माथि भोजपुरका सिरानदेखि बटुल्दै अनि खेदाउँदै ल्याइएका वस्तुहरुको बथान आज हतुवागढीको हसनपुर आइपुगेको छ ।
जंगबहादुर मगरको कथुरी नाम गरेकी कोरली बाच्छी सँधै झैं आँगनको पारिलो घाम ताप्दैछे । घर खर्चको जोहो गर्न जंगबहादुरले आज कथुरीलाई खरिदेको जिम्मा लाउँदैछन् ।
१२ हजारबाट सुरु भएको मोलमोलाई ९ हजारमा पुगेर कुरो मिल्यो । खरिदेले दाम्लो फुकाए ।
नौलो मान्छेलाई कथुरीले के टेर्थिन् र । खरिदेको हातबाट फुस्किएर कथुरी बाटो मुन्तिरको बारीको पाटामा बुर्कुसी मारेर उफ्रिन थालिन् । खरिदे उनको पछि पछि असिन पसिन भएर दौडिरहे ।
निकै बेरपछि कथुरी थाकिन् । खरिदे पनि थाके ।
गाउँकै भिमबहादुर मगरले परसम्म कथुरीलाई धपाउँदै पछि लागे । केही बेरपछि कोरली गाई पनि आफूजस्तै अरु गाई गोरुका बथानमा मिसिइन् ।
पूर्वका पहाडहरुबाट यसरी गाइवस्तु अनि बाख्रा सुँगुर भेला पारेर मधेशका हाट बजारमा बेच्न लगेको जंगबहादूरले सानैदेखि देखेका थिए । उनले पनि उमेरमा खरिदेको काम गरेका रहेछन् ।
भिमबहादुर मगरको चाहिँ खरिदेहरुसँग चिनजान छ । हिँड्न नसकेका खरिदेका बस्तु उनी आफ्नै गोठमा बाँधिदिन्छन् । अनि गाउँमा कसैको पशु बेच्नु परेमा खरिदेलाई खबर गरिदिन्छन् ।
छिमेकी खोटाङदेखिका गाइगोरु यो बगालमा मिसिएका छन् । आज विहान उनीहरुको यात्रा घोडेटारबाट सुरु भएको हो ।
पहाडका कुना कन्दरामा हुर्केका गाइवस्तुलाई बाटो देखाइ देखाइ झन्डै १ हप्ता यात्रा गराउन थोरै सकसको काम होइन । वस्तु खेद्न खरिदेले पिटुवा राखेका हुन्छन् । यो बगालमा मात्रै ९ जना पिटुवा छन् । उनीहरुको काम गाइगोरुलाई सकुशल ठगानमा पुर्याउने ।
कोही वर्षौं यही काम गरेका पिटुवा छन् भने कसैले चाहिँ भर्खरै सुरु गरेका ।
आधा जीवन भारतका खानीमा कोइला बोकेका रामबहादुर बस्नेतले यसै पालि पिटुवाको काम थालेका रहेछन् ।
धुलाम्मे बाटोमा वस्तुहरु दिनभरि हिँडे । पिटुवा पनि भोकै छन् । वस्तु पनि भोकै छन् । बास बस्ने ठाउँमा पुगेर मात्र माम र आराम पाइन्छ ।
अरुण नदीमाथिको झोलुङ्गे पुल तरेपछि पारि धनकुटा जिल्लाको सिम्ले पुगिन्छ । आजको बास बस्ने थलो ।
झोलुङ्गे पुल वारि अफ्ठ्यारो भीर । अनि पुलको मुखमा साँघुरो ठाउँ ।
अघि नै आइपुगेका बगालहरु पालै पालो पुल तर्दैछन् । यो बगाल पुल वारि नै आफ्नो पालो कुरेर बसेको छ । कोही सुस्ताएका छन् । कोही वस्तु हराएकी भनेर गन्दैछन् ।
पिटुवाहरुले भीरको बाटो जतनसाथ पालै पालो वस्तु तार्न थाले । अनि झोलुङ्गे पुल तार्ने सकस चाहिँ बयान गरेरै नसकिने ।
साँझ अबेरसम्म वस्तुहरु पुल तर्दै थिए । बास बस्ने ठाउँमा खरिदे र पिटुवाहरु भेला भए । सबैका थकान र कथा बिसाउने चौतारी थियो सिम्लेको यो सानो होटेल ।
दिनभरि बोल्ने फुर्सद समेत नभएका खरिदे र पिटुवाहरु यतिबेला फुर्सदमा थिए ।
उद्धब भट्टराई पनि खरिदे हुन् । लोकल खरिदे । उनी चाहिँ गाउँघरमा वस्तु भेला पार्छन् अनि अर्कै खरिदेलाई जिम्मा लगाएर पठाइदिन्छन् ।
रुद्र कार्की चाहिँ विदेशमा हण्डर खाएर फर्केपछि बाउ बाजेको काम पछ्याइरहेका ।
झमक्क रात परिसक्दा पनि सिम्लेमा चहलपहल कम भएको थिएन । कसैले खाइसकेका थिए । कोही खाने सुरसार गर्दै थिए । मान्छे पनि भोकाएका थिए । वस्तु पनि भोकाएका थिए ।
भोलिपल्ट सबेरै हामीसँग हिजो आएको टोली अर्को दिनको यात्रामा निस्कियो । वस्तु धपाउने टोली भीरको अफ्ठ्यारो बाटो छलेर लामो बाटो हुँदै धनकुटाको ताम्राङतिर लाग्यो । हामी चाहिँ वस्तुका बगाल छाडेर अक्करको भीर हुँदै कोशी तिरै तिर बराह क्षेत्रतिर लाग्यौं ।
आज शुक्रबार । भोलि बाङ्गे बजार । टाढा टाढाबाट ल्याइएका वस्तुहरु गन्तव्य नजिक आइपुगेकका छन् । कोही चतरा बास बस्छन् । कोही आजै बाङ्गे पुग्छन् ।
चतरामा खरिदेहरुको अर्कै टोली भेटियो ।
हामीसँग भोजपुरबाट आएको टोली चाहिँ आजै बाङ्गे पुगिसकेको छ । निकै दिन हिँडेका गाइ-गोरुहरु थाकेर मलिन भएका थिए । जंगबहादुर मगरले बेची पठाएको कुथुरी पनि त्यही अँध्यारोमा कतै बाँधिएकी थिइन् ।
भोलिपल्ट विहानै चतरामा बास बसेका बगालहरु बाङ्गेतिर लागे ।
बाङगे बजारमा विहानैदेखि चहलपहल छ । टाढा टाढाबाट किन्ने र बेच्नेहरु आएका छन् ।
खसी बाख्रा, राँगा भैंसी र गाइ गोरुका छुट्टा छुट्टै थलो छन् ।
पहाडबाट हप्तादिन हिँडाएर ल्याइएका पशुहरुको यात्रा यहिँ सकिँदैन । उनीहरुलाई अझै कैयौं पटक किनिनु र बेचिनु छ । गर्नुछ अझै लामो यात्रा ।
No responses yet