आशा, निराशा र खुसी

मार्च २७, २०२० – आनन्द, केही दिन विश्राम।

टेबलको कुनाबाट मलाई हेरिरहेको डायरी आज खोलेँ । केही दिनको विश्रामले केही महिना छोइसकेछ । सधैँ आफूलाई समय नदिएको भन्दै, मलाई आखाँ तर्दै, कलेजका कामहरुलाई कराउने डायरी शान्त हुँदा वातावरण नै आनन्दमय लागेको थियो । 

सुरुमा त हेर्न बाँकी सबै सिरियल, फिल्म सकेर केही हप्ता पछि आरामले सामाजिक सन्जालमा भुलेँ । मेरा धैरै मित्रहरु त विश्रामको सट्टा काम पो गरिरहेका रहेछन् । कोहीले लेखहरु लेखेछन् , कोही पकाउन सिपालु भएछन् त कोही भर्चुवल माध्यमद्वारा ज्ञान आदान प्रदान गरिरहेछन् ।

विश्राम धेरै दिनको भयो भन्दै मैले पनि उपयोगी बन्ने सोचेँ । घरमा पढ्न बाँकी भएका किताबहरु बटुलेँ । तर दिमागमा खेलेका अनेकौँ कुराहरुले गर्दा किताबमा ध्यानै दिन सकिनँ । पढ्न खोज्दा पनि सुत्नु पर्यो, कि त अर्को फिल्म हेर्नु पर्यो भनि मन बराली रह्यो। खाना बनाउँदा मन शान्त हुन्छ कि भनि पकाउन तर्फ लागेँ। हरेक दिन केही न केही गडबड भइ नै रह्यो, कहिले तरकारीमा नुन थोरै हुन्थ्यो त कहिले चामलमा पानी धेरै, अरु मिठा मिठा खाना पकाउन आउने त परैकाे कुरा भाे। त्यति सजिलै हरेस खाने व्यक्ति त म हैन तर खाने, सुत्ने, टि. भि हेर्दै आनन्दमय दिन बिताउने यस्तो बानी बसेछ कि प्रयास पनि गर्न मन नै लागेन । 

दैनिक जीवनको नित्यबाट थकित व्यक्तिलाई केही दिनको विश्राम अवश्य चाहिन्छ । तर विश्राम धेरै भए पछि व्यक्तिको बानी बिग्रिने रहेछ। मनमा विभिन्न कुरा खेल्ने रहेछ। मन उदासिने रहेछ । खाने, सुत्ने, टि. भि हेर्ने र अरु केही गर्न नपर्दा त पहिले मलाई आनन्द लागेको थियो। तर बिस्तारै ती कुराहरुबाट म खुसी नभएको महसुस हुन थाल्यो, म जे गर्दा पनि निराश नै भइराखेँ । 

‍मानिसले खुसी खोज्ने भनेको आनन्द खोज्ने सोच्छन् । वास्तवमा खुसी भनेको आफूलाई गर्न मन लागेको कामका चुनौती पार गरेर काम पूरा गर्दा मिल्दो रहेछ । म उदासिएको देखेर आमाले मलाई खेतबारीमा सहयोग गर्न बोलाइन् । कहिल्यै खेतबारीमा काम नगरेको मैले आलु खन्न, गहुँका मुठा बान्न, गहुँ कुट्नका साथै मकै, धान रोप्न सिकेँ। खेतबारीको काम गर्दा घरमा आनन्दसँग फिल्म हेरेको जस्तो पटक्कै हुँदैन । तर हातमा उठेका ठेला, खुट्टामा लागेको कैँडाले अन्तिममा मलाई घरमा आनन्दले बस्दाको भन्दा बढी खुसी मिल्यो । मैले त्यसपछि आफूलाई हरेक दिन साना साना काम पुरा गर्ने चुनाैती दिँदै गएँ । ती कार्य गर्दा केही गल्ती ,केही भुलचुक त भए तर अन्त्यमा काम पूरा हुँदाको खुसी बयानै गर्न नसक्ने जति भयो ।

घरमा बस्दा म जस्तै धेरैजना निराश हुँदा हुन्, म जस्तै उदास हुँदा हुन्। यही उदासी हटाउन, दिनलाई प्रभावकारी बनाउन र खुसी रहन मानिसहरु प्रेरणा खोज्दै हिँड्छन् ।तर खुसी कसरी खोज्ने भन्ने अझ धेरैले बुझेका छैनन्। आनन्दलाई खुसी नाम दिएर मानिस झन निरासिँदै छन् । हरेकले कुनै आफूलाई सधैँ गर्न मन लागेको तर गर्न नपाएको काम, आफ्नो आरामक्षेत्र बाहिरकै किन नहोस्, एक चोटी सबै चुनाैती पार गरेर काम सम्पन्न गर्न खोज्ने हो भने खुसीको अर्थ महसुस हुनेछ। जीवनको लक्ष भनेकै सुख पाउनु हो, कहिले पनि आफूलाई कमजोर नठानौ, आफू पछि परे भन्ने पनि नसोचौं। हामी समय अनुसार ठिक छौं। 

यो लकडाउनमा अब म पनि केही गर्न जान्ने भएको छु । आनन्दको भावना र खुसीको भावना छुट्याउन सक्ने भएको छु । सुखको गन्तव्य पहिल्याउन सक्ने भएको छु ।अन्तिममा, सबै जना एक दिन अवश्य आफ्नो गन्तव्यमा पुग्नेछौ, त्यसैले आफूलाई कमजोर नठानौं, आफू पछि परे भन्ने नसोचौं र खुसी रह्यौ, भन्दै बिदा हुन्छु ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *