एक गेम हान्दिम न त !

आफ्नै घरको छतमा म एक्लै बसेर आकाशका तारा नियालिरहेको छु, मनसँग मनका कुरा खेलाइरहेको छु। दिन पनि कस्तो आएका हुन्, घर भित्रै कुहिएर बस्न पर्ने। यो लकडाउनले गर्दा घरबाट बाहिर निस्किन पनि पाएको छैन, बजार गएर मम, चाउमिन, पिज्जा जस्ता मन पर्ने परिकार खान पनि पाएको छैन । छेउ मै रहेको गोठिकाँडाको डाँडा घुम्न जाने सपना पनि सपनै भयो। ल्यादेंको डाँडा मा कति कति बेला गाडीका हेडलाइटका उज्याला देख्छु। घर अगाडिकै बाटोमा फाट्ट फुट्ट कुँदेका बाइक र ट्याक्टर देख्छु। दुई चार जना पैदल यात्री पनि देख्छु।

हावा पनि कति मिठो लागिरहेको छ, दिमागमा पनि के मात्रै फुर्न सकेको होला यही बेला। तर जे भए पनि एक्लै बसेर मनमा कुरा खेलाउनु र कहानी बुन्नुको मज्जा पनि बेग्लै छ। पहिला हिमान्सु भाइ हुन्थ्यो, उसँग थुप्रै कुरामा बहस हुन्थ्याे। आजभोलि एक्लै छु बहसमा पुग्ने कुरो त भएन, तर आन्तरिक द्वन्द्वमा रमाउन पुग्छु।

हातमा पुरानो सामसुङ मोबाइल छ, एउटा साथीले याे मोबाइललाई ड्राइ पिकनिक मोबाइल निकनेम दिएको छ। किन दियो त्यो उसैलाई थाहा होला, तर मलाई त्यो निकनेम एकदमै मन पर्यो। त्यसैले गर्दा म अहिले मेरो सामसुङ मोबाइललाई ड्राइ पिकनिक मोबाइल भनेर बोलाउने गर्छु। मोबाइलको वालपेपरमा आफ्नो ऊ बेलाको हिरो फोटो राखेको छु। हातले वरिपरि हल्लाउँदा फोटो पनि नाच्ने गर्छ। मलाई आफू झनै चम्किलो भए झै लाग्छ। १५-२० थरीका एप्लिकेसन छन्, तिनीहरुमध्य मैले चलाएको ८-९ वटा मात्रै होलान्। यिनी ८-९ वटा मध्य पनि अझ मैले धेरै हेर्ने भनेको मेसेन्जर र फेसबुक पर्यो।

फेसबुक खोले सिमाना लगायत अन्य कुराहरुको बबाल द्वन्द चलिरहेको थियो। त्यतिकैमा मेसेन्जरमा एउटा ग्रुप बनेको मेसज आयो। कुनै रमाइलो अर्थात सूचना सम्प्रेषण गर्ने मेसेज होला भनेको त लुडो ग्रुप परेछ। मेसेज पनि `ओए इन्भाइट गर,´ `को को हान्ने हो एक लट´ यस्ता यस्ता थियो। यो लकडाउन पछि म ५ ओटा ग्रुपमा सहभागी भैसके, सबैको काम लुडो खेल्ने नै थियो।

एउटा साथीले इन्भाइट गर्यो, मैले पनि प्लेमा क्लिक्क गरेँ। लुडो ओपन हुन लाग्यो। स्वागतको डाइलगले नै म प्रभावित भएँ `just kill and chill´। अरु ठाउँमा मारेपछि जेल गइन्छ, केस लाग्छ तर यसमा मारेपछि चिल भइन्छ। एउटा ठाउँ रहेछ जहाँ मार्नु पनि उपलब्धि हो। म जोइन भएँ। गेम सुरु भयो। ६ ओटा थोप्ला भएको गोटी आएपछि घरबाट गोटि निक्लिने रहेछ। खेल चलिरहेकाे थियो। मैले एउटा साथीलाई नमारी जीवन बक्स दिएँ। तर बदलामा उसले मेरो राउन्ड हानी घर भित्र छिर्न लागेको गोटि उडाइदियो। मन कटक्क खायो, जो साथीलाई आफ्नै सोचेर यस्तो जीवन दान दिएको थिएँ, त्यसले नै मलाई मार्यो। यो संसारमा कसैको बिश्वास हुदैन रहेछ भन्ने कुरा सिकायो। म कच्चा खेलाडी जित्ने कुरा त भएन। तर फाेर्थ आउँदा पनि म दंग परेँ।

अरु भन्दा लुडो खेल मलाई एकदम ठिक लाग्यो। यसमा हारे पनि डाहा नलाग्ने, जिते पनि अर्को गेममा उडिन्छ कि भनि मन बुझाउन सकिने। जित्ने हार्नेलाई एउटै सोचको लेवलमा लिने। लुडो खेल मन पर्याे मलाई। कुन गोटि उडाउने त्यो गोटि उडाउँदा आफूलाई के फाइदा जस्ता कुरा सिकाउने भएकाले यो एउटा राजनीतिक दार्शनिक खेल पनि हो जस्तै लाग्याे। अब मनोरञ्जनको त कुरै छोडौं, काटिदा पनि मनोरञ्जन काट्दा पनि मनोरञ्जन।

फुटबल भएको भए चौरमा गएर खेल्दा पुलिस आएर कुट्लान, कोरोना सर्ला भन्ने डर हुन्थ्यो। तर लुडो खेलमा त्यो डर पनि देखिन। उता कोरोना लागेर मर्नै आँटे पनि यता सर्ने छैन। आत्मियता पनि कति धेरै हुने रहेछ। अझ विशेष लुडो खेल्दा खेल्दा च्याट पनि गरेर ‘ओए यस्को चेक बस´,dont kill´, `well played´´ जस्ता कुरा भन्दा अनि अरुले भनेको पढ्दा पनि रमाइलो हुने रहेछ। यो खेलमा को कति खेर उल्टिन्छ पत्तो नहुने, मिलेर खेल्लान् भन्ने चान्स पनि कम, आखिर सबैलाई जित्नै पर्ने हुन्छ, त्यसैले पाए सम्म काट्ने गर्छन्। यो कुराले यो खेललाई अझ बढी सुन्दरता दिएको छ।

फुटबलमा रोनाल्डो र मेस्सीको नाममा झगडा परेको, बोलिचाली बन्द भएको, फेसबुकका भित्ताहरु रंगिएको, कति पटक लफडा नै भएको दखेको छु। तर लुडोमा त्यस्तो हुन्न। जित्ने मान्छेले ‘दिमाग लगाउनु पर्छ, दिमागकाे खेल हाे’ भनेर जितको महसुस गर्नसक्ने भयो। हारेको मान्छेले ‘भाग्यको खेल हो, गोटि के पर्छ पर्छ, लेखेको कुरा हुन्छ लुडोमा देखेको हुँदैन’ भनेर आत्मशान्ति गर्न सक्ने भयो। अब आफै सोचौं जित्दा र हार्दा पनि कमजोर महसुस हुन नदिने, साथी साथी बिच झगडा पनि नहुने यो खेल कति शान्त र शालीन छ।

जे होस्, यो लकडाउन र लुडो खेलले एक अर्कालाई साथ दिएर, आम मानिसहरुको समय सजिलै कटाइदिएकाे छ। अब यस्तो शान्ति प्रेमी, भातृत्व विकास गर्ने लुडो खेललाई सरकारले पनि बुझेर आगामी ओलम्पिकमा समावेश गरोस्। हरेक गाउँ गाउँ, स्कुल स्कुलमा एक लुडो अफिस बनोस्। यो लुडो हाम्रो लकडाउन संस्कृति भएकाले यसकाे ऐतिहासिक महत्व पनि एक दिन हुने नै छ। एकदिन सबै आमसमुदाय, राजनीतिकर्मी, ठालुहरुले लुडोको महिमालाई बुझ्दै यसको संरक्षणमा नीति नियम निर्माण गर्ने छन् भन्ने मैले आशा राखेको छु।

साँझ पर्यो। छतबाट ओर्लिन लागेको थिएँ, मेसेज आयो “ओए एक गेम हान्दिम् न त” मैले पनि रिप्लाई दिए “इन्भाइट गर”!!!

Profile Image

लाेकेन्द्र न्याैपाने

कालिकाेट

Leave a Comment

Your email address will not be published. Required fields are marked *