१५ वर्ष अघिकाे कुराे

लकडाउनमा घरैमा छु। व्यस्त दैनिकीबाट अलिकति फुर्सद मिलेको छ।परिवारसँग हुन पाउँदा रमाइलो त छ तर घर फर्किन नपाएका मानिस, दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवार, कल कारखाना बन्द हुँदा दुख पएका परदेशी सम्झदा मन खिन्न हुन्छ। खाली समय भएकाले सामाजिक संजाल अघिपछि भन्दा बढी नै चलाउँछु। देशमा हुने घटनामा चासो राख्न समय मिलेकाे छ। बिगत ४-५ दिन यता रुकुम पश्चिम्मा घटेको घटना र जातीय विभेदमा भएका टिकाटिप्पणीले मलाई भने आज भन्दा १५ बर्ष आगाडिको एउटा घटना सम्झाएको छ।

बैशाख महिनामा ठूलो पानी परेर आकाश भर्खरै खुलेको थियो। बसन्त ऋतुमा लागेका नयाँ पलुवा, कोइलीको कुहु- कुहु र काफल पाक्यो चरिको सन्देशले प्रकृतिलाई रमणीय बनाएको थियो। बारीमा मकै छर्ने तर्खर गर्दै थियाैं। सहयोग गर्नका लागि पल्लो गाउँबाट बीरे काका आउनुभएको थियो। आँगनको छेउमा खेल्दै गरेकी मलाई हजुरआमाले भान्साबाट “ए नानी यो चिया बीरे काकालाई देउ त “भनेर अह्राउनु भयाे। मैले चिया दिनै लग्दा हजुरबुबाले “अलि परबाट देउ छोइएला नि!” भन्नुभयो। मेरो बाल मस्तिष्कमा हजुरबुवाले बीरे काकालाई किन फरक व्यवहार गर्नुभएको होला भन्ने लाग्यो। तर जब म बुझ्ने भए तब बल्ल थाहा पाएँ हजुरबुवाको व्यवहारमा अन्धविश्वास झल्केकाे थियाे भनेर। म उहाँलाई दाेष दिन चाहन्न। उतिबेलाकाे समाज जस्ताे थियाे, उहाँकाे व्यवहार पनि त्यसैकाे प्रतिनिधि मात्रै हाे।

तर, अहिले पनि जातीय विभेदका घटना सुन्दा भने मुटु पिरोलिन्छ। हजुरबुवाको  पालाबाट हामी नाति नातिनाको पालामा आइपुग्दासम्म  पनि समाजमा जरा गाढेर बसेको जातीय विभेद भने उस्तै छ।सहरमा भन्दा गाउँमा जातीय भेदभाव अझै उस्तै भएकाे मैले अनुभव गरेकाे छु।जातीय व्यवस्थालाई हामीले अन्तरमनले  नै बहिष्कार नगरेसम्म  कानुनले र नीतिले मात्रै केही हुनेवाला छैन। त्याे परिवर्तन आफैबाट सुरु गर्न सक्नुपर्छ।

आशा छ लकडाउन पनि खुल्ने छ, हामीले काेराेना भाइरसबाट मुक्ति पाउनेछाै र याे समाजमा रहेकाे छुवाछुत नामकाे याे भाइरसबाट पनि हामी सबैले छिट्टै मुक्ति पाउँछाैं।

Profile Image

कविता पाण्डे  

   अर्घाखाँची 

   

                 

                   

Leave a Comment

Your email address will not be published. Required fields are marked *