव र रंगीन लाग्थ्याे मलाई मेराे गाउँ । यी रंगीन पर्खालहरुले मेरो गाउँको रङ नै उडाएछ र हराएछन् गहुँका बालाहरुसँग आफ्ना उचाई नाप्ने नानीहरु । विस्तारै आँगन हराएछ । पिढीं हराएछ । भँगेराहरु हराएछन् , परेवाहरु, पुतलीहरु, खेतहरु, धानहरु, गहुँहरु, मकैहरु । एक एक गर्दै सबै हराएछन् ।
गाउँ कहिल्यै नभेटिने गरी हराइसकेछ ।
गाउँ हरायो । म पनि त हराए कतै ।
…………….
र आजकाल भेटिन्छु हेर्ने कथामा । यस्तैगरी विस्तारै हराउँदै गएका गाउँघर डुलिहिड्छु । खुशी हुँदै हिड्छु । डराउँदै हिड्छु । मेरो गाउँ हराए जस्तै यी गाउँघर पनि हराउने हुन् कि कतै ! म हराए जस्तै यी गाउँका अन्तरी जन्तरीहरू पनि हराउने हुन् कि कुनै दिन !!
…………….
प्रिय डायरी्,
यत्तिका वर्षपछि कुनै अवसर पारेर लेखेको हैन । मनमा कुनै भाव छैन । न खुशी न दु:खी । मान्छे भावशून्य पनि हुँदोरहेछ । यस्तो भावलाई के भन्छन् कुन्नि !! लेख्न सुझाउँदा साथी कमलकुमारले भनेका थिए ‘मैले लेखेको कसैले पढ्दैन भन्ने सोचेर लेख्नु है ।’ शायद यस्तै सोचेर लेखे ।
घरभित्र छु । पर्खाल भित्रै । रहरले हैन । वाध्यताले । लकडाउन डायरीमा कोरोना भाइरसको कतिवटा केस कहाँ फेला पर्यो । कुन देशमा कति संक्रमित भेटिए । दिनमा कतिपल्ट हात धोए । मिचिमिचि धोए कि आफैलाई ढाँटेर धोएजस्तो मात्रै गरे । आमासँग भेट नभएको कति दिन भयो ।आमालाई फोन गर्दा क्वारेन्टाईनमा बसाै, कोरोना भाइरसका लकणहरू भन्ने मेसेज पुरै सुने कि आधा मात्रै । लकडाउन थपिन्छ कि सकिन्छ । अझै कति दिन यसरी बस्नुपर्ने हो ! काम नगरी खान नपुग्ने मजदुरले के गरी खालान् । अब संसार के हुने हो । चीनमा भाइरस कसरी रोकथाम भयो होला । अमेरिकामा पनि मास्क पुगेन । हाम्रा डाक्टरले उपचारगर्दा लगाउनैपर्ने लुगा पाएनन्। कोरोना भाइरस देखिएकालाई हेरचाह भएन । सरकार पनि अस्पतालबाट डिस्चार्ज भयो रे । यस्तै केही लेख्नुपर्ने थियो होला । मैले त के पो लेखे गन्थनमन्थन मात्रै।
आज के बार पो हो साँच्ची ! सोमबारै पनि शनिबार जस्तो बुधबारै पनि शनिबारै जस्तो भएपछि आजपनि शनिबारै भनिदिउँ ! सधैं दिनभरि घरै बस्ने मेरी आमा यस्तै भन्नुहुन्थ्याे । मैले पनि भनिदिए – दिन बारको हिसाब पनि के गर्नु ।
शहरभरि मान्छे भएर पनि रित्तिएको यो शहरको के कुरा गर्नु ! घरभरि मान्छे भएर पनि शून्य यो आँगनको के कुरा गर्नु ! बाँच्नैका लागि गरिरहेको यो संघर्षका बेला मृत्युको के कुरा गर्नु !
बरू अलिकति सम्झनाको कुरा गरे । अलिकति बिर्सनाको कुरा गरे । अलिकति मनको कुरा गरे ।
काम त थुप्रै छन् । तर कामको पनि के कुरा गर्नु ।
केही दिन अघिसम्म कति भागदाैडको जिन्दगी थियो । भ्याईनभ्याई । खान पनि फुर्सद थिएन कहिले त । दिन यस्सै पनि वित्दो रहेछ । केही नगरी पनि ।
हतारै गरेर पनि ।हातै बाँधेर पनि ।
सम्झेर पनि बिर्सेर पनि ।
सोचिल्याउँदा जसरी पनि चल्दो रहेछ जीवन ।
भर्खरै एउटा निर्णय गरेका छाैं : अबकाे केही समय हेर्ने कथामा नयाँ कथा नदेखाउने ।
बाँकी अर्को भेटमा ।
उही तिम्रो ,
म ।
विद्या चापागाईं
प्रस्तोता
Bidhya is one of the co-founders of Herne Katha. She is also the Presenter of the show.
No responses yet