लकडाउन भएको आज १ महिना ३ दिन भयो।
सुरुवातमा आत्तिएका हामीलाई धैर्यवान बन्न सिकायो। जब मानिसलाई विपद पर्छ सामना गर्नुको विकल्प पनि नहुँदो रहेछ। यद्यपि कोरोना चाडै विश्वबाट निर्मुल हुन्छ र हाम्रो दैनिकी सामान्य हुन्छ भन्नेमा विश्वस्त छौ। कामना गरिरहेका छौ।यस्तो विपतको दिन आउँला भनेर कसैले कल्पना समेत गरेको थिएन। मानिस कठिन परिस्थितिको सामना गर्न तयार भएर बस्न चाहि पर्दोरहेछ।
हाम्रा दिनचर्यन विदेशी होस्टेलमा यसैगरी बितिरहेको छ। पढ्न ल्याएका पुस्तक सकियो। फिल्महरु लगभग सबै सकिए।अरु बेला फुर्सदमा यस्तो गर्छु र त्यस्तो गर्छु भन्ने हुन्छ तर याे लकडाउनमा कुनै क्रियटिभ काम हुन सकेन।
सुरुसुरुको दिनमा होस्टेलको वरिपरि बाटो र पर्खाल बिचमा रहेको गार्डेनको लागि छाडिएको दुई मिटर चौडा लगभग ३५०-४५० मिटर लम्बाई रहेको भागमा सरसफाई गरि बाझो फुटाएर साग सब्जी रोप्ने फूल रोप्ने काम भयाे। त्यसपछि काम पनि केही रहेन भलिवल होस्टेल भित्र खेल्लिन्थ्यो प्रहरीले त्यो पनि खेल्न नदिए पछि कोठाको कोठै बसियो।
लकडाउन भएपछि हाम्रो दैनिकीहरु फेरिए।
समयमा सुत्ने, समयमा उठ्ने समयमा खाने र आराम गर्ने सबै रुटिन फेरबदल भयो।
विहान डिउटी जान पाँच बजे उठ्ने गर्थ्यौ। अर्लामले ब्यूँझाउथ्यो। लकडाउन भएपछि अर्लाम पनि बन्द भयो। उठ्ने र सुत्ने समय आकाश पातल फरक भयो। बेलुका दश एघार बजे सुतेर पाँच बजे अनिवार्य उठ्ने समय लकडाउन पछि बिहानीपख चार बजे सुतेर १० बजे सम्म सुत्ने कस्तो उल्टो समय भयो।
दुईहप्ताको लागि मलेसिया सरकारले बन्दको घोषणा गरे पनि कोरोना भाईरस( कोभिड १९)सङक्रमणको सङ्ख्या बढ्दै गए पछि मार्च १८ देखि ३१ तारिखसम्म पहिलो लकडाउन मिति थियो। त्यसलाई बढाएर दोश्रोपटक अप्रिल १४ तारिखसम्म पुर्यायो।
अब लकडाउन खुल्ने भयो भनेर खुसी पनि लागेको थियो। तर कोरोनाभाईरस वल्ड मिटरको डाटाले खुल्छ जस्तो संकेत दिएन।
अप्रिल १३ तारिखको दिन कम्पनीबाट आधिकारिक सूचना आयो लकडाउनको मिति सरकारले बढाएको हुँदा हामीले नियमको पालना गर्नुपर्ने हुन्छ। त्यसकारण सबै कामदारहरु धैर्य पूर्वक कोठामा बस्नु। बाहिर सरकारले निस्कन दिएको छैन।यही सूचना थाहा पाएर पनि यदि बाहिर हिड्दै गरेको देखेमा प्रहरीले समातेमा कम्पनी जवाफदेहि हुने छैन। कृपया सचेत भइ नियमको पालना गरि होस्टेलमा बस्नुहोला।
कम्पनीबाट सूचना आएपछि फेरि दुई हप्ता अर्थात अप्रिल २८ तारिखसम्म चुपचाप बस्नु पर्ने भयो। त्यस बिचमा कम्पनीले सरकारसँग स्विकृति लिएर कम्पनी चलाउने हल्ला पनि चल्यो। हल्ला मात्र हैन सेक्युरीटी गार्ड हाउसमा नाम लिष्ट समेत आयो। यो दोश्रो हप्ताको अन्तिम तिरको प्रयास थियो।
सरकारको तर्फबाट अप्रुभ नभए पछि फेरि निरन्तर लकडाउनमा बसिरहेका थियौ। त्यस बिचमा कम्पनीले सरकारको निकायसम्म परामर्श गरेर आधा कामदारको लागि स्वीकृति दिएछ।
यो १९ तारिखको कुरा हो। सरकारले अति दैनिक उपभोग्य सामान ग्लोभ्स र मास्क उत्पादन गर्ने कम्पनी बाहेक अरु सबै ठप्प गरेको थियो। अझै कति समय थप्न पर्ने टुङ्गो नभएपछि आवश्यकता अनुसार सिमित कामदार बोलाएर चलाउन अनुमति दिएको कुरा आइरहेको थियो र हामी पनि त्यस भित्र पर्यौ।
हाम्रो नाम लिष्ट दोश्रो लकडाउनको अन्तिम अर्थात अप्रिल १३ तारिखमा आएको थियो। अझै केही समय पर्खिनु पर्छ कम्पनीले छलफल गरिरहेको छ भन्ने सूचना आइरहेको थियो।१९ तारिखको दिन फेरि डिउटी सुरु हुन्छ भन्दै। नाम लिष्ट सहित बाहिर हिड्दा चाहिने कागजात सहित कोठामा पुर्याउन कम्पनीको आधिकारिक व्यक्ति आएका थिए। सँगै जिल्ला प्रशासनसँग लिएको अनुमति पास पनि थियो।
कोठामा बसेर दिक्क हुनु भन्दा डिउटी ठिकै हो। तर अझै पनि सङक्रमितको सङख्या बढिरहेको छ।मनमा केही डर पैदा भयो। फेरि आधा कामदारहरुको मात्र नाम आएको छ कम्पनीले सबैलाई दिन खोजेको थियो। तर सम्बन्धित निकायबाट अप्रुभ नभए पछि आधालाई भए पनि काम दिउँ भन्ने कम्पनीको सकरात्मक सोचाइ हो। धेरैलाई पिर चिन्ता परेको छ, अब कम्पनीले होस्टेलबाटै उठाएर घर पठाउँछ भन्ने भ्रम पनि केही साथीले फैलाइरहेका छन।
अन्तत डिउटी सुरु भयो। विहान उठेर फ्रेस भइ ब्याग बोकेर गेटमा निस्किए। गेटबाट बाहिर जान नपाएको महिनाको हिसाबले १ महिना दुई दिन भएछ। दिनको हिसाब गिन्ति गर्दा ठ्याक्कै तेत्तिस दिन भएछ। लकडाउन पछिको पहिलो दिन कस्तो नौलो अनुभूति भयो। सुरुमा नेपालबाट विदेश आउँदा यस्तै नौलो लागेकाे थियाे। बिहान भर्खर नेपालबाट आए जस्तै भयो।
बिहानीपखको चिसो बतास कति आनन्द आउँथ्यो। भित्रबाट नै मास्क भिरेर आएपछि हावा पनि नचेलेजस्तो लाग्याे। बाहिर हावा चलिराछ। मन उकुसमुकुस भइरहेको छ।
धत् कस्तो दिनको सामना गर्नु पर्यो। हिड्दै गर्दा पशुपतिनाथलाई सम्झिए। डर, त्रास र भयले मानिसलाई कमजोर बनाउने रहेछ।
छेउमा आएर कसैले ख्वाक्क खोके पनि मन चिसो हुन्छ । ह्यछ्यू गरे त झनै ‘ल खतम भयो’ जस्तो लाग्छ।
सकभर जतिसक्दो टाढा रहनु। एक मिटर त अनिवार्य भनिएको छ। पहिले बिहानीपख कति हल्ला हुन्थ्यो। सडक थर्किने गरि बात मार्दै कल्याङमल्याङ गर्दै हिड्थे मानिसहरु। ठिक एक महिना ३ दिन पछिको दृष्य – मानिसहरु हिडिरहेका छन्। मोैनता छाएको छ।
बात मार्ने साथीहरु नभए पछि मनमनै प्रश्न उठ्छ, फेरि मनले उत्तर दिन्छ।खुल्ला आकाश मुनि पनि संकोचले कति गुम्सिनु परेको छ फेरि कहिले आउँला त्यो लकडाउन अगाडिको जस्तै दिनहरु। मनमनै बात मार्दा मार्दै कम्पनी पुगे। झण्डै दश मिनेटको दुरिमा छ होस्टेल र कम्पनी। प्रहरी चौकी पनि नजिकै छ।
प्रहरी घुमिरहेका छन् कि लागिराथ्यो। पास बोकेको छु भनेर ढुक्क भयो। सुरुवातको दिन खै कस्तो कस्तो अचम्म लागिराछ! मन भारी भैराछ! टेबलमा रहेको क्यालेन्डर मेरो प्रतिक्षामा रहे जस्तो लाग्यो। सधै डिउटी सकेपछि ठिक लगाएर ‘डिउटी गरे’ भन्ने चिन्ह लगाइन्थ्यो। गएको महिना र यो महिना खाली थियो। यसलाई बेठिक मात्र हैन हाम्रो लागि कालो दिन सम्झेर मार्करले कालो लगाए।
अब दिन पर्खिनु भन्दा पनि कोरोना विश्वभरबाट हटिदिए कति आनन्द हुन्थ्यो। त्यसपछि चाहिँ मनले शान्ति पाउँथ्यो। अहिले त कोठामा बस्दा पनि फतक्क गलिन्छ। काम केही नगरेपनि मन भारी हुन्छ। घर परिवार सम्झियो डिउटीमा आए पछि चाहिँ खासै पिर नहुँदो रहेछ। जति कोठामा बस्दा मनमा कुरा खेल्छ डिउटी भनेको डिउटी हो। मनमा कुरा खेलाएर बस्ने फुर्सद हुन्न।
बिहान एक घण्टा अगाडि डिउटीमा आएको थिए। डिउटीको पनि समय हुन्छ। घण्टी नलाग्दा सम्म ढुक्कले बस्न पाइन्छ। त्यही फुर्सदमा यो अनुभूति बाँडे। अलिअलि डर त भइहाल्छ। तैपनि आत्मामा विश्वास हुनुपर्छ। रोग लाग्न दिनु हुदैन लागि हालेमा सामना गर्न तयार रहनुपर्छ।