खुसी आफै भित्र

कहिले दुई दिन छुट्टि होला र आनन्दसँग घर बसौंला भन्ने म आजभोलि दुई महिनासम्म घर बसेर थाकिसकें। दिन दुई गुणा रात चार गुणाले पट्यारलाग्दो भइरहेको छ। कस्तो दिन आयो सबै भएर पनि केही नहुने, केही भएर पनि नहुने अनि केही नभइ पनि नहुने। सकारात्मक ऊर्जालाई प्रवाह गराउन यो अल्छी केटोबाट नयाँ नयाँ प्रयासहरु हुन थालेका छन्। कहिले सद्गुरुकाे भिडियो हेर्दै ध्यान गर्ने विधि सिक्न थालेको छुँ, कहिले रामदेवको योग अभ्यास त कहिले एप डाउनलोड गरेर आलस्य शरीर मर्काउन थालेको छु। 

नकारात्मकतालाई हटाउन आफू भित्र रहेको कलालाई प्रष्फुटित गराउने प्रयास एउटा अचुक अश्त्र हुने कुरा आफ्नै अनुभवबाट थाहा पाएँ। जब मनमा अनेक कुरा खेल्न थाल्छन् तब कलम र स्केचबुक लिएर घोत्लिँदै विभिन्न आकृतिहरु बनाउँछु, मण्डला कोर्छु। त्यसो गर्दा ध्यान एकत्रित भई मनको वेग अलि शान्त हुँदो रहेछ। 

मनको चिच्याहटबाट अलि शान्त हुने अर्को उपाय चाहिँ माटोसँगको लगाव रहेछ। सानो टुक्रो करेसाबारीमा आमाले काँक्रो, फर्सि, मकै, सिमि, बोडी, इस्कुस, सागपात उमार्नु भएको छ। त्यहाँ गएर गोडमेल गर्दा, झार उखेल्दा झार संगसंगै मनको नैरास्यता पनि उखेलिएर मन पनि गोड्ने बित्तिकैको माटो जस्तै फुरुङ्ग हुँदो रहेछ। 

मैले आफूलाई पढ्न मन लागेका किताबको सूचीहरु आफ्नो ऐनामा टाँस्ने गर्छु। त्यो ऐनाले पनि भन्दो हो मलाई उकुसमुकुस भइसक्यो यो कागजको बुजाे हटाइदेउ भनेर। तर एउटा बुजो हट्दा अर्को दुईवटा किताबको सूची अंकित पन्नाहरुको चोप ऐनामा टाँसीइसक्थे। कलेज आउजाउ गर्नमा नै दैनिक ४ देखि ५ घण्टा बित्ने मेरो दिनचर्यामा ऐनाले मुस्कुराउन पाउने त कुरै भएन। तर अहिले सन्दर्भ विल्कुल फरक भएको छ। पन्नाहरु हप्ताको एक दुइवटा कहिले पन्ध्र दिनमा एउटा गरेर उप्किँदै गइरहेका छन्। Paulo Coelho को Alchemist, Eleven Minutes, Veronika decides to die, Cleopatra शेक्सपियरको The Merchant of Venice, Hamlet, Macbeth प्लेटोको The Republic, सोपेनाओर, अर्वेल, महाकवि देवकोटा, पारिजात, बुद्धिसागर, नयनराज पाण्डेका रचनाहरु अंकित पन्नाहरु उप्किँदै गएका छन्। Will Durant को Our Oriental Heritage को ठेलीले २० दिन सम्म थिचेर राख्यो। पूर्वीय दर्शन प्रतिको लगाव झनै बढ्दै गइरहेको छ। सानै छँदा टिभीमा हेरेको महाभारत आजभोलि पढ्न थालेको छु। अनेक पत्रको अनेक चरित्रले सुसज्जित महाभारत त झन् व्यापक ज्ञानको भण्डार पो रहेछ भन्ने बोध भयो। आजको दिन सम्म पनि कुटिल राजनीतिज्ञ कृष्ण, अभागी र उपेक्षित कर्ण, चतुर सकुनी, पुत्रभक्त धृतराष्ट्र, अनैतिक र सत्तामोहित दुर्योधन, विवश भिष्म, नीतिवान सज्जन पुरुष विदुरसंग त प्रत्येक दिन साक्षातकार भइरहेको पो रहेछ।  महाभारत जति प्राचीन भएपनि कहिल्यै बुढ्यौली नलाग्ने र साँच्चौ भीष्मको जस्तै इच्छामरणको संजीवनी बोकेको आमार ग्रन्थ पो रहेछ। 

गाउन नजाने पनि शास्त्रीय संगीतले मेरो मन पुलकित पर्छ। सितार, हार्मोनियम र तबलाको धुनसँगै कहाँकहाँ बग्छु पत्तै पाउँदिन। साथी कोससँगै फ्रेन्च सिक्ने आग्रहलाई स्वीकार गर्दै आजभोली साँझ डेढ घण्टा ल्यापटप आगाडि बसेर युट्युबको भिडियो हेर्दै घोत्लिन्छु। मरे उच्चारण गर्न जान्दिन त्यै पनि हार मानिसकेको छैन। असफल हुँदैमा हार मानेको भए संसार कहाँ विजुली बत्तीले झलमल्ल हुन्थ्यो होला र ! जे के रोलिंगको ह्यारी पोटर कहाँ जनप्रिय हुन सक्थ्यो र ! पृथ्वी नारायण शाहले हार मानेका भए म अहिले यो डायरी कुन पो भाषामा लेखिरहेको हुन्थेँ मलाई नै पत्तो छैन। 

नकारात्मकता मात्र होइन प्रत्येक चुनौतीले सकारात्मक सङ्केत पनि आफैसँग बोकेर ल्याएको हुन्छ। मलाई पनि यो बन्दाबन्दीले ठूलै पाठ सिकाएको छ। हामी जिन्दगीमा अरुलाई अल्झाउँदै, पन्छाउँदै अनि कुल्चँदै अनेक चिजको प्राप्तिमा भौतरिन्छौँ। एक चिजको प्राप्ति पछि फेरी अर्कै वस्तुको प्राप्तिको पछि दौडिन्छौँ। त्यही तृष्णाले नै आज मानिसले यति भौतिक प्रगति गरेको होला। तर मानिस नैतिक, मानसिक र अध्यात्मिक रुपले स्खलित हुदै गइरहेको छ। पाएको कुरामा खुसी नै हुदैनौँ। हामी दिनभरिको दौडधुपमा पनि सुखी त होऔँला तर खुसी कम छौँ। खुसी त गाउँको बाँझो खेतबारीमा बुढा भएका बाबुआमालाई एक्लै छाडेर सहर पस्दा आमाबुवाको आँसुसँगै बगेर गए। सुखको मापक करोडौको घर लाखौको गाडी र विलाशिता भोग होला तर खुसीको मापक सन्तुष्टि हो। जो आफ्नो कार्य प्रति सन्तुष्ट छ ऊ नै खुसी हुन्छ।

आँधी हुरी आउँदा प्रत्येक रुख जराकै भर परेजस्तै हामी पनि हाम्रो जरामा नै आश्रित हुँदा रहेछौँ। त्यही भएर होला हामी आनेक कष्ट गरेर भएपनि बुढा बाबुआमाले दस नङ्ग्रा खियाएका थाकथलाे गएका। यो बन्दाबन्दिले गर्दा कहिल्यै आफ्नो बाबुआमासँग खेल्न नपाएका नानीहरुले आफ्ना बाबुआमाको हात समाउँदै रमाउन पाएका छन्। वर्षौ टाढा भएका सन्तानलाई साँच्चै नै सहारा चाहिएका बुढा बाबुआमाको खस्रो हातले सुम्सुम्याउने मौका पाएको छ। सकारात्मकताको खोजी गरौँ सुख टाढा होला तर खुसी आफै भित्र छ। 

Profile Image

राजेश ढुंगाना

काठमाडाैँ

    

Leave a Comment

Your email address will not be published. Required fields are marked *