जादुको पटुकी

लकडाउनले मलाई मेरो गाउँमा बिताएका दिनको याद गरायो।

सुन्दा अचम्म लाग्छ, म त्यही कठै डाँडाको काखमा हुर्केको छोरा हुँ। बनपाखा, खोलानालासँग मैले धेरै ॠण लिएको छु। मिठा यादहरूको ॠण। मलाई अझै ॠणी बन्ने धोको छ।

सानै छँदा मेरी हजुरआमाले आफू घाँस काट्न जाँदा मलाई पनि उपल्लो दारे जंगलमा लैजानु हुन्थ्यो। बाटोमा म हजुरआमाको हात समाउँदै पुराना दन्त्यकथा सुन्दै जान्थे। आफू कदमा सानी भएपनि आफू भन्दा तीन चार गुणा ठूलो भारी सकि नसकी घरमा ल्याउनु हुन्थ्यो। म पनि ठूलो मान्छे बन्ने रहर गर्थे। सानो भएपनि भारी नबोकि हुँदैन्थो। हजुरआमाले लहराले बाँधेर सानो भारी बनाइदिनुहुन्थ्याे। हामी संगै घर फर्किन्थौं। कहिले भारी बिसाउँदै काफल अनि ऐंसेलुको मिठास लिँदै त कहिले टाप्रे र थाकल हातमा झुन्डाउँदै। घरको भकारीमा थाकल पकाउन राख्थ्यौं। कहिले त धानमा दाना झरेर घट्ट चलाउनेले दुःख पाउँथे।
बनको बाटो भए पनि हजुरआमासंग खानेकुराको भने कमी हुँदैनथ्यो। हजुरआमाको रातो तर पसिनाले भिजेको पटुकी मेरा लागि भने खानेकुराको भन्डार नै थियो। कहिले भुटेको मकै, भट्ट त कहिले मिस्रि त कहिले गडि। लाग्दथ्यो हजुरआमाको पटुकीमा जादु छ। 

एकदिन हजुआमा पधेँरामा नुहाउन गएका बेला त्यो रातो पटुकी घरको माथिल्लो ऑटिको पुरानो काठे बाकसमा लगेर लुकाएँ। भोलिपल्ट घरमा हल्ला खल्ला मच्चियो “यै पिढीमा राखेर गएको पटुकी कुन चाहिँ मुर्दारले हात हालेछ कुन्नि!” केही छिन चर्का चर्की चलिरह्यो। म चुपचाप रातो अनुहार बनाएर बसिरहेँ।

केही समयपछि माहोल शान्त भयो। दिउँसोको टन्टलापुर घाममा सबैजाना थारोमा बसेर गफ गर्दै हुनुहुन्थ्यो। म त्यही मौका छोपेर आफ्ना रहर बोकेर माथिल्लो आँटीसम्म पुगे। बिस्तारै काठको बाकस खोलेर हेरेँ। तर ‘त्यो पटुकीमा मैले आसा गरेका खानेकुरा थिएनन्। खालि पटुकी थियो।’ मलाई लाग्यो जादुले काम गर्न केही समय लाग्छ। म त्यो पटुकी त्यही छाडेर तल झरें। भोलिपल्ट बिहान सबेरै उठ्ने बित्तिकै पटुकी हेर्न पुगे। हिजो जस्तो पटुकीमा आज पनि केही थिएन। अब भने पटुकीको के काम भनेर हजुरआमाको सिरानी छेउमा राखिदिएँ। म निकै निरास थिएँ। किनकि त्यो पटुकीको जादुको मन्त्र हजुरआमालाई मात्र थाहा रहेछ भनेर।

फेरि अर्को दिन हजुरआमाको कथा सुन्दै जंगलतर्फ लागेँ।ठाडो उकालो पछि छेउमा सानो कुवा थियो। कुवाको चिसो पानि घटघट पिएर सकेपछि हजुरआमाले फेरि पटुकी खोल्न लाग्नु भो ! आज पनि सदा जस्तै त्यहाँ खानेकुरा थियो। गर्मी मौसममा खाने गुड ; मलाई थाह भयो यो जादुको पटुकीले हजुरआमासँग हुँदा मात्र काम गर्दो रहेछ।

Profile Image

बिपिन अर्याल

पाल्पा 


Leave a Comment

Your email address will not be published. Required fields are marked *