“के छ ? अचेल कता गायब भईस्?”
“म आजकल ‘सेल्फ – क्वारेन्टाईन’मा छु यार! अलिदिन निस्कन्न होला!”
प्रायजसो यस्तै बहाना हुन्थ्यो मेरो, बाहिर निस्कनको अल्छिले।
‘बिनाकारण कता/किन निस्कने?’ भन्ने हुन्थ्यो। हुन त एकदमै नियमित फोन गर्ने र सम्झिहाल्ने साथीहरु त्यति नभएपनि कहिलेकाँही झुक्किएर ट्रंकल आउँदा मेरो जवाफ यही हुन्थ्यो । आजभन्दा महिना दिन पहिले लकडाउन नहुँदै पनि। उति बाहिर फेर डुल्ने बानी नभएकाले, प्राय घरमै हुन्थे म। ‘लकडाउन’ भयो। त्यस पछि त घर बाहेक अन्तको कल्पनै भएन, चाहेर पनि। त्यसपछि त सबैलाई भन्न थाले – ‘घरमै बसौं, स्वस्थ्य रहौं!’
बिहानीपख कहिलेकाँही मुड बन्छ, एक्सरसाईज गरुँ, योगा गरुँ । तर मन थीर रहे पो गर्नु। गीत/संगीतमा ध्यान तान्न खोज्छु । केही न केही गर्न खोज्छु । म संगीतकाे विद्यार्थी त्यसैले उबेला सिकेका संगीतका ताल, बन्दिससँगै रागहरु र नारायण गोपालका सुमधुर गीतहरु सम्झेर पुन: प्रयासका लागि तयार हुन्छु। संगीतले मुड फ्रेस बनाउँछ भन्ने मलाई लाग्छ । संगीत पनि एकप्रकारको ध्यान नै हो। त्यसैले ग्रुपच्याटमा पनि प्राय यसरी नै भुलिरहेकाे हुन्छु ।
‘वनको बाघले भन्दा पहिला यहाँ मनको बाघले नै खान्छ कि!’ भन्ने खालको वातावरण अहिले बनिरहेको देख्छु । त्यसैले चिन्ता लिने, डर त्रासमा रहनेभन्दा स्वयंलाई घरभित्रै भुलाउनेतिर लाग्नु नै उत्तम हुने रहेछ । यो बेला घरमै बसिहँदा म पनि विगतका भन्दा फरक तरिकाले दिन बिताउने कोशिस गरिरहेको छु। नयाँ पुराना पत्रपत्रिका, पुस्तक, उपन्यासहरु अनि राम्रा चलचित्रहरु हेर्दैछु ।
अलि अस्तितिर स्व. मदनमणि दीक्षित सरको ‘माधवी’ उपन्यास हेरेर नकिनि फर्केकोमा अहिले पछुतो लागिरहेको छ। ‘लकडाउन’ खुलेपछि किन्ने सोचमा छु।
टिभीबाट साह्रा विश्वलाई नियालि रहँदा हाम्रोतिर हाम्रा शासकहरुको अज्ञानी हर्कतले चिढ्याउँछ। गिरिरहेको अर्थतन्त्र, व्यापार व्यवसायसँगैं मजदुरी गरी खाने आम मानिसहरुको दैनिकी पनि बिग्रदो छ। काम र दामको अभावमा त्यो २ छाक पनि घट्दो छ। अलि अस्तितिर म स्वयंको पनि चामल चुल्होको गुजारो टार्न हम्मे हम्मे परेको यथार्थ कसैलाई थाहा छैन। मध्य शहरमै यस्तो अवस्था छ । खिन्न हुन्छु । आँफैंलाई सोध्छु, आखिर कहिलेसम्म यस्तो?
जित्न त हामी यो समयलाई अवश्य जित्नेछाै नै। तर त्यतिबेलासम्म यो ‘लकडाउन’लाई कस्तो बनाउने आँफैंमा भर पर्ने कुरा हो। जस्तो बनायो त्यस्तै बन्ने त हो !
जय संगीत