जिन्दगी नामको किताब

शरीर चिडियाखानामा थुनिएको गोही जस्तै भएतापनि मन भने खुल्ला गगनमा उडेको चरी जस्तो हुँदोरहेछ। पत्तो नपाइ कुन बेला कता पुगिदिन्छ,पुगिदिन्छ। फरक त यति हो कि आकाशमा चरा चाराको लागि हराइदिन्छ। अनि यो मन साहाराको लागि। अनि त्यहीँ कहीँ कतै हराएको मनलाई काबुमा राख्दै दुइचार शब्द कोर्न मन लाग्यो।

अक्सर आफ्नाहरु अनि आफ्ना नजिक रहेका कुराहरु प्यारा त लाग्छ्न्। तैपनि यिनकाे सुन्दरता आकलन गर्न हामीले जरुरी ठानेका हुँदैनाै‌। आहा! फलानो मान्छे कति राम्रो, फलानो ठाउँ कति सुन्दर भन्दै गर्दा आफ्नै सामीपमा रहेका सुन्दर अनि बहुमूल्य चिजलाई मोल दिन चुकेका रहेछाैं‌‌। तर यो लकडाउनले मलाई प्रकृति र परिवार मात्रै त्यस्ता चिज हुन् जसलाई जति नियाले पनि धित मर्दैन, जतिनै हेरेपनि वाक्क लाग्दैन भन्ने कुराको आभाष दिलायो।

हो, म परिवर्तन भएकि छु। अक्सर सधैँ अलार्मको उराठ लाग्ने आवाजले उठ्ने गरेकी म, आजभोलि चराचुरुङ्गीका मिठा बातले उठ्ने गरेकी छु। काठमाडौँको व्यस्त भिडभाड अनि धुवाँधुलोमा रुमल्लिने म, आजभोलि प्रकृति र आमाको काखमा हराउने भएकी छु। फेरि मलाई थाहा छ, यी सब परिवर्तन क्षणिक हुन्। तैपनि याे समयलाई जिन्दगी नामको किताबमा एक अविस्मरणीय अध्यायको रुपमा समेटेर राखेकि छु ।

शायदै जिन्दगीको पहिलो अनि अन्तिम लामो फुर्सद अनि परिवारसँगको बसाइ हो जस्तो लाग्छ मलाई यो लकडाउन। परिवार देखि टाढा रहेर प्रायजसो एउटै कोठा भित्र बसेकी मलाई लकडाउन अनि घर भित्रै बस्नु पर्ने खबरले खासै असर गरेन। तर सधैँ काममा ब्यस्त भएर छाक टार्नु पर्ने मेरा बा आमालाई तनाव भयो होला भन्ने लागेकाे छ। त्यसैले हामी आफू अनि परिवारलाई सकारात्मक र खुसी राख्न कहिले गीत गाउने कहिले नाच्ने, नयाँ नयाँ खानेकुरा बनाएर खाने, बा आमाको सुखदुःखका कुरा सुन्ने, पुराना यादहरुको सङगालो याने कि फोटो album हेर्ने। यस्तै गर्दा गर्दै एक डेढ महिना बितेको पत्तो भएन। बा आमासँग घुलमिल हुँदै जाँदा त उहाँहरु नै मेरा बेस्ट फ्रेन्ड हुनुहुँदोरहेछ जस्तो लाग्नथालेको छ मलाई। मलाई जस्तै गीत गाउने, नाच्ने, फोटाे खिचाउने साेख त मेरा बा आमामा पनि एक जमानामा झैँ अहिले पनि जिवित रहेछ। बश छोराछोरीका चाहाना र आवश्यकता पुरा गर्न खोज्दा खाेज्दै आफ्नै इच्छाहरुकाे आहुति दिनु भएको रहेछ ।

यही लकडाउन मै भएपनि हाम्रो सानो प्रयासले बाआमाको मुहारमा क्षणिक नै सही फिस्स मुस्कान देख्न पाउँदा स्वर्गीय आनन्द आएकाे छ। बाआमाका खुसी एकातिर अनि बिहान उठ्दै गर्दा झ्यालबाट देखिने हिमाल र पहाडको सुन्दर दृश्य। त्यो सुन्दर दृश्यसँगैको चियाको चुस्की अनि स्वच्छ पवनको मन्द स्पर्शले जिन्दगीमा सकारात्मक आयामहरु थपिएकोको महसुस भएकाे छ।

Profile Image

सबिना बुढाथाेकी

Leave a Comment

Your email address will not be published. Required fields are marked *