जहाँ गए पनि बाँचुन्जेल साथ नछोड्ने त सम्झनाले पो रहेछ । मोरङ को सुन्दरहरैचा भन्ने ठाउँको जुलबी चोकले पनि आफूले छाडी आएका पहाडी गाउँहरुलाई बेलाबखत सम्झी बस्छ ।
जुलबी चोकको कथा
गाउँको माझलाई पहिले जुलबी चोक भनिन्थ्यो । बाख्राले खाने जुलबी भनिने डाले घाँसको बुटो थियो रे । आजकल दुर्गामन्दिर चोक भएको छ । गाउँलेले भजन किर्तन गरेर जोडेको मन्दिर ।
बेला बेला जुलबी चोकले यादहरुको सन्दुक खोल्छ र मधेशको यो गाउँ एकाएक तेह्रथुम, ताप्लेजुङ वा पाँचथरको पाखो भइदिन्छ ।
गोठाला जाँदा लाएका प्रित हुन् अथवा वनपाखासित लाएका मित – ती सबै गीत बन्थे । बतासले मन उडाई टाढा लैजान्थ्यो । गीत बन्थ्यो । खोला गाउँथ्यो । हावा नाच्थ्यो । कहिले मन कस्सिएर गुम्सिन्थ्यो – गीत बन्थ्यो । पीरका ढाकर बिसाउँदा गीत बन्थ्यो ।
पहाडमा दुःख थियो । न भोक मेटिन्थ्यो । न तिर्खा । क्षितिजपारि मधेसमा धान फल्ने खेतहरु थिए । चन्द्रप्रसाद फुँयाल डोकाभरि सपना बोकेर तमोर किनारै किनार उँधो झरे ।
पहाडको भारी खकनले थामिदियो । मनको भारी जहाज नचढी हलुका भएन । धन कमाउन मन उड्यो । विष्णु फुँयाल र इन्दिरा फुँयाल चालिस कटेसी रमाउँला भन्दै पालैपालो विदेशिए ।
दुःखको भारि हलुका हुँदै गएपछि बल्ल नाच्ने गाउने फुर्सद भयो । गाउँले भजन टोलीलाई नौमती बाजा टोली बनाउने प्रस्ताव आयो दुर्गा थपलियाबाट । एकमनाहरु जर्याकजुरुक जुर्मुराए ।
सासु बुहारी श्रीमान् श्रीमती, सम्धी, सम्धिनी छर छिमेकी साथी बहिनी सबै समेटिए । कृष्णमाया रिजालको फराकिलो छतमा बाजा रन्किन थाल्यो ।
६५ वर्षकी कृष्णमायाले न उमेरको चिन्ता गरिन् न त कुरा काट्नेहरुको नै ।
गाउँले बिहेमा पहिलो पटक यो टोलीले बाजा रन्कायो । मन अलिअलि डरायो । देख्ने सुन्नेहरुले उदेक मानेर जिब्रो टोके ।
टाढा टाढाबाट निम्तो आउन थाल्यो । एक टोलीले मात्र नभ्याउने भएपछि दुई टोली बनाएर हिँड्न थाले ।
भोलि पनि दमकमा विहे छ । विहानै जानुपर्छ । साँझ खानपिनपछि सरसल्लाह गर्न कृष्णमायाको घरमा भेला भएका छन् । सरसल्लाहले मात्र कहाँ मान्थ्यो र । दराजका वाजा बाहिर निस्के ।
बुहारी ट्याम्के ठटाउने छोरा गाउने बाउ कम्मर भाँच्ने ।
साँझ अबेर उनीहरु बिहेघरबाट विदा भए ।
No responses yet