सपनाकाे महल

जब चीनको बुहान सहरमा कोरोनाको आतंक मच्चिरहेको थियाे, त्यतिबेला हामी काम गर्ने देशमा त्यस्तो केही हल्ला खल्ला थिएन। हामीलाई त पत्यार नै लाग्दैन थियो कि त्यसले यति ठूलो रुप लिनेछ भनेर।

हामीले काम गर्ने छिमेकी देश इरानमा नि निकै मानवीय क्षति भैसकेको थियो। त्यसपछि यसकाे बारेमा चासो बढ्न थाल्यो। अनि मनमा डर पनि। बिस्तारै हामी काम गर्ने देशमा नि संक्रमण हुन थाल्यो। विभिन्न संचार माध्यम अनि सामाजिक संजाल मार्फत हामीले नि यसका लक्षणहरु र बच्ने उपायहरु नि थाहा पाइसकेका थियौ। त्यतिकैमा एक्कासि हामी बस्ने क्याम्पमा एउटा मिटिङ भयो र हाम्राे दैनिकीमा केही फेरबदल भयाे। कहाँ कसरी हुन्छ, सेनिटाइजर, मास्क र पन्जाको व्यवस्था गर्नतर्फ लाग्यौं। सुरुमा काम गर्ने ठाउँमा मास्क लगाउँदा मान्छेहरुले हामीबाट दुरी बढाए जस्तो महसुस हुन्थ्यो र आफूलाई मास्क लगाउदा सास फेर्न गाह्रो भए जस्तो हुन्थ्यो।

पछि यसकाे संक्रमित नेपालमा नि भेटिए रे भन्ने समाचार आए पछि मनमा डरले डेरा जमाएर बस्यो। हाम्रो जस्तो देशमा यसकाे महामारी फैलियो भने कसरी नियन्त्रणमा आउँला। त्यसमाथि झन मेरो घर त त्यो बिकट वस्तीमा छ जहाँ सामान्य रुघखोकी लाग्दा सिटामोल नि पाउँदैन। म यस्तै सोचेर रातभर काम गरेर रुममा जाँदा नि कयौँ दिन नसुतेर पुन: काममा जाने समय हुन्थ्यो।

त्यसमा पनि मैले त मेरो कम्पनीबाट भिसा नि क्यान्सेल गरिसकेको थिए। मेरो भिसाको अन्तिम मिती ७ अप्रिल २०२० थियो र कम्पनीले मलाई ‘१५अप्रिल सम्म काम गर अनि अन्तिम अप्रिलमा तँलाई घर पठाउछु’ भनेको थियो। यो कुरा यहाँ कोरोना फैलनु भन्दा अघिको थियो। मैले त घर जाने भनेर अलि अलि किनमेल नि गरिसकेको थिए। घरमा नि बैशाख अन्तिम तिर आउँछु भनेर सबैलाई खबर गरिसकेको थिए। म एकदम खुसी थिए २/३ साल पछि घर जाँदै थिए।मैले सपनाका धेरै महल बनाउँदै थिए। तर त्यत्तिकैमा कोरोनाको संक्रमण विश्वव्यापी फैलि रहँदा हामी काम गर्ने देश नि अछुताे रहन सकेन।

यहाँ दिनप्रतिदिन संक्रमित बढदै जान थाले अनि सरकारले कडा कडा निर्णय लिन थाल्यो। अलि अलि गर्दै पूरै देशमा कर्फ्यु जारी गर्यो। दिनमा लाखौ लाख मान्छेहरुले किनमेल गर्ने र भ्रमण गर्ने दुबई मल बुर्जखालिफा बुर्जअलअरब जस्ता सपिङ्ग मल र होटलहरु बन्द गर्यो। लाखौ लाख गाडी गुड्ने शेख जायद रोड एकाएक सुनसान बनायो। लाखौ यात्री बोक्ने मेट्रो रेल सार्वजनिक बस नि बन्द गर्यो। बिस्तारै यहाँ काम गर्ने मान्छेहरु बेरोजगार हुन थाले। एउटा रुम मा ५/६जना भन्दा बढी बस्न कहर हुन थाल्यो। त्यसपछि त झन मान्छेहरुको मनमा अनेक खुल्दुली र तनाव उत्पन्न हुनथाल्यो। काम नहुँदा तलब नि नहुने।

नेपालमा नि यसकाे संक्रमण बढेसंगै सरकारले नि सबै बन्द घोषणा गर्यो। अन्तराष्ट्रिय उडान नि सबै बन्द भयो। म जस्ता भिसा सकेर घरजाने भनि सपना देखेका र टिकट हातमा भएर नि जान नपाएकाहरुको सबै सपना त्यही तुहियो। अब प्रवासमा भएका सम्पूर्ण नेपालीहरुको कुनै त्यस्तो सपना छैन। बश सपना छ त , कसरी म सुरक्षित रहुँ ,परिवार कसरी सुरक्षित हुन्छ्न् र कहिले नेपाल जान पाउँछु भन्ने मात्र छ । मेराे घर जाने प्लेन त छि देशकाे अर्थ व्यवस्था धानेको वैदेशिक रोजगार अनि यहाँ कार्यरत नेपालीहरु अप्ठेराेमा पर्दा सरकारको तर्फबाट केही न केही आफ्नो पक्षमा निर्णय हुन्छ होला भनि आशा गरि बसेका छाैं हामी धेरैजना।   

सपनाका कुरा गर्दागर्दै म सपना मै हराएँछु ।अघिकै प्रसङ्गमा आउँछु। एक दिन कामबाट फर्किएर म कोठामा बसिरहेको थिए।त्यतिकैमा क्याम्प बोस आएर ‘तिमीहरु साँझ तयारी हौ है। जहाँ काम गर्छौ त्यही बस्ने आज देखि।’ हामी ५ जना सुरक्षागार्ड एउटा यहीँकै आवसिय बिल्ल्डिङ्गमा काम गर्थ्याैं। सुरुमा त अचम्म लाग्यो यस्तो महसुस भैराको थियो कि म आफ्नो घर परिवार छोडी टाढा जाँदै छु। हुन त परदेशमासँगै एउटै रूममा बस्ने  सबै परिवार जस्तै भैहाल्छ्न्। त्यसपछिदेखि हामी हाम्रो क्याम्पबाट सिफ्ट भएर यतै काम गर्ने ठाउँमा हालसम्म पनि बसिरहेका छौ। मेरो अन्तिम डिउटी १५ अप्रिल भने पनि अन्तिम अप्रिलसम्म गर भन्ने आदेश दिएको छ। त्यही कम्पनीको आदेशलाई पालना गरेर काम गर्दै छु। नेपाल सरकारले हामीलाई प्राथमिकता दिन्छ होला भन्ने आशामा हामी लाखौ नेपालीहरु बसिरहेका छौ।

घरबाट ‘के छ कस्तो छ त्यताको अवस्था’ भनेर धेरैले सोध्नु भयो। हाम्रो घर तिर फोन त बडा मुस्किलले लाग्छ। अब इन्टरनेटको के कुरा गरौ। म पहिला हप्ता मा १/२ पटक मात्र फोने गर्ने मान्छे, अहिले दैनिक फोन गर्छु। मैले कुनै दिन फोन नगर्दा उताबाट खबर आइहाल्छ ‘किन फोन नगरेको’ आमाले चिन्ता मान्नु भाको छ। यस्तो अवस्थामा हामीले घरपरिवारलाई कति सम्झिन्छौ होला! उनीहरुले कति सम्झिन्छन् होला! घरमा टिभी छैन। आमाले थोत्रो बिग्रेर कुनामा फालेको रेडियो बनाउन लगाएर समाचार सुन्छिन् रे!

म जस्ता लाखौ छोरा छोरी प्रदेशमा बिचल्ली अवस्थामा छ्न्।न काम, न पैसा, न खाना, केहीको ठेगान छैन। यस्तो बेला हामी के गर्ने ? हाम्रो एउटै मात्र अनुरोध सरकार सामु। हाम्रो उचित सुरक्षित व्यवस्थापन हुन पर्यो। आज यो डायरी पनि मैले समय धेरै भएर लेखेको हैन १२/१४ घण्टा काम गरेर रूम आएर सुत्न खोज्दा निद्रा नलागेर मनमा उठेका र घटेका कुरा मात्र लेखेको हुँ ।

 हस् त मेरो डायरी यही अन्त्य गर्ने अनुमति चाहान्छु। 

Profile Image

ललित परियार 

 जाजरकोट 

 हाल : दुबई

Leave a Comment

Your email address will not be published. Required fields are marked *