समयले छुटायो परदेशले सिकायो

सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, बर्षौ छुटे यहाँ….अझै छुट्दैछन । न रोक्ने अधिकार छ मलाई न आदेश दिन र तगारो हाल्न नै सक्छु …..बर्षौपछि आफैलाई आज कोल्टे फर्कि हेर्न मन लाग्यो।

छुटे त्यो बालापन, छुटे ती कबड्डी, अनि काठका खेलौना, छुटे ती क ख ग घ सिक्ने कालो पाटी, छुटे मेरा चकचके उत्ताउलो पन । 

यहाँ सम्म आउँदा म ठूलो भइसकेछु। फेरि छुटे ती पानिले भिजेका पिढीं, छुट्याे खरको मेराे सानाे झुप्रो, छुटे दौंतरी नातागोता, छुटे अठार धुरे मेरो गाउँ, छुटे श्रीमती उसको पेटको बच्चा, छुटे नेपाल आमा छुटे जन्म दिने आमा पनि…..सबै छुट्दै छुट‌दै यहाँ सम्म आउँदा म परदेश हिँडिसकेछु । 

समयले छुट्ने छुट्दै गए । बाध्यताले छुट्ने सम्झनाका छाप बनेर छुटिरहेँ । म टुलुटुलु हेरिरहेँ ।  उनीहरू छुटिरहे, म हेरिरहे म हेरिरहे …..

एक छिन ल ! म अलिक लामो श्वास लिन्छु । कोल्टीदा त म निकै पो हराए छु त ! हेर्नुस् न, परदेशीएको पनि निकै भइसकेछ । पेटमा छाडेको छोरा भेट्नै नपाइ ठूलो भइसक्याे। बाबा आमा पनि निकै उमेर खाइ सक्नुभयो । 

परदेशले मलाई धेरै सिकाएको छ। परिश्रमी बन्न सिकायो । परिवार, समाज, देश प्रतिकाे जिम्मेवारी सिकायो । समयको सही उपयोग गर्न सिकायो । दुई पैसा कमाउन सिकायो । दुई पैसा बचाउन पनि सिकायो । सामाजिक काम गर्न पनि यही परदेशले नै सिकायो । परदेशमा आपत बिपतमा परेका नेपालीहरुलाई अलिकति भएपनि सहयोग गर्न सिकायो यही परदेशले……खुशी पनि लाग्छ परिपक्व बन्न यही परदेशले त सिकाउँदै छ मलाई।

ए साँच्चि मलाई उद्यमी बन्न पनि यही परदेशले नै सिकाएको छ। नेपालमा दाइहरुसंग मिलेर सानो तिनो काम सुरू गरेको छु । सेयर बजारमा र लगानी गर्न पनि सिकेको छु। नेपालमा श्रीमतीले गर्ने जीवन बिमाको काममा पनि सक्दो सघाउँछु ।  गर्न खोज्नेलाइ परदेश मै रहेर पनि उद्यम,व्यबसाय गर्न सकिने रहेछ भनेर मै पनि सिक्दै छु । हजुरहरुलाई पनि उत्साह दिन चाहन्छु ।

टिङटङ मोबाइलको घण्टीसंगै बिहानै उठ्यो काम मा गयो । दिन भरको कामको थकान खायो। कहिलेकाँही त गर्दै नगरेको गल्तिको पनि थकान माथि बोक्नै नसक्ने गालीको भारी बोकाइ पठाउँछ। 

बेलुका घरमा कुरा गर्नै पर्यो। 

उता बाट …… के छ खबर ? सन्चै हुनु हुन्छ ? 

काम को थकान माथि अघिको गाली को भारीले रिङ्गटा छुटाएको बेला आफैले आफैलाई ढाक छोप गर्दै मलिन स्वरमा म ठिकै छु ……यस्तै हो, सायद सबै परदेशीहरूको उत्तर । ठिक छु नभनौँ भनेपनि परिवारले चिन्ता गर्लान् र फेरि अर्को भारी बोक्नु पर्ला । काम नगरौं चुलो बल्दैन । यस्तै यस्तै परदेशीको पिडा ।

परदेशमा मन भुलाउने, सुख दुख साट्ने हाम्रो फेसबुक ग्रुप,म्यासेन्जर ग्रुप बनाएका छौं।दुख सुखको कुरा हुन्छ, हाँसी मजाक मनग्य चल्छ। सूचना ओसारपसार गरिन्छ।आबश्यक जानकारी लस्करै लाइन लाग्छ ग्रुप मा। ग्रुप मा सहभागी हुनु,थकान मेटाउनुको मज्जा बेग्लै छ हामी परदेशीहरूको।

प्रत्येक हप्ता छुट्टीमा सांगितिक, धार्मिक, सामाजिक काममा भेट हुने हामी परदेशी त्यो पनि महामारी कोरोनाले बछिट्टै बनाइ दिएको छ । परदेशमा झनै एक्लो बनाइदिएको छ।

यसरी नै छुट्दैछन कोरोना पिडित परदेशीका जीवन …….।

ल त आजलाई यत्ति नै । ड्युटी जाने बेला भयो नत्र भरे फेरि चुलो बल्दैन।

बाँकी भेटमा कफीको स्वादसँगै गफिँदै कुराको बिट मारौला …….।

म गए हजुर बस्नुस ल ।

नमस्कार 

Profile Image

दाउत राई

कुवापानी, मोरङ हाल दक्षिण कोरिया 

Leave a Comment

Your email address will not be published. Required fields are marked *