मान्छेलाई कथाले डोर्याउँदो रहेछ । भेटाउने छुटाउने पनि कथा नै रहेछ ।
अआफ्नै कथाले पोखरा महानगर आइपुगेका एक हुल मान्छेहरु छन् । पेट पाल्नु र बाँच्नु फरक कुरा रहेछ । पेट मात्रै पाल्न त यी मान्छेहरु कोही औषधी पसल चलाउँछन्, कोही दोहोरी साँझमा काम गर्छन् । कोही घरका भित्तामा रंग लगाउँछन् कोही चाहिँ चित्रकारिता गर्छन् । तर बाँच्नको लागि भने उनीहरु सबै जना गीत गाउँछन् । जनताका गीत ।
कालखण्डमा गीतहरुले समाज बदल्ने थुप्रै कथा भने । नारी पुरुष हाराहारीका गीत, मान्छे मान्छे बराबरीका गीत अनि सत्तालाई खबरदारीका गीत ।
पार्टीमा हिँड्दा बाँडिएका सपनाका दुःखाईहरु बल्झिन थालेपछि विकास लुङ्गेली आफ्नै घर गृहस्थीको सानो संसारमा अल्झिन थालेका छन् ।
युद्धमा हिँड्दा भित्तामा नारा लेख्न सिकेको कलाले च्याङ चुङलाई अहिले जिविका दिएको छ । नाराहरु स्वयं त अमूर्त पेन्टिङ जस्ता भइदिए । बरु मोटरसाइकलका नम्बर प्लेटहरुले अर्थ राख्छन् आजकल ।
सर्लाहीका रोशन तामाङले सानैमा आमाबुबा गुमाए । काठमाडौंका गँलैचा फ्याक्टरीमा कलिला उमेरहरु बिताए । कसैले उनलाई पोखरा पुर्यायो – गायक बनाइदिने सपना देखाएर ।
डकर्मी काम गर्ने रोशन फुर्सदमा गिटार समाउँछन् । परिवारसँग पनि एक्लिएका रोशनले माया पिरेमका गीतहरु भुलिसके ।
काजी गाउँले र खेम लामाका पनि अआफ्नै कथाहरु छन् ।
विगतमा कथाले मागे अनुसार उनीहरुले कहिले झन्डा बोके कहिले बन्दुक । अपेक्षाका पहाडहरुले निराश बनाए । आजकल उनीहरु मादल, सारङ्गी र गिटार मात्र बोक्छन् । फुर्सद निकालेर गाउँघरमा पुग्छन् अनि दोहोर्याइरहन्छन् उही खबरदारीका गीतहरु ।
No responses yet