सहर बसेको पनि ६ वर्ष भैसकेछ । गाउँबाट एस.एल.सी दिएर उच्च शिक्षा हासिल गर्न काठमाडौँ छिरेको म ठिटो , हेर्दा हेर्दै २४ वर्ष लागि सकेछु । गाउँकै एक सामान्य सरकारी विद्यालयबाट एस.एल.सी प्रथमश्रेणीमा उतीर्ण हुँदा के के न पाए र जस्तो भएकाे थियाे। साथमा केही सपना बोकि काठमाडौँ छिरेको म गाउँ र काठमाडौको वातावरणमा आकाश जमिनको फरक रहेछ भन्ने अनुभूति त्यतिबेलै गरे ।
एक वर्ष अगाडि व्यवस्थापन संकायमा स्नातक सकिसकेको म जागिरको लागि भौतारिरहेको थिए। गाउँबाट बुवाले गाउँमै आएर केही गर भन्नुभएको कुरा अहिले लकडाउनको समयमा झलझल्ती याद आउँछ। हुनपनि लकडाउनले मलाई व्यक्तिगत रुपमा धेरै कुरा सिकाएर जान्छ जस्तो अनुभव मअहिले गर्दै छु । लकडाउनकै कारण गाउँ जान नपाएपनि म गाउँमा आमाले पकाएको खाना र बुवाको त्यो उत्तरदायित्व मिसावट वाणीबाट पटक पटक टोलाइरहन्छु । मास्टर दोस्रो सेमेस्टरको परीक्षा हुँदाहुँदै लकडाउन भएको र अफिसको केही कामकाजले गर्दा गाउँ जानबाट वञ्चित भएको थिए।
आफैमा चित्त बुझाएकाे छु । जीवनभन्दा ठूलो कुरा के नै छ र? डेरामै बसेर आफूसंग जे छ त्यही खाएर बाहिर ननिस्किकन मैले कोरोनाभाइरस न्यूनिकरण गर्न भूमिका खेल्दछु भने यसमा दुखी हुने कुरा नै के छ । यसो सोच्छु, हाम्रो जस्तो देशमा यसले युरोप,अमेरिका जस्तो महामारीको रुप लियाे भने त हामीलाई बाँच्न पनि धौँ धौँ पर्नेछ। त्यसैले आफ्नो मनलाई सकभर सकारात्मक राखेर केही सिर्जनात्मक काम गर्न खोज्छु ।
इन्टरनेटमा युट्युब हेरेर केही मिठा परिकारहरु बनाउन कोसिस गर्छु । अनि युट्युबकै मद्दतले आफ्नो शरीरलाई स्र्फूर्त राख्ने टिप्सहरु फलो गर्छु ।हुनपनि यो समयमा इन्टरनेटको सही सदुपयोग गर्न जानेमा असल साथी हुँदोरहेछ। तर पनि बुवाआमासँग भैदिएको भए अर्कै मज्जा हुन्थ्यो जस्तो लाग्छ । त्यो न्यास्रोपनलाई थाती राख्दै फेरि युट्युबमै प्रेरणात्मक भाषण हेर्छु, पुराना साथीहरुसँग कुरा गर्छु । स्नातकतह पढ्न भनि विदेशिएका साथीहरुको गुनासो सुन्छु। अनि सोच्छु,यो परिस्थितिमा उनीहरुभन्दा आफू धेरै नै भाग्यमानी रहेछु । कमसेकम हामीलाई कलेज शुल्क, खाने खर्चको तनाव त छैन ।
यही लकडाउनकै कारण आफूले काठमाण्डौ आएर सिकेको कुरा मनन र चिन्तन गर्ने भएको छु ।आफूले आफैलाई अझै बुझ्न पाएको छु । आफूमा भएको कमजोर पक्षलाई अझ बढी केन्द्रित गरी सुधार्ने प्रयत्न गरिरहनेछु। हाम्रो पुस्ताकाे २०७२ सालको भूकम्प देखि लिएर यो लकडाउनको अवस्थालाई साक्षात्कार अनुभव, सायद पछिल्लो पुस्तालाई कथन गर्न साँचिएको हुन सक्छ ।जीवनमा कस्तो कस्तो चुनौति अनि अवस्थालाई स्विकार गर्न बाँकी छ भने यो त विश्वभर आइरहेको भुमरी र आपत्ति हो। धैर्य राखे यो अवस्थाबाट पार अवश्य पाउन सक्छौँ ।
No responses yet