घर छेउको बारीमा चिटिक्कको सानो घर छ । बुद्विमान इङनामका लागि यो घर होइन मन्दिर हो । जुनिभरि दुःख सुख काटेकी श्रीमतीलाई उनले अस्ति भर्खर यही मन्दिरमा लगेर सेलाएका थिए ।
बुढ्यौलीले गलिसकेका हात गोडा एकठाउँ स्थिर बस्न मान्दैनन् । माटोसँग खेलिरहन मन लाग्छ । माटोको सुगन्ध प्रिय लाग्छ ।
श्रीमती सरस्वतीले छाडेपछि उनी अलि बढी एक्लिएका छन् । कपुरथानमा बेला बेला पुगिरहन्छन् । सिमेन्टीको प्लास्टर समेत ओभाएको छैन । निर्जिव मन्दिरलाई सुम्सुम्याउँछन् ।
कपुरथानको एउटा कोठाको ढोका अब कहिल्यै खुल्दैन जहाँ उनकी श्रीमती छिन् । सँगैको अर्को कोठा उनलाई पर्खिरहेछ । श्रीमतीसँगै सन्तुष्टिको चीर निन्द्रामा जान उनी तयार छन् ।
धनकुटाको बुढीमोरङ, साँघुरीगढीमा दिन ढल्दै गएकाहरु अनन्त यात्राको लागि पहिले नै तयार हुन्छन् । गच्छे अनुसारका चिटिक्क परेका चिहानहरु तयार पारेर राख्छन् । शरिर निष्प्राण भएपछि रहरले बनाएको घरमा प्रवेश गर्छन् ।
८५ वर्ष काटिसकेकी फूलमाया नयोङ लिम्बुले आफ्नो लागि कपुरथान बनाएको १५ वर्ष भइसक्यो । श्रीमान् र छोराहरु बितेपछि आफ्नै घरमा छोरी ज्वाइँसँग बसिरहेकी फूलमायालाई जिन्दगी लामो लागिसक्यो ।
फूलमाया नयोङ सकिनसकी कपुरथान जान्छिन् । झारपातहरु उखेल्छिन् । फूलका बुटाहरु गोडमेल गर्छिन् । यहाँ आएपछि उनलाई घर फर्केर जान मन लाग्दैन । कहिलेकाहिँ त मातेको बेला आफ्नो चिहामभित्र गएर मस्त निदाइ दिन्छिन् रे ।
फूलमायाकी सम्धिनी बुधुरानी थेगिमले पनि इष्टमित्रलाई दुःख नहोस् भनेर कपुरथान बनाएकी रे ।
बुधुरानीका कान्छा छोरा भर्खरै विदेशबाट फर्किएका छन् । जिउँदै आमाको चेहाम छेउ पुग्दा उनलाई कस्तो कस्तो लाग्छ ।
मरेपछि आत्मा कहाँ जान्छ थाहा छैन, तर बुढी मोरङका मृत शरिरहरु पहिले पहिले तमोरमा जान्थे । मलामीका लस्करहरु हुन्थे ।
आजकल गाउँघरमा मलामी भेटिन नि मुस्किल छ । गाउँ सर्लक्कै विदेसिएको छ । डाँडामाथिका जुनहरु अस्ताउन तयार छन् ।
गाउँमा आज एउटा जुन अस्तायो । एक वृद्धले संसार छाडेर गए । उनले चाहिँ आफ्नो लागि चेहाम बनाएका थिएनन् । कसैले चिहान खन्न थालेे । एक जनाले बन्दुक पड्काएर वरपरको गाउँलाई जानकारी दिए । लिम्बुहरुको मरौ परौमा यसरी बन्दुक पड्काउने चलन रहेछ ।
मान्छेको अनौठो रहर: कसैलाई मरेपछि जंगलमा बस्नुछ, कसैलाई घरै छेउमा । कोही कोही अझै पनि तल तमोर नै जान खोज्छन् ।
मरेपछि गाउँघरमै बस्न खोज्नेहरुले आजकल कपुरथान भनिने चेहामहरु बनाउन थालेका छन् । घर जस्तै गच्छे अनुसार कुनै भव्य कुनै सामान्य ।
मनप्रसाद इङ्नामले पनि आफ्नै शरिरको नाप दिएर चेहाम बनाइसकेका छन् । तर किन किन उनलाई आफ्नै चेहामछेउ जान अफ्ठ्यारो लाग्छ । उनी परै उभिएर गफिए ।
आफ्नै लागि चिहान बनाउने यस गाउँका मान्छेहरु गहिरा कुरा गर्छन् । मृत्युको सत्य अझै धेरै महशुस हुन्छ । अनि लाग्छ जीवनको यो अन्तिम सत्य दुःख मात्र होइन, उत्सव पनि हो ।
प्रश्न पनि हो सायद!
बारिको छेउमा कपुरथानमा परमपद भएका प्रिय मान्छेहरु त्यहिँ वरपर भेटिन्छन् ?
सम्झनामा भेटिन्छन् ?
वा जान्छन् कतै टाढा बताससँगै ?
No responses yet