मकै पोल्ने आमालाई एउटा पत्र

प्यारी आमा,

सादर ढोग तथा नमस्कार !

आराम छु, आरामको कामना गर्दछु । तर मलाई लाग्दै छ, तपाईंलाई मनमा एकरती पनि आराम छैन । लकडाउनले गर्दा मकै पोलेर बेच्न नपाएपछि तपाईंलाई हातमुख जोर्न मुस्किल हुँदै गएको होला। तपाईंले वर्षौदेखि मकै पोल्ने रानीबारीकाे उकालो अहिले सुनसान छ। बिहान बेलुकी तपाईं पनि त्यो सन्नाटा हेर्न आउनु भएकै होला। बुढेसकालले चाउरी परेको तपाईंको छाला र तनलाई अराम त भएको होला तर मन भुटभुटिरहेकै होला ।

आमा, यो शब्दरुपी आवाजलाई तपाइँले चिन्नुहुन्न। तर, मेरो मुहार देख्नुभो भने पक्का चिन्नुहुन्छ। म त्यही छोरा हुँ, जो रानीबारी उकालोमा तपाईंले पोलेको मकै खान आउँथ्यो। आमा साइनोले कुराकानी गर्दथ्यो अनि दुई घोगासम्म मकै खान्थ्यो। आमाले मलाई यो विकराल परिस्थितिमा चिन्नुपर्ने कारण पनि छैन। शहरले बेला बेला दु:ख दिन्छ भन्ने कुरा तपाईंलाई राम्रोसँग थाहा थियो। यो पालिको दुख तपाईंले भोगेको भन्दा धेरै फरक पाउनुभो होला है ?  यो कोरोना भाइरसको त्रास र त्यसपछिको परिघटना ज्यादै क्रुर भएर आएको छ। तपाईंलाई यो काठमाडौं सहर अरु बेलाको तुलनामा ज्यादै स्वार्थी र अमानवीय लागेकाे होला। विपदमा साथ र सहयोग गर्ने हाम्रो सामाजिक मान्यता र संस्कारको थोरै अवशेष पनि यो पालि सकिएको अनुभूती गर्दै हुनुहुन्छ होला।

सहर पुन: दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि ज्यादै क्रुर भएर आएको छ। तपाईंले एक घोगा मकैबाट १० रुपैँयासम्म नाफा हुन्छ भन्नु भएको थियो। अहिले त त्याे पनि रोकिएको छ। रानीबारी गेटमा बदाम बेच्ने आमाको हालत पनि तपाईंको जस्तै त होला नि है? लकडाउन भएको पनि एक महिना पुग्न लागेको छ। तपाईंहरुको जीवन गुजारामा धेरै गाह्रो हुँदै गइरहेको होला।  यो विशाल सहरमा तपाईंहरु जस्ता स्वाभिमानी आमाहरु धेरै हुनुहुन्छ। सबै आमाहरुलाई पक्कै गाह्रो भएको होला। मलाई थाहा छैन तर यस्ताे लाग्छ, तपाईंहरुसँग समाज र राज्यसँग कुनै गुनासो छैन। तपाईंहरु आफ्नो स्वाभिमानमा विश्वास गर्ने मान्छे। आफ्नो कर्ममा विश्वास गर्ने मान्छे।बरु आफ्नो आँशु पिउँदै दोषजति नियतिलाई दिनुहुन्छ होला। किनकी तपाईंहरुलाई थाहा छ आफ्नो ब्यथा आफ्नै मनले जति अरु कसैले बुझ्दैन ।    

यतिबेला म तपाईंहरुलाई सम्झिरहेको छु। सरकारले तपाईं जस्तै परिवारहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ। तपाईंले राहत प्याकेज पाउनु भयो कि भएन?  मेरो मनले  तपाईंले त्यो राहत प्याकेज पाउनु भाको छैन झैँ लागेको छ। राज्यले तपाईंको दैलो पत्ता लगाउन सक्दैन। तपाईंको दैलो पत्ता लगाउन राज्यको आँखाको चस्माको पावरले काम गरेको छैन। यो बेला तपाईंलाई सरकारप्रति आशा पनि लागेको होला। यदि तपाईंले मकै मात्र पोल्ने वातावरण भएको भए अरु हुनेखानेले गरेजस्तो सरकारसँग आशा पनि राख्नु हुन्थेन होला नि।

 कोरोना भाइरसपछिको विकराल अवस्थामा लाजिम्पाट रानीबारी क्षेत्रको तपाईं जस्तै तीनजना पौरखी स्वभिमानी आमाहरु झलझली सम्झीरहेको छु। रानीबारी बन छिर्ने गेटमा बदाम बेच्ने आमा  र सांग्रीला होटेलको कर्नरमा साग बेच्ने आमा। तपाईं तीनजना आमाहरुलाई पक्कै पनि यो लकडाउनले तीतो पीडा दिएको महसुस गरेको छु। म पनि तपाईंले मकै पोल्ने उकालोनिर डेरामा बस्छु। म बस्ने घरमा हप्तामा घर सफा गर्न एकजना दिदी आउनुहुन्थ्यो। आजकल उहाँ पनि लकडाउनले गर्दा आउनुभएको छैन। उहाँको पनि हात मुख जोर्न मुस्किल भएको होला नी?

 आमा, धनीमानीहरुको घरमा घरायसी काम गरी जिविका चलाउने सबै आमा दिदीबहिनीहरुका लागि लकडाउन अभिशाप भएकाे हाेला । आमा, यति धेरै चिन्ता गर्ने यो छोरोले तपाईंले मकै पोल्ने ठाउँको नजिकमा रहेको मासु पसलमा, तपाईंको अवस्था र बसाइको बारेमा सोधेको थियो। माथितिर भाडामा बस्नु हुन्छ भन्ने सुनेको हो, हामीलाई थाहा छैन भने। आजको दिनसम्म तपाईंको भावनात्मक छोरो दुई छाक खाना खान सक्ने हैसियतमा छ। यो लकडाउन अवधिभर तपाईंलाईसमेत केही सहयोग गर्न सक्ने अवस्थामा छ। तर आमा एउटा अलौकिक कथा जस्तो छ, तपाईंलाई भेट्ने।

आमा, यो भन्दा ठूलो विडम्वना के होला है ? भोक धेरै शक्तिशाली हुन्छ भन्ने तपाईंलाई राम्रोसँग थाहा छ।यदि तपाईंलाई बुढेसकालले नगाँजेको भए धेरै पहिले छोडिआएको गाउँमा हिँडेर जानुहुन्थ्यो होला । मध्य राति लकडाउनलाई छल्दै भाले बास्दा थानकोट कटेर आगाडि निक्कै पर पुग्नुहुन्थ्यो होला। अहिले त्यो आँट गर्नुभएको छ कि छैन कुन्नि!

अन्तमा,  आमा  तपाईंले मकै पोल्ने स्थानको वरपर फेरि पनि एक पटक तपाईंको सोधीखोजी गर्नेछु । तपाईंको अवस्थालाई फेरि एक पटक पत्ता लगाउने कोसिस गर्नेछु । आमा भेट्न सकिएन भने, खोइ के गर्नु ? यसै गर्छु भन्ने, कुनै सोच र योजना छैन । कामना गर्छु छिट्टै लकडाउन सकियोस्। र तपाईंको हातले पोलेको मकै खान पाइयोस् ।

उही तपाईंको भावनात्मक छोरो,

Profile Image

 मिनेश गुरुङ

कास्की

हाल: लाजिम्पाट 

Leave a Comment

Your email address will not be published. Required fields are marked *