राईली दिदी

देश लकडाउनमा फसेको ५० दिन पुग्यो। दिनहुँ संक्रमितहरु बढेको देखिएकाले हामी संयमित र सजग हुन जरुरी छ। देश लकडाउनमा भएपनि हाम्रो दिमाग लकडाउनमा छैन।दिमागको अनन्त शक्तिलाई पूर्ण प्रयोग गर्न मैले बुझेसम्म अलि कठिन नै कार्य हो। लकडाउनकै प्रसङ्गमा बिगतका कुरा गरौँ। सन १६६५ मा लन्डन शहरमा बुबोनिक प्लेग भन्ने रोगको महामारी फैलियाे। कलेजकाे पढाइ बन्द भएपछि एक जना युवक स्वतन्त्र महशुस गर्दै आफ्नै ठाउँमा चिन्तन मनन गर्दै प्रकृतिसँग खेल्दै गर्दा स्याउको रुखमुनि बस्छन्।त्यही बेला रुखबाट स्याउ खस्छ।त्यही स्याउ खसेको घटनाले विश्वमा एउटा युगपुरुषको जन्म हुन्छ। ती हुन् सर आईज्याक न्युटन। जसले न्युटनको गुरुत्वआकर्षण सम्बन्धि नियम पत्ता लगाए।

चिन्तालाई चिन्तनमा रुपान्तरण गर्नु नै उत्तम हो। म पनि बुटवलमा मास्टर लेभल पढ्दै गरेको युवक लकडाउनको समयमा गुल्मीको गाँउमा आएको छु। हाम्रोतिर स्याउ त पाइदैँन, तर लिचि चैँ पाउँछ। लिचिको बोटमुनि बसेर चिन्तन गर्ने प्रयास गर्छु।लिचि खस्दै खस्दैन पात मात्र खस्छ। के थाहा फ्याट्ट बरुण ज्ञवाली पनि लिच्चिकाे बोटमुनि बसेर चिन्तन गर्दै गर्दा गुरुत्वआकर्षण त होइन अर्कै कुनै आकर्षणको नियम पत्ता लगाएर युग पुरुष हुन के बेर।

गाँउमा नयाँ मान्छेको खास आगमन छैन। सुरक्षित नै छ। त्यसैले तल्लाघरे माथिल्लो घरे चहार्दा खासै फरक नपर्ला भन्ने बिचार गर्दै आमालाई सोधेँ, ‘आमा यसो गाँउतिर जानुपर्यो।’ आमाले भन्नुभो ‘अस्ति खनेको तरुल छ, एक छाक भएपनि हुन्छ नाइडाडा लैदेन त।’ ‘ल ल प्लास्टिकमा राख्दिनु।’

दिनहुँ जसो पानी परिरहेका छन्। डाडाँकाडाँहरु भर्खर नुहाएर कपाल फिजाएँझै भएका छन्। बाटोमा जाँदै गर्दा किर्रर आवाज गरेका किराहरु र पारि रिडिखोलाको स्वा…. गरेको आवाजले ध्यान आकर्षित गर्दै थियो। नाईंडाँडा पुगेर तरुल दिएँ।

त्यहाँबाट फर्केर कान्छा खत्री सानी दिदीकोमा छिरेँ। सानीदिदी अविवाहित हुनुहुन्छ। ५६, ५७ बर्षकि राईलीकाे छोरी। नगदे बाली र गोठभैसीँ कृषि गर्दै आफ्नो जिविका चलाइ राख्नुभाछ। जाँताे घिरघिर पार्दै मकै पिँस्दै हुनुहुन्थ्यो।

‘ए दिदी नमस्ते सन्चै हुनुन्छ ?’ मैले सोधेँ।

दिदीले जाँतो टक्क रोकेर भन्नु भो – ‘नमस्ते बाबु, खबर के हुन छ र मेरो। तिमी सन्चै ​छौं? लकडाउन त बर्षै भरिहुने भयो रे है ?’ दिदीलाई कुन चाहिँ साईद्वाले बर्षैभरि लकडाउन हुने भो भनेर लाइदिएछ कुन्नि!

दिदीको अन्तिम प्रश्नको मात्र जवाफ दिए – ‘कहाँ बर्षभरि हुनु दिदी। सरकारले ५ गतेसम्म भन्या छ। अर्को निर्णय के गर्छ थाहा छैन।’ प्रायजसाे हरेक घरका चेलीहरुको २ ओटा फरक परिवारसँगको नाता हुन्छ। उहाँको घर र माइत दुबै एकै थियो। उहाँको बारेमा अरु थाहा पाउन मनलागेर आयो।

‘दिदी तपाईंले पढ्नु भएन?’

‘पढ्न त पढेकि हुम् नि बाबु , तर कति पढेँ याद नै भएन। ओलपाटेका र तिम्रा माईँलाबाका मितले यहीँ माथि पोखरामा पढाउँथे, तिम्ले जान्यौ नाई पोखरामा स्कुल भको ?

‘नाइ दिदी, म त जानेन नि! झ्वाले स्कुलमा हो म पढ्या त। तर पोखरामा भत्किएको पुस्तकालय चै जाने’- मैले भने।

‘तारा, हाम्री कान्छि, मसँगै पढ्थिम्। मलाई त पढ्नै आएन। भकारा भरि डिगा थिए। बाले राईलीले पढ्न जानिन भन्दै गाई पनि जोड्नुभो। स्कुल जान छोडेर म गाई चराउन थाले।’

मैले फेरि उत्सुकताका साथ सोधेँ ‘दिदीहरुको बिहे भएपछि तपाईंको पालो आउँदा घरकाले बिहे गर भनेनन् तपाईलाई ?

मुसुमुसु हाँस्दै दिदीले भन्नुभो-‘ घरकाले त भनेका थे, मलाई बिहे गर्नै मन छैन कान्छिलाई भन्नु भन्दिए। अनि कान्छिले बिहे गरि।

दिदी आफैले प्रसँग बदलेर भन्नु भो, ‘चिया बनाम खान्चौ’

म – ‘नाइ दिदी खाँदिन म।

दिदी ‘ कैले यसरी नबस्ने मान्छे !’

म-‘ होइन दिदी यता नाईँडाँडा गएर आको थिए। यसो दिदीलाई पनि भेट्छु भनेर पसेको।’

‘ल दिदी अहिले निस्किए है। काम भुलाएँ कि बरु मैले’

दिदी ‘के को भुलाउनु र बाबु। आयौ कुरा गर्यौ। खुसी लाग्यो मलाई त। आउँदै गरे है।’ दिदी पनि खुसी देखिनु भो।

दिदीसँगको कुराकानीबाट मलाई पनि खुसी लाग्यो। म दिदीको आँखामा पनि हर्षको अनुभूति देख्न सक्थे। खुसी भन्नेकुरा दिमागको स्थिति हो। कोही के मा खुसी हुन्छन् कोही के मा!

Profile Image

बरुण ज्ञवाली

गुल्मी

Leave a Comment

Your email address will not be published. Required fields are marked *