राहत कसलाई ?

म आफ्नो घरमा बन्दाबन्दिमा रहेर झ्यालबाट देखिएको राहत बितरणका नमूना हेरिरहेकाे छु। र केही पात्रहरूको बारेमा तपाईंलाई बताउँदैछु।

पहिलो पात्र : यी पात्र शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ तर स्नातकोत्तर गर्नुभएका।उहाँकी श्रीमती पनि शारीरिक रूपमा श्रीमान जस्तै हुनुहुन्छ तर सरकारी तलब लिने सेवामा हुनुहुन्छ। त्यो घरमा एउटा गैरसरकारी, गैह्रनाफा मुलक संस्थाको बोर्ड झुन्डिएको छ जुन वहाँको अपाङ्गता संग सरोकार राख्छ । उहाँको आफ्नै पक्की घर छ, २/४ वटा ५०/६० लाख पर्ने घडेरी र ब्याजमा रकम लगानी गर्नु भएको बुझिन्छ। उहाँहरुका छोराछोरी पनि बाहिर कतै पढाइ गर्छन् वा बिहेवारी गरेर छुट्टै बस्छन्, एकदुई बर्ष आगाडि देखिन्थे आजकल देखिदैनन्। यो बन्दाबन्दी पछाडि एउटा सरकारी गाडी उहाँको निवासमा आयो। सायद काेही आयो भन्ने लाग्यो र त्यति वास्ता गरिन। केही दिनपछि दुईवटा निजी गाडी आए। पहेंलो र निलो हाफ जकेट लगाएका मुख मास्कले ढाकेका मानिस राहत लिएर आएका रहेछन्। फोटो खिचे र गए। अनि फेरि पछि स्थानीय वडाबाट पनि त्यहीँ घरमा राहत ल्याएर दिएछन्।  

दोश्रो पात्र: यी पात्र तराई मूलका हुन्। एक श्रीमती र दुई बच्चा गरि ४ जनाको परिवार छ। हातमा सुनको औँठी छ, जग्गा भाडामा लिएका छन, ४/५ जना कवाडी संकलन गर्नेलाई रोजगार दिएका छन। बन्दाबन्दी पछि देखिएका छैनन्। घरतिर लागे कि! अघिल्लो महिना कवाडी लिन घरमा बोलाएको बेला सोधेको थिएँ, के छ कमाइ धमाइ ? उसले कपाल कन्याउँदै भन्यो ” के हुनु र सर पोहोर घरबाट ५ लाख ल्याएर यही जग्गा भाडामा लिएर टहरो बनाएर काम सुरु गरेँ, अहिले त्यो पैसा फिर्ता गरेँ, जग्गा भाडा तिरेँ, केटाकेटीलाई बोडिङ हालेको छु, हामी पालिएका छौं।” बन्दाबन्दिको ६/७ दिनपछि वडाका राहत प्रतिनिधि कवाडीखानामा देखे। केही क्षण पछि उनी मेरो घर अगाडीको किराना पसलमा जाँदै थिए। छतबाटै सोधे तिमीलाई पनि राहत दिन आएका हुन् र ! उस्ले जबाफ दियो ” हजुर घरबेटीले नाम लेखाइ दिनु भएको रहेछ, भोलि तिर राहत आउँदै छ।

तेस्रो पात्र: यो पात्रलाई  मैले मेरै घरबारीको कुनामा रहेको पुरानो गाइगोठलाई कोठा बनाएर भाडामा दिएको छु। उसको घर बेनीको तातोपानी नजिकको एउटा दलित बस्तीमा छ, पढाइ लेखाइ खासै छैन र दक्ष कामदार पनि होइन। कुनै ठेकेदारकोमा दैनिक ज्यालामा काम गर्छन्। घरभाडा तिरेर सार्वजनिक सवारीमा जाँदा पनि सस्तो पर्ने भएकोले बिगत दुई बर्ष देखि यहीँबाट काममा जान्छन्। यो पात्रलाई सायद राहत आवश्यक होला भन्ने सोचेको थिए। तर बन्दाबन्दी पछि पनि उसको ढोका बाहिर कुनामा खाली बियरका बोत्तल देखे जुन अघिल्लो दिन थिएनन्। त्यो देखेपछि राहतको बारेमा सोधपुछ गर्न मनले मानेन।

चौथो पात्र: यो पात्र बन्दाबन्दी भन्दा एक/ दुई महिना अगाडि वैदेशिक रोजगारमा गएका खाडीबाट चार बर्ष पछि पहिलो पटक फर्किएका हुन्। घर लमजुङ तर मासिक चार हजार भाडा तिरेर श्रीमती छोरीलाई बोर्डिङ पढाउन मेरै घरमा भाडामा बसेका छन् र बढी भएको कमाइले एउटा घडेरी जोडेको छ भन्ने सुनेको छु। श्रीमतीको अन्य कुनै पेशा छैन। हालै बिदेशबाट फर्केकोले उनलाई सायद राहत आवश्यक नहोला भन्ने लाग्यो मलाई। यस बिषयमा न उनले कुरा उठाए न मैले।

मेरा अगाडि यी पात्रहरू छन् तर वास्तविक राहत कसलाई आवश्यक हो ? कि होइन ? कसले मूल्याकंन गर्ने ? हामीले तिरेको करबाट वितरण हुने राहत भोकभोकै हुनेका हातमा पनि पुगोस् भन्ने सोचेर याे सबै लेखेको हुँ।  

Profile Image

माधव भण्डारी

Leave a Comment

Your email address will not be published. Required fields are marked *