गएको फाल्गुन महिनाको अन्तिम सातातिर मलाई कलेज जादा एकदुई दिन त बिदा हुनु नि भन्ने लागिरहन्थ्यो| त्यस बखतको समय मेरा लागि निकै नै महत्वकाे थियो। किनकि त्यति बेला मैले प्रत्येक विषयका आवधिक पत्र कलेज समक्ष बुझाइ सक्नु पर्ने थियो। नभन्दै फाल्गुनको अन्तिम सातादेखि मेरो कलेजले बिदा दिइ सम्पूर्ण आवधिक पत्र बुझाउनका लागि समय निर्धारण गर्यो। उता सिङ्गो विश्वलाई नै चुनौती दिदै फैलिरहेको कोरोनाले गर्दा चैत्र पहिलो साता देखि सरकारले देश भरिका शैक्षिक संस्था बन्द गर्यो।मलाई घर जाने मन थियो ताकी तोकिएको समयमा आफ्नो काम पनि सकियोस र यो महामारीको बेलामा घरपरिवारसँग समय विताउन पाइयोस् भनेर। म काठमाडौं बाट आफ्नो गृह जिल्ला दाङ आए। यो बसाइमा मैले गरेका उपलब्धिलाई म यस लकडाउन डायरी मार्फत सबैलाई भन्दैछु।
कहिले सकिन्छ होला यो काम पनि? कलेजकाे काम सकेपछि त केके गर्छु आदि इत्यादि जस्ता कुरा मेरा मनमा आइरहेका थिए। आवधिक पत्र पनि सकियो। तर अब आउँदा दिनहरुमा के गर्ने होला भन्ने प्रश्नले मलाई सताउन थाल्यो। काम भएपनि कहिले सकिएला र काम नभएपनि के गर्ने होला भन्ने प्रश्नले निकै नै सताउँदो रहेछ। सामाजिक संजाल हेर्छु, जताततै कोरोनाले मारिएका र संक्रमित भएका मानिसहरुको अंक देखिन्छ। त्यस बाहेक फेसबुकका भित्ताहरुमा त झनै पुराना तस्बिरहरु राख्ने र साथीहरुलाई चुनौती (च्यालेन्ज) गर्ने प्रवृत्ति चलिरहेको रहेछ | सायद चुनौतीलाई पार लगाउनकालागि होला फेसबुकका भित्ताहरुमा पोस्टहरुका बर्षात भैरहेका थिए। म भने के गर्ने होला भन्नेमै अन्योल थिए।
घरमा हिउँदे तरकारी सकिएसँगै बारी बाँझो भएकाले तरकारी लगाउने कुरा चल्यो।अनि बारी खनेर गोडमेल गरि तरकारी लगाउन ठिक्क पारियो। तर तरकारीका बिउ मध्य सिमि र दुई चार वटा पिडाँलु बाहेक घरमा केहीको पनि बिउ रहेनछ। छिमेकमा पनि समस्या उही देखे।अनि कसैको घरबाट भिंडी, कसैकोबाट करेलो र कसैकोबाट फर्सीको बिउको जोहाे गरेर तरकारी लगाइयो। जसकारण बिहान र बेलुका पानी चार्ने भनेर आफूलाई काममा लगाउन थाले। अहिले सबै बिउ उम्रेका छन्। मेरा मनमा आफूले लगाएको तरकारीप्रति छुट्टै माया पलाएको छ। दिउँसोको समयमा पनि बेलाबेलामा कौसीबाट बारीतिर चिहाउन मन लाग्छ आफूले लगाएको तरकारी हेर्नको लागि। अहिले मलाई माटोसँग प्रेम बसेको छ। विगतका बर्षहरुमा मलाई तरकारी लगाउन कहरले काम गर्नु पर्थ्यो भने यसपालि आफ्नै रहरले गरे।
बिहान र बेलुका मात्र व्यस्त बनाउने बारीको कामले मलाई अझै केही गर्नका निम्ति प्रेरणा दियो। त्यसपछि मलाई आफ्नो घर परिवारको इतिहासको बारेमा जान्न मन लग्यो र घरपरिवारबाट नै मैले आफ्नो पुर्ख्यौली थलो सल्यान देखि जुम्ला सम्मको बारेमा धेरै कुरा सिक्ने मौका पाए। घरको हजुरबुवा र मामाघरको हजुरबुवाहरुले पहिले देखि नै शिक्षण पेशा र कर्मकाण्ड सम्बन्धि काम गरेको कुरा सुनेकाे थिए। कर्मकाण्ड सम्बन्धि त्यति धेरै कुरा थाहा नभएता पनि मलाई पुजाआजामा जान सानै देखि मन पर्थ्यो। त्यसैले यस बिदाको अवधिमा मैले अध्यात्मिक कुरामा पनि जोड दिन थालेको छु। सन् १९१२ मा फ्रान्सका समाजसाश्त्री एमिल डर्खेइमद्वारा लिखित “द एलेमेन्टरि फर्म्स अफ रेलिजिअस लाइफ” मा पनि अध्यात्म र धर्मको बारेमा केही चर्चा गरिएको छ। अहिले सिङ्गो बिश्व नै त्रसित भएको बेला धेरैजसो मानिसहरु कुनै न कुनै धर्मसँग आबद्ध छन् र ओ गड भन्दै भगवानलाई सम्झिरहेका छन्।
यसै लकडाउनको अवधिमा मैले संस्कृत पढ्न नजाने पनि एकातिर श्रीमद्भागवतगीता यथारूप बुबाको मुखारबिन्दुबाट सुन्न पाए भने अर्को तिर कर्मकाण्डमा के हुँदो रहेछ भनेर विभिन्न किसिमका देव कार्य तथा पूजाहरुको पद्धतीको बारेमा बुझ्ने मौका पाए। जुनसुकै देव कार्यमा बजाइने शङ्ख बजाउन त्यति सजिलो त छैन तरपनि म एक सातामा शङ्ख बजाउन सक्ने भएको छु।
यी बाहेक घरको काममा सघाउने, पुस्तकहरु पढ्ने, साथसाथै आफ्नो पुर्खा देखि अहिले सम्मको कुरालाई समेटी बंशावली बनाउनका लागि नामहरु संकलन गर्ने कार्यमा जुटेको छु। सायद यो लकडाउन नभएको भए यी मेरा काम हुने थिएनन्। अहिलेको विपदको घडीले गर्दा यस्तो उपलब्धि गरे भनेर हर्षित हुनु त छैन त्यैपनि यस डायरी मा आफ्नो उपलब्धि लेखे।