यो महामारीको संकटबाट एकमात्र अभिलाषा जिउ कसरी जोगाउने भन्ने भएकाे बेला दैनिकी अँह कत्ति पनि सामान्य छैन ।करिब करिब दुई महिना त अरु जस्तै म पनि घरभित्रै सिमित रहेर दिनहरु कटाए । सुरुका दिनहरुमा मेरो जिल्ला बाग्लुंग पनि कोरोनाको उच्च जोखिममा थियाे। नजिकैको बस्तीका केही व्यक्तिहरुमा संक्रमणको देखिएको हुनाले लकडाउन एकदम कडाइका साथ पालना गरियो। मनमा त्रास र बेचैनीको अनौठो समिश्रण थियो ।
घर बस्दा बस्दा कुँजिएको शरीर र थाकेको दिमागले बाहिर निस्किउ निस्किउ झैँ लाग्थ्यो। तर फेरि कोरोनाको संक्रमण सम्झिदा बाहिर निस्किन त्यति आँट आउँदैनथ्यो । टि भि, सामाजिक संजाल र घरका सदस्यहरुसँग करिब करिब दुई महिना थुनिएर बिताए पश्चात दैनिकीहरु फेरिएका छन् । सरकारले लकडाउन केही खुकुलो बनाएपछि दैनिकीले भिन्न रुप लिन थालेका छन् ।
आफूले जान्ने बुझ्ने भए देखि म आफ्नो गृह जिल्लामा यति लामो समय कहिल्यै बसेकाे थिइनँ | कैलेकाहीँ छोटो बिदामा आएर दुई तीन दिन बसेर फर्किने । मेराे लागि लामो बसाइ भनेको दशैको बिदामा हुने गर्दथ्यो । त्यो पनि प्राय दशैमा हामीहरु टिका थाप्न पुर्ख्यौली घर जाने भएकाले पनि यो समाजसँग त्यति परस्पर हुन पाएको थिइनँ । यो लकडाउनले मलाई मेरो समाजलाई भिन्न रुपले हेर्न सिकाएको छ ।
अरुबेला बिदाका दिनहरु परिवारका सदस्य र घरका कोठाका भित्ताहरुसँग बित्थे। अहिले आफ्नो समुदायका काका, मामा, बाजेहरुसँग घुलमिल भएर बित्छन् । घर नजिकैकाे पार्कमा आउने बुढापाकाहरुसँगकाे भलाकुसारी निकै भिन्न अनुभव भएकाे छ । आफ्नो जीवनको दुई तिहाइ उर्जावान समय कि त मास्टरी पेशा कि त निजामती सेवा कि त सक्रिय राजनीतिमा बिताएका उनीहरुकाे रिटायार्ड लाइफको सुरुवात र महामारीले निम्त्याएको असामान्य दैनिकीको संयोगले मलाई भने पुराना कुरा सुन्ने अवसर दियाे। उहाँहरुले आफ्नाे जीवनका संघर्ष, अनुभव, तिक्तता, मिठास, हण्डरहरु निर्धक्क साट्ने भएकाले पनि त्यो बसाइ निकै उपयोगी लाग्दछन्। त्यसका अलावा समुदायको पहलमा बनेको हरियाली पार्कको हेरचाहमा दिन बित्ने गरेको छ । पार्कमा तारबार गर्ने देखि बाेट बिरुवाहरु राेप्ने, काँटछाँट गर्ने काममा उहाँहरुकाे अनुभव र हामी युवाको जोसको समिश्रण निकै अद्भुत बन्न पुगेको छ ।
दिउँसोको समय यी यस्तै काममा व्यस्त भए पनि बिहान बेलुका भने घरमै समय बित्छ। घरमै रहेको किराना पसलमा बिक्रेताको भूमिकामा पनि ठिक्क हुने गरेको छु । ग्राहकसँग पनि निकै रमाउँछु । हातमा परेको दुई चार रुपैयाँमा फुरुङ्ग भएर चकलेट किन्न आउने अवाेध नानीबाबुहरुमा झल्किने केटाकेटीपन, आफ्ना उमेरका मित्रहरुसँग हुने ठट्यौली यो व्यवसायकाे रोचक पक्ष लाग्न थालेका छन् । क्रेता र बिक्रेताको सम्बन्ध, व्यापार व्यवसाय फस्टयाउनु र डुब्नुका कारण पनि नजिकैबाट नियाल्ने मौका पाएको छु ।
यस लकडाउनले हामी सबैलाई सिकाएको नौलो अनुभव भनेको भान्सामा नयाँ नयाँ परिकारहरु तयार पार्नु भएको छ । बेलुका र दिउँसो बिभिन्न्न परिकारहरु पकाएर खुवाउने प्रयासबाट म चाहिँ कसरी अछुतो हुन सक्थे र ! नाैला नाैला खाना बनाउन चाहिने कला भए पनि जाँगर भने कहिल्यै चल्दैनथ्याे। यही लकडाउनमा केही हदसम्म त्याे जाँगर ब्युँत्याएकाे छु। सिजनमा पाइने फलफूलहरु आरुबखडा, आँप र केरामा चिसाे दही मिसाएर बनाएको लस्सीमा चकलेट, नरिवल र काजुले सजाएर परिवारका सदस्यलाई खुवाउने मेरो प्रयासले थोरै भए पनि सबैलाई खुसी दिएकाे छ । त्यस पछिका प्रत्येक दिन बुवाले आफै दही ल्याएर ‘कसरी बनाउने रे कान्छा भन त’ भन्ने प्रश्नले मख्ख बनाउँथ्यो । यस्ता प्रयासहरु परिवारिक सौहार्दताका निमित्त निकै आवश्यक रहेछन् भन्ने लाग्छ ।