दाेस्राे डायरी वीथ दाेस्राे सन्तान

दोस्रो सन्तान, २२३ दिने छोरा काखमा निदाइरहेको बेलामा याे डायरी लेख्न मन लाग्यो। खास डायरी भनेर लेखेको पनि याे दोश्रो पटक नै हो। पहिलो पटक,आज भन्दा ठ्याक्कै १० बर्ष अगाडि, सायद म कक्षा ७ तिर पढ्दाकाे कुरा हो।

हाम्रो बुवालाई बाथ रोगले सताएको थियो। त्यस बखत म उहाँको कुरुवा बस्थे अस्पतालमा र घरमा पनि। अस्पतालकाे ३ महिने बसाइँ पछि घर फर्कियाैं। अस्पतालको भनाइ थियो “घर लगेर इच्छा पूरा गर्दिनुस्”। त्यस बेला ४ दिदीहरुको विवाह भैसकेको र १ दाजु वैदेशिक रोजगारीका लागि साउदीमा हुनुहुन्थ्यो। दाजु नेपाल आउन ऋण तिर्न नसक्ने भएकाले र दिदीहरुलाई आफ्नै घर व्यवहारले गर्दा बुबाको हेरचाह  गर्न कसैलाई सम्भब भएन।आमा र म भएर बुवाको स्यहार गर्थ्याैं। बहिनी सानै थिइन ।बिहान बुवालाई दालको रस खुवाएर बिद्यालय जान्थे र राति बुवा कुर्न आमालाई पालो दिन्थे। एक दिन राति निन्द्रा लागेन।  बुवाको बचन थिएन। दिशा पिसाब सफा गरेर किताब समात्न आँटेको थिएँ, डायरी लेख्न मन लग्यो। गृहकार्य छोडेर डायरी लेखेँ। २ रात लगाएर लेखेँ।त्याे रात लेखेकाे डायरी आफ्नो कक्षाको अब्बल साथीलाई मिलाउन दिएको थिएँ। त्यति बेला रेडियोमा पठाउने विचार थियो प्रसारणको लागि। तर उनले बिर्सिन् कि के गरिन्। मैले भने २/ ३ महिनासम्म प्रतिक्षा गरेँ। तर आजसम्म फिर्ता आएन। त्यसपछि डायरी लेख्ने इच्छा मर्यो।

तर आज मिति २०७७/०१/१३ गते फेरि डायरी लेख्ने जमर्को गरेँ। यतिबेला म बसेको ठाँउ लोलाङ ,बालाजुबाट ७५ किमी टाढा रहेकी, कपाल फुलेर सेतै भएकी, सुगर, प्रेसर …आदिको दबाइ साथ नभइ नहुने, ६५ बसन्त पार गरिसकेकी मेरी ममतामयी आमाको साह्रै सम्झना आइरहेको छ। जमानाले पनि न्यास्रो कम गर्ने उपाय त भेटाएकाे छ। videocall गर्छु। तर के गर्नु ! धुरुधुरु रुँदै भन्नुहुन्छ- तिमी कुरा बुझ्ने छोरी हो। ६ छोरी भएर पनि काखमा र साथमा कोही छैनन्। आमाको आँखामा टल्केको आँसु थम्न गाह्राे हुन्छ मलाई पनि …….”

अहिले यहाँ साथकाे सानु बाबु गुनगुन गर्दै छ। बाबुलाई थपथप पारेर सुताए।

लकडाउनको रमाइलो पाटो।हाम्रो विवाह भएको साल ०७२/०१/०८ अनि त्यस पछि १२ गते भूकम्प गयो । विवाह पछिको मेरो इच्छा श्रीमानसँग समय बिताउने थियोे। सबैतिर भूकम्पको त्रासले कही कतै जना पाएका थिएनाैं। समय बित्दै गयो। छोरी जन्मी। अस्तव्यस्त थियो जिन्दगी। खास भन्नु पर्दा हामी एकले अर्काेलाई समय दिनै पाएका थिएनौं। तर आज लकडाउनको ६६ दिन पुग्दा हामीले एकअर्काको अनेक रुप देख्न पायाैं। २ सन्तानका आमाबुवा हामी एकदम प्रेमपूर्ण ढंगले lockdownमा छाैं ।अब परिवार तर्फ बुबालाई बिर्साउने ससुरा बा पाएकी छु । आमा जस्तै प्यारी सासू पाएकी छु। मेरो आफ्नो भाइ छैन। तर भाइको कमी देबर बाबुले पूरा गरिदिनु भएको छ।हामी घरमा खाना मिलिमिली बनाउँछौ ।ससुरा बाले हामीलाई चिया बनाएर खुवाउनुहुन्छ। मेरो श्रीमानले हरेक काम साघाउनुहुन्छ। छोरीलाई पढाउन देखि सानो छोरालाई तेल मालिस सम्म उहाँकै जिम्मा छ।

अनि पख्नु पख्नु!

एउटा कुरा झन्डै छुटेकाे। दिउँसोको खाजापछि देबर बाबुले बनाएको चियाको स्वाद झन्न्डै बिर्सेको ……..अहह्हा साह्रै मिठ्ठाे!!

Profile Image

कृति भट्टराई

हालः काठमाडाैँ

जन्मघरःकाभ्रे
कर्मघरःधादिङ

Leave a Comment

Your email address will not be published. Required fields are marked *