भाउअ !

‘भाउअ, खै के के हो के के भाईरस आको छ रे त्यहाँ त, घर आइजा न त।’ आमाले एका बिहानै फोन गरेर अस्ति नै भन्नु भएको थियो। त्यो बेला लकडाउन सुरु भैसकेको थिएन। गाडी, प्लेन सबै चलिरहेकै थिए ।

मैले मन मनै हिसाब गरे, यहाँबाट नेपालगन्ज वा सुर्खेत सम्मको गाडी भाडा १२०० देखि १५००, बाटोमा खाना, खाजा नखाम्ला भनेर त्यो जोडिन। अनि नेपालगन्ज, सुर्खेतमा होटलमा खाजा खाना बस्न गरेर एक दिनको कम्तिमा पनि  १००० छुट्यायो भने पनि प्लेनको टिकटको लागि कति दिन बसिन्छ भनेर एकिन नभएकाले अन्तमा धेरै नै हुन्थ्यो।हाम्राेतिर अझै बाटाे पुगेकाे छैन। नेपालगन्ज वा सुर्खेत देखि हुम्लासम्मको प्लेनको भाडा त भन्नै परेन, अरु बेला ८ देखि १०,००० तर प्राकृतिक प्रकोप, विपत्ति परेको बेला अनि दशैको बेला भने १५,००० सम्म। फेरी हुम्ला सदरमुकाम एयरपोर्ट भएको ठाउँबाट हाम्रो गाउँ जान अर्को एक दिन भरि हिड्न पर्ने। जम्मा जम्मी घर जान एक हप्ता, पछि काठमाण्डु फर्कन पनि एक हप्ता । घर जान लगभग २५,००० रुपैयाँ फिर्ता हुँदा पनि त्यतिनै खर्च ।

‘आमा, यो त्यति ठुलो भाईरस हैन, ६/७ दिनमा सबै ठिक हुन्छ, फेरि घर आउन त्यत्रो समय काठमान्डु फर्कन त्यत्रो समय, अनि खर्च नि धेरै हुन्छ, त्यसैले आउँदिन म’ मेराे जवाफ यस्ताे थियाे।’ल त ल, त्यसोभए निको, राम्रो बस्नु । तेरो चिन्ता लागिरहन्छ। यहाँ त घरको रेडियो नि बिग्रेको छ, मोबाइलमा नि राम्रोसँग टावर (नेटवर्क) हुँदैन, टावर भएको बेला मोबाइलमा चार्ज हुँदैन, यो त हिजो सोलारमा चार्ज गरेर आज तँ सँग कुरा गर्न पाएको हो, त्यही भएर हिजो बेलुकी सोलार नै बलेन, अध्यारै बस्न पर्यो।’ फोन राख्नु अघि फेरि एक पटक ‘आमाले भाउअ निको, राम्रो बस्नु है’ भन्नु भन्नुभएको थियो । 

फोन राखे पछि आमाले ‘भाउअ’ भनेको फेरी कानमा गुन्जिरह्यो। यो शब्द मलाई यति प्यारो कि सहरमा आफ्नो छोरालाई मायाले ‘बाबु’ भनेजस्तै हाे। तर शब्दसँग पनि आत्मीयतामा हुँदाेरैछ, हजारौ गुणा नजिकको, न्यानो अनि प्यारो पनि।

अहिले सम्झिराको छु, आमालाई ‘६/७ दिन मा भाईरस सकिन्छ अनि सबै ठिक हुन्छ, मेरो चिन्ता गर्न पर्दैन’ भनेको थिए। तर आज लकडाउन भएको नै २४/२५ दिन भइसक्यो, अझ कति दिन थप हुने हो थाहा छैन। छोराले ढाट्यो भनि आमाले सोच्नु भएको होला। आमाले घर आइज भनेको बेला घर जान मन कस्को पो हुन्न होला र! तर सबै परिस्थिति हेर्न पर्दो रहेछ । आफ्नो अवस्था, घरको अवस्था पनि हेर्न पर्दो रहेछ। यो एक पटक घर जाने आउने खर्चले त मलाई काठमान्डुमा यति महिनाको खर्च पुग्ने रहेछ भनेर हिसाब गर्नु पर्दो रहेछ । आमा बुवाले खुलेर घर आइज भन्ने अवस्था छैन, आफू उत्साहित भएर म घर आउँछु भन्ने अवस्था पनि छैन । 

एस. एल. सी. दिएर काठमाण्डु पढ्न आएको नि ६/७ बर्ष भैसक्यो, यो बिचमा ६/७ ओटा दशैँ पनि आए। गाउँ भने २/३ पटक मात्र गइयो। कुनै दशैमा खर्च नपुगेर ३०-४० दिनको बिदा हुदा पनि कलेजमा जम्मा १० दिनको मात्र बिदा छ, ‘आउन जान मात्र ठिक्क हुन्छ, घरमा बस्न नै पाउँदिन होला’ भनेर ढाँटेर घर गइएन। कुनै बेला पैसा भएर पनि नेपालगन्ज, सुर्खेतमा प्लेनको टिकेट नपाएर रित्तो बसमा मन भारी बनाएर काठमान्डु नै फिर्ता हुन परेको थियो। अहिले घर परिवार भन्दा टाढा छु, एक्लो छु, कोठामा बन्द छु, आमासँग अलि अलि ढाँटेको छु, दशैँमा जस्तै लकडाउनमा पनि।  

Profile Image

   पदम रावल

हुम्ला

                                                   

Leave a Comment

Your email address will not be published. Required fields are marked *