तिनको के दोष !

हरेक दिन मोबाईल फोनको अलार्मले ब्युँझाउने मेरा परेलीहरु अचेल घर नजिकैको मन्दिरमा घन्किरहने भजनहरुले खुल्छन्। खुसी छु यस अर्थ कि अलार्मको आवश्यकता छैन आजभोलि मलाई। मैले धेरै पटक धोका खाएको छु । ए.एममा बझ्नु पर्ने अलार्म पि.एममा सेट भएर । ४ पटक त एम.एस्सीको क्लास नै छुट्याे। बिहानै झुल्कने घाममा आशा देख्दै हुन्छु म र बाँच्ने आशा बढ्दै जान्छ। तर फेरि कोभिड १९ को समाचार हेर्छु, सुन्छु, नौ नाडी गलेर आउँछ, फतक्क हुन्छु आज भोलि। कोरोना संकटले भारी मन हलुका महसुस गराउन कहिले भान्सा,खेतबारी, कुँडार, त कहिले ल्यापटप, मोबाईल, यस्तै अनि फेरि यस्तै यस्तैमा भुल्छु। 

सदा सन्नाटा छाउने घर गाउँमा आजभोलि चहलपहल बढेको छ। बर्षभरि छोरा/छोरी बिना घर चलाइरहेका बाबाआमाको अनुहार चम्केको प्रस्टै देख्न सकिन्छ। चाउरी परेका अनुहारका लामा लामा धर्साहरु बिदेसीएका आफ्ना सन्तती देख्न र भेट्न कति आतुर छन्। 

पूर्णिमा आसपासको समयको कारणले गर्दा होला राति पनि कति रमाइलो लाग्छ मलाई। हरेक दिन चन्द्रमा नियाल्न म आँगन निस्कन्छु।नाङ्लो जस्तै गोलो चन्द्रमा एकाएक लुक्न जान्छ बादलको घुम्टो ओडेर, अनि म पनि विश्राम गर्छु। हिजो त्यस्तै भयो घाम उदायो, अस्तायो। सँगै चन्द्रमा क्षितिजमाथि टुप्लुक्क देखियो। तर मनमा भने सदाझैँ उल्लास नै आएन। किन ? किनकी जुन क्षितिजमाथि त्यति राम्रो चन्द्रमा चम्कदैथ्यो ठीक त्यसकै तल डाँडाहरु दन्कदैथ्यो। सधैँ बादलुको घुम्टोमा पस्ने चन्द्रमा आज धुँवाको मुस्लोमा छेकिएथ्यो। तल त्रिशुली बगिरहेथ्याे एकनास। ला! डडेलोले बनै खाने बेला पो आयो त ! कोराेना बाहेक पनि मनमा ढ्याङ्रो ठोक्ने कारण थपिएको छ आज भोलि ।

ती निर्दोष जनावर वासस्थानको लागि कता कता भौतारिदै छन् होला। साँच्चै मेराे जस्तै परिवार उनका पनि त होलान् । मेरै झै बाबाआमा उनका पनि होलान्! कति तड्पिदा हुन् आफ्नो बालबच्चाको सुरक्षा कवच बन्न नसक्दा! कति रुँदा हुन् ती आत्माहरु! कति लाचार महसुस गर्दा हुन् ! मैले सोधपत्र तयार गर्ने क्रममा अनुभव गरेथेँ। कति नाजुक अनि कमजोर छन् जनावरहरु। ती जनावरहरुको पनि त भावनाहरु होलान् हामी मान्छेको जस्तै ! भन्ने कुरा कति होलान्!  व्यक्त गर्न नजान्नुमा त उनीहरुको के दोष! 

Profile Image

कृतना भण्डारी

बिदुर, ७ तुप्चे, नुवाकोट

Leave a Comment

Your email address will not be published. Required fields are marked *