बुवाको पैदलयात्रा


कोरनाको कहरमा लकडाउन भएको आज ३९ दिन भएछ। भक्तपुरको सानो कोठामा म र मेरो भाइ बसिरहेका छौं। केही दिन यता लगातार पानी परिरहेको छ। आज दिउँसो केही समय घाम लागेता पनि अहिले रिमझिम पनि परिरहेको छ। झरि र लकडाउनको अनिश्चितता उस्तै उस्तै छ कहिले सम्म हो थाहा छैन। उकुसमुकुस भै कोठा भित्र थुन्निरहँदा घरको निकै याद आएको छ। मेरो घर कर्णाली प्रदेशको सल्यान जिल्लामा हो। लकडाउन कति समयसम्म हुन्छ थाहै भएन नत्र झोला बोकेर नाइट बस चढ्न हुन्थ्याे। जसोतसो दिनहरु कटेका छन् यहाँ। देशभित्रै घरबाट धेरै टाढा नभए पनि मलाई यति धैरै घरको याद आइरहेको छ भने झन प्रदेशमा रहेका नेपाली दाजु भाइलाई कस्तो भएको होला!

सधैँ कोलाहल हुने उपत्यका अहिले सुनसान छ। शान्त सहरमा एकाबिहानै घरबाट फोन आउँछ अनि मात्र हामी बिउँझिन्छौं । हरेक दिन बुवा सोध्नु हुन्छ-‘कोठामा चामल, दाल, तेल तरकारी के के छ?’ म जवाफमा जे जे छ त्यही भन्छु। ‘खर्च पानी कति छ, पठाइदिन हुन्थ्यो सबै बन्द छ’- बुवा चिन्ता मान्नुहुन्छ। हरेक दिन बाबा हाम्रो अबस्था बुझ्नुहुन्छ। मेरो बाबा सामान्य किसान हो।तर हाम्रो सानो किराना पसल पनि छ। लकडाउन पछि उहाँको दैनिकी परिवर्तन भएको छ।

मेरो बाबा हरेक दिन झिसमिसेमै उठ्नु हुन्छ। सानो मोबाइलको रेडियो बजाउँदै गोठ तिर निस्किनु हुन्छ। हाम्रो गोठ घरबाट ४० मिनेटको दुरीमा छ। गोठमा पुगे पछि मात्र हामीलाई फोन गर्नुहुन्छ। ५५ वर्ष काटिसक्नु भयाे मेरो बुवा। अहिले पनि हामी भन्दा तगडा हुनुहुन्छ। मध्यपान, धुमपान केही पनि गर्नु हुन्न। त्यसैले होला सधैं फुर्तिलो । सन्तान जति नै ठूलो भएता पनि आमा बाबालाई निक्कै चिन्ता लाग्दोरहेछ । सेतै फुलेको कपालमा ढाकाटापी ढल्काउँदै, साइड ब्याग भिरेर, आधाजति नेपाल हिँडेरै पुग्नु भएको छ मेरो बाबा।

कोरोनाको कहरपछि सरकारले पुरै लकडाउन घोषणा गर्यो र मान्छेहरु हिँडेरै कैलाली ,वर्दिया लगायतका ठाउँ पुगे। उनीहरु हिँडिरहेको समाचारहरु टन्नै आए। दुख पनि लागिरहेको थियो। तर म मेरो बाबालाई सम्झिरहेको थिएँ। मेरो बाबा गाडी चढ्न सक्नु हुन्न उहाँलाई गाडीसँग खोइ के छ कुन्नि! त्यो उहाँलाई नि थाहा छैन हामीलाई नि थाहा छैन। अहिले पनि जहाँ जानु हुन्छ पैदल हिँड्नु हुन्छ। हामीले यो कुरा भन्दा अरुहरु अचम्म मान्छन्। तर यो सत्य हो। वर्षमा एक दुई पटक नेपालगञ्ज आउने काम परिरहन्छ। बुवालाई घरबाट नेपालगन्ज पुग्न ५ दिन लाग्छ भन्नु हुन्छ। हामी सानो हुँदा छाता, रेडियो र झोला बोकेर हिड्नु हुन्थ्यो। कहाँ पुग्नु भयो, कता जानु भयो केही थाहा हुन्नथ्यो। हामी घर बसेर सबै अनुमान लगाउथ्याैं।

बुवाले प्रयोग गर्ने पैदलबाटाहरु छन। आजभोलि पनि बाटो उही,छाता उस्तै, झोला उस्तै छ। रेडियोको सट्टा चाहिँ सानो मोबाइल छ। जहाँ पुगे पनि यो ठाउँमा पुगे भनेर फोन गर्नुहुन्छ। घर आएपछि प्राय बाटोमा के के भयाे सुनाउनुहुन्छ। बाटोमा कहिले कसो प्रहरी,आर्मीहरुले ‘बाइकको व्यवस्था गर्दिन्छम्’ भन्छन रे। तर के गर्नु बाइकमा पनि चक्कर लाग्छ भन्नुहुन्छ बुवा। हामीले धेरै नै प्रयास गर्दा पनि सक्नुभएन गाडी चढ्न।अब त झन हामी पढाइको लागि घर बाहिर हुन्छौं। बुवा प्रदेश राजधानी सुर्खेत, दाङ्ग, सल्यान सदरमुकाम सबै ठाँउ हिँडेरै पुग्नु हुन्छ।

अहिले मान्छेहरु लहरै बाटोभरि हिँडिरहेकाे देखेर बुवाकाे खुब याद आउँछ। परिवारको मायाले उनीहरुलाई हिडन उर्जा मिलिरहे झैँ लाग्छ। मलाई पनि मेरो घरबाट फोन गर्दा छुट्टै उर्जा मिल्छ। म लकडाउनलाई पूर्णतया सदुपयोग गर्ने पक्षमा छु। मैलै केही दिन अघि नीलम कार्की निहारिकाले लेखेको ‘योगमाया’ किताब पढेर सक्काएँ। अनि यो समयमा मैलै निकै राम्रा राम्रा सिनेमाहरु हेरिरहेको छु। सबैजना घरमा हुने, कोठामा हुने, काठमाण्डौँमा पढ्न दुर दराजबाट आउनुभएका सबैलाई घरको निकै याद आएको होला। घरमा चिन्ता पनि होला। तर यी सबै कुराबाट हामी छिट्टै मुक्त हुनेछौं। अनि त मन लाग्याे भने घर जान पाइहालिन्छ।

Profile Image

दिप चन्द

सल्यान

Leave a Comment

Your email address will not be published. Required fields are marked *