विभेद कहिले सम्म?

मैले सोचेकी थिएँ, जातीय भेदभाव धेरै हदसम्म निर्मूल भइसकेको छ। तर रुकुमको घटनाले फेरि पनि पहिला सुनेका सबै घटना ताजा गराइदियो।अझै पनि यो कुरिति हटेको रहेनछ। याे घटनाले मनमा आगो बलिरहेको छ। कस्ता ह्र्दय नभएका मान्छे?यतिसम्म मानवता हराएका मान्छे पनि हाम्रो समाजमा रहेछन् झैँ लाग्याे। विश्व कहाँबाट कहाँ पुगि सक्यो। पहिलेकाे परिवेसलाई हेर्ने हो भने पनि समाजमा कति धेरै परिवर्तन भइसक्याे। तर हामीकहाँ याे साधारण सोचाइमा पनि परिवर्तन हुन सकेकाे छैन। 

म कक्षा पाँचमा पढ्दा, एउटा संस्थासँग काम गर्नै मौका पाए। त्यसमा हामी दुई बहिनी संलग्न थियौ। घरबाट बुवाको सपोर्ट थिएन। तर पनि उहाँलाई सम्झायौ। पछि त उहाँ हामीले गरेको कामको तारिफ गर्ने हुनुभएकाे थियाे। हामी जिल्लाका विभिन्न ठाउँ-ठाउँमा गएर कार्यक्रम गर्थ्यौ। म नाच्न सिपालु , समाज परिवर्तनको गीतहरूमा नाच्थे र हामी गीतबाट सन्देश दिने प्रयास गर्थ्याै। हामीले जातीय भेदभाव, छुवाछुत, कुरिति, बालविवाह,जाँडरक्सी, जुवातास र केही स्वास्थ्य सम्बन्धि सडक नाटक पनि गर्याैं। हाम्रो प्रस्तुतिबाट धेरैले आफू परिवर्तन भएको अनुभव पनि बाँड्नु भएको थियो।

अहिले मैले महसुस गरे अनुसार छुवाछुत, जाँडरक्सी, जुवातास र बालविवाह धेरै हदसम्म निर्मूल भए। तर जातिय विभेद भने अझै उस्तै नै छ। म कोहलपुरकी बासिन्दा हुँ। उहिले दलितहरूलाई छुन दिँदैनथे कतिपयले। आज भोलि त्यस्तो भने छैन। तर जातीय भेदभाव भने अहिले पनि छ। के यो निर्मूल पार्न साँच्चै यति कठिन होला त?

कति पुस्ता बितिसक्याे, बाउ-बाजेको पालामा त अशिक्षित भए र त्यसो गरे भनेर चित्त बुझाउने बाटो भयो, तर अहिलेको युगमा पनि यस्ता अपराध भइरहेकै छन्। के साँच्चै अशिक्षित भएरै हो त? मलाई त लाग्दैन याे अशिक्षाले मात्रै भएकाे हाे भनेर। जंगलमै बस्ने राउटेलाई सोध्नुभयो भने पनि,”हामी सबै एक हौ सबै मानव हौ” भन्छन्। आखिर कहिलेसम्म चपेटामा पर्ने दलितहरू? कति सम्म सहने यस्ता जघन्य अपराधहरू? मलाई त लाजै लाग्छ,यी सब सुन्दा र देख्दा।

हामी नमूना काम, नमूना काम भन्छौ तर यस्ता झिनामसिना कुरामा अल्झे पछि, के हाम्रो समाजले फट्को मार्ला त? साँच्चै देश विकास होला त? आफैबाट सुरु गरौ,आफ्नो घरबाट। हामी शिक्षित युवाहरूले आफ्नो परिवारका सदस्य, आमा बुवालाई, सम्झाइ बुझाइ गरौं। मेरो विचारमा,जबसम्म ठूला जात कहलिनेले सार्की,परियार, विश्वकर्मासँग कुटुम्बको नाता जोड्दैनन् तबसम्म यो समस्या निर्मूल पार्न धेरै गाह्रो छ। प्रेम, विवाह पनि जातका आधारमा गर्ने चलनकाे जब सम्म अन्त्य हुँदैन, तबसम्म यस्ता घटनाहरू सुन्नमा आइ नै रहनेछन्।

Profile Image

सृजना बि.सी                                               

कोहलपुर, बाँके 

Leave a Comment

Your email address will not be published. Required fields are marked *