जिन्दगी चल्दो रहेछ

चारैतिर हरियाली । जति हेरेपनि धित नमर्ने पाखा पखेराहरुले अहिले गाउँलाई सजिएको होला । त्यसैमाथि कोइलीले को-हो, हो-को, कूहू,कूहू गर्दै प्रकृतिलाई गर्ने प्रश्नले झनै मग्न हुनुपर्छ । प्रकृतिले यो समयमा आफैलाई सजाएको हुन्छ । मलाई असाध्यै मन पर्ने समय बसन्त ऋतु। अरु समयमा त एकछिन घरमा बस्न नसक्ने म, झन् यो बेला के बस्न सक्थें र! पुरा समय वनतिर बित्थ्यो मेरो।

अहिले समय फेरिएको छ। मेरो जिम्मेवारी थपिएको छ। गाउँभन्दा टाढा छु। अझै भनौं मेरो देशको भूगोलबाटै टाढा, भारतको एक कोठाभित्र छु अहिले र नियालिरहेको छु, आफ्नै विगत। सम्झिदा मात्रै पनि मनमा आनन्द मिल्छ। विगत बिथोल्न बेला बेलामा टिभी हेर्छु । मोबाईल खोल्छु । अर्कै दुनियाँमा पुर्याइ दिन्छ मलाई । जो सम्झिदा मात्रै पनि कस्तो दिक्दारी लागेर आउँछ । बुझ्दा बुझि नसक्नुको छ, सम्झिदा नसम्झिसक्नुको छ । 

आज भारतमा लकडाउन १५ औं दिनमा छ । काम गर्ने होटल बन्द छ । खल्तीमा एक पैसा छैन् । दिनभरि कोठामै बसेको छु । यताउता जाने अवस्था छैन । काम त अर्कै कुरा । हामी जस्तो काम गरेर खानेलाई अहिले जिउन नै मुस्किल छ । यता कयौँ नेपाली अलपत्र छन् । तर सबै चुपचाप चुपचाप बस्न बाध्य छौँ । खाडीमा पसीना बगाउने, बिहान बेलुका हातमुख चुठ्नकै लागि परदेशिनेको आवाज कसैले नसुन्ने! गुनासोहरु धेरै छन् । भन्नु पर्ने,सुनाउनै पर्ने कथा व्यथा धेरै छन् । सुन्ने कोही छैनन् । दु:ख पिडाहरु मनमै छन् । फुकाउदा मन हलुङ्गो हुदो हो त्यो वातावरण पनि छैन अहिले । 

टिभी खोलेर सामाचार हेर्छु। यी मान्छेहरूका गतिविधि अचम्मका लागि रहेछन् । भारतमा कतिपयले यसलाई मजाकको रूपमा लिइरहेका छन् ।पछिल्ला ३/४ दिनमा नै यसको संख्या ५०००+ भैसक्यो। यो निरन्तर बढ्दो छ। सरकारले यस्तो कडाइका साथ लक डाउन गरेको छ। तैपनि अटेर गर्नेहरू धेरै छन्। मान्छेका चरित्र पनि बुझि नसक्नुका छन् । जीवनसंग खेल्ने काम कत्तिको उपयुक्त होला र! खेलि रहेछन् मृत्युसंग अनि पिताम्बरसंग । मृत्युभन्दा पर कता, कहाँ जानु छ र ? के मान्छेमा मानवियता सकिएको हो त ? नत्र यस्तो लापरवाही किन ? यस्ता अटेर गर्नेहरूको दिमागमा छिट्टै घाम लागोस् । 

फेरि मान्छेलाई कति प्रचार चाहिने के ! सामाजिक सञ्जालहरु हेरि सक्नु छैन । सेवा गर्नु धर्म हो ।तर चाउचाउ, बिस्कुट, दालमोठ दिएर सामाजिक सञ्जालमा फोटोहरु अपलोड गर्नेको अहिले कमी छैन । सस्तो लोकप्रियताका लागि यतिसम्म गिर्नु आफैमा लज्जास्पद हो। 

दु:ख पर्दा पिर पर्दा आफ्ना मान्छे सम्झिनु, घर सम्झिनु नौलो होइन । अहिले म जस्तै खाडीमा अलपत्र परेका कैयौँ नेपालीहरुले आफ्नो देश सम्झिरहेछन् । हामीले सम्झिनु भनेको सम्झिनु मात्रै रहेछ । कसैले हाम्रो उद्दार गर्नेवाला छैन । २/३ दिन घाम पानी नभनि हिँडेर बाेर्डरमा पुग्नेलाई त समाल्न नसक्नेले झन कामको खोजीमा भारतको कुना काप्चामा पुगेकाहरुको के नै होला र ! विपतमा पर्दा आफ्नो नै आफ्नो नभैदिदा कस्तो महसुस हुन्छ होला । सोच्दा पनि विरक्त लागेर आउँछ । झन महाकाली नदीमा पौडेर जाने अनि देशभित्र छिर्न नपाउदा भोकले झुन्डिएको समाचारहरु पढ्दाको क्षणले झन मन दुख्छ । 

यसो सम्झदा, जिन्दगी त बालापनमै गजबको थियो । चिन्ता,भय र जिम्मेवारीहिन । अहिले म खाली सपनाहरु देख्ने गर्छु त्यस्तै बालापनको । सपनाको संसारै राम्रो ! अनुभूति नै मिठ्ठाे! 

घरमा सबै भन्दा ठूलो चिन्ता आमालाई हुन्छ। बेला बेलामा फोन गरि रहनुहुन्छ । कोठा बाहिर निस्कनु, सफा भैराख्नु र आफ्नो ख्याल गर्नु भनि सम्झाइ राख्नुहुन्छ । म पनि सम्झाइ रहन्छु ‘केही हुदैन आमा’ भनेर।‘गाडी खुल्ने बित्तिकै घर आइजा’ भन्नु हुन्छ । यताबाट दिए उता खाने मेरो परिवार मैले कमाउन छाेडे भने के होला! यही सोच्दै बितिरहेछन् दिनहरु रातहरु। म मेरो वास्तविक जीवनभन्दा परको जीवनको कल्पना गरिरहेको छु। समय चलिरहेकै छ आफ्नै गतिमा। जीवन पनि यसै चल्दो रहेछ!

Profile Image

गणेश बिश्वकर्मा ‘गणु’

डोटी,बांझ

हाल भारत

आज भारतमा लकडाउन १५ औं दिनमा छ। काम गर्ने होटल बन्द छ । खल्तीमा एक पैसा छैन।यताबाट दिए उता खाने मेरो परिवार मैले कमाउन छाेडे भने के होला! 

Leave a Comment

Your email address will not be published. Required fields are marked *